© २०२३
आज विश्वभरि रेडियो दिवस मनाइँदै छ । हरेक बर्षको १३ फेबु्रअरीमा यो दिवस मनाउने औपचारिकता पूरा गरिदै आईएको छ । यो बर्ष पनि समुदायका लागि रेडियो भन्ने नाराका साथ यो दिवस मनाईदैछ । प्रभावकारी सञ्चार माध्यम बनेर सशक्त ढङ्गले योगदान पुयाएको भन्दै फेब्रुअरी १३ को दिनलाई विश्वभर विश्व रेडियो दिवसको रूपमा मनाउन युनेस्कोले आह्वान गरे अनुसार यो दिवस मनाउने गरिएको छ । नेपालमा पनि सम्बद्ध सरोकारवालाहरूले हरेक बर्ष रेडियो दिवस मनाईदै आएका छन् । बिडम्वना विश्व रेडियो दिवस मनाउँदै गर्दा रेडियाको साख र प्रभाव खुम्चिँदै गएकोमा रेडियोकर्मीलाई चिन्तित वनाएको छ । आधुनिक प्रविधिका कारण रेडियोका श्रोता समेत घटिरहेका छन् । हातहातको मोबाईलले नै रेडियोको काम गरिरहेकोले अहिले रेडियोको भूमिका कमजोर भैरहेको अवस्था छ । यद्यपि आजको दिन विश्वका रेडियो, रेडियोकर्मी र यससँग जोडिएका लाखौंलाख श्रोताका लागि विशेष दिन हो । अहिलेपनि विश्व सूचना युगको महादौडमा रेडियो सशक्त र प्रभावकारी माध्यम हो भन्दा अत्युक्ति हुँदैन । यसको प्रभाव अहिलेपनि कायमै छ । तर पछिल्लोसमय रेडियाका श्रोता धेरै घटदै गएको अनुभूति गर्न थालिएको छ । निश्चितरूपमा रेडियोको स्थान अहिले सामाजिक सञ्जालले ओगटन थालेका छन् । पहिले रेडियो समाचार, सन्देश, शिक्षा र मनोरञ्जनको मूख्य आधार थियो । रेडियोको अगाडि बसेर समाचार, गीत संगीत सुन्ने ती दिन साँच्चैको सुनौला थिए । चिन्ताको कुरा– अहिले रेडियो विस्थापित हुने अवस्थामा पुगेको छ । बिबिसीले नेपालमा गरेको एक अध्ययनमा पनि नेपालबाट रेडियो सुन्ने श्रोताको संख्या एकदमै न्यून रहेको देखिएको छ । इतिहासलाई फर्केर हेर्ने हो भने बिक्रमसम्बत २००७ सालमा रेडियो सुरुवात हुँदै गर्दा रेडियोको राज एकछत्र थियो ।
रेडियो भनेको आमसञ्चारको एउटै सशक्त माध्यम थियो । समाचारदेखि मौसम अनि मनोरञ्जन तथा पत्रमित्रता सन्देशमार्फत एकदेशबाट अर्को देशसम्मको चिठीपत्रको भरपर्दो माध्यमको रूपमा रेडियोले सशक्त भूमिका निर्वाह गरेको थियो । यो क्रम १५ बर्षअघिसम्म उत्तिकै प्रभावकारी थियो तर जब हरेक नेपालीको हातहातमा मोबाइल पुग्यो, त्यसले रेडियोको श्रोता खुम्चाईदिएको छ । अद्यापि गाउँघरमा रेडियो नै अहिलेसम्म सूचना र सन्देश अनि मनोरञ्जनको माध्यम बन्दै आएको अवस्था छ । नेपालमा २०४६ साल अघिसम्म रेडियो नेपालको विकल्प थिएन । रेडियो भनेकै रेडियो नेपाल थियो । बिबिसी र भारतबाट प्रसारण हुने अलइण्डिया रेडियोबाट नेपाली कार्यक्रम प्रसारण हुन्थ्यो र श्रोताका लागि ती सूचना सामाग्री समाचारका श्रोत हुन्थ्यो । दरबारका समाचारले मूख्य प्राथमिकता पाउँथ्यो । सर्टवेभमा आउने बिबिसीले नेपालमा प्रजातन्त्रको बिगुल फुकेको थियो । अन्य समाचार श्रोत नहुँदा श्रोताका लागि हरेक दिन साँझ पौने नौं बजे आउने बिबिसी नेपाली सेवा सुनेर आफ्नो धारणा बनाउनुपर्ने अवस्था थियो । नेपालमा प्रजातन्त्र पुनस्र्थापनामा रेडियोको भूमिका महत्वपूर्ण थियो भन्दा अतिसयोक्ति हुँदैन् । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि भने नेपालमा रेडियोको बाढी नै आयो । हरेक जिल्ला र सहरमा एफएम खोल्ने लहर करिव २० बर्ष चल्यो । तर, पछिल्लोसमय लहर र रहरमा खोलिएका एफएम कति त बन्द भैसकेका छन् । बचेका एफएम सकसले चलाउनुपर्ने अवस्था छ । सूचना साम्राज्यमा सामाजिक सञ्जालको बर्चस्व बढ्दै गर्दा रेडियोको भूमिका खुम्चिँदै गएको छ । मानव सभ्यताको विकासमा रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरेको जगजाहेर छ तर आज विश्व रेडियो दिवस मनाउँदै गर्दा रेडियो जोगाउने चुनौति उत्पन्न भएको छ । विश्व सूचनाको युगमा प्रवेश गरेसंगै रेडियोलाई विस्थापित गर्ने अन्य धेरै बिकल्प आएका छन् । यद्यपि श्रोता घट्दैमा रेडियोको भूमिका कमजोर भयो भन्नु न्यायसंगत होइन् । तसर्थ अवको दिनमा रेडियोको इतिहास र साख जोगाउनकै लागि भएपनि रेडियो सुन्ने बानीको विकास गराउनेतर्फ ध्यान जानु जरुरी छ । विश्व रेडियो दिवसको अवसरमा रेडियोलाई प्रभावकारी सञ्चार माध्यमको रूपमा पुनः स्थापित गराउनेतर्फ पहल गरौं ।