© २०२३
समाचार कागतमा पढियो
समाचार रेडियोमा सुनियो
समाचार टेलिभिजनमा सुनियो हेरियो
अब यो पद्धति डिजिटल प्लेटफर्ममा आएको छ ।
डिजिटल प्लेटफर्म
रातो पाटी
सेतो पाटी डट कम
मोबाइल
सोसल मिडिया
टिकटक
फेसबुक
युटुव
प्रविधिले सञ्चारलाई यति छिटो छरितो बनायो कि अब सञ्चार न लोकल न राष्ट्रिय– अन्तर्राष्ट्रिय भएको छ ।
सञ्चार हुलाक, रेडियो, टेलिभिजन हुँदै इमेलबाट कम्प्युटरमा टाइप भएर सोसल मिडियाबाट पनि संसारभरि भएको छ ।
पत्रकारिता र सञ्चार
गोबर । गाईको गोबर, भैँसीको गोबर । गोबर गोबरै हो । काठ । सिमलको काठ, सल्लाको काठ, सालको काठ । श्रीखण्डको काठ । मात्र काठको अर्थमा, मात्र गोबरको अर्थमा, काठ र गोबर सूचना तथा सञ्चार हुन् । गाई र भैँसी दुवैको गोबर पृथ्वीमा उर्वरकता बढाउने प्रयोजनमा सामान्य सूचना हुन्छन् । जब गाईको गोबर तथा गौमुत्र पवित्र हो र औषधि भन्ने विशेष अर्थ प्रवाह हुन सक्छ त्यतिखेर यो सूचना पत्रकारिता हुन्छ । यो काम भाषाशैलीको विशिष्ट कला शिल्पबाट सम्पादन गर्न सकिन्छ । त्यस्तै काठमा पनि यही नियम लागू हुने हो । अरु काठबाट श्रीखण्डको फरक विशेषता देखाउन पर्यो भने त्यसबाट बन्ने शीतल चन्दन, त्यसको पवित्रता, त्यसमा अन्तर्निहित औषधीय गुणको वर्णन आवश्यक हुन्छ । यसका लागि पनि कलाको विशिष्ट शिल्पाविधि आवश्यक पर्छ । यस्तो अभ्यास गर्न सकियो भने सञ्चारकर्म पनि हुन्छ । पत्रकारिता पनि हुन्छ । उखानै छ– बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिंड । डिजिटल प्रविधिको अत्यधिक विकासले गर्दा अहिले सूचना सम्प्रेषणमा कलापक्ष गौण बन्दै गएको छ । यसले गर्दा पत्रकारिता र सूचना सञ्चार एउटै एउटै हो भन्ने जस्तो भएको छ ।
जहाँसम्म उहिलेको पत्रकारिताको कुरा छ–
२००० सालको तेस्रो, चौथो र पाँचौं दशकलाई आधार बनाएर चर्चा गर्ने हो भने त्यो समय सिसाका अक्षरमा पत्रकारिताको समय थियो । म त्यही समयको उत्पादन हुँ । म अंगारले मसाएको कालोपाटीमा कुरकुरे ढुङ्गाले कोरेर र अलि पछि दुङ्गाको शिलपाटीमा खरीले लेखेर अक्षर चिनेको मान्छे हुं । सिसाका अक्षरसित खेल्न पाउँदा मलाई त अग्रगमन नै थियो ।
त्यतिखेर जे जसरी मैले पत्रकारिताको क क न न गरें, त्यस सम्बन्धमा पत्रकार लक्ष्मण पौडेलले बुटवल टुडे राष्ट्रिय दैनिकमा एउटा पत्र टिप्पणी लेखेका थिए । शीर्षक थियो– जसको समाचार सिसाको अक्षरले छापिन्थ्यो । मलाई लाग्छ त्यस समाचारले त्यतिखेर सिसाका अक्षरले पत्रकारिताको माध्यमबाट गरेको सूचना सञ्चारको कामको सानो झल्को दिन सक्छ ।
अक्षर कम्पोज गर्न आवश्यकता अनुसार कोठा हुन्थे । कोठामा आवश्यकता अनुसार टेबल । टेबलमा खानै खाना भएका काठका प्लेट । टेबल माथि तीनतिर पानी ढल परेका प्लेट । खाना खानामा सिसामा ढलेका अक्षर । हरेक खानामा फरक फरक अक्षर र मात्रा । प्रत्येक अक्षर र मात्रालाई जोडेर कम्पोजिटर नजिकै कुर्सीमा बसेर समाचारका वाक्यहरु बनाउँथे । जस्तै, लुम्बिनी बनाउन पर्यो भने सम्बन्धित खानाबाट ल, ु, म्, ब, ि, न, ी, जोडेर बनाउनु पथ्र्यो । यस्तै गरेर वाक्य, अनुच्छेद, पृष्ठ बनाउने अनि फलामको ग्यालीमा राखेर फर्मा बनाउने । त्यसपछि फर्मालाई छाप्ने मसिनमा हाल्ने । त्यसपछि खुट्टाले चांपेर भकल्र्याङ् भकल्र्याङ् गराएर छाप्नुपथ्र्यो । अनि पछि पत्रिका बन्थ्यो ।
त्यसपछि बाइन्डिङ्ग, ठेगाना, टिकट गरेर हुलाकमा हाल्ने । साता, महिना दिनमा ग्राहककहाँ पुग्ने हुन्थ्यो । कतिपय पत्रिकामा सम्पादक, रिपोर्टर, प्रुफ रिडर एउटै व्यक्ति हुन्थ्यो । मलाई धेरैजसो यी सबै पद प्राप्त थिए ।
यी तीनवटा दशकमा राजधानीपछि मोफसलको राजधानी बुटवलमा सिसाका अक्षरले राम्रो पत्रकारिता गरेको हो । अहिले यो सानो लेखमा त्यसको इतिवृतान्त दिन सम्भव छैन । तर सिसाका अक्षरको पत्रकारिताको कुरा गर्दा पाल्पाबाट प्रकाशित हुने सत्य पत्रिकामा विनय कसजुले सिसाका अक्षर, सिसाका गोली भन्ने शीर्षकमा एउटा सम्पादकीय लेखे । त्यो अत्यन्त सनसनीखेज रह्यो । त्यही सिसा हो, अक्षर हुँदा ज्ञानको संचार हुन्छ । त्यही सिसा हो, गोली हुँदा सृष्टि र स्थितिकै संहार हुन्छ ।
अन्त्यमा,
समय २०२६–२७ साल हुनुपर्छ । प्रस्तुत हवाई पत्रमा लेखिएको सामग्री प्रेमप्रसाद लिगलले बुटवलबाट खिलध्वज थापालाई राष्ट्रिय समाचार समितिमा सिसाका अक्षरमा समाचार बनाएर छाप्न पठाएको सामग्री हो ।