© २०२३
गतांकको बाँकी
तीव्रगतिमा सवारी चलाउने, अनावश्यक प्रतिष्पर्धा, प्राविधिक तथा यान्त्रिक खरावी भएको सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु चढाउने, जोखिम मोलेर नयां र अप्ठ्यारो सडकमा सवारी चलाउने, हेलचेक्र्याई तथा रिसाएर सवारी चलाउने, कम उमेरमा ठुला सवारी चलाउनु, सडक प्रयोगबारे ऐन कानुन बारे चेतना नहुनु दुर्घटनाका कारण हुन् । पुराना र पाका चालकहरू सुरक्षित भविश्य र राम्रो ज्यालाको खोजीमा बाहिरी मुलुकतर्फ लर्को लागेर जाने गरेका छन् । अहिले नयां चालकहरूको प्रवेश कार्यथलोमा बढेको छ । अहिलेका चालकहरू प्रायः युवा भएकाले पनि दुर्घटना बढेको छ । पैदल यात्रीहरूले कसरी सडक पार गर्ने भन्ने चेतना नहुनु । कुदिरहेको सवारीलाई रोक्न कति लामो ठाउं चाहिन्छ भन्ने नबुझी अटेर गरि सडक पार गर्न खोज्नु । यान्त्रिक गडबडी हुंदा तत्काल ब्रेक लाग्दैन भन्ने नबुझ्नु । झुण्डिएर, कोचिएर जबरजस्ती यात्रा गर्नु हुदैन भन्ने ज्ञान नहुनु जस्ता चेतनाका कमीका कारण दुर्घटना बढ्नु हो । फुटपाथमा हिड्नु पर्छ र सडक सवारी गुड्ने ठाँउं हो भन्ने नबुझ्नु दुर्घटनाको कारण हो । सडक प्रयोगकर्ताले पनि चार पाङग्रे, दुई पाङग्रे भएभरका सवै सवारी साधन तथा मानिसले प्रयोग गर्ने सडक नै हो । सडक सवैके साझा सम्पति हो । तर त्यसलाई प्रयोग गर्नेहरूले कहिलेकाहीं त्यो कुरा विर्सने गरेका छन् । आफुलाई सहज खोज्दै सडक लेनको प्रयोग नगरी अरूको सडक प्रयोग गर्ने अधिकारलाई हनन् गर्ने गर्दछन् । जसका कारण सडक दुर्घटना हुने गरेको छ । यात्रुहरू पनि झुण्डिएर, कोचिएर, हुडमा चढेर यात्रा गर्नुहुदैन भन्ने चेतना नहुनु। आफुलाई सहज हुनेगरी घरकै छेउमा, भनेकै ठाउँमा, भन्ने वित्तिकै सवारी रोक्न लगाउन चालकलाई दवाव दिन हुदैन भन्ने चेतना नहुनु दुर्घटनाको कारण हो । जनप्रतिनिधिहरू योजना बनाएर गाउँगाउँमा सडक विस्तार गरेका छन् त्यसलाई विकासका हिसावले राम्रै मान्नु पर्छ । तर सडकको गुणस्तर तथा त्यसको प्राविधिक परीक्षण नै नगरी तिनै जनप्रतिनिधिहरूले गाउँसम्म चाडै सवारी लैजाने र राजनीतिक जस लिने होडका कारण सडक दुर्घटना हुने गरेको छ । ट्राफिक भन्नाले सडकमा सवारी साधनको चाप, त्यसको चलायमानता र आवतजावतमा त्यसले उत्पन्न गराउने असहजता हो । ट्राफिक प्रहरीले सडकको असहजतालाई व्यवस्थापन तथा आवागमनलाई सहजीकरण गर्ने निकाय ट्राफिक प्रहरी हो । जसलाई आवागमनमा प्रतिकुल असर पार्ने र अक्षम्य नियम उलंघन गर्नेलाई नियमन गर्न ऐनले विशेष अधिकार समेत दिईएको छ । यस्तो भद्रगोल अवस्थामा ट्राफिक प्रहरीलाई ऐनले दिएको जिम्मेवारी पूरा गर्नु सम्भव छैन । सडकमा उत्पन्न हुने ट्राफिक समस्याका विषयलाई भुलेर सडकमा गुड्ने सवारी साधन र चालकबाट मात्र सबै कुराको अपेक्षा गरेर कारवाही हप्कीदप्की, गालीगलौज, जरिवानाका नाममा पनि दुर्घटनालाई मलजल गरेको छ । ट्राफिक प्रहरीको जनशक्ति पनि कमी हुनु तथा प्रयाप्त मात्रामा परिचालन गर्न जनशक्ति अभाव हुनुले पनि अनुगमन हुन नसक्दा दुर्घटना निम्त्याएको छ ।
यातायात व्यवस्थापन, सञ्चालन, परिचालन र सार्वजनिक यातायातलाई सहज बनाउने विषयमा ट्राफिक प्रहरीले राज्यलाई योजना सुझाउनु पर्छ । ट्राफिक योजना बनाउदा नेपाल सरकार तथा प्रदेश सरकारले अनिवार्य रूपमा ट्राफिक विशेषज्ञ सहित योजना बनाउन सक्नुपर्दछ । दुर्घटनामा बढी दोषी चालक देखिएको एक । ट्राफिक प्रहरीलाई अधिकार कम भयो । जनशक्ति कम भयो । सडक र सवारीको अनुपातमा ट्राफिक प्रहरी थोरै भयो । कुनै पनि दुर्घटनाको वैज्ञानिक अनुसन्धान विना दोषको प्रतिशत खुट्याउन सकिदैन । अहिलेसम्म भएका सवारी दुर्घटनाको अनुसन्धान भएका छैनन् । अध्ययन विनाको तर्क पूर्वाग्रहपूर्ण हुन्छ । पूर्वाधार, विधि र संयन्त्र नबनेसम्म दुर्घटना टर्दैन । त्यसैले दुर्घटना निम्त्याएको छ । सवारी साधनको जांच तथा गति नाप्ने (स्पीड कन्ट्रोलर) उपकरणको व्यवस्था गर्नु पर्छ। सवारी साधनहरूमा पहेंलो उज्यालो रंगको प्रयोगलाई प्रोत्साहित गर्नु पर्छ । पहाडी क्षेत्रका सांघुरा तथा कच्ची सडकमा तिन वटा साफ्ट भएका लामा सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्छ । फोर ह्विल सवारी अनिवार्य गरिनु पर्छ । रातको लागि विशेष ट्राफिक संकेत बोर्डहरू राखिनुपर्छ । सवारी साधनको अवस्थाको जाँच भेहिकल फिटनेस केन्द्रहरू स्थापना गरिनु पर्छ । रुट तथा सवारी क्षमता अनुसार सञ्चालन अनुमति दिईनु पर्छ । सडकको लगत राखी प्राविधिक परीक्षण गर्नु पर्दछ । सडकको प्राविधिक परीक्षण नगरी सवारी सञ्चालनको अनुमति दिईनु हुन्न । सवै प्रकारका सवारीको आयु निश्चित तोकिनु पर्छ र नष्ट गरिनु पर्छ । सवै लोकमार्गमा स्थानीय तहले अनिवार्य रूपमा सिसि क्यामेरा ब्यवस्थापन र अनुगमनको ब्यवस्था गर्नु पर्दछ । सडक विस्तार कार्य समयमा सम्पन्न हुने गरी तीव्र बनाइनु पर्छ । सडकलाई बलियो र फराकिलो बनाउनु पर्छ । सडक मर्मत २४ सैं घण्टा, सडक विस्तार ३ सय ६५ दिन निरन्तर हुनु पर्दछ । सडक मर्मतमा बार्षिक कुल बजेटको कम्तिमा १ प्रतिशत सडक मर्मत खर्च छुट्याउनु पर्दछ । पैदल यात्री तथा दुई पाङग्रे सवारीका लागि छुट्टै सडक लेन हुनु पर्छ । राजमार्ग भनिएका सडकलाई राजमार्गको मापदण्ड अनुसार तत्काल व्यवस्थित गरिनु पर्छ । पार्किङ, यात्रु चढाउने ओराल्ने निश्चित स्थानमा मात्र गरिनु पर्दछ । हाईवेमा सञ्चालित होटलहरूको गुणस्तर तथा यात्रुहरूको हित अनुकुल बनाउन नियमन गरिनु पर्छ । सडक आसपासका घुम्तीहरू, ढाटहरू, जिकज्याकहरू हटाईनु पर्दछ । फास्ट ट्याक रोडको निर्माण गरी सोको वरपर बस्ती बसाउन निषेध गरिनु पर्छ । सवारी संचालनका लागि आवश्यक सवै पूर्वाधार भएपछि मात्र सडक खुल्ला गरिनु पर्छ । पूर्वाधार अनुसारको सडक क्षमता सवारी जाँच गर्नु पर्दछ ।
यसैगरी दुर्घटना न्यूनिकरण गर्न सवारी चालक अनुमति पत्र लिनु अघि वा लिईसकेपछि नेपाल सरकारको मान्यता प्राप्त संस्थाबाट तालिम लिनु पर्ने र त्यस्ता तालिम लिएपछि मात्र व्यवसायिक रूपमा सवारी चलाउन योग्य मानिने व्यवस्था गरिनु पर्छ । क्षेत्रीय स्तरमा सवारी चालक तालिम केन्द्रको स्थापना र प्रत्येक वर्ष निश्चित संख्यामा चालकहरूलाई विदेशको राम्रो सडक संचालनको अवस्थाको अवलोकन भ्रमणमा लैजाने कार्यक्रम गर्न सकेमा थप उत्साह मिल्ने । सडक सुरक्षाका विषयमा पाठ्यक्रम सामाग्री बनाई विद्यालय तहमा अनिवार्य गरिनु पर्छ । सडक सुरक्षा बारे जनचेतनामुलक सामग्रीहरू संञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रशारण गरिनुपर्छ । सडक सुरक्षाका विषय, दुर्घटना न्युनिकरणको विषयमा प्रशिक्षण सामग्री बनाई यातायात मजदुरहरू, पैदल यात्री तथा अन्य सडक प्रयोगकर्ता सवैलाई सरोकारवालाहरू मार्फत शिक्षा दिनु पर्छ । सवारी साधनबाट सडकमा फोहोर फाल्न अनिवार्य निषेध गरिनु पर्ने शिक्षा दिनुपर्दछ । विद्यालयहरूबाट प्रत्येक हप्ताको शुक्रबार कम्तिमा १५ मिनट सडक सुरक्षा सम्बन्धी प्रार्थनाको समयमा सडक सुरक्षा यातायात शिक्षा दिनुपर्छ ।
सवारी चालक अनुमति पत्र प्रदान गर्दा मोटरसाईकल तथा स्कुटरका लागि २० वर्ष, साना तथा मझौलाका लागि २२ वर्ष र ठुला सवारीका लागि २५ वर्ष उमेर अनिवार्य गर्न कानुन संशोधन गरिनु पर्छ । सवारी चालक अनुमति पत्र लिदा व्यवसायिक र गैर व्यवसायिक प्रयोजन स्पष्ट खुलाउनु पर्दछ । सवारी चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा विधिलाई कडाई गर्दै भौगौलिक बनाबटका आधारमा परीक्षा प्रणाली कायम गरिनु पर्छ । सडक आसपास लाग्ने हाटबजार सडकबाट निश्चित दुरी ऐन मै तोकिनु पर्छ । सडक आसपास मदिरा सेवन, विक्रि वितरण प्रतिवन्ध गर्नु पर्छ । सडक अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउनु पर्छ । सडक तथा सडक छेउमा निर्माण सामग्री थुपार्ने, सवारी पार्किङ गर्नेलाई कारबाही गर्नु पर्छ । सहरी तथा पहाडी रुटमा सिट क्षमता भन्दा कति सम्म यात्रु बोक्न पाईने भन्ने किटान गरिनु पर्छ । यातायात श्रमिकहरूको लगत राख्नु पर्छ । परिचालक अनुमति पत्रको अनिवार्य व्यवस्था गरि काम गराउदा विवरण सहितको कागजात दुवैपक्ष संग रहनुपर्छ । सवारी चालक र सहचालकको लागि अनिवार्य रूपमा पहिचान खुल्ने पोशाकको ब्यवस्था गरिनुपर्दछ ।
घरपालुवा चौपाया, जस्तै कुकुर, सुंगुर, गाई बाख्रा, कुखुरालगायतलाई सडकमा छाड्ने धनीलाई कारवाही गर्नु पर्छ । जरिवानाको वजन राम्रो हुनु पर्दछ । बालबालिकाहरूलाई साईकल चलाएर सडकमा जान निषेध गरिनु पर्छ । सडक छेउमा राखिएका विज्ञापनका होर्डिङ बोर्डहरूलाई तत्काल हटाईनु पर्छ । समय समयमा सवारी चालकको निशुल्क आँखा लगायत स्वास्थ्य परीक्षणको व्यवस्था गर्नु पर्छ । स्टेयरिङमा चालकसंग वादविवाद गर्ने, चालकलाई हातपात गर्नेलाई कारवाही गरिनुपर्छ । हिउँद वर्षाका समय वातावरणीय अवस्थालाई वैज्ञानिक परीक्षणका आधारमा सवारी चल्न दिने नदिने अनुमति दिनु पर्छ । सवारी साधनहरूबाट उत्पन्न हुने अवाजलाई साउण्ड प्रुफ गर्ने व्यवस्था गरिनु पर्छ । यातायात श्रमिकहरूलाई आधारभुत पारीश्रमिक तोकिनु पर्छ र त्यस्ता पारिश्रमिक पाए नपाएको अनुगमन गरिनुपर्छ । लामो दुरीमा चल्ने सवारीलाइ दैनिक रूपमा चेकजाँच गराइ सवारीको ब्यवस्थापन गरिनुपर्दछ । लामो दुरीमा चल्ने सवारीमा अनिवार्य रूपमा दुईजना सवारीचालकको ब्यवस्था गरिनुपर्दछ ।
कानुनीरूपमा दुर्घटनामा दोषी देखिएका चालक, सवारी धनी, पैदल यात्री, अन्य सवारी साधन, सडक प्रयोगकर्ता, सडक विभागलाई कसुरका आधारमा कारवाहीको व्यवस्था गर्नु पर्छ । दुर्घटनामा लापरवाही, हेलचेक्र्याई, सडक सुरक्षा नियम उलंघन भएको प्रमाणित भए दोषका आधारमा चालकलाई कारबाही गर्नु पर्छ । तर दुर्घटनाको बैज्ञानिक, निश्पक्ष, आग्रह र पूर्वाग्रह रहित अनुसन्धान हुनु पर्दछ । दुर्घटनाका कारण र दोषीहरूको पहिचान गर्न सरोकारवाला संलग्न रहेको न्यायिक छानबिन आयोग गठन गरिनु पर्छ । उद्धारका लागि दुर्घटना उद्धार समिति र घाईतेको तत्काल उपचारका लागि उपचार केन्द्रको व्यवस्था गरिनुपर्छ ।
सवारी साधन आयात तथा दर्ता गर्दा यात्रुको चाप, आवश्यकता, रुटको अध्ययन पछि मात्र गरिनु पर्छ । रुट ईजाजत पत्र नलिई सवारी साधनलाई चल्न दिनु हुदैन । रुट निर्धारण, समयसारिणी व्यवस्थापनमा राज्यको स्वीकृति हुने नीति बनाईनु पर्छ । जुन प्रयोजनका लागि सवारी ल्याईएको हो त्यही प्रयोजनमा मात्र प्रयोग गरिनु पर्छ । सडक सुरक्षा परिषद तीन तहको सरकारबाट छिट्टै सरोकारवाला तथा विशेषज्ञहरूको सहभागीतामा गठन गरिनु पर्दछ । सार्वजनिक यातायातका क्षेत्रमा क्रियाशील सस्थाहरू बीच समन्वयकारी भूमिकाका लागि स्थायी प्रकृतिको निकायको व्यवस्था गरिनु पर्छ । सार्वजनिक यातायातमा राज्यको उपस्थिति हुने गरी कानूनी व्यवस्था गर्नु पर्दछ । सडक दर्ता शुरू गर्नु पर्दछ । जसमा लम्बाइ कति छ, कस्तो छ, कहिले सम्पन्न भएको हो, कस्तो अवस्थामा छ भन्ने विवरणको अभिलेख हुनु पर्दछ । सडक सूची Road Inventory Survey ब्यवस्थित हुनु पर्दछ । सडक मापदण्ड स्वीकृति हुनु पर्दछ । सडक सञ्जालको पनि अभिलेख र ब्यवस्थापन हुनु पर्दछ । मापदण्ड पुरा गरेको गुणस्तरीय सडकमा जति धेरै सवारी गुडकेको छ त्यति Vehicle Operating Cost कम हुन्छ । Vehicle Operating Cost बढ्नु भनेको बस्तु वा सेवामा मूल्य बढ्नु हो । यसमा सडकको नामाकरण गर्दै Road Assets Management, Total Transportation Cost, Regular Road Management समेतलाई ध्यान दिनुपर्दछ । कालोपत्रे सडकमा पानी रहनु हुदैन, पानी सडकको लागि शत्रु हो भन्ने विषयको ज्ञान गराइ उचित कानुनी व्यवस्था हुनुपर्दछ । सडकमा सवारी गुडेको नगुडेको अवस्था जे होस नियमित मर्मत गर्नु पर्दछ भन्ने कानुनी व्यवस्था गरी बजेटको अंश तोकिनु पर्दछ । राष्ट्रिय राजमार्गमा कम्तिमा १५ देखि २० कि.मि.को दुरीमा अस्पतालको व्यवस्था वा ईमरजेन्सी स्वास्थ्य सेवा प्राप्त गर्न सकिने उचित ब्यवस्था गरिनु पर्दछ ।
माथि उल्लेख गरिएका विषयमा सुधार हुन सकेमा सडक दुर्घटना न्यूनीकरण हुन सक्दछ । सडक दुर्घटना हुनुमा प्रतिशतको मात्रा फरक हुन सक्ला तर दोष सबै पक्षको छ । कुनै एक पक्षलाई मात्र दोष लगाएर आफु पन्छिन खोज्नु कि त पानी माथिको ओभानो हुन खोज्नु हो । त्यसैले हामी सवै पक्ष सडक दुर्घटना हुनुमा जिम्मेवार ठान्नु पर्दछ । आजै देखि सडक दुर्घटना न्यूनिकरणमा हामी सवै एक जुट बन्नै पर्दछ । सडक हामी सवैको सम्पत्ती हो । सडकको उचित संरक्षण र प्रयोग हुन सकेमा आर्थिक सामाजिक रूपान्तरणको माध्यम बन्न सक्ने विश्वास गर्न सकिन्छ । आर्थिक सामाजिक रूपान्तरणको माध्यमबाट समृध्द नेपाल बनाउन सकिनेछ । यसरी सडक दुर्घटनाका कारणहरूलाई सवै सचेत भएमा मात्र सडक दुर्घटना न्यूनिकरण गर्न सकिने छ ।
समाप्त