© २०२३
लुम्बिनीले पर्यटनका हिसाबले देशमै बलियो उपस्थिति देखाउँदछ । तराई, पहाड र हिमालको भूगोल समेटेको लुम्बिनीभित्र बुद्धको जन्मस्थल लुम्बिनी, दुई वटा राष्ट्रिय निकुञ्ज र एक वटा शिकार आरक्ष छन् । हामीले बुटवल टुडे राष्ट्रिय दैनिकको १३ औं बार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रदेशमा पर्यटन विकासका लागि गरिएका प्रयास र हुनुपर्ने कामलाई लिएर विभिन्न व्यक्तित्वहरुको भनाईका साथै सल्लाह र सुझाव लिएका छौं ।
‘नीतिबाट पर्यटन विकासको थिति बसाल्छौं’
प्रचण्ड विक्रम न्यौपाने
मन्त्री, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी
हामी नीतिबाट पर्यटनको थिति बसाल्दैछौं । अहिले पर्यटन नीतिको मस्यौदा तयार भएको छ । पर्यटन नियमावली–२०७९ संशोधनको चरण रहेको छ । लुम्बिनी प्रदेशले १ सय महत्वपूर्ण पर्यटकिय सम्पदाहरूको ऐतिहासिक पृष्ठभूमिको विद्युतिय सामग्री बनाउँदैछौं । अभौतिक सम्पदाहरूको अभिलेखन प्रक्रिया अगाडि बढेको छ ।लुम्बिनी क्षेत्रमा पर्यटन प्रवद्र्धन परियोजना संचालन गर्न संघीय मन्त्रालयसँग सहकार्य प्रक्रिया अगाडि बढिरहेको छ । रुरु क्षेत्रमा शालिग्राम मन्दिर र शलिग्राम अध्ययन केन्द्र स्थापनाको गर्न लागिएको छ । शालिग्राम महोत्सव गण्डकी परिक्रमा मार्ग संचालनका लागि कामहरू भइरहेका छन् । नुवकोट डबली हस्तान्तरणको तयारी र अरू डबलीहरू हस्तान्तरणको तयारीमा रहेका छन् । यो वर्ष ‘घुम्न जाऔं बर्दिया’ कार्यक्रम सञ्चालन भएको छ ।रुकुमकोटलाई हिमालय पर्यटन स्टेशन बनाउने तयारी छ । लुम्बिनी प्रज्ञा प्रतिष्ठान विधेयकको मस्यौदा तयार हुँदैछ । सिमावर्ती भारतीय पर्यटकहरूलाई लक्षित गरी यस वर्ष ५ वटा हिल स्टेशन निर्माण हुँदैछ । लुम्बिनी ढोरपाटन हुँदै जुम्ला खलङ्गा हुँदै रारा, काँक्रेविहार, कोहलपुर लुम्बिनी सम्मको बौद्ध परिपथको संभाव्यता अध्ययन हुँदैछ । लुम्बिनी प्रदेश विद्यालयहरूका लागि संस्कार र नैतिक शिक्षाको पाठ्यक्रम तयार गरिँदैछ ।
‘पर्यटकीय स्थलको प्रचार जरुरी छ’
प्रतिक्षा सिंजाली
उपप्रमुख, तानसेन नगरपालिका, पाल्पा ।
पाल्पा पर्यटकहरूको रोजाईमा पर्ने ठाउँ हो । यहाँ धार्मिक, साँस्कृतिक महत्व बोकेका पर्यटकिय स्थानहरू अवलोकनका लागि आउने पर्यटकहरूलाई धेरै समस्या छन् । पर्यटकहरू सहज रूपमा पुग्ने बाटो छैन । त्यसका लागि हामीले स्थानीय तहको हिसाबले पहल गरिरहेका छौं । पाल्पाका ऐतिहासिक स्थानहरूको प्रचारप्रसार पनि हुन सकेको छैन ।
पर्यटकीय स्थलहरू र त्यस विषयमा पनि हामीले छलफल र बहस गरिरहेका छौ । यहाँको मनोरम दृष्य हेर्न आउने पर्यटकहरूलाई बास बस्न सुविधा सम्पन्न होटलहरू छैनन् । त्यसतर्फ पनि सरकारसँगै स्थानीयहरूले पनि पहलकदमी लिन आवश्यक छ ।
‘पर्यटन गन्तव्यहरूको पहिचान प्रवद्र्धनमा जोड’
रामु जोशी
कार्यकारी निर्देशक, पर्यटन परिषद् लुम्बिनी
लुम्बिनी पर्यटन परिषद्ले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रचारप्रसार, प्रवद्र्धन, पर्यटन बजार व्यवस्थापनका साथै क्षमता विकासका कार्यक्रमहरू चलाउँदै आएको छ । परिषद्बाट व्यवसायको गुणस्तर विधि, स्थानीय रूपमा उत्पादित रैथाने खानाको ब्राण्डिङ तथा समग्र पर्यटन व्यवसायको प्रवद्र्धनका निम्ति प्रदेशभर अध्ययन र अनुसन्धानको कामसमेत कार्य भैरहेको छ ।पर्यटनको विकासका लागि परिषदले नियामावलीमा उल्लेख भए अनुसार पर्यटकहरूलाई सेवा प्रदान गर्ने कार्यमा संलग्न व्यक्ति, संस्था वा निकायहरूको क्रियाकलापमा समन्वय तथा सहजीकरण गर्ने काम गर्दै आएको छ । पर्यटन व्यवसायको विकास र विस्तारका लागि आवश्यक पर्ने प्राविधिक एवम् वित्तीय आधारहरू तयार गरी पर्यटन विकाससँग सम्बन्धित कार्यक्रमहरू कार्यान्वयन गर्ने, गराउने र यसका लागि निजी क्षेत्रको सहभागितालाई प्रोत्साहित गर्ने, गराउने काम जारी छन् ।
पर्यटनसँग सम्बन्धित विद्यमान भौतिक पूर्वाधारहरूको व्यवस्थित र प्रभावकारी ढङ्गले उपयोग गरी पर्यटकहरूलाई प्रदेशको धार्मिक र साँस्कृतिक महत्वका स्थलहरू, हिमश्रृंखलाहरू तथा मनोरम प्राकृतिक सौन्दर्य र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुको व्यवस्थित दृश्यावलोकन गराउन निजी क्षेत्रलाई उत्प्रेरित गर्ने काम गर्दै आएको छ ।प्रदेशलाई आकर्षक पर्यटन केन्द्रको रूपमा विकास गर्दै लैजान जल, स्थल र वायुमा आधारित मनोरञ्जनपूर्ण तथा साहसिक पर्यटन सम्बन्धी क्रियाकलापहरूलाई मौलिक संस्कृति र परम्परामा प्रतिकूल असर नपर्नेगरी प्रदेशका विभिन्न भागमा सञ्चालन गर्ने, गराउने र त्यस्ता साहसिक पर्यटन सम्बन्धी कृयाकलापहरू सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने समेत काम गर्दै आएको छ । प्रदेशमा आवश्यक जनशक्तिको पहिचान र दक्षता अभिवृद्धि र स्थानीय रोजगार उत्पादनमा विशेष जोड दिईरहेको छ ।
‘भारतका पर्यटकलाई प्राथमिकतामा राख्न जरुरी’
महेन्द्र श्रेष्ठ
अध्यक्ष, होटल व्यवसाय महासंघ, लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश धेरै पर्यटकीय स्थानहरू भारतिय पर्यटकको रोजाईमा पर्ने भएकाले उनीहरूलाई मध्यनजर गरेर सेवा सुविधाहरू तय गर्नुपर्छ । हाम्रो प्रदेशमा टुरिष्ट गाईडको व्यवस्था आवश्यक छ । पर्यटन कार्यालयले पनि पर्यटकहरूलाई सहज रूपमा ल्याउन र घुम्ने वातावरण बनाउन सहयोगीको रूपमा स्थापित हुन जरुरी छ । जहाँ पर्यटक धेरै जसो अलमल पर्ने गरेका छन् ।
सडक सञ्जालका कारण पनि पर्यटकहरू ल्याउन सकिएको छैन । हाम्रो प्रदेशमा भएका पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्न सक्ने हो भने अझै बाह्य र आन्तरिक पर्यटक ल्याउन सकिन्छ । यो प्रदेशमा रहेका होटलहरू पनि राम्रो र पर्यटकहरूको चहाना अनुसारको सुबिधा दिईरहेका छन् । अझै पर्यककहरूलाई यहाँ रमाउन र दिन बिताउनका लागि तीनै तहका सरकारले योजना बनाउनु पर्छ ।
‘हवाई नीति राम्रो बन्न आवश्यक’
चन्द्र थापा
अध्यक्ष, लुम्बिनी टुर एण्ड ट्राभल्स एशोसीयसन
लुम्बिनी प्रदेश धेरै बाह्य पर्यटक आउन ठाउँ हो । तर यहाँ आउनका लागि हवाई मार्ग सजिलो छैन । काठमाडौ आएर मात्रै लुम्बिनी आउनुपर्ने अवस्थाको अन्त्य हुनपर्ने ठान्छु । त्यसका लागि पोखरा र भैरहवाको एयरपोर्ट सञ्चालन निरन्तरता हुन जरुरी छ । त्योसँगै आन्तरिक उडान पनि नियमिति र सहज गराउनतर्फ सबैको ध्यान जान जरुरी छ ।
हवाइ सेवासँगै यातायात र अरू सुविधाका विषयमा बहस हुन जरुरी छ । यसलाई राम्रो र प्रभावकारी बनाउन सक्ने हो भने राष्ट्रका लागि आम्दानीको मुख्य स्रोत पनि बन्न सक्छ । हाम्रो देशमा आउने पर्यटकहरूका लागि भिषा प्रक्रिया पनि सहज गराउनपर्छ । ताकी त्यसको झन्झटले गर्दा फर्कनुपर्ने बाध्यता हटोस् । यहाँ आउने पर्यटकहरूका लागि सरकारले प्याकेज बनाएर घुम्ने रमाउने वातावरण सिर्जना गर्न सक्नुपर्छ ।
‘पर्यटन पूर्वाधारमा प्राथमिकता’
विना कुमारी भट्टराई
उप–प्रमुख, ठाकुरबाबा नगरपालिका, बर्दिया
बर्दिया हरेक हिसाबले पर्यटकको गन्तव्यको रूपमा विकास भइरहेको छ । त्यसैले पनि यहाँ आउनेको संख्या बढिरहेको छ । यहाँ धेरै जसो भारतिय पर्यटक आउने भएकाले पनि त्यहाँ प्रचारको लागि खर्च गर्नु आवश्यक छ । त्यहाँका अधिकांशका पर्यटकहरूलाई ल्याउन सरकारले पहल गर्नुपर्छ । बाह्य पर्यटकहरू सिधै बर्दिया आउन चाहेर पनि आउन सक्दैनन । काठमाडौ आएर वर्दिया आउन समस्या हुने भएकाले पनि आउन मन नगर्ने अवस्था छ । बर्दियामा पर्यटन पूर्वाधारको विकास हुन सकिरहेको छैन । सडक सञ्जाल असजिलो हवाई मार्गको भाडादर महङ्गो छ । त्यो विषयलाई सहज र सरलीकृत गर्नमा ध्यान पुग्नु आवश्यक छ ।
‘स्थानीय खाना रुचाउनेको रोजाइमा छौं’
शेरबहादुर लम्तरी
अध्यक्ष, जन्तीलुङ्ग होमस्टे, पाल्पा
हाम्रो होमस्टेमा स्थानीय परिकारको स्वाद लिन आउनेको संख्या धेरै छ । पछिल्लो समयमा पाल्पा, रूपन्देही, कपिलबस्तु, नवलपरासीका मानिसहरू यहाँ रमाउन आउने गर्दछन् । हामी विशेषगरी यहाँ स्थानीय स्तरमा उत्पादन भएका फापर, कोदोको रोटी र टिमुरको अचार नास्ताको रूपमा दिने गरेका छौं । त्यसैगरी कोदो फापरको ढिडो, लोकल कुखुराको मासु, माछा, बोकाका परिकारहरू दिने गरेका छौं । । हामी पाँचवटा घरबाट होम स्टेको सुबिधा छ । अब छिट्टै स्थानीय र प्रदेश सरकारको सहयोगमा सडकको स्तरोन्नतीसँगै थप ७ वटा घरबाट पहुनालाई सुबिधा दिने योजना बनाएका छौं । यहाँ आउने पर्यटकहरूलाई सडकको ठूलो समस्या छ । जन्तीलुङ्ग होमस्टे पाल्पाको डुम्रेबाट १० किलो मिटर माथि डाँडामा रहेको छ ।
‘यातायातलाई अभिन्न अंग बनाउनुपर्छ’
दधीराम खरेल
अध्यक्ष, पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवल ।
यातायात क्षेत्रले पर्यटनको विकासका लागि ठूलो भूमिका खेल्न सक्छ । हामीले यातायात पूर्वाधारका कुरा गरिरहँदा यातायात क्षेत्रलाई पछाडि राखेको पाईएको छ । तीन वटै तहले यातायात क्षेत्रमा जाने पहुँच मार्गका लागि पूर्वाधार निर्माण सहित यातायातका साधानहरूको विकास गर्न आवश्यक छ । सरकारले यातायात व्यवसायीहरू संग मिलेर पर्यटकीय क्षेत्रको विकासका लागि सहज पहुँचका लागि सहकार्य गर्न सक्छ, हामी यसमा तयार छौं । लुम्बिनी क्षेत्रलाई सिधा बस चलाउने गरी योजना बनाएका छौं । हामीहरूले लुम्बिनीले आन्तरिक र बाह्य पर्यटकको सेवाको लागि बस चलाउने छौं । लुम्बिनी देखि अन्तर्राष्ट्रिय, लुम्बिनी देखि काठमाडौं बस, चलेका छन् । जसले गर्दा पर्यटन प्रर्वद्धनको काम भैरहेका छन् । हामीले लुम्बिनी–बुटवल स्थानीय बसको रूपमा रामापुरदेखि चलाउने योजना बनाएका छौं । । ईभी गाडीलाई संस्थागत सुबिधा दिएर हामी बुटवलदेखि लुम्बिनी बस चलाउने योजना बनाएका छांै । हामी जिम्मेबारी लिएर बस सेवा चलाउने छौं |
‘नयाँ पर्यटकीय गन्तव्यको पहिचानमा जोड’
सृजना ओली सुज्जु
स्लो, मोटो भलगर, रुकुम
लुम्बिनी प्रदेश मात्रै नभएर देशभरकै समस्या उस्तै छ । खासगरी पर्यटकीय दृष्टिकोणबाट अझै पनि धेरै ठाउँमा नयाँ पर्यटकीय गन्तव्यको खोजी र विकास हुन सकेका छैन । लुम्बिनी प्रदेशमा गौतम बुद्ध मात्रै होईन, हामीसँग हिमाल छ, पहाड छ, विभिन्न पर्यटकीय गन्तव्य पनि छन् । तर त्यसको सोंचेजस्तो विकास हुन सकेको छैन । खासगरी हामी विभिन्न स्थानमा जाँदा त्यहाँ खाने, बस्ने, घुम्ने, पहिचान दिने खालको काम हुन सकेको छैन । खासगरी स्थानीय तहले पनि यसमा ठोस काम गर्न सकिएको छैन । हामी जस्ता धेरै पर्यटन अभियान्ताहरू हुनुहुन्छ, उनीहरूको विकासका लागि सबैलाई समेटेर लैजानु पर्दछ । सबैले साझा पहल गरेमा पर्यटन क्षेत्रको विकासमा भूमिका खेल्न सकिन्छ ।
‘पर्यटक सुरक्षा र सहायता केन्द्रको आवश्यकता देखिन्छ’
प्रनुशा अर्याल
वि.टि.टि.एम.विद्यार्थी, लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पस
स्थानीय तहको सहभागिता विना दिर्घकालिन पर्यटन सम्भव छैन । पर्यटन क्षेत्रलाई मध्यनजर गर्दै पूर्वाधार विकासमा जोड दिनु आवश्यक छ । बाटो, बिजुली, सुरक्षा, खानेपानी लगायतका सुबिधा अपरिहार्य रहन्छ । मुर्त अमुर्त सँस्कृतिलाई जिवित राख्न त्यसको संरक्षण र विकासका साथै जनचेतना मुलक कार्यक्रमहरू आवश्यक छ ।
लुम्बिनी प्रदेशका पर्यटकिय स्थलहरूको उचित संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय समुदायको सहभागिता बढाएर यस क्षेत्रलाई प्रभावकारी रूपमा विकास गर्न सकिन्छ । स्थानीय रूपमा होमस्टे, हस्तकलाको सामग्री तथा कृषि पर्यटनलाइ जोड दिएर समुदायस्तरमा आम्दानी बढाउन सकिन्छ । ऐतिहासिक साँस्कृतिक तथा धार्मिक स्थानको महत्वको अवस्था हेरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म प्रचार प्रसार गर्नुपर्दछ । पर्यटन नीति बनाइ पुरातात्विक, ऐतिहासिक, साँस्कृतिक महत्वको हेरचाहको लागि स्थानीय स्तरमा सम्बन्धित विषय विज्ञको उपलब्धता गराउनुपर्छ । पर्यटक सुरक्षा तथा पर्यटक सहायता केन्द्रको स्थापनाको आवश्यकता देखिन्छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी