© २०२३
अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई राखेको सुन्न पाउँदा आम नेपाली नागरिकलाई खुसी र हर्षित वनाएको छ । लुम्बिनीको विकास जुनरूपमा हुनुपथ्र्यो त्यसमा नेपाल सरकारले वेवास्ता गरिरहेपनि लुम्बिनीको अन्तर्राष्ट्रिय महत्व कति रहेछ भन्ने कुरा न्यूयोर्क टाइम्सले प्रकाशित गरेको सूचिमा नवौं गन्तब्यमा पर्नुले पुष्टी गरेको छ । हालै सार्वजनिक गरिएको गन्तब्य सूचिले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि हो । नेपालले पैसा खर्च गरेर पनि गर्न नसक्ने काम न्यूयोर्क टाइम्सको यो सूचीले गर्ने निश्चित छ । लुम्बिनीको गौरवलाई जोगाउने काम आगामी दिनमा भयो भने त्यसले निश्चितरूपमा लुम्बिनीको पहिचान अव अन्तर्राष्ट्रिकरण हुनेछ । लुम्बिनी बौद्धमार्गीहरूको लागि मात्रै होइन, सारा विश्वका शान्तिप्रिय नागरिकका लागि आस्थाको केन्द्र बन्ने निश्चित छ । त्यसका लागि नेपाल सरकारले लुम्बिनीमा जसरी विकासको बाढी ल्याउनु पथ्र्यो, त्यसमा कमी भएकै हो । अतः आगामी दिनमा लुम्बिनी गुरुयोजना पूरा गरि लुम्बिनीलाई पर्यटनको हब वनाउने दिशामा कुनैपनि कसर बाँकी नराखोस् । पछिल्लोसमय लुम्बिनीमा कोभिड अघिकै संख्यामा पर्यटक आगमन बढेको छ । लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका छन । अव लुम्बिनी नवौं गन्तब्य सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभई सारा विश्वबाट पर्यटकको लुम्बिनी आगमन बढ्ने अपेक्षा गरिएको छ ।
लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटक र बौद्ध धर्मावलम्बीहरूले लुम्बिनीको विकास देखेर चिन्ता मान्ने गरेका छन् । लुम्बिनीको विकास जसरी हुनुपथ्र्यो त्यो रूपमा नभएको देख्दा बौद्ध धर्मावलम्बीहरूलाई चिन्ता लाग्नु स्वाभाविक हो । अझै लुम्बिनीप्रति सदासयता राखेर लुम्बिनी भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले समेत लुम्बिनीको विकास कछुवा गतिमा भएको देख्दा निरास हुने गरेका छन् । जापानी पुरातत्वविद तथा वास्तुविद प्रोफेसर केन्जो टांगेले सन. १९७८ मा तयार पारेको लुम्बिनी गुरुयोजना ४३ बर्ष हुँदा पनि सम्पन्न नहुनु चिन्ताको कुरा हो । यो गुरुयोजना समयै सम्पन्न भएको भए लुम्बिनीको विकासमा ठूलो परिवर्तन आउने थियो तर त्यसमा सरकार चुक्दै आएका छन् । जुन सरकार बनेपनि लुम्बिन(ीको गुरुयोजना पूरा गर्ने आश्वास दिन्छ तर पर्याप्त बजेट नदिँदा गुरुयोजनामा विलम्ब हुँदै आएको छ । लुम्बिनीका होटल व्यवसायीले समेत लुम्बिनी गुरुयोजना पूरा गर्न सरकार तथा लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराउँदै आएका छन् । लुम्बिनीमा कोभिड पहिलेकै अवस्थामा पर्यटक आगमन बढ्दा लुम्बिनीका पर्यटन व्यवसायी खुसी छन तर सरकारले लुम्बिनीको विकासमा गर्दै आएको वेवास्ताप्रति उत्तिकै चिन्तित पनि छन । अवको दिनमा लुम्बिनी गुरुयोजना पूरा गर्नेतर्फ सरकारको ध्यान जाओस् । बजेटको व्यवस्था भए दुई बर्षभित्रैमा गुरुयोजना पूरा हुन्छ तर त्यसमा सरकारको प्रतिवद्धता जरुरी छ । जेहोस पछिल्लोपटक लुम्बिनी नवौं गन्तब्य सूचीमा पर्नु नेपाल र नेपालीको गौरवको बिषय हो । लुम्बिनीप्रति विश्व समुदायको नजर परेको रहेछ भन्ने यो सूचीले स्पष्ट गरेको छ । न्यूयोर्क टाईम्सले हचुवाको भरमा यो सूची सार्वजनिक गरेको अवश्य होइन, तसर्थ लुम्बिनीप्रति अव विश्वकै धान जानेछ भन्ने अपेक्षा बढेको छ । नेपालले आफ्नो सम्पदा पहिचान गर्न नसकेको अवस्थामा न्यूयोर्क टाईम्सले आँखा खोल्ने काम गरिदिएको छ । अव संघीय सरकार, लुम्बिनी प्रदेश सरकार र स्थानीय लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि लुम्बिनीको समग्र विकासका लागि कम्मर कसेर लाग्ने बेला आएको छ । लुम्बिनीलाई ब्राण्डिङ गर्न सकिएमात्रै पनि नेपालको विश्वमाझ गौरव र पहिचानमा बृद्धि हुनेछ ।