© २०२३
चन्द्रौटा, २९ पुस ।
गौतमबुद्धको जन्मस्थल लुुम्बिनी भ्रमण गर्न आउने पर्यटकहरूले डुंगा चढ्दा ठगीने गरेको बताएका छन् । लुम्बिनी भित्रको केन्द्रीय नहरको १ हजार ६ सय मिटरमा ठेक्काद्वारा डुंगा संचालनमा रहेको छ । केन्द्रीय नहरमा डुंगा शयर गर्दा तोकिएको भन्दा बढी शुल्क लिने गरेको आरोप छ । डुंगा संचालन गर्न लुम्बिनी विकास कोष र रंगमल रिभरल्याण्ड प्रालि भरतपुर बीच ५ वर्षको लागि सम्झौता भएको छ । १ करोड ७९ लाख ७८ हजार ३०० रकममा ध्वनि कम भएको र धुवाँ नभएको डुंगा सञ्चालन गर्ने सहमति भएको छ ।
सम्झौता अनुसार नेपाली र विदेशी नागरिकलाई एकतर्फि भाडादर ५० रूपैयाँ रहेको छ । आउजाउ गर्दा २ तर्फि भाडा ८० रूपैयाँ पर्छ । तर ठेकेदार पक्षले दुईतर्फी भाडा वापत १ सय रूपैयाँ लिँदै आएका छन् । उनीहरूले दुईतर्फी टिकट नछाप्दा पर्यटकहरू अतिरिक्त शुल्क तिर्न बाध्य बनेका छन् । डुंगाको भाडादर सार्वजनिक नगर्दा पर्यटक अलमलमा पर्ने गरेको समेत पर्यटकहरू बताउँछन् ।
लुम्बिनीमा पर्यटक गौतमबुद्धको जन्मस्थल दर्शन गर्न आउने गरेको घुँइचो लाग्ने गर्दछ । सँगै त्यहाँ गएपछि ढुंगा चढेर रमाणीय स्थानको समेत अवलोकन गर्न सकिन्छ । घुम्न जाने पर्यटक केन्द्रीय नहरमा चल्ने डुंगा चढेर आनन्द समेत लिने गरेका छन् । स्वादेश तथा विदेशबाट घुम्न आउने पर्यटकको डुंगा चढ्ने, फोटो भिडियो खिच्ने र टिकटक बनाउन मोहित भएका देखिन्छन् । डुंगा चढ्दै नहरको दाँया बाँया रहेका बौद्ध विहार हेर्न पर्यटकहरू आन्नदित हुने गरेका छन् । तर ढुंगा
चढ्दा ठगिएको भने पत्तो पाउँदैनन् । लुम्बिनीमा डुंगा चढ्ने पर्यटक ठगिने गरेका छन् । नहरको दक्षिणी छेउमा अखण्ड शान्ति दीप छ । अर्को छेउ नजिकै लुम्बिनी संग्रहालय छ ।
विद्यार्थीलाई छुटको व्यवस्था
अवलोकन गर्न आउँदा डुंगा शायर गर्दा विद्यार्थीहरूलाई सहुलियतको व्यवस्था रहेको छ । तर त्यो कार्यान्वयन भने छैन । प्रति व्यक्ती ५० रूपैयाँ दरले टिकट बिक्री गरिदैँ आएको छ । तर विद्यार्थीको हकमा एक तर्फी २५ रूपैयाँ र दुई तर्फी ५० रूपैयाँ भाडादर रहेको छ । टिकट काउन्टरका कर्मचारीले विद्यार्थीहरूलाई छुट भएको दाबी गर्छन् । समूहमा आउदा ३०/३५ जना विद्यार्थी आउदा ५ ओटा टिकट निःशुल्क दिने काउन्टरका कर्मचारीहरू बताउँछन् ।
बिहीबार डुंगा चढेर लुम्बिनी दर्शन आएका त्रिचन्द्र मल्टिपल क्याम्पसमा अध्ययनरत विद्यार्थी अविना पौडैलले एक तर्फी ५० रूपैयाँ भाडा तिरेर आएको बताईन । उनले भनिन, ‘टिकट काउन्टरमा भाडा दर उल्लेख गरिएको छैन् । ठेकेदारले एउटै टिकट मात्र देखाउछन् । भाडादर टाँस गरेको भए थाहा पाइन्थ्यो ।’ टिकट काउन्टरका एक टिकट काउन्टरमा भाडादर स्पष्ट रूपमा उल्लेख नगरिएको कारण पर्यटकले शुल्कबारे जानकारी नपाउने स्थिति छ ।
कतिपय पर्यटकले ठगी भइरहेको महसुस गरे पनि प्रमाण देखाउन सकिरहेका छैनन् । रंगमल रिभर ल्याण्डले ठेक्का पाए पनि लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अकरामुद्दिन मुसलमानको जिम्मामा रहेको स्थानीय कर्मचारी बताउँछन् ।
यता लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले तत्काल सम्झौता अनुसारको टिकट दर कायम गर्न ठेकेदार पक्षलाई निर्देशन दिने जनाए । भर्खर टेण्डर भएका कारणले समस्या हुनसक्ने उनको भनाइ छ ।