© २०२३
हमासले इजरायल आक्रमणको क्रममा कब्जामा लिइएकामध्ये थप ३४ बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । नेपाली विद्यार्थी विपिन जोशी पनि यसपटक बन्दी रिहाईका क्रममा मुक्त हुने विश्वास गरिएको थियो तर विपिन रिहाईको सूचीमा नपर्दा नेपालको विश्वासमाथि तुषारापात भएको छ । विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल तीव्र पारेको बताएपनि सरकारको प्रयास असफल भएको छ । रिहाई हुने बन्दीहरूको नाम सार्वजनिक भैसकेको छ तर दुःखको कुरा विपिनको नाम समावेश छैन । सूचीमा एकदेखि ८५ वर्ष उमेर समूहका बन्दी छन् । हमासले गत ७ अक्टुबर सन् २०२२ मा इजरायली भूमिमा प्रवेश गरी आक्रमण गरी एक हजार दुई सयभन्दा बढीको ज्यान लिएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । मृत्यु हुनेमा दश नेपाली विद्यार्थी पनि थिए । त्यसमा विपिन जोशी सकुशल हमासको कब्जामा परेका थिए । गाजामा युद्धविराम र बन्धक रिहाइको सम्झौताको प्रयास स्वरूप कतारमा लगातार वार्ता चलिरहेको छ । नेपाल सरकारले कतार सरकारलाई विपिन जोशी रिहाईको बिषयमा ध्यानाकर्षण गराएको थियो तर नेपाल सरकारको कुटनीति असफल देखिएको छ । अर्को चिन्ताको कुरा के छ भने इजरायल हमास लडाकुले मुक्त गर्न लागेका व्यक्तिहरूको सूचीमा नेपालका विपिन जोशी नरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । आक्रमणको क्रममा हमासका लडाकुहरूले कञ्चनपुरका विपिन जोशीसहित दुई सय ५१ जनालाई बन्धक बनाएर प्यालेस्टिनी भूमितिर लगेका थिए । त्यसयता जोशीको अवस्था अज्ञात छ ।
सन् २०२३ को नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी फुटेजमा हमासले नियन्त्रणमा लिएका केही व्यक्तिहरू दखिएका थिए । तीमध्ये एकजना नेपाली पनि रहेको इजरायली सेनाले जनाएको थियो । नेपाली भनिएका ती व्यक्ति विपिन हुनसक्ने अनुमान नेपाली अधिकारीले गरेका थिए । तर, त्यसयता भने विपिन कतै देखिएका छैनन् । यो गंभीर चिन्ताको कुरा हो । नेपाल सरकारको विपिन जोशीलाई मुक्त गराउने कुटनीतिक प्रयास असफल भएको यो उदाहरण हो । विपिनको अवस्था के छ भन्ने जानकारी समेत नेपालले नपाउनु भनेको विश्वमञ्चमा नेपालको कमजोर प्रभाव झल्किन्छ । नेपालले पटकपटक विपिन जोशीको रिहाईका लागि आग्रह गरेपनि उनको रिहाई हुन नसक्नुको पछि अनेक कारण होलान् । त्यसमध्येको प्रमुख कारण हो– नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जोडदार माग उठाउन नसक्नु । इजरायल र हमासबीच धेरैपटक युद्धविराम भयो । युद्धविराम लागू भएपछि हमासले बन्धक मुक्तीको प्रकृया धेरैपटक अघि बढाएको हो । नेपालले अहिलेसम्म धेरैपटक यसका लागि पहल नगरेको होइन तर जोडदार रूपमा आवाज उठाउन नसक्नु नेपालको कुटनीतिक कमजोरीको परिणाम हो भन्दा अत्युक्ति हुँदैन ।
पछिल्लोपटक हमासको कब्जामा रहेका केही दर्जन बन्धक मुक्तिको कुरा सोमबारदेखि विश्वभर हावासरी फैलिएको छ । यसमा विपिन जोशीको पनि नाम हुने अनुमान गलत सावित भएको छ । अर्को कुरा हमासले बन्धक बनाएका बिपिन जोशीको अवस्था के छ भन्ने समेत थाहा हुन सकेको छैन । एक बर्षको बीचमा अरू देशका नागरिक मुक्त हुँदा विपिनको बिषयमा अहिलेसम्म अवस्था अज्ञात रहनु चिन्ताको बिषय हो । उनी अहिले कुन अवस्थामा छन भन्ने समेत अहिलेसम्म अज्ञात छ । अहिले कतारमा बन्धक मुक्ति र इजरायल हमास युद्धविरामको लागि बार्ता चलिरहेको छ । कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले बिपिन जोशीको रिहाईका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । तर, उनको खोक्रो आश्वासन र प्रतिवद्धताले चिन्ता थपिएको छ । ढिलै भएपनि अव नेपालले विपिन जोशीको रिहाईको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्दछ । बन्धक मुक्तिको प्रकृया चलिरहने भएकोले आगामी दिनमा नेपालका तर्फबाट हुनुपर्ने कुटनीतिक पहलमा कुनैपनि कमी नआओस् ।