© २०२३
सरकारले देशका विभिन्न स्थानमा निर्माण गरेका भ्यूटावर सञ्चालन हुन नसक्दा र त्यसले सोचे अनुरूपको प्रतिफल दिन नसक्दा भ्यूटावरमा गरिएको लगानी डुब्ने अवस्था छ । दिर्घकालीन योजना र सोँच अनुसारको विकास निर्माण नगर्दा त्यसको प्रतिफल राम्रो आउँदैन भन्ने यो एक उदाहरण हो । भ्यूटावर बनाउने तर बीचमा बजेट अभाव लगायतका विभिन्न कारण देखाएर सञ्चालन नगरी त्यत्तिकै अलपत्र छोड्दा सरकारको करोडौं लगानीले प्रतिफल दिन सकिरहेको छैन । रूपन्देहीको तिलोत्तमामास्थित शंकरनगर वनवाटिकाभित्र निर्माण गरिएको भ्यूटावर अहिले बन्द अवस्थामा छ । २०७८ चैत १५ गते प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेको यो भ्यूटावरको गेटमा ताला लागेको अवस्था छ । १० तलाको टावर निर्माण भएपनि सञ्चालन प्रक्रिया अलमल हुँदा एकातिर राज्यको करोडौं लगानी डुबेको अवस्था छ भने अर्कोतर्फ त्यहाँ आउने सर्वसाधारणले भ्यूटावरको मज्जा समेत लिन नपाउने अवस्था उत्पन्न भएको छ । साढे ११ करोड लगानीमा बनेको टावर सञ्चालनमा ढिलाइ हुँदा पर्यटक निरास बनेका छन । भ्यूटावर कंक्रिटमा रूपान्तरण हुने हो कि भन्ने चिन्ता बढेको छ । नेपालमा करोडौं लगानीमा संरचना बनाउने र सञ्चालन नगरि त्यत्तिकै अलपत्र बनाउने काम बर्षौदेखि हुँदै आएका छन् । यो पछिल्लो उदाहरणमात्रै हो । भ्यूटावर निर्माण भए पनि तलका संरचना निर्माण हुन बाँकी रहेको छ । भ्यूटावरमा तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत र वनवाटिकाको ३० प्रतिशत लगानी भएको छ । तर, निर्माण सम्पन्न भएको दुई बर्ष पूरा हुँदा पनि सञ्चालनमा आउन ढिलाई हुँदा लगानी बालुवामा पानी हुने हो कि भन्ने चिन्ता छ । शंकरनगर वनवाटिकाभित्र दैनिक एक हजारदेखि दुईहजार आन्तरिक तथा बाह्य पर्यटक घुम्न जाने गर्दछन् । त्यसमध्ये १० प्रतिशतले मात्रै भ्यूटावर चढेपनि यो आम्दानीको महत्वपूर्ण माध्यम बन्नेथियो । यसको संचालनमा अव ढिलाई नगरी सम्वन्धित तिलोत्तमा नगरपालिकाले सञ्चालनको पहल गरोस् । भ्यूटावर सञ्चालन हुँदा ६० जनाभन्दा धेरैले रोजगारी पाउने र वनवाटिकाले पनि आफ्नो आम्दानी बढाउन सक्ने अवस्था छ । शंकरनगरको भ्यूटावरमात्रै होइन, मुलुकका विभिन्न स्थानमा निर्माण भएको भ्यूटावरलाई अलपत्र छोड्ने काम भएको छ । यस बिषयमा सम्वन्धित पालिका र प्रदेश सरकार तथा नेपाल सरकारको ध्यान जाओस् । भ्यू टावर निर्माण गर्दा त्यसको आवश्यकता, त्यसले दिने प्रतिफल, लगानी उठ्ने माध्यम, सञ्चालन विधि बनाउनु पर्ने हो तर हतारमा गरिएको काम लतपत भनेजस्तै भ्यूटावर निर्माणको लहरमा सुरु भएको यसको निर्माणको काममा वेवास्ता हुनु चिन्ताको कुरा हो ।
उता केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७६ सालमा शिलान्यास भएको झापाको दमकस्थित भ्यूटावर भने गत सातामात्रै सञ्चालनमा आएको छ । दमक भ्यूटावरमा राज्यको करोडौं लगानी भएको छ । दमक बजारबाट करिब तीन किलोमिटर दूरीमा पाँच बिघामा झन्डै डेढ अर्ब लागतमा ठडिएको टावरसम्म सडक सुविधा लगायतका अन्य पूर्वाधारको पहुँच पु¥याउनकै लागि अनुमानित ५० करोड रूपैयाँ लगानी हुनेछ । प्रश्न भ्यूटावर बनाएकोमा होइन, बनाउँदा भएको अबौंको खर्चको लागत उठछ कि उठ्दैन भन्ने हो । तसर्थ दमक भ्यूटावरले लगानी नउठाउने चिन्ता छ । आवश्यकता विना र योजना विनाको राज्यको लगानी बालुवामा पानी नहोस् भन्नेतर्फ ध्यान पु¥याउनुपर्ने छ । त्यसो त सवै भ्यूटावरले लगानी उठाउन सक्दैन भन्ने होइन । तिलोत्तमाको शंकरनगरमा बनेको भ्यूटावरले लगानीमात्र होइन, त्यसको धेरै प्रतिशत आम्दानी गर्न सक्छ तर सरकारले छिटो बाँकी पूर्वाधार निर्माणमा ध्यान दिनु जरुरी छ । काठमाण्डौंस्थित धरहराले अहिले राम्रो आम्दानी दिन थालेको छ । त्यसकारण शंकरनगरको भ्यूटावरपनि छिटो सञ्चालन होस भन्ने हो । कम्तिमा त्यसले राम्रो प्रतिफल दिनसक्छ भन्ने विश्वास गरिएको छ । प्रधानमन्त्री ओलीले यसअघि पटकपटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेका भ्यूटावर लगायतका प्रयोगविहीन भौतिक संरचना चलाउनेतर्फ ध्यान दिनुपर्दछ । विकासको पूर्वाधार र औचित्य पुष्टी हुने संरचनाले प्रतिफल दिन्छ तर त्यसलाई समयमै पूरा गरिएन भने त्यो खण्डहर बन्ने भएकोले राज्यको लगानी बालुवामा पानी नहोस् भन्ने चिन्ता हो ।