© २०२३
तराईमा यो बर्ष अझै कडाखालको शितलहर चलेको छैन । शितलहर नचलेपनि चिसो भने बढेको छ । चिसोले विशेषगरी बालबालिका तथा वृद्धवृद्धाहरू प्रभावित भएका छन् । वृद्ध वृद्धा र बालबालिकाहरूमा चिसोको कारण दम, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको छ । त्यसले च्याप्न थालेपछि स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्न थालेको छ । त्यसैले चिसोबाट बच्न पूर्व सतर्कता अपनाउन जरुरी छ । तराईमा यो बर्ष शितलहरको कहर अझै सुरु भैसकेको छैन । तर, दिनभरी लाग्ने कुहिरोको कहरको पूर्व तयारीमा ध्यान दिनु चाहिँ जरुरी छ । त्यसो त हरेक वर्ष निश्चित महिनामा अत्यधिक जाडो हुने तथा तराई क्षेत्रमा शीतलहरको प्रभावले जनजीवन प्रभावित हुने थाहा भए पनि जाडोबाट बच्नको लागि आवश्यक तयारी नगर्दा जनजीवन बढी प्रभावित हुने गरेको छ । कतिपय अवस्थामा भने जाडोबाट बच्न सामान्य सावधानी नअपनाउँदा पनि जनधनको क्षति पुगेको देखिन्छ । चिसोमा आगो ताप्ने बेलामा समेत सचेतता नअपनाउँदा यो मौसममा आगलागीका घटनासमेत बढ्ने गरेको छ । चिसोको समयमा लाग्ने रोगहरू र त्यसबाट बच्चे उपायका बारेमा सचेतना फैलाएमा पनि यो मौसममा हुने स्वास्थ्य समस्याबाट धेरै जोगाउन सकिन्छ । चिसोका कारण किसानले लगाएको हिउँदे खेतीमा समेत नोक्सान भइरहेको छ । तुसारोले फलफूल तथा अन्य तरकारी खेतीमा असर परेको छ । चिसोको कारण बिहान सबरैदेखि साँझ अबेरसम्म कामकाजमा व्यस्त रहनेहरूको दैनिकी पनि प्रभावित भएको छ । चिसोकै कारण शहर बजारमा रहेका व्यापारिक केन्द्रहरूमा पनि साँझ–बिहान चहलपहल घटेको छ । तुलनात्मकरूपमा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गहरू यो समयमा अझ बढी प्रभावित हुने गर्छन् । मौसम अनुसार चिसो बढ्नु स्वाभाविक भएपनि यसमा पूर्व सतर्कता अपनाउँदा चिसोबाट नागरिकलाई सुरक्षित राख्न सकिन्छ । पश्चिम तराईमा हिउँद लागेपछि पानी नपरेको लामो समय भयो । सम्बन्धित सरकारी निकाय र संघ संस्थाहरूले पनि नागरिकलाई चिसोबाट जोगाउने कार्यक्रम एवं योजना ल्याउनुपर्छ । प्रकृतिजन्य समस्या भएकाले चिसो कसैले रोक्न तथा छेक्न त सक्दैन, तर पूर्वतयारी गर्न सकियो भने क्षति न्यूनीकरण गराउन भने अवश्य सकिन्छ । बेलैमा सचेत भएर चिसोबाट बच्ने र बचाउन सकिने विकल्पबारे सोच्नुपर्छ । यतिखेर पहाडी जिल्लाका तुलनामा तराईका जिल्लामा चिसोको समस्या धेरै छ । अव केही दिनमै तराईमा शितलहर सुरु हुने मौसमबिदहरूले जानकारी दिएका छन । तसर्थ पूर्व सावधानीमा जोड दिनु जरुरी छ । जाडोमा एकसरो कपडासमेत किन्न नसक्ने र रातीमा ओढ्ने ओछ्याउन नहुँदा दुःख पाएका नागरिक सबैभन्दा धेरै पीडामा छन् । यो समयमा उनीहरूलाई गास, बास र कपासको उचित प्रबन्ध गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । असहाय नागरिकको संरक्षक राज्य भएका कारण उनीहरूलाई चिसोबाट जोगाउने अभिभारा पनि राज्यले बहन गर्नुपर्छ । सरकारसंगै मानव सेवामा लागेका धार्मिक, सामाजिक संघ संस्थाहरू र आर्थिकरूपले सम्पन्न नागरिकले पनि यतिबेला मानवता प्रदर्शन गरेर चिसो पीडितहरूलाई सघाउनुपर्छ ।
यो बर्ष सरकारले अहिलेसम्म त्यस्तो कुनै योजना सार्वजनिक गरेको छैन । तर, अव भने ढिलाई गर्नु हुँदैन । गत असोजमा गएको बाढी पहिरो प्रभावितहरू अझैपनि टहरामा बसिरहेका छन । उनीहरूको त्रिपालमुनीको बासले प्रभावितहरू विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन । सवैभन्दा बढी सुत्केरीहरू प्रभावित भैरहेका छन । उनीहरूलाई विभिन्न संघ संस्थाहरूले अस्थायी आवास बनाई दिएपनि दिर्घकालीन बासस्थानको व्यवस्थापन हुन सकेको छैन् । सरकारले जाडो अघि उनीहरूको व्यवस्थापन गर्ने भनेको हो तर त्यो भएन । अवको दिनमा प्रभावितहरूको उचित प्रवन्ध मिलाएर उनीहरूलाई चिसोबाट बचाउनेतर्फ राज्यको ध्यान जाओस् । सरकारले आश्वासन दिनेमात्रै होइन, बोलेको कुरा पूरा गरेर देखाओस् ।