© २०२३
संघीय कृषि मन्त्रालयले जिल्लागत रूपमा ७७ वटै जिल्लाको आधिकारीक तथ्याँक सार्वजनिक नगरेपनि यो बर्ष धान उत्पादनमा बृद्धि भएको प्रक्षेपण गरेको छ । धान उत्पादनमा भएको बृद्धिले नेपालको आर्थिक क्षेत्रले थोरै भएपनि उत्साहित वनाएको छ । त्यसै त आर्थिक मन्दीको असर नेपालको सवै क्षेत्रमा परिरहँदा कृषि त्यसमा पनि धान उत्पादनमा बृद्धि हुँदा किसानलाई मात्रै होइन, सरकार समेत उत्साहित बन्ने अवस्था आएको छ । धान उत्पादनमा कमी आउँदा नेपालको कूल गार्हस्थ्य उत्पादनमा प्रभाव पर्दछ । त्यसैपनि बार्षिक ४० अर्बको चामल नेपालले भारतबाट आयात गर्नु परिरहेको छ । कृषिले कुल गार्हस्थ उत्पादनको ३३ प्रतिशत हिस्सा ओगटेको छ । यद्यपि सिँचाई संयन्त्र तथा सुविधाको अभाव, निरन्तरको बन्द र द्वन्द्वका कारण कृषि कार्यमा निरन्तर अवरोध, रासायनिक मल आपूर्तिमा कठिनाइ झेल्दै नेपालले कृषिमा अहिलेसम्म क्रान्ति गर्न सकेको छैन । कृषिमाथिको निर्भरता कम गर्दै औद्योगीकरण लगायत अन्य उत्पादन क्षेत्रलाई प्रोत्साहित गर्ने विभिन्न नेताहरूले समय समयमा दिएका अभिव्यक्तिले नीतिको रूप लिन सकेनन् र कृषिलाई अगाडि बढाउने जिम्मेवारी असंगठित रूपमै भएपनि किसानहरू स्वयंले वहन गर्दै आएका छन् । कृषि मन्त्रालयले तथ्याँक सार्वजनिक नगरेपनि नीजि क्षेत्रले यो वर्ष हालसम्मकै धेरै करिब ६० लाख मेट्रिक टन धान उत्पादन भएको बताएको छ । धान उत्पादनमा बृद्धि भएमामात्रै नेपालको पैसा विदेश नजाने परिस्थितिले नेपालको आर्थिक जीवनस्तरमा सुधार आउने अपेक्षा गर्न सकिन्छ । सरकारले कृषि क्षेत्रलाई अझैपनि कर्के आँखाले हेर्न छोडेको छैन । जुन पार्टीको सरकार आएपनि कृषिलाई पहिलो प्राथमिकता भन्न्े गरिएको छ तर वास्तविकता त्यो भन्दा फरक छ । किसानले मल नपाउने अवस्थाको अन्त्य हुन सकेको छैन । धान उत्पादनमा बृद्धिले हौसला बढाउँदै गर्दा समयमै मल र सिंचाईको व्यवस्था हुने हो भने नेपालले कृषिमा चमत्कार गर्ने निश्चित थियो । कृषिबाटै नेपालको सम्मृद्धिको सपना पूरा हुने कुरामा कुनै द्विविधा थिएन तर बिडम्वना जुन जोगी आएपनि कानै चिरेको भनेजस्तै सरकारमा भैरहने परिवर्तनले नेपाली जनताको कृषिमा आत्मनिर्भर बन्ने सपनामा तगारो उत्पन्न भैरहेको छ ।
सरकारले प्रोत्साहनको नीति लिने हो भने नेपालमा कृषिले सम्मृद्धिको ढोका खोल्न सक्छ भन्ने विगतदेखिकै उदाहरण काफी छ । धानमा मात्रै होइन नेपालले गहुँ, मकै, दलहन, तेलहन, कोदो लगायतका बालीमार्फत उत्पादन बृद्धि गरि तेश्रो देश निर्यात गर्न सक्छ । विगतको पञ्चायती व्यवस्थाको बेला नेपालले विदेशका विभिन्न देशमा अनिकाल पर्दा चामल र गहुँ निर्यात गरेर सहयोग गरेको इतिहास कदापि बिर्सन सकिदैन् । अवको दिनमा नेपालल भूगोल र जलवायु सुहाउँदा अन्य नगदे बाली प्रोत्साहित गर्ने नीति सरकारले अख्तियार गरेमा कृषिमा आत्मनिर्भर हुन समय लाग्ने छैन् । तर, त्यसका लागि सरकारको प्रतिवद्धता आवश्यक छ । सरकारले सिंचाईको प्रभावकारी व्यवस्था गर्नुपर्दछ । समयमै मल पाउने वातावरण तयार हुनुपर्दछ । अवको दिनमा कृषियोग्य भूमि संरक्षण गर्ने र उत्पादन बढाउने हो भने खेतीयोग्य जमिनलाई घडेरी बनाउने सरकारको नीतिमा परिवर्तन जरुरी छ । खेतीमै रमाउने कृषकहरूलाई सरकारले प्रोत्साहनको नीति लिनु जरुरी छ । उनीहरूलाई बीउपल, मल लगायतमा अनुदानमात्रै होइन, बैंकको ऋणमा समेत सहुलियत प्रदान गर्नुपर्दछ । नेपाललाई कृषि प्रधान मुलुक अझैपनि बनाउन सकिन्छ तर त्यसका लागि भाषणमा होइन यथ(ार्थमा देखाउनु जरुरी छ । बिडम्वना पहाडका खेत बाँझै भैरहेका छन् । पहाडबाट सहर तथा तराईमा बसाईसराई गर्ने क्रममा बृद्धि भएको छ । यो अवस्थामा अन्न भण्डार मानिने तराई कंक्रिट बन्ने र उर्बर पहाड उजाड बन्ने बाहेक केही हुँदैन् । अझैपनि सरकारको प्राथमिकता कृषिमा क्रान्ति गर्ने छ भने कृषिमा कायापलटको नीति ल्याउ ।