© २०२३
८२ वर्ष पुगेका कौशल बस्याल गुरुसँग बुटवल कालिका क्याम्पसमा भेट्ने सुनौलो अवसर जुर्यो । गुरु टाठा रहेछन् अझै । बोली पनि उस्तै । मैले समीपमा पुगेर नमस्कार गरें । गुरुले अचेल के गर्दैछौं दलबहादुर भनेर सोधे । मलाई अझै बिर्सिनु भएको छैन भनेर ठट्यौलीपारामा सोधें ।
बुटवलको ज्ञानोदय रात्रि माविमा २०४५ देखि ०४७ सालसम्म उनकै विद्यार्थी थिएँ । उनका प्यारा विद्यार्थीभित्र म नि थिएँ । गुरुले हामीलाई कक्षा ८ देखि १० सम्म नेपाली विषय पढाउँथे । गुरुको पढाउने शैली खुबै मन पथ्र्यो । करिव २८ वर्ष उनले ज्ञानोदय र २९ वर्ष कालिका मानवज्ञान माविमा पढाएर निवृत्त भएका छन् । शालीन,भद्र र मिलनसार कौशल गुरुसँग हामी खुबै झ्याम्मिएका थियौं । उनीसँग नजिक हुनुको कारणले हामीलाई ज्ञानको भोक जगाएको थियो । ज्ञानी बन्नू,अनुशासित बन्नू र भविष्यमा असल मान्छे बन्नू भन्ने गुरुको सधैं हामीलाई आशीर्वचन हुने गथ्र्यो ।
जाँगरिला थिए गुरु । दिनभर कालिका स्कुलको हेडमास्टरी गरेर नथाकी ज्ञानोदय रात्रि माविमा पढाउन आइपुग्थे । उतिबेला उनी हर्कुलस साइकिलमा टिर्लिङ्गटिर्लिङ्ग घण्टी बजाउँदै साँझको पाँच बजे स्कूल आइपुग्थे । राति १० बजे, बिदापछि सबै घरतिर फर्किन्थ्यौं । उनी आफ्नो घर हस्पिटल लाइनतिर भने हामी पाल्पाको दोभानतिर ।
कक्षाका साथीहरू मिलेर एकएक रूपैयाँ उठाएर मैले गुरुलाई दिन्थें । त्यसपछि श्रुतिलेखनका लागि हामी तयार भएपछि गुरुले शब्दहरू लेख्न दिन्थे । एकपटकमा दसवटा शब्दहरू लेखेपछि कापी चेक हुन्थ्यो । जसले उच्चारित शब्दहरू शुद्धसँग लेख्थ्यो, उठाएको पैसा प्रथम,द्वितीय र तृतीय भएवापत गुरुले नै पुस्कारस्वरूप विद्यार्थीलाई नै दिन्थे । जस्तैः आशीर्वाद, धन्यवाद्, अनुशासन, शालीन, सुशीला, सत्मर्कजस्ता शब्दहरू शुद्ध गरी लेख्न सकेमा हामीले आफैले उठाएको रकम पुरस्कार प्राप्त गथ्र्यौं ।
यसरी श्रुतिलेखनबाट प्राप्त गरेको पुरस्कारले कैयौंपटक मैले कापी,कलम किनेको छु । त्यतिमात्र होइन, आफ्नो भाषालाई शुद्धीकरण गर्न सजिलो मानेको छु । उच्चशिक्षामा नेपाली मूलविषय लिइ नपढेपनि उक्त श्रुतिलेखन प्रतियोगिताले आजसम्म दिशानिर्देश गरिरहेको महसुस् गरेको छु । नेपाली विषयको जग राम्रो बनाउन श्रुतिलेखन,सरस्वर वाचन,निबन्ध लेखन,कविता लेखन र सप्रसङ्ग व्याख्या गर्ने अभ्यासले आजपनि लेखनकर्ममा सहज बनाएको मैले अनुभव गरेको छु ।
कोही दिनभर आफ्नै काम गरेर, कोही बिटीआईमा काम गरेर वा कोही साहुकहाँ काम गरेर हामीहरू ज्ञानोदय रात्रि माविमा पढ्न भेला हुन्थ्यौं । हामी सबै रोजगार र स्वरोजगारी थियौं । मैले त दिनभर वनमा बाख्रा चराएर रात्रि स्कुल पढ्न आइपुग्थें । कामले थाकेको शरीर लिएर आउँदा पनि सरहरूको फूर्तिलो पढाईले उत्साह र उर्जा थप्थ्यो । हाम्रो पालमा हेडसर लवकुमार जोशी थिए । भैरव चर्तुर्वेदीले पनि पढाउँथे ।
नेपाली पढाउने गुरु भएर होला,कौशल गुरु कोमल मनका थिए । भावनात्मक कुरा गथ्यौं कैयौंपटक । उनको बानीव्यवहारले सारै खिच्थ्यो हामीलाई । दैलेखका गोपाल,पाल्पाका डम्बर,रूपन्देहीका तिलकलगायत हामी गुरुका असल चेला थियौं । हामीलाई गुरूप्रति सच्चा श्रद्धा जाग्थ्यो । गुरुले पनि हामीप्रति असल भाव प्रकट गर्थे । अभावमा हुर्किएका थियौं हामी । पसिनासँग पढाई साट्ने विद्यार्थी थियौं । ज्ञानोदय रात्रि मावि, हामी सबैको रहरको विद्यालयभन्दा पनि बाध्यताको स्कुल थियो । दिनभभर काम गरेर पढ्नै पर्ने स्कुल थियो ज्ञानोदय ।
हुन त त्यतिबेला ज्ञानोदय रात्रि माविको एसएलसीको नतीजा जिल्लाकै उत्कृष्ट मानिन्थ्यो । उक्त स्कुलमा पढ्न पाउनु गौरवको विषय ठानिन्थ्यो । सक्षम शिक्षक,कडा प्रशासन,अनुशासित विद्यार्थीकै कारण एसएलसीको नतीजा उत्तम हुने गथ्र्यो । काम गर्दै, पढ्दै गर्दा पनि नतीजा उल्लेखनीय हुन्थ्यो तर आज विद्यार्थीलाई सबै कुराको सेवा,सुविधा प्राप्त हुँदासमेत किन सोचेजस्तो नतीजा आउन सकेको छैन । गहन छलफलको विषय बनेको छ ।
कौशल गुरु आजपनि तन्दुरुस्त छन् । निरोगी छन् । शान्त र शालीन छन् । उमेरले शरीरमा कमजोरी हुनु त सामान्य कुरा हुन सक्लान् । तर आँट,हिम्मत,सम्झन सक्ने खुवी र कुराकानी गर्ने शैली एवम् उतिबेलाको व्यवहार आजपनि दुरुस्तै देख्दा मेरो मनमा गुरूप्रति थप श्रद्धा र सम्मान जागृत भइरह्यो । ३५ वर्षपछि देख्दा,भेट्दा र कुरा गर्दापनि उस्तै लाग्ने कौशल गुरुले मेरो नामभने पत्रपत्रिकामा देखिरहेको कुरा सुनाए । गुरुले,मेरा लेख,रचना पढ्दै गरेको बताउँदा मभने खुसीले पुलकित भएँ ।
गुरुको समीपमा क्षणभर रहँदापनि आफूलाई खुसी लाग्यो । गुरूप्रति भक्तिभाव प्रकट गर्न मन जाग्यो । सधैभरि यसरी नै रहन पाए कस्तो हुन्थ्यो होला,मनमा अनेक प्रश्नहरू जागृत भए । गुरुको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै बिदा हुनेबेला क्याम्पस सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामी, क्याम्पस प्रमुख घनश्याम पाठक सँगै थियौं ।