© २०२३
‘हाम्रो अधिकार, हाम्रो भविष्य’ भन्ने नाराका साथ विश्व मानव अधिकार दिवस आज मनाईदैछ । विश्वभरी प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएर औपचारिकता पूरा गरिन्छ । मानव अधिकार दिवस मनाउँदै गर्दा नेपालमा पछिल्लोसमय मानव अधिकारको अवस्था चिन्ताजनक नहुनु खुसीको कुरा हो । जहाँ लोकतन्त्र जीवित हुन्छ, त्यहाँ मानव अधिकारको ग्यारेन्टी हुन्छ । यद्यपि नेपालमा भएका केही घटनामा मानव अधिकार उल्लंघन भएको भन्दै चिन्ता प्रकट हुँदै आएको छ । केही दिनअघि प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको र प्रहरीले समेत अभद्र व्यवहार गरेको भन्दै चिन्ता प्रकट भैरहेको छ । संघीय सांसदहरूको टोली र मानव अधिकार आयोगको टोलीले समेत रविसंग भेट गरी अवस्थाका बिषयमा जानकारी लिएको छ । मानव अधिकार उल्लंघनको बिषयमा प्रश्न उठेकोले स्वतन्त्र छानविन गरि दोषी कोही भए कारवाही गर्नेतर्फ सरकारको पहल होस् । मानव अधिकार दिवस मनाउँदै गर्दा कसैको अधिकारमाथि कुनैपनि प्रकारको कुठाराघात हुनुहँुदैन । मानव अधिकारको परिभाषाभित्र समेटिएका कुराको प्रतिवद्धता सरकारका तर्फबाट पनि हुनु जरुरी छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरूप यो दिवस मनाउने गरिएको हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७६ वर्ष पुगेको छ । ७६ बर्षको लामो कालखण्डमा विश्वमा मानव अधिकारको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन् । विश्वका केही मुलुकमा बोल्ने र पढ्न पाउने अधिकारबाट समेत नागरिक बञ्चित छन । अफगानिस्तानको तानाशाही सरकारले नागरिकलाई बोल्न, लेख्न र पढ्न पाउने अधिकारबाट बञ्चित गरेको छ । सिरिया, लिबिया, रुस, इराक, इरान लगायतका केही त्यस्ता मुलुक छन जहाँ मानव अधिकारको ठाडो उल्लंघन भैरहेको छ । पछिल्लोसमय रुस युक्रेन युद्धको क्रममा भएको मानवीय विनास होस वा पछिल्लो इजरायल र गाजामा भैरहेको मानव नरसंहार होस । युद्धका बाछिटाहरूले मानव जीवनलाई ध्वस्त बनाउँदै लगेका छन् । त्यहाँका नागरिकले आफ्नो इच्छापूर्वक बाँच्न समेत नपाउने अवस्था छ ।
शासकको हातमा व्यक्तिको मानव अधिकार निर्भर रहनु निश्चित रूपमा चिन्ताको बिषय हो । नेपालमा पनि विगत १० बर्षको सशस्त्र द्वन्द्वको क्रममा १७ हजार नागरिकले ज्यान गुमाउन बाध्य भए । उनीहरूमध्ये अधिकांश परिवारले अहिलेसम्म न्यायसम्मत क्षतिपूर्ति पाउन सकेका छैनन् । बेपत्ताहरूको अवस्था राज्यले सार्वजनिक नगर्दा पीडित परिवारहरू न्यायबाट समेत बञ्चित भएका छन् । सरकारले विभिन्न समयमा गठन गरेको आयोग निकम्मा सावित भएको छ । सम्मानित जीवनका लागि एउटा मानिसका लागि चाहिने सबै आधारभूत आवश्यकताहरू मानव अधिकारभित्र पर्छन् तर आज विश्व मानव अधिकारको उल्लंघनका घटनाबाट प्रताडित भैरहेको छ । आज १६ दिने महिला हिंसाविरुद्ध दिवसको समापनको दिन पनि हो । तर, महिलाहरूको मानव अधिकारको उल्लंघन सवैभन्दा ठूलो चिन्ताको बिषय भएको छ । नेपालकै सन्दर्भमा महिलाहरू हरेक कुरामा हिंसा र बिभेदको शिकार भैरहेका छन् । उनीहरूको मानव अधिकार कागजमा खोज्नुपर्ने अवस्था छ । मानव समाजका लागि यस प्रकारको अवस्था कलंकको रूपमा चित्रित हुँदै आएको छ । मानव अधिकार दिवस मनाउँदै गर्दा संविधानले दिएको अधिकारको प्रयोग समेत गर्न नपाउने अवस्था छ । निशुल्क शिक्षा र स्वास्थ्यको कुरा नेपालका लागि एकादेशको कथा सावित भैरहेको छ । दिवस मनाउँदै गर्दा नेपाल सरकारले संविधानले नागरिकलाई प्रदत्त गरेको मानव अधिकारको हक प्रत्याभूति गर्न खुट्टा नकमाओस् । राज्य भएको अनुभूति गर्न पाईएन भने त्यहाँ मानिसको अधिकार कुण्ठित हुन्छ । त्यो अवस्था नआओस् ।