© २०२३
‘माटोको हेरचाह र व्यवस्थापन ’ भन्ने मूल नाराका साथ आज विश्व माटो दिवस विभिन्न कार्यक्रम गरि मनाईदैछ । नेपालमा सन. २०१३ डिसेम्बर ५ देखि यो दिवस मनाउन सुरु गरिएको हो । कृषि गर्ने जनसंख्या घट्दै गएपनि नेपाल कृषि प्रधान देश हो । यहाँका करिव ७५ प्रतिशत मानिस अहिलेपनि कृषिमै आश्रित छन । यतिधेरै जनसंख्या कृषिमा निर्भर रहेको मुलुकमा कृषिका लागि कस्तो प्रकृतिको माटो आवश्यक पर्दछ भन्नेसम्म जानकारी दिने गरिएको छैन । माटोको सुरक्षा कसरी गर्ने, उत्पादन बृद्धि कसरी गर्ने भन्ने बिषयमा अहिलेसम्म पनि किसान अनभिज्ञ छन् । माटो दिवसको कार्यक्रम मूलतः किसान लक्षित हुनुपर्ने हो तर संघीय राजधानी काठमाण्डौंमा बसेर मन्त्रालय र मातहत विभागका कर्मचारीले यो दिवस मनाउँदै औपचारिकता पूरा गर्दै आएका छन् । चिन्ताको कुरा हो– जसका लागि यो कार्यक्रमको महत्व र उद्देश्य बुझाउनु पर्ने हो आज त्यही समूह दिवसबाट अनभिज्ञ छ । माटो दिवसकै बिषयमा किसानलाई बुझाउन सकिएको छैन । अर्कोतर्फ चेतनाको अभावकै कारण पछिल्लोसमय आधुनिकीकरणको नाममा माटोमा बढ्दो बिषादीको प्रयोगले माटोको उर्बरा शक्तिमा ह्रास आईरहेको छ । माटोको सदुपयोग भन्दा पनि दुरूपयोग गर्ने क्रम बढ्दै आएको छ । माटोको अम्लीय र क्षारीयपनले गर्दा माटो प्रदुषित बन्दै गएको छ । स्वस्थ माटोको महत्वका विषयमा जनचेतना फैलाउने र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जागरण सिर्जना गर्न मनाईने यो दिवसलाई सार्थक बनाउनेतर्फ ध्यान दिनु जरुरी छ । अर्कोतर्फ नेपालबाट ठूलो संख्यामा माटो बगेर गैरहेको छ । माटो दिवस मनाईदै गर्दा प्रत्येक बर्ष भूक्षय तथा अत्यधिक बर्षाका कारण वार्षिक प्रतिहेक्टर १५ देखि १८ टन माटो बगेर भारततर्फ जाने गरेको छ । यो समस्या आगामी पुस्ताका लागि चुनौतिका रूपमा देखिएको छ । नेपाल सरकारले माटोमा बढिरहेको र पछिल्लोसमय मूख्य चिन्ताको बिषय वनेको माटोको अम्लीयपना हो र त्यो रासायनिक मल बढी प्रयोग भएका कारणले भैरहेको छ । रासायनिक मलको साटो प्राङ्गारिक मलको प्रयोग निकै कम भइरहेको छ । नेपालमा पशुपालन गर्ने किसानको संख्या घट्दै गएकोले खेतमा गोबर मलको प्रयोग निकै कम भएको छ । जसका कारण माटोको उर्बराशक्तिमा समेत ह्रास आएको छ । गोबरमलको विकल्प अरू कुनैपनि मल हुन सक्दैन । अहिले किसानहरूमा रासायनिक मलको प्रयोग विना उत्पादन हुदैन भन्ने मानसिकता बढेको छ । त्यसै त नेपालमा कृषि क्षेत्र घटदै गएको छ । कृषि प्रधान मुलुक नेपाल भनिएपनि अहिले गैर कृषि क्षेत्र बढ्दै गएको छ । बढ्दो सहरीकरणको कारण खेतीयोग्य जमिन घट्दै गएको छ । त्यसमाथि उत्पादनमा ह््रासको समस्या भयावह बन्दै गएको छ । यो बिषयमा नेपाल सरकारले समयमै ध्यान दिएर बिकल्पको विषयमा सोचिएन भने माटोको सुरक्षा केवल नारामात्रै बन्ने स्थिति हुनसक्छ ।
कृषि विज्ञहरूले पछिल्लोसमय माटोको स्वच्छतामा ह्रास आउँदा बोटबिरुवाको विकासमा पनि असर परेको बताएका छन् । त्यसै त रासायनिक मलको बढ्दो प्रयोगले मानव स्वास्थ्यमाथि दिर्घकालीन प्रभाव पर्ने देखिएको छ । अर्कोतर्फ विडम्वना के छ भने रासायनिक मल नहाली उत्पादन हुनै छाडेको छ । विस्तारै माटो क्षयीकरण हुँदै गएको छ । माटोको उत्पादनमा भारी कम आएको छ । यी सवैका पछिको कारण खोतल्ने प्रयास माटो दिवसका अवसरमा हुनु जरुरी छ । माटो विज्ञहरूले माटोको गुणस्तर दिनदिनै ह्रास भइरहेकोले त्यसलाई कसरी जोगाउन सकिन्छ त्यस बिषयमा सोच्नुपर्ने बताईरहेका छन । वास्तवमा माटो संरक्षण पछिल्लोसमय चुनौतिको विषय बनिरहेको अवस्थामा माटो दिवसले यो महत्वपूर्ण एवं गंभीर बिषयमा बृहद छलफल र अन्तरक्रिया गरोस् ।