© २०२३
शास्त्रले भन्दछ– ‘कसैका पनि गुण मात्र देख्ने गर, विषबाट पनि अमृत लिने प्रयास गर’ । दोषलाई औँल्याउने प्रयास नगर । त्यसैले कसैले देशमा केही गर्न भनेर म आएको हुँ भने । कुरा मात्र गरेनन् कामपनि गरे । धेरै अन्यायमा परेका माथि न्यायपनि दिलाए । अनि हामीले पनि मुक्त कण्ठले प्रशंसा ग¥यौं, लेख लेख्यौँ, छाप्यौँ । धेरैले देश सुध्रने आशामा उनलाई एकपटक मात्र होइन दुई दुईपटक भोट दिएर जिताए । उनीमाथि प्रहार परेको प¥यै गरे र पनि उनी पछाडि हटेनन् । अहिले सहकारीको कुरा आएको छ । कसैले सहकारी ठग्ने यी पूर्णरूपले गलत मान्छे भन्दछन् । कसैले यी सही मान्छे हो फसाए भन्दछन् । रत्नाकर बाल्मिकी भएका कथाहरू पढेका हामी सज्जन नेपालीहरूले किन पो कोही दोषी सावित नहुँदासम्म पत्याउँथ्यौँ र ? हामी कसैका पनि पक्षमा नभई सत्यका पक्षमा रहेकाहरू यस अवस्थामा बोल्न सकिरहेका छैनौँ । हाम्रो मनले अब उही पुरानो तरिकाको तोडफोडे आन्दोलन गर्नुको साटो न्यायालयले केही निर्णय नगर्दासम्म अनावश्यक रूपमान उफ्रियौ कि भन्दछ । सहकारीका विषयमा उनले गल्ती गरेका छैनन् र पनि मानौँ उनी फसाईए भने पनि कुनै दिन ईश्वरले न्याय अवश्य गर्नेछ भन्ने कुरामा हामी विश्वस्त रहने छौँ । तर, अब यही प्रसङ्गमैँ हामी यसो विषयान्तर होऔँ । मैले रवि लामिछानेको पक्षमा नागरिकता काण्डमा केही समयअघि लेख लेखिरहँदा त्यस समयमा धेरैले त प्रशंसा नै गरे । तर केहीले चाहिँ मलाई त्यस्तो धर्मछाडा क्रिश्चियनका बारेमा किन लेखेको त्यस्तो पनि भने । मैले उनीहरूका कुराको प्रवाह नगरी उनका गुणहरूलाई देख्दै प्रशंसा गरिरहेँ । तर मलाई अहिले आएर उनका बारेमा भन्दापनि उनीहरूले खोलेको पार्टीका बारेमा केही भन्न मन लागेको छ । मेरो यो भनाई उनीहरूले सुशासनका कुरा गरेनन् । विकास निर्माणका कुरा गरेनन् या उसो गरेनन् भन्दापनि देशको धड्कनका रूपमा रहेका हाम्रा धर्म, संस्कार र संस्कृतिका बारेमा किन निर्धक्क रूपमा बोल्न सकिरहेका छैनन् भन्ने विषयमा हो ।
नेपालका अधिकांश जनताले देशमा क्रिश्चियनीकरणका माध्यमले द्वन्द्व सिर्जना गरी यहाँ अशान्तिका लागि नै यी राजनीतिक पार्टीहरू खोलिएका हुन् भन्ने विषय बल्ल आएर बुझ्न थालेका छन् । तर, ती पार्टीहरूमध्ये काङ्ग्रेसले पूर्णरूपमा त्यस किसिमको काममा लागेको नदेखिएता पनि सरकार बनेको समयमा उसले ती शक्तिहरूलाई गरेको सहयोगले उ पनि अछुतो छैन । राजेन्द्र लिङ्देनको राप्रपाले अहिले आएर प्रशंसनीय तरिकाले नैे देशको धर्म संस्कारका कुरा गरेतापनि राप्रपामा नेतृत्व गरेकाहरू पनि पूर्णरूपले चोखा पक्कै छैनन् । एमालेले चाहिँ नेता पद्मरत्नका भाउँतामा गाई काट्नेसम्मको अधिकारका कुरा गर्दा पार्टीको हालत के भयो भन्ने बुझ्यो र उसले ती कुराहरूलाई बाहिरबाट प्रत्यक्ष रूपमा गर्ने गरेको चाहिँ देखिएको छैन तर पनि भित्रभित्रै भने एकनाथ ढकाल जस्ताले पनि त्यही पार्टीमै शरण पाएका छन् । तरपनि विदेशीहरूले एमालेका माध्यमले २०५१ तिर नै क्रिश्चियनालिटी सम्बन्धी धेरै काम गराउन नसकेकाले नै माओवादीलाई जन्माइदिएका हुन् भन्ने कुरामा चाहिँ शङ्कै छैन । यहाँ मिलेर बसेका जात–जाती र जनजातीमा द्वन्द्व सिर्जना गराउने र बाहिर बाहिर जनतालाई बेकुप बनाउन अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्ने, फेरि भित्रभित्र चाहिँ त्यही अमेरिकाको एक धर्म नीतिकै अनुसरण गरी देशलाई क्रिश्चियनमय बनाउने लक्ष्य अनुरूप नै त्यस समयमा कार्य गरेको कुरा त अब कसैले ढाँटेर पनि नढाँटिने भएर छताछुल्ल भएको छ । शान्ति प्रक्रियाका माध्यमले माओवादी सिंहदरबार आई विशेषतः यिनै कुराहरूलाई प्राथमिकता दिएपछि एमाले र काङ्ग्रेस पनि यिनैका पिछलग्गू भएर देशमा द्वन्द्व सिर्जना गर्ने खालको कानुन निर्माण गर्न हँ मा हँ मिलाएकै हुन् । तर फेरि लगभग धेरैलाई क्रिश्चियन बनाईसकिएकाले अब उनीहरूका कुराहरूको पनि सम्बोधन गर्नका लागि स्वतन्त्र पार्टी खोलिएको हो भन्ने आरोप धेरैको रहेको छ । हामीले कसरी यस्ता कुरा गर्नुहुन्छ भनी भन्नेहरूलाई प्रश्न गर्दा स्वतन्त्र पार्टीका झण्डा चुनाव चिह्न आदि देखाउँदै उहाँहरूले हो यसरी हो भन्ने गर्नुहुन्छ । तर उहाँहरूले त्यसो भनेतापनि मेरो आफ्नो ब्रह्मले चाहिँ रवि आफैमा राम्रै क्षमता भएका मानिस हुन् र उनको त्यस किसिमको राष्ट्रलाई विगार्ने नीति छ जस्तो लाग्दैन तर विदेशीहरूले उनको क्षमता देखेका हुनाले उनको पार्टीमा आफ्ना प्रतिनिधिहरूलाई घुसपैठ गराई यसो गराएका हुन सक्दछन् भन्ने चाहिँ मनमा आइरहन्छ ।
यस्तै विषयहरू हामीहरूका मनमा आएका कारण पनि अरू कसैका व्यवहारले नभई स्वतन्त्र पार्टीहरूकै प्रमुख नेताहरूका कारणले हो भन्ने कुरा मैले सप्रमाण भन्न लागिरहेको छु । हाम्रा पितापुर्खाले कहिलेपनि नराम्रो काम गरेर पेट पाल भनेनन् । बरु मर तर असत्य गरेर पेट नपाल । यो उनीहरूको दृढ भनाई थियो । त्यसैलेपनि हाम्रा धर्म, संस्कार र संस्कृतिप्रति अन्याय हुँदा उनीहरू ङिच्च दाँत देखाएर सहन गर्न भन्दा बरु लडेरै मरे । हाम्रा पुर्खाहरूका त्याग र तपस्याका कारणले पनि नेपाल एक वैदिक एवम् बौद्ध आध्यात्मिक देश रहेको हो । त्यसैले हाम्रो पनि उद्देश्य यहाँ जनताको भौतिक उन्नतिमात्र भन्दापनि उनीहरूको आध्यात्मिक उन्नतिसहितको विकासमा विशेष ध्यान पु¥याउनु परेको छ । विश्वकै पुराना वैदिक, बौद्ध र किराँत धर्म जसको उद्देश्य एकै किसिमको छ, जसका आराध्य देवता साझा छन् । त्यस किसिमका सर्वोच्च दर्शन भएका धर्महरूको उद्गमस्थल नेपाल हो । त्यसैले यहाँको धर्म संस्कार अनुसारका काम र कुरा नगर्ने नेता यो देशको भलो चिन्तक मान्नु अत्यन्त ठूलो भुल हुन जान्छ । विवाहित महिलाका कस्ता किसिमका पोषाक हुनुपर्दछ त्यो हाम्रा पितापुर्खाहरूले बताएका छन् । तर स्वतन्त्र पार्टीका ठूलै नेताले पनि यो कुराको नियम मान्ने गरेका देखिन्नन् । माओवादी तालले नयाँ हुने नाममा विदेशीहरूको भेषभुषामा देशलाई लैजाने हो भने स्वतन्त्र पार्टीको आवश्यकताको के औचित्य भयो र ? विवाहित महिला भएरपनि टीका, चुरा पोतेको संस्कार छैन । पुरुषहरूमा पनि त्यसै अनुसारको संस्कार छैन । यस किसिमको तमासाले त केही हुँदोरहेनछ भन्ने कुरा त हामीले बुझिसक्यौँ त । त्यस्तै प्रकारले अझ कठोर कुरा त स्वतन्त्र पार्टीकी एक केन्द्रीय नेतृले आफुले मिन्स भएकै अवस्थामा तिहारको टीको लगाएर ठूलो क्रान्तिकारी काम गरे जस्तो गरी सामाजिक सञ्जालमा राखेकी छन् । यस किसिमका हाम्रो यहाँका ९० प्रतिशतभन्दा बढी जनताका आस्थामा माओवादी कालभन्दापनि उग्र तरिकाले प्रहार भएकोले पनि उनीहरूले गर्न खोजेको उद्देश्यका बारेमा शङ्का हुनु स्वभाविकै हुनगएको छ । अतः अन्त्यमा धेरै जनताले आस्थाका रूपमा देखेका यस किसिमका नयाँ पार्टीहरूको झनै हाम्रा सभ्यतामाथि प्रहार गरेरै जाने नीति हो भने तपाइँहरूको गठन पनि यहाँका हाम्रा शाश्वत सिद्धान्तहरूलाई मासेर नयाँको नाममा झनै ठूलो बेथिति ल्याउने नै रहेछ भनी जनताले भन्न किन नपाउने ?