© २०२३
सहकारीमा जनताको ८७ अरब डुबेको छ । त्यो डुबेको रकम सहकारी ठगहरूबाट असूल गराई वचतकर्ताहरूलाई ब्याजसहित भुक्तानी गराउने जिम्मेवारी सरकारको हो तर सरकारलाई यस विषयमा चासो छैन् । डुबेको रकम निकासा गराई पीडितहरूलाई दिलाउने सवालमा सकृयता देखाउनुको सट्टा विषयवस्तुलाई अन्यत्रै मोडेर आफू अनुकुल उपयोग गर्ने रणनीतिमा सरकारले लागेको छ भन्ने कुरा सरकारले देखाएका रवैयाहरूले यसैपनि अनुमान लगाउन सकिन्छ । सरकारको यस्तो अदूरदर्शितापूर्ण नीतिबाट सहकारी पीडितहरूको स्थिति झनझन भयावह बन्दैछ । सहकारी पीडितहरू नेपालमा सरकार भएरपनि नभएको जस्तो अनुभव गर्न बाध्य छन् । उनीहरू अत्यन्तै असहाय अवस्थामा छन् । अतः सरकार विषयान्तरको खेलमा नलागी ठोस उपायमा ध्यान दिनुपर्दछ । नेपाल अधिराज्यमा सरकारी क्षेत्रबाट सबैभन्दा वढी उपेक्षा भएको क्षेत्र सहकारी क्षेत्र नै हो भनेमा कुनै अतिसयोक्ति हुने छैन् । यद्यपि सरकारले चाहेमा यस सम्वन्धी कडा ऐन कानुन वनाएर कानुनको दण्ड प्रयोग गरी सहकारी ठगहरूलाई ठेगान लगाउन नसकिने कुरै उठ्दैन तर सरकार त्यसो गर्दैन बरु सहकारीलाई माध्यम बनाएर आफ्नो स्वार्थ साधनामा न्वारनदेखिको बल निकालेर लागेको छ सरकार ।
हालैमात्र केही युटुव च्यानलहरूले प्रसारण गरेको तथ्यांक अनुसार विभिन्न पार्टीसित सम्वन्धित विभिन्न व्यक्तिहरू नै यसरी सहकारी रकम अपचलन गर्नेमा परेको भनी उनीहरूको नाम समेत प्रकासमा आएको छ । जस अनुसार सुरेन्द्र भण्डारी नेपाली कांग्रेस ६ अरब, चन्द्रवहादुर लामा ने.का. ८ अरब ५ करोड, भरत महर्जन ने.का. १० अरव, केदारनाथ शर्मा ने.का.१६ अरव, तेजविव्रmम थापा ने.का.२ अरव ८२ करोड, जि.बि.राई १६ अरव ५० करोड, धनराज गुरुड ने.का. १५ करोड, रहेको छ । यसैगरी प्रधानमन्त्री के.पी ओलीकै पार्टीसित सम्वन्धित विभिन्न उच्च ओहदामा रहेका व्यक्तिहरूको नामपनि युटुवहरूले वारम्वार प्रकाशमा ल्याइरहेका छन् । जस अनुसार के.डी. उप्रेती (एमाले) ८ अरब, देवकुमार नेपाली (एमाले) २ अरब, इच्छाराम तामाङ (एमाले), ७ अरब ८२ करोड, ऋषिकेश पोखरेल (एमाले) १४ करोड, प्रधानमन्त्री स्वयंको पार्टीका वरिष्ठ र वरिष्ठतम व्यक्तिहरूपनि सहकारी रकम अपचलनको अपराधमा संलग्न छन् भन्ने कुरा अपचलनकर्ता भनी उनीहरूको नामै किटेर संचार माध्यमहरूले वाहिर ल्याउनुलाई अत्यन्तै नराम्रो कुराको संकेत मान्नुपर्दछ । नेपाली काँग्रेस र नेकपा एमाले जस्ता इतिहास बोकेका दलका जिम्मेवार पात्रहरू यसरी आ–आफ्ना पार्टीहरूलाई नै कलंकित वनाउने दुष्कर्ममा संलग्न छन् भन्ने सुन्नपर्दा कुन चाहीँ प्रजातान्त्रिक र जनवादी विचार राख्ने व्यक्तिको मन अमिलो नहोला र ?
यसैगरी रामवहादुर गौतम् नेकपा माओवादी ५ अरव र गीता बस्नेत (राप्रपा) २ अरब ५० करोडमा मुछिएका छन् भन्ने पनि श्रोतले उल्लेख गरेको छ । जहाँसम्म श्रोतको आधिकारिकताको सवाल छ । एउटा सार्वजनिक सवालमा राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसीले दिएको तथ्यांकलाई आधारहीन आरोप भन्ने ठान्नु रहेन । माथिका विवरणहरू प्रकाशमा आए पश्चात् पनि झन नयाँ नयाँ अन्य विवरणहरू वाहिदिदै छन् । जसको आधिकारिकता पुष्टि नभएसम्म प्रकाशमा ल्याउनु मिल्दैन । प्रधानमन्त्री केपी ओलीले सहकारी रकमका अपचलनकारीहरूलाई छिटो भन्दा छिटो कानुनको दायरामा ल्याउने र उनीहरूबाट हिनामिना गरिएको रकमलाई अपचलनकारीहरूको चलअचल सम्पत्तिबाट असूल उपर गराई सहकारी पीडितहरूलाई दिलाइ छाड्ने प्रतिवद्धता भाषणमा धेरै पटक दोहो¥याए । यस सम्वन्धमा सरकारले भरमग्दुर प्रयास गरिरहेको छ भन्ने कथनपनि धेरै पटक आयो । धेरैपटक विश्वास दिलाइयो । सहकारी पीडितहरूले लामो समयसम्म प्रधानमन्त्रीको आश्वासनहरू प्रति विश्वस्त रही आशावादी प्रतिकृयाहरू पनि जनाए तर यस आशामा भरपर्ने आधारहरू भने प्रधानमन्त्रीका झूठो आश्वासनहरूले प्रस्तुत गर्दैनन् । यदि प्रधानमन्त्रीले साँच्चै नै सहकारी ठगहरूलाई गोदगाद पारेरै भएपनि उनीहरूबाट पीडितको पैसा असूल उपर गराउन चाहैकै भए एमाले पार्टीबाट सांसद वनेका ऋषिकेश पोख्रेल लगायतका व्यक्तिहरू र सहकारी ठगमा नाम जोडिएका अन्य एमाले नेताहरूलाई पनि रवि लामिछानेलाई जस्तै नियन्त्रणमा लिएर केरकार गरेको सहकारी पीडित र आम सर्वसाधारण जनताले सुन्न र देख्न पाउने थिए । यसैगरी सत्ता घटकका प्रमुख साझेदार एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुड र अन्य वरिष्ठतम नेता एवं सांसदहरू पनि रवि लामिछानेसित संगै प्रहरी कष्टडीमा यतिखेर वयान दिदै गरेको आउँदो हो । रा.प्र.प्रा.,माओवादी सबै तानिदा हुन् तर त्यो भएन । केवल रवि लामिछाने माथिमात्र प्रहार हुनु र अरू चाहीँ दुधले नुहाएका जस्ता देखाउने प्रयास गर्नुले सहकारी पीडितहरूको समस्या र पीडकहरूको स्वच्छन्दता आउदा दिनहरूमा झन बिकराल समस्याको रूप लिएर बढ्ने छ भन्नेमा शंका गर्ने ठाउँ छैन, होइन आउँदा दिनहरूमा सहकारी पीडितहरूलाई केही आशावादी गराउने हो भने सबै आरोपितलाई विना मुलाहिजा नियन्त्रणमा लिएर केरकार गर्दै मुद्दा चलाइनुपर्दछ । यस मामलामा सरकारको मात्र मुख हेरेर हुँँदैन, आमजनताको आँखा जानुपर्दछ । अहिले रवि लामिछाने माथि प्रतिशोध साँध्न उनलाई मात्र सताउने अरू आरोपितलाई ज्वाइँ पाले झै पाल्ने जुन निन्दनीय हरकत सरकाले गरिरहेको छ, त्यसको सबै क्षेत्रबाट कडा प्रतिवाद हुनै पर्दछ । सहकारी ठगहरूलाई कानुनको कठघरामा ल्याउने र सहकारी पीडितहरूलाई न्याय दिलाएरै छाड्ने आश्वासन ओली सरकारले अहिले जोडि दिइरहेको छ । यस्ता आश्वासनहरू पहिले पहिले पनि धेरैपटक नआएका होइनन् । यी आश्वासनहरूप्रति आस्था जगाउन सरकारले धनराज गरुड र ऋषिकेश पोखरेललाई तुरुन्त्तै र त्यसको लगत्तै अन्य सबै आरोपितहरूलाई क¥यापच्याप पारेर प्रहरी कष्टडीको चिसो हावा खुवाउदै अदालतलाई सुपुर्दगी गर्नैपर्दछ । ओली सरकारले अबपनि झुठा आश्वासन दिएर जनतालाई र पीडितलाई अलमल्याई रहने होइन । आफ्नो कटिबद्धता देखाओस् भन्ने जनमानसको चाहना छ ।
हिजोका दिनमा अर्थात राजाको पंचायती शासनका बेलामा जतिबेला पार्टीहरू प्रतिबन्धित थिए त्यो बेला भूमिगत रूपमा क्रियाशील कम्युनिष्ट पार्टीमा चरित्रको उच्चता एवं स्वच्छताले ठूलो महत्व राख्दथ्यो । यद्यपि कम्युनिष्ट पार्टीमा विभिन्न नीति सम्वन्धी विवादका कारण मतैक्यता नहुँदा पार्टी विभाजित भई विभिन्न गुट उपगुटमा छरिएका थिए, यो चाहि कटुसत्य हो । त्यो क्रम अहिलेसम्मपनि जारी नै छ । तर, हिजोका दिनमा कम्युनिष्ट पार्टीमा जुनसुकै पटकमा पनि अनुशासनको उच्तता एवं स्वच्छताको पार्टी धेरै माथि थियो । कम्युनिष्ट पार्टीका नेता एवं कार्यकर्ता उच्च नैतिक चरित्रका हुन्थे । पार्टीभित्र आफ्ना कार्यकताहरूको चरित्र जोगाउन माथि पोलिटव्युरो केन्द्रीय समितिदेखि तल्लो सेल कमिटी र प्रारम्भिक संगठनसम्म महिनैपिच्छे बैठक वस्दथ्यो । बिभिन्न विषयहरूमा गहन अध्ययन र व्यापक छलफल हुन्थ्यो । एउटा कार्यकर्ताले अर्को कार्यकर्ता साथीको कुनै कमी कमजोरी देखेमा त्यो गल्ती औंल्याइदिने काम गरिन्थ्यो र गल्ती गर्नेले त्यो गल्ती स्वीकार गरी आगामी दिनमा यस्तो गल्ती नगर्ने बाचा कबूल गरिन्थ्यो । यस्तो आलोचना आत्मालोचनाको चलन थियो । कुनै पार्टी सदस्यले उही र उस्तै गल्ती पटकपटक दोहो¥यायो भने उसलाई पार्टीको साधारण सदस्यबाटै निष्कासित गरिन्थ्यो । त्यसैले उसको लागि कम्युनिष्टहरू चरित्रवान् थिए । नीति नियम, सामाजिक मर्यादा पालनमा उनीहरूको स्थान उच्च थियो । तर, अहिले साना कम्युनिष्ट घटकहरू जो सत्ता र शक्तिमा छैनन्, उनीहरूको मूल्यांकन गर्ने ठोस आधार छैन । तर, ठूला कम्युनिष्ट दलहरू एमाले तथा माओवादी केन्द्र जसले धेरै पटक शक्ति र सत्ता हात पार्ने अवसर पाए । यी पार्टीका ठूला नेतादेखि तल्लोस्तरका कार्यकर्तासम्म चारित्रिक पतनको फोहरमा लतपतिएका छन् । चरम व्यक्तिवादी प्रवृत्ति, जुनसुकै काममा पनि नाफा–नोक्सानको हिसावकिताव, छलछाम, ढाँट र ठगी धन्दामा नेता कार्यकर्ता सबैको संलग्नता ह्वात्तै बढेको छ । काँगेस तथा एमाले एवं माओवादी तथा राप्रपा र मधेशवादीमा केही भिन्नता रहेन । त्यसमा पनि एमालेको हालत झनै गए गुज्रेको स्थितिमा छ ।