© २०२३
यतिवेला नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्सवादी लेनिनवादीका वारेमा विभिन्न कोणबाट टिप्पणीहरू भईरहेका छन् । टिप्पणीमा आएका कुरा कति जायज छन् कति नाजायज छन, यो वहसको विषय होला । यहाँ आएका विषयमा लामो छलफल गर्न पनि सकिएला । पार्टी भित्रका नेता, कार्यकर्ता कुनै कसैले आएका यस्ता टिप्पणीका बारेमा बोल्यो भने स्पष्टीकरण लिन पनि सकिएला तर के यत्तिमा यो सिमित हुनसक्छ ? यो टिप्पणीको आरम्भ कसरी भयो ? अहिले एक होइन अनेक विषय आएका छन् । सबै विषयमा कुरा प्रष्ट हुन आवश्यक छ भन्ने लाग्छ । कुरा नबुझाएसम्म जति सत्य भएपनि टिप्पणी गर्नेहरूका लागि बाटो खुला रहन्छ । यसकारण पनि तथ्यमा आधारित सत्य सबैका सामुमा आउन जरुरी छ भन्ने भनाई धेरै कार्यकर्ताहरूमा पाइन्छ । हाम्रो आचरण राम्रो देख्ने भन्दा नराम्रो कुरा वा कामलाई बढ्ता उछाल्ने वा कसैको वारेमा कुरा काट्नका लागि वा पछार्नका लागि गौंडा ढुकेर बस्ने अनि कतै चरचाम भेट्दासाथ थचार्ने यो प्रवृति यति मौलाएको छ कि सायद यो हरेक प्रदेशका हरेक व्यक्तिको मनमा प्रगाढरूपमा बसेको छ भन्ने कुरा यसपटक धेरै प्रष्ट भएको छ । यही कारणले पनि साना विषयहरू पनि ठूलो पहाडको रूपमा आउने गर्दछन् । जुन कुरा पन्छाउन गाह्रो हुने गर्दछ । गौंडा ढुकेर बसेका व्यक्तिले जसको अस्तित्व सिध्याउन खोजेको हो, उसको हितकोलागि उसको टाउकोमा लाठी चलाउँछ र ? त्यसो त कहीं पनि हुँदैन र कसैलेपनि कसैको हितको लागि लाठी चलाउँदैन । उसको टाउको फुटाउनका लागि नै लाठी चलाउँछ । अहिले भएको यही हो । एमालेलाई कहाँनेर पुगेर पछाडि धकेल्न सकिन्छ वा पछार्न सकिन्छ भनेर एमालेको विपक्षमा रहेका व्यक्ति वा दलको एउटा जमात छ भने एमालेभित्र स्वार्थ सिद्धका लागि पार्टी प्रवेश गरेको एउटा दस्ता छ भनिन्छ । अहिलेसम्म देखिएको दृष्य यही हो । यही दृष्यले अहिले एमालेलाई पर्दाबाट हटाउन सकिन्छ भनेर लागेको पाइन्छ भन्नेहरूको संख्या पनि छ तर केही चरचाम एमाले आफैले पनि छोडेको छ कि ? यसतर्फ पनि एक पटक नियाल्न जरुरी छ भनिन्छ ।
एमालेभित्रका नेता कार्यकर्ताहरू हिंजो पञ्चायती व्यवस्था रहँदासम्म भूमिगत रूपमा काममा जुटेका, पार्टी कामको सन्र्दभमा पक्राउ परेर जेलनेल अनि हिरासतमा यातनाका दिनहरू विताएकाहरू रहेका देखिन्छन् । एउटा हिस्सा बाहिरबाट प्रवेश गरेको हो भने एउटा हिस्सा नवयुवाको जमात रहेको छ । नयाँ युवा पंक्तिलाई हिंजोको कठोर यातना, जेल वा हिरासतको घटना थाहा छैन । साथमा यस्ता कुरा पुस्तान्तरण पनि भएको छैन । जुन कुरा पुस्तान्तरण हुन अति जरुरी थियो । जसले कठिन समयमा पार्टीमा काम गरेन । पार्टी कसरी बचाउने र विस्तार गर्ने भन्ने चिन्तन गर्नु परेन, त्यस्तो व्यक्तिले नेताको संरक्षण किन आवश्यक छ ? कार्यकर्ता संरक्षण किन आवश्यक छ ? पार्टी विस्तार किन आवश्यक छ ? यस्ता कुराको वारेमा खासै चासो भएको पाइदैन । अहिले त कुनै नेता कार्यकर्तासंग थोरै असन्तुष्टि बढ्न गयो वा आफूले भने बमोजिम काम कुरा भएन वा आफूलाई उचित स्थान मिलेन भने पार्टी त्यागको कुरा आइहाल्छ । यस्तो व्यक्तिले पार्टीको दीर्घकालिन कार्यक्रमको वारेमा के सोंच बनाउँला ? दल वा दलका नेताहरूको सानो कमजोरी भेटियो भने कहाँ कसरी कुरा राख्ने भन्ने पद्धति अनुसार होइन आफ्नो मनले जे देख्यो त्यही बोल्ने प्रवृतिको विकास भएको पाइन्छ । यस्तो कुराको विकास भएको समयमा पार्टीबाट सानो कमजोरी भएको कुरा आउँदा यस्ता कार्यकर्ता पार्टी पद्धति कसरी बुझ्न सक्छन् ? र, पार्टी कमिटी भित्र कुरा राख्न सक्छन् ?
आजभोली धेरैको मुखबाट एमालेको कार्यालय भवनको लागि प्राप्त जमिन र उक्त जमिनमा निर्माण हुने भवनको चर्चा निकै पाइन्छ । एक कुनाबाट गिरी बन्धुको वारेमा पनि चर्चा गरेको सुनिन्छ । यसको साथमा एमालेका नेताहरूलाई स्पष्टिकरण सोध्ने कुरा समेत जोडिएको छ । तत्काल स्पष्टिकरणको कुरा नआएको भए सायद अझ धेरै नेता कार्यकर्ताबाट यसका बारेका टिप्पणी आउने थियो कि ? यो त अनुमानको कुरा मात्र हो । अहिलेपनि कतिपय कार्यकर्ताले जमिन र भवनको वारेमा भित्रभित्रै चर्चा गरेको सुनिन्छ । कतिले त सामाजिक सञ्जाल प्रयोग गरेको पनि हटाएको र कतिले लेख्ने आँट गर्दा नगर्दै पार्टीले कारवाहीको वा स्पष्टिकरणको कुरा ल्याएको सुनेर बन्द गरेका समेत सुनाउने गर्दछन् । यसको मतलव एमालेका सामान्य कार्यकर्ताले जमिन प्राप्ति तथा भवन निर्माणको सम्वन्धमा चित्त बुझाएका छैनन् । केही कार्यकर्ताले पार्टीले आह्वान गरेको खण्डमा जमिन खरिद र भवन निर्माणको लागि रु एक सय होइन रु पाँचसय सम्म उठाउने । यसलाई पनि सहजताको लागि किस्ताबाट उठाउने गरे पनि राम्रो हुने कुरा सुनाउनु हुन्छ । वास्तवमा यो कुरा जायज हो । पार्टीको भवन भन्नु कार्यकर्ताको आफ्नै भवन जस्तै हो । यसकारण उहाँहरू कति ज्ञानी हुनुहुन्छ । आफ्नो पार्टीलाई कति माया गर्नुहुन्छ । पार्टी भवनको लागि जमिन खरिद र निर्माण कार्यको लागि आफ्नो गास काटेर दिन तयार हुनुहुन्छ भने किन एउटा विवादित ? व्यक्तिबाट चन्दा लिनु परेको होला ? यो प्रश्न धेरैका मुखबाट सुन्न पाइन्छ ।
जसले पार्टीलाई उपयोग गरेर आफ्नो स्वार्थ पूरा गर्ने हो उसका लागि पार्टीको जमिन वा घरघडेरी जहाँबाट जसरी मिले पनि केही वास्ताको विषय नै होइन तर जसले हिंजोदेखि आफ्नो तन मन र धनको लगानी गरेर पार्टी बचाएको छ र पार्टी विस्तारमा ध्यान दिएको छ उसका लागि यो थै थैको विषय पक्का हो । एमाले समाप्त पार्न चाहनेहरूका लागि यो भन्दा ठूलो मसला अरू के हुन सक्छ ? आजभोली चिया गफ समेत यही बनेको छ । एमाले इतरहरू भेटिए भने पहिलो प्रश्न यसैबाट आरम्भ हुन्छ । कतिले सिधा जवाफ दिएको सुनिन्छ भने कतिको मुखबाट आवाज आउँदैन । लुसुक्क परेर हिंडने अवस्था आएको छ भन्ने गरिन्छ ।
हामीले हिंजो भूमिगत कालमा भेटको जस्तो अनुशासन अहिले पाइदैन । पाइदैन भन्दा पनि कुनै नेता कार्यकर्तामा त्यो लौह अनुशासन अव पाइन्छ भन्ने कल्पना कम गरे पनि हुन्छ भन्नेहरू अहिले एमालेका केही कार्यकर्ता रहेका छन् । भूमिगत कालमा सुन्दै आएको कुरा के भने कम्युनिष्ट पार्टीभित्र जनवाद हुन्छ र साथमा केन्द्रीयता पनि हुन्छ भनिन्थ्यो । जनवाद भनेको कार्यकर्ताले मनमा लागेको कुरा भन्न पाउनु हो भने केन्द्रबाट निर्णय भएको कुरा निसर्त पालना गर्नु केन्द्रीयता हो । सधैभरी केन्द्रीयताको नाममा कार्यकर्ताको जनवादी अधिकारमा आघात पार्नु पनि हुँदैन । सधै केन्द्रीयता मात्र रह्यो जनवाद रहेन भने कार्यकर्ता निरास हुन सक्ने वा पलायन हुन सक्ने सम्भावना रहन्छ । यसकारण पार्टी सञ्चालन गर्नेहरूले कार्यकर्ताको भावना विसाउने स्थान जनवादीतामा निकै होसियारीसाथ कदम चाल्नुपर्दछ । जनवाद नभएको र केन्द्रीयताको मात्रा बढ्ता भएको कुनैपनि कम्युनिष्ट पार्टी ठीक ढंगले सञ्चालन हुन सक्दैन । केन्द्रंीयता र जनवाद एकसाथ अगाडि बढाउनु पर्दछ । कहिलेकाँही केन्द्रबाट भए गरेका काम कुराको प्रतिक्रिया आम कार्यकर्तामा के छ भनेर पनि बुझ्ने चेष्टा समेत गर्नुपर्दछ । यो पनि जनवादीताको एउटा कडी हो । सधै केन्द्रीयता लागू गर्न चाहनुले केही शङ्का त निम्त्याइहाल्छ नी ।