© २०२३
जति ठूलो बिपत्तिका बावजुद पनि चाडपर्व आउँछन् र सकेर जान्छन, रोकिदैनन् । दशैपनि ठूलो विपत्तिबीच गुज्रियो । कतै हाँसो, कतै आँशु, कतै नियास्रो बनेर गयो दशैे । महिना तिथिमिति अनुसार चाड आउँछन् र जान्छन् । अहिले सबैका घरआँगनमा तिहार आईपुगेको छ । घरमा दुःख नपरेकाहरुका तिहार मनाउँछन् देउसी भैलो खेल्छन् । खुसीयाली मनाउँछन् । तिहारलाई बत्ति बत्तिको चाड, फूलै फूलको चाड भनिन्छ । तिहार दिदीभाईको पवित्र सम्बन्ध, माया प्रेमलाई बलियो बनाउने चाड पनि हो । तिहारमा विशेषगरी धनकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ । अहिलेपनि तिहार हाम्रा घर आँगनमा आईपुगेको छ । ठूला चाडहरुमा तीज, दशैं, तिहार र तराईमा मनाईने छठलाई मानिन्छ । छठपछि सबै ठूला चाडले एकवर्षका लागि बिदा लिन्छन् भन्दा फरक पर्दैन् । चाडपर्व आउँदा सबैलाई खुसी मिल्छ नै । भलै चाडपर्वको संस्कार निभाउन मुस्किल नै किन नपरोस् । यि संस्कारमा आपसी सदभाव, माया ममता, आशिर्बचन, आफन्तसंगको भेटघाट सबैले मनलाई खुसी दिन्छ । यि हाम्रा परम्परागत संस्कृति र संस्कार हुन् । सबैखाले पर्वहरु आपसी मेलमिलाप, आपसी सद्भावका प्रतिक पनि हुन् । हामीले मनाउने जुनसुकै चाडपर्वहरु कुनै न कुनै पौराणिक घटनासंग जोडिएका छन् र तिनै घटना परिघटनाले चाडको रुप धारण गरेको देखिन्छ । त्यो नै परम्परा बन्दै गएको पनि छ । चाडपर्वहरुबाट उतिबेलाको समाजको आवश्यकता,उपयोग र उपभोग के कस्तो थियोे भन्ने अनुमान लगाउन पनि सजिलो हुन्छ ।
दशंैले त भरखर हामीबाट बिदा लिएको छ । अहिलेको दशै ठूलै विपद र कष्टपूर्ण परिस्थितीबाट गुज्रियो । दशैको मुखमा देशले ठूलै बाढीपैरो धनजनको क्षतिको सामना गर्नुप¥यो । कयौका घरबास र गास उजाडिए । आपत विपतका बावजुद पनि चाड आयो र आउँछ । दुःख र विपत नपरेकाहरुले यो संस्कार निभाउँछन् र निभाएपनि । यस्तै दुःखसुखमा बित्यो दशैं । अब सबैका घर आँगनमा तिहार र छठ भित्रिदै छ । देशले पनि विपतबाट केही राहत महसुस् गर्ने क्रममा छ । पुरै राहत पाउन त केही वर्ष लाग्ला । बाटा घाटा पुल पुलेसा बन्न धेरै समय पक्कै लाग्छ । किनकी हाम्रो देशको काम गराईको शैली कछुवा गति जस्तो छ । आशा गरौं अवका दिनमा देशका बाटा घाटाको अवस्था केही सहज होला । टाढा गएकाहरुलाई चाडपर्वका बेला घरमा आउन र गन्तब्यमा जान, दिदी बैनीलाई माईती दाजु भाईकोमा जान र घर फर्कन सहज होला । बल्ल त्यो चाड रमाईलो बन्ला । अहिलेका दशै तिहार खुसियालीको विचको बाध्यता जस्तो बन्यो । जे होस् चाड चाड नै हो । आपसी सदभाव र मिलनको पर्व । त्यसका अतिरिक्त तिहार , धन पैसा, स्वास्थ्य, वातावरणसंग पनि जोडिएको छ । तिहार पाँचदिनसम्म मनाईन्छ । काग तिहार, कुकुर तिहार, गाईतिहार, गोरु तिहार र भाई तिहार । यि पाँच दिनलाई यम पञ्चक भनिन्छ । यि पाँचै चिज मानिसका मित्र शक्ति हुन् । कोही सूचनाका बाहक र खेतीपातीका किरा खाईदिने, कोही घरको हेरचाह गर्ने, कोही मानिसलाई दुध घीउ गोवर गहुत दिने, कोही खेतबारी जोतेर खेतीपातीमा सघाउने, दाईभाई परिवारका सबैको रक्षा गर्ने ।
तिहारको पहिलो दिन काग तिहार हो । कागलाई परापूर्वकालमा सूचनाको संवाहक मानियो । अझैपनि काग घर नेर आएर करायो भने लौ के समाचार ल्यायो कागले भन्दै शुभबोल भन्छौ हामी । त्यसका अतिरिक्त काग मानव जातीका लागि हितगर्ने पंक्षी हो । यसले बाली नालीमा लाग्ने किरा फट्याङ्ग्रा खानेदेखि फोहर चीजबीज खाईदिएर वातावरण स्वच्छ राख्न मद्दत गर्छ, बाली नालीको रक्षा गर्छ । परम्परा अनुसार कागलाई अघिल्लो दिन घर बाहिर तेलको बत्ति बालेर निम्ता गरिन्छ र काग तिहारको दिन घरमा पाकेका खानेकुरा दुना टपरीमा बाहिर राखिदिने चलन छ । बाहिर खानेकुरा देखेपछि कागले आएर खान्छ र खुशी हुन्छ र मानवजातिको कल्याण गर्छ भन्ने मान्यता छ । त्यसैले कागलाई पूजा गरि खाना ख्वाउने चलन छ । यमपञ्चकको दोश्रो दिन कुकुर तिहार पर्छ । कुकुरलाई पनि त्यसैगरि पहिलोदिन बत्ति बालेर आवाहन गरिन्छ । यसदिनलाई नर्के फाल्नेदिन र कुकुर तिहार भनिन्छ । त्यसदिन महिला दिदी बैनीहरु बिहानै नदी कुला धारामा नुहाएर चिउरीको पातको दुनोमा बत्ति बालेर जौ तील अक्षता र फूलले दियोलाई पूजा गरेर आफ्ना दाईभाई र आफ्ना सन्तान जतिको नाममा नर्के फाल्ने चलन छ । त्यो गर्नु भनेको नर्क, अथवा दुःख जति जा हर्ख खुसियाली जति आ भनेको हो भन्ने मान्यता छ । त्यसै दिन बिहान घरको रक्षा गर्ने जनावर, मानिसको साथी कुकुरको पूजा गरी टीका माला लगाईदिने खाना ख्वाउने चलन छ । यो मानिससंग नजिकिएर बस्ने जनावर हो, जंगली युगमा पनि मानिसले जंगली जनावरको आक्रमणबाट बच्न गाईबस्तुलाई बचाउन कुकुर पाल्ने गर्थे । त्यसपछिका दिनमा पनि धन सम्पत्तिलाई डाँका चोर लुटेराबाट बचाउन र घरको रक्षा गर्न भन्दै कुकुर पाल्ने गर्छन् । हिमाली र उच्च पहाडी भेकतिर भेंडा च्याङ्ग्रा चौंरी चराउन लग्दा पनि कुकुर संगसंगै पछि लगाएर हिंडेको देखिन्छ । धेरै कुराले गुणकारी जनावर भएको हुनाले पूजागर्ने टीका माला लगाई, खाना ख्वाउने गरिन्छ । यसो गरेमा कुकुरले सधै मालिकको रक्षा गर्छ भन्ने मान्यता छ ।
तेश्रो दिन गाई तिहार अथवा लक्ष्मी पूजा । त्यसदिन बिहान गाईलाई गौमाता, लक्ष्मी भनेर पूजा गर्ने चलन छ । गाई हरेक कुराले शुद्ध, गुणकारी मानिन्छ । यसको दुधदेखि, गोवर गहुँत समेत चोखो शुद्ध मानिने जनावर भएकोले लक्ष्मी भनिएको हो । त्यसैले लक्ष्मी भनेर पूजा गर्ने चलन चलेको हुनुपर्छ । त्यसदिन गाईलाई लक्ष्मी माता भनेर फूल अक्षताले पूजा गर्ने, टीका माला लगाईदिने, शुद्ध खाना र नुन पनि ख्वाउने गरिन्छ । त्यसैगरि साँझ धनधान्यकी देवी लक्ष्मीलाई घरघरमा जताततै बत्ती बालेर घर झलमल पार्ने, घरको आँगनदेखि लक्ष्मीका पाईतला बनाई संघारदेखि कोठा चोटासम्म पुराउने, जहाँबाट लक्ष्मी भित्र प्रबेश गर्ने ठाउँ आँगनमा रङ्गी बिरङ्गी टीकाबाट रङ्गोली बनाई लक्ष्मीको स्वरुप जटावाला नरिवल, फलफूल प्रसादी चढाएर पूजा गर्नेे चलन छ । यसो गरेमा धनधान्यकी देवी लक्ष्मी खुसी भएर त्यो घरमा प्रवेश र्गिर्छन् र बस्छिन् अनि धन पैसा दिन्छिन् भन्ने मान्यता रहेको छ । लक्ष्मीको स्वरुप मूर्तिमा पूजाअर्चना गर्ने, रुप्पे पैसा सुनचाँदी, भाँडा वर्तनको पूजा गर्ने चलन पनि छ त्यसदिन । साँझ देउसी भैलो खेल्ने चलन छ । चौथो दिन गोवर्धन पूजा हुन्छ । गोबर्धन पर्वत बनाई पूजा गर्ने अनि खेतीपातीमा सहयोग पुराउने गोरुको पूजा गर्ने, चामलको भात पकाएर दिने, पिठोमा नुन हालेर खान दिने परम्परागत चलन छ ।
यमपञ्चकको पाँचौं दिन भाइपूजा पर्छ । कथन अनुसार मृत्युलोकका राजा यमराज आफ्नी बहिनी यमुनाकहाँ गएका थिए । उनलाई बाटोमा निकै बिध्नबाधा आईप¥यो, कालले लैजान्छु भन्यो । यमराज बैनीकहाँ पुगे र सबैकुरा बताए । बैनी यमुनाले दाईलाई गुन्द्री काम्लो बिछाई त्यसमा बसालेर ओरीपरी तेलको घेरा लगाई अष्टचिरन्जिबीको पूजा गरिन्, ओखर फुटालिन, अनि दाजुलाई टीका लगाईदिईन् । सयपत्री र नसुक्ने मखमली फूलको माला लगाईदिईन, ओखर घाँजी ख्वाईन । यसरी बैनीले दाजुलाई कालको मुखबाट बचाईन् । त्यो दिन यमपञ्चकको द्वितीया तिथी थियो । यमपञ्चकको अर्को कथन यस्तो पनि छ– मृत्युलोकका राजा यमराज बैनीको घरमा गएको बेला कालले यमराजलाई खान्छु भन्न थालेछ । अनि दिदीले कालसंग अनुनय बिनय गर्दै भनिछन्–आज मेरो भाईलाई नलैजाउ । भोलीपर्सी लैजाउला । आज मैले भाईलाई टीका लगाईदिन्छु, ओखर खुवाउँछु, अनि लैजाउला भनेर बेसरी रोईकराई गरिछन् । अनि कालले पनि ल त अहिलेलाई मैले छाडिदिए, छिटो टीका लगादेउ म पछि आउँछु भनेछ । त्ययपछि बैनीले भाईको पूजा गरेर टीका लगाई ओखर खान दिईछन् र संघारमा भाईका शत्रु बैरीको नास होस् भन्दै ओखर फुटालिछन् । उनले ओखर फुटालेपछि उता कालको टाउको फुटेछ र मरेछ । यसरी बैनीले कालको मुखबाट दाजुलाई बचाईछन् । त्यसबेलादेखि दिदीबैनीले दाजुभाइलाई पूजा गर्ने, टीका लगाईदिने, ओखर घाँजी ख्वाउने, घरको मूल ढोकाको संघारमा ओखर फुटाल्ने, तेलको घेरा लगाई बिचमा दाइभाइलाई राखेर सप्तरङ्गी टीका र नओईलाउने मखमली फूलको माला लगाईदिने चलन चलेको हो भन्ने भनाई छ । यसरी दिदी बैनीले दाजुभाईको रक्षार्थ र स्वाथ्यलाभको कामना सहित दाइभाईलाई पूजा गर्ने टीका माला लगाईदिने चलन चलेको हो । अहिलेपनि हामी यमपञ्चकको पाँचौंदिन दाजुभाईको स्वास्थ्य र दिर्घायुको कामना गरेर दुबोले तेलको घेरा बनाई कलशबाट दुबोले पानी चुहाउँदै दाजु भाईलाई घेराभित्र राख्ने अनि दियो कलश गणेश र यमराजको प्रतिक बेमरा पूजा गर्ने, सप्तरङ्गी टीकार्ले निधार सजाईदिने, दाजुभाईका शत्रुहरु नास होउन भन्ने कामनासाथ घरको मूल संघारमा ओखर फुटाउने, ओखर र तीलको घाँजी खुवाउने, छिटो नसुक्ने फूल मखमली, दुबो र सयपत्रिका माला लगाईदिने र मिठा परिकार बनाएर ख्वाउने, उपहार दिने परम्परागत चलन गरिरहेकै छौं । सप्तरङ्गी टीकाको पनि आ– आफ्नै बिशेषता छ । सेतो स्वच्छताको प्रतिक, पहेंलो त्यागको प्रतिक, रातो उत्साह उर्जा र शक्तीको प्रतिक, नीलो निरोगिताको प्रतिक, हरियो संस्कृतिको प्रतिक र कालो ओखर पोलेर बनाएको कालो टीका यमराजको प्रतिकको रुपमा मानिन्छ । समग्रमा भन्दा तिहार दिदी बहिनी र दाजुभाई बीचको प्यार, स्नेह र बलियो सम्बन्ध बनिरहोस भन्ने प्रसंगसंग पनि सम्बन्धित छ ।
हाम्रा सबै चाडपर्व मनाउन र संस्कारहरु निभाउन अनेकथरि सरसामानको जोहो त गर्नैपर्ने हुन्छ । चाडपर्व मान्नुपनि पर्छ । जीवनको गाडी जसरी पनि चलाउनु पर्छ । परम्परा, संस्कृति र संस्कारहरु निभाउनु पर्छ । त्यसैले चाडहरु रमाईलो हुँदाहुँदै पनि महँगा हुँदा चाड आउँदा तर्सनु पर्ने भएको छ । अर्कोतिर चाडपर्व शुरु भयो कि सरसामानमा महँगी पनि तीन चारगुणले बढ्छ । त्यसैले चाड मनाउँदा आफ्नो आर्थिक अवस्था खलबलिन पुग्छ । देखासिखी तडकभडक गर्नुभन्दा सामान्य रुपले संस्कार निभाउन तर्फ लाग्दा सबैलाई राम्रै हुन्छ । एक त चाड आयो भने ब्यापारीहरु मौकाको फाईदा उठाउन कुनै कसर बाँकी राख्दैनन् । सबै खानेकुराहरु महङ्गा हुन्छन् । त्यसैमाथि म्याद गुज्रेका कमसल सामानको ब्यापार त्यही बेला गर्छन् । सरकारका हेर्ने निगरानी गर्ने निकाय फितलो हुनाले पनि सर्वसाधारणलाई गाह्रो भईरहेकोे हुन्छ । जति महङ्गाई बढेपनि संस्कार निभाउनु बाध्यताजस्तो हुन्छ ।
आजभोली हाम्रा परम्परागत चाडपर्ब र संस्कृतिहरुमा बिदेशी देखासिखी धेरै बढेको छ, जनै पूर्णिमाकै कुरा गरौं, ब्राहमण बनाएर पुजेको धागो बाँध्नुपर्नेमा राखीको ब्यापार चलेको छ । दुर्गा पूजामा परम्परागत कोट मन्दिमा पूजा गर्नुको साटो ठूला ठूला अस्थायी मूर्ति बनाएर टेन्ट टाँगेर चर्को स्पिकर लगाएर हिन्दी क्यासेटका भजन शुरु भएका छन्, अनि पूर्णिमा पछि, मूर्ति सेलाउन लैजाने नाममा सधैझै झगडा मारकाट मच्चिन्छ, नदीहरु प्रदुषित नगराउन भनिएपनि त्यस्ता महंगो खर्च गरेर बनाएका मूर्ति नदीमा बगाएर नदी प्रदुषित पारिन्छ । त्यस्तै तिहारमा माटाको दियोमा तेल र कपासको बत्ति हालेर बाल्नुपर्नेमा बिजुलीका थरिथरिका झालरहरु टाँगेर कसको भन्दा कसको बढी भिलिमिली भन्दै प्रतिस्पर्धा नै गरिन्छ । तीजको एकदिनको दर एक दुई महिना चल्छ । त्यसैले पनि हाम्रा चाडपर्वहरु महँङ्गा बन्दै गएका छन् । अझै अर्को कुरा पेटमा बच्चा आएदेखि शुरु गरिएको संस्कार बेबी सावर, नामाकरण,पास्नी, गुन्यो चोली, ब्रतबन्ध, विवाह यि आमा बुवाले सन्तानका निम्ति गरिदिनुपर्ने संस्कार कति भडकिला र खर्चिला भईरहेका छन् कुरै नगरौ । फलानाले यसो ग¥यो, हामीले किन नगर्ने भन्ने मानसिकताको बिकास भएको छ । आफ्नो परम्परागत संस्कार र संस्कृतिलाई छाड्दै हरेक खालका बिदेशी संस्कृति भित्राउनुलाई ठूलो ठान्नेहरु पनि यही समाजमा छन् । यसरी दिनानुदिन बाहिरीया संस्कार संस्कृति भित्राएँदै जाने हो भने भोलीका दिनमा हाम्रा नयाँ सन्ततीहरुले के सिक्लान् ? कसरी थामिएला हाम्रो परम्परा, संस्कार र संस्कति ? सोच्नुपर्ने विषय छ । हाम्रो परम्परागत धर्म, संस्कृतिमाथि भइरहेको अतिक्रमण रोक्नुको साटो झन बढोत्तरी गर्नुमा गर्व गर्नेको संख्या कम छैन । यो देखासिखीको काम रोक्नु कसको दायित्व हो तपाईँ हामीको पनि होईन र ? उदेकलाग्दो विषय छ । तिहारकै कुरा गरौं । देउसी भैलो खेल्दा बजाईने परम्परागत खैजडी मादल मजुराको ठाउँ अहिले ड्रमसेट र फिलिमका गीतले लिएको छ । डम्फु मादलको तालमा गाउने नाच्ने परम्परा हराउँदैछ । त्यो ठाउँ बिद्युतीय उपकरणले र हिन्दी गीतका क्यासेटले लिईरहेको देखिन्छ । यदि देखासिखी गरेर आफ्नो संस्कारलाई छाड्ने हो भने के नै रहला ? यदी समय परिस्थिती अनुसार सामान्य रुपले संस्कार निभाउँदै जाने हो भने त्यति धेरै खर्चिलो पनि हुने थिएन । हाम्रा चाडपर्वले एकातिर खुशी त दिन्छन् नै ठूलो आर्थिक भार पनि पार्दैनन् । । चाडपर्व आपसी सदभावको पर्व हो । रमाईलो गरेर मनाउँ तर रमाईलो गर्ने नाउँमा बिकृतिहरु भित्राएर होईन् । आफ्नै देश परिबेश र गच्छे अनुसार मनाउँ । दिदी बैनी दाजुभाईको बीचको सद्भाव, मायाप्रेमको प्रतिक तिहार आपसी सदभाव कायम रहनेगरी मनाउँ । सबैमा दीपावली एवं भाईटीका र छठ मान्ने दाजुभाई दिदी बैनीमा दीपावली र छठको अनेक अनेक मंगलमय शुभकामना ।