© २०२३
दशैँको चहलपहल शुरु भएपछि नेपालमा आन्तरिक पर्यटनको मुख्य सिजन शुरु हुन्छ । यहि समयमा नेपालमा विदेशी पर्यटकहरू आउने दोश्रो सिजन शुरु हुन्छ । भूकम्प र कोरोनाले थलिएको नेपालको पर्यटन क्षेत्र पछिल्लो दुई वर्षयता विस्तारै उठ्न थालेको छ । नेपालको पर्यटनमा सम्भावना देखेर नीजि क्षेत्रले शहरी क्षेत्रमा मात्र हैन दुरदराजका क्षेत्रमा समेत पर्यटकीय पूर्वाधारमा ठूलो लगानी गरिरहेका छन् । यो वर्षको पर्यटनको मुख्य समय शुरु भएकै बेलामा असोजको ११ र १२ गतेको निरन्तरको झरी र त्यसले ल्याएको बाढी पहिरोले पर्यटन क्षेत्रलाई ठूलो क्षति पु¥यायो । धेरै लगानी गरि निर्माण गरिएका होटेल, रिसोर्टहरू बाढी पहिरोमा परेर ध्वस्त भएका छन् । पर्यटक आवागमन गर्ने मुख्य राजमार्ग, आन्तरिक सडक र पदमार्ग र त्यसलाई जोड्ने पुल पुलेसाहरू भत्किएका छन् । काठमाण्डौ हुदै पूर्वी पहाड जोड्ने, पोखरा र सौराहा जोड्ने अनि नेपालको प्रमुख पर्यटकीय गन्तब्य सौराहालाई लुम्बिनी र काठमाडौं जोड्ने मुख्य र सहायक राजमार्गमा अवरोध उत्पन्न भएको छ । यसले नेपालको पर्यटन क्षेत्रलाई दिर्घकालीन असर पार्ने निश्चित छ ।
पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको सेप्टेम्बर महिनामा भन्दा यो वर्ष नेपाल आउने भारतीय पर्यटकको संख्यामा २२ प्रतिशतले कमी आएको छ । यसको मुख्य कारण यो महिनामा देशमा आएको प्राकृतिक विपत्ति हो । विगतका वर्षहरूमा पाथिभरामा थेग्न नसक्ने संख्यामा भक्तजन जाने गरेको भएपनि यसवर्षको घटस्थापनाको दिनमा ३० जना मात्र भक्तजन पाथिभरा पुगेका छन् । हिमाली क्षेत्रमा पदयात्राको लागि पुगेका पर्यटकहरू बेमौसमी हिमपात र हिम स्खलनको कारण असुरक्षित भएपछि उद्धार गरिएको छ । प्रतिकूल मौसमले गर्दा धौलागिरी हिमाल आरोहण गर्न गएका ५ जना पर्वतारोहीले ज्यान गुमाएका छन् । विपत्तिको कम असर परेका पर्यटकीय स्थानमा पनि पर्यटकहरूले बुकिङ रद्द गरेकोले पर्यटक चहलपहल नभएका खबरहरू आईरहेका छन् । यी सबै परिदृश्यहरू हेर्दा नेपालको पर्यटन क्षेत्रले यो वर्ष कोरोना र भूकम्प जत्तिकै नोक्सानी बेहोर्नुपर्ने देखिएको छ । नेपालमा काठमाडौं, पोखरा र लुम्बिनीलाई छोड्ने हो भने बाँकी नेपालको पर्यटन मुख्यगरी जल, भूगोल र जंगल आश्रित छ । यहि कारणले गर्दा प्रकृतिमा आउने सामान्य उतारचढावको असर पर्यटन क्षेत्रमा पर्ने गरेको छ । सरसर्ती हेर्दा प्राकृतिक प्रकोपले पर्यटन क्षेत्रमा ३ किसिमले असर पारिरहेको देखिन्छ ।
क. पहुँचमा असरः
सामान्य भन्दा केहि बढी पानी पर्नासाथ बाढी पहिरोका घटना बढ्नु र त्यसबाट राजमार्ग अवरुद्ध हुनु, पुल पुलेसा भत्कनु, सडक भत्किनु नेपालको लागि सामान्य कुरा भैसकेको छ । मुख्य राजमार्ग बाहेक अधिकांश पर्यटकीय स्थलमा जानको लागि कच्ची बाटो र गोरेटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यस्ता पर्यटकीय मार्गहरू सामान्य बाढी, पहिरो र भूकम्पले क्षतिग्रस्त हुने गरेका छन् । हिमाली क्षेत्रमा बारम्बार आउने हिम पहिरो, बेमौसमी हिमपातले गर्दा हिमाली पदमार्गहरू बिग्रँदा पर्यटकहरूले दुःख पाउने गरेका छन् । बाढी, पहिरो र बेमौसमी हिमपातले गर्दा यात्रा शुरु गर्ने नसक्ने, यात्रारत अवस्थामा दुःख पाएर गन्तव्यमा पुग्न नसक्ने र गन्तव्यमा पुगेका पर्यटकहरू समेत घुमफिर गर्न नसक्ने, फर्कन नसक्ने समस्याहरू नेपालमा भ्रमण गर्ने पर्यटकहरूले बारम्बार भोग्नु परिरहेको छ । स्थलमार्ग मात्र नभएर नेपालको हवाई क्षेत्र पनि अति वर्षा, शितलहर, हिमपातले गर्दा प्रभावित हुने गरेको छ । यसले नेपालको भ्रमण गर्ने पर्यटकहरूले दुःख पाउने र पर्यटन क्षेत्रका बारेमा नै नकारात्मक संदेश बोकेर फर्कने काम भैरहेको छ । यस्ता प्रकोपहरू बढिरहँदा र सडक पूर्वाधारमा क्षति भैरहदा नेपालको पर्यटन विकासमा अवरोध आईरहनेछ ।
ख. पर्यटकीय पूर्वाधारमा क्षतिः
नेपालमा नीजि क्षेत्रले पर्यटन उद्योगमा ठूलो लगानी गरेका छन् । पर्यटकहरूले नेपालको प्राकृतिक वातावरण मन पराउने भएकोले शहर भन्दा बाहिर नदी ताल तलैयाको नजिक, खोंच, भिरालो जमिन, पहाडको टुप्पो जस्ता ठाउँमा होटेल, रिसोर्ट बनाएका छन् । यस्ता ठाउँका होटेल, रिसोर्टहरूमा पर्यटकको आकर्षण पनि देखिएको छ । पर्यटकलाई सेवा पु¥याउने र मुनाफा हासिल गर्ने एकमात्र उद्देश्यले संचालन ल्याईएका यस्ता होटेल, रिसोर्टहरू स्थापना गर्दा प्राकृतिक विपत्तिको सम्भावनालाई ख्याल गरेको देखिदैन र विपद न्यूनीकरण तथा अनुकूलनका कार्यहरू समेत गरेको देखिदैन । नदी उकास क्षेत्रमा पर्यटकीय पूर्वाधारहरू बनाईएकोले बारम्बार डुवान र नदी कटानले यस्ता पूर्वाधारमा क्षति पुग्ने गरेको छ । पहाडी क्षेत्रमा भूक्षयबाट समेत होटेल, रिसोर्टहरूमा बारम्बार क्षति पुग्ने गरेको छ । यसपालिको असोजमा दुई दिन ठूलो पानी पर्दा बागमती प्रदेशका धेरै होटेल, रिसोर्टहरूले क्षति भोग्नु परेको छ । कतिपय स्थानमा पुनः संचालन गर्ने नसकिने गरि होटेल, रिसोर्ट क्षतिग्रस्त भएका छन् । भूकम्प र कोरोनाले थला पारेको पर्यटन क्षेत्रलाई यो अवस्थाले झन् थला पार्ने निश्चित छ ।
ग. पर्यटकीय सम्पदामा क्षतिः
यहि भदौ ५ मा अविरल वर्षासँगै आएको पहिरोले ओखलढुङ्गा जिल्लाको चम्पादेवी र सुनकोशी गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध धार्मिकस्थल चम्पादेवी ककनीको मन्दिर बगाएको छ । असोज ११ र १२ गते नारायणी नदीमा आएको बाढीले गर्दा लाखौ खर्चेर भरतपुर महानगरपालिकाले नारायणी किनारमा बनाएका पर्यटकीय संरचनाहरू पुरिएका, भत्किएका छन् । केहि वर्ष अघि राप्ती नदीमा आएको बाढी सौराहा क्षेत्रको वनमा पस्दा वनको भू बनोटमा परिवर्तन आएर वन्यजन्तुको वासस्थान र चरन क्षेत्र नै बदलिएको थियो । चुरे पहाडमा गएको पहिरोले गर्दा २०४० को दशकसम्म बुटवलको प्रमुख धार्मिक गन्तब्य बनेको सहश्रधारा क्षेत्र अहिले मानिसको पहुँच भन्दा टाढा पुगेको छ । प्राकृतिक प्रकोपले बिगारेका पर्यटकीय सम्पदाहरू नेपालमा धेरै छन् । भूकम्पको चपेटामा परेर पहाडी र हिमाली क्षेत्रमा रहेका सयौ वर्ष पुराना मठ मन्दिर र गुम्बा चैत्यहरू नाशिएका छन् र बाँकी रहेका पनि संरक्षणको अभावले गर्दा मासिने क्रममा छन् । बाढी पहिरोले धरातलीय स्वरूपमै परिवर्तन ल्याउने भएकोले यस्ता विपदमा परेर भूदृश्यमा आधारित पर्यटकीय सम्पदाहरू नासिने वा कुरूप बन्नु कुनै नौलो कुरा हैन । बाढी र पहिरोले जल पर्यटनलाई प्रत्यक्ष असर पु¥याउने गर्दछ । तराईका नदीहरूमा आउने बाढीले कोशी टप्पु, पर्सा, चितवन, बर्दिया जस्ता राष्ट्रिय निकुन्जमा वन्यजन्तुको विचरणक्षेत्र पुर्ने, वनमा रहेका ताल तलैयाहरू पुर्ने गरेको देखिन्छ । यसले वन्यजन्तुको दैनिकीका साथे पर्यटकहरूको भ्रमणलाई असर पार्ने गरेको छ । बाढी, पहिरो, भूकम्प जस्ता प्रकोपमा आधारित भएर जियो–टुरिजम र डार्क टुरिजम गर्न सकिने भएपनि नेपालमा त्यसको अभ्यास नभएकोले प्राकृतिक विपत्तिमा परेर एकपटक पर्यटकीय सम्पदा, स्थलहरू नासिएपछी त्यहाँ पर्यटनका सबै गतिविधिहरू ठप्प हुने गरेका छन् । कहिलेकाही बाढी, पहिरोबाट कुनै स्थानमा नदि थुनिएर, नदीले धार परिवर्तन गरेर तालहरू बन्दा त्यसले केहि पर्यटकलाई आकर्षित भएपनि त्यस्ता आकर्षण क्षणिक हुने गरेको बडिगाड खोलामा बनेको तुरतुरे ताललाई हेर्दा पनि थाहा हुन्छ ।
पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका असरहरू नेपालको पर्यटन क्षेत्रमा क्रमशः बढिरहेको छ । प्राक्टिकल एक्सन र संस्कृति, पर्यटन मन्त्रालयले सन् २०१७/१८ मा गरेको अध्ययनले बाढी, पहिरो, हिम आँधी लगायत जलवायुजन्य प्रकोपका नेपालको पर्यटन क्षेत्रले वार्षिक सरदर २४१ मिलियन अमेरिकी डलर (करीब रु.२५ अर्ब) बराबरको क्षति व्यहोरिरहेको देखाएको छ । जलवायु परिवर्तनको कारण हिमाली क्षेत्रमा हिउँ पर्ने दरमा कमी र हिउँ पग्लने दरमा वृद्धि भैरहेको छ । हिमाली क्षेत्रमा हिउँ घट्दै जाँदा हिमाली क्षेत्रले आकर्षण गुमाउँदै जाने निश्चित छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धिले गर्दा हिम गलनमा वृद्धि, हिम पहिरो र हिमताल विस्फोटनका खतराहरू बढिरहेका छन् । यसले हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणलाई जोखिमपूर्ण बनाएको छ । सुख्खा, अतिवृष्टि र अनावृष्टि नेपालमा देखिएका जलवायु परिवर्तका असरहरू हुन् । यस्ता विपदले पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित हुने गरेको छ । नदीहरूमा पानीको मात्रा र बहावलाई खडेरी र अतिवृष्टिले प्रभाव पार्ने र यसबाट नेपालका नदीहरूमा चलिरहेको जल पर्यटनलाई गम्भीर प्रभाव पार्ने निश्चित छ । नेपालमा धेरै पर्यटक मङ्सिर–जेठ अवधिमा घुम्ने गरेका छन् । यहि समयमा तालतलैयामा पानी घट्दा घुमफिर गर्नेहरूलाई निराश गराउने र पर्यटन गतिविधि संकुचित हुने संकेत देखिएका छन् । खासगरी तराई क्षेत्रमा रहेका तालतलैयाहरू हिउँद मै सुक्न थालेका छन्, जुन पर्यटकीय क्षेत्रको लागि पक्कैपनि सुखद संकेत होइन् ।
पर्यटन बहुविषय सम्बन्धित क्षेत्र हो । कृषि, वन, खानेपानी, संचार, उत्पादन, सँस्कृति, बसाईसराई जस्ता क्षेत्रमा प्राकृतिक प्रकोपले असर पार्नासाथ पर्यटन क्षेत्र स्वतः प्रभावित हुन्छ । बाढी, पहिरो, अत्यधिक वर्षा, शीतलहर, हिमताल विस्फोटन जस्ता विपदबाट तत्कालिन रूपमा पर्यटकीय पूर्वाधारमा कति आर्थिक क्षति पुग्यो भनेर लेखाजोखा गर्न सकिने भएपनि पर्यटन उद्योगले भविष्यका कति गुमाउनेछ भन्ने सहजै अनुमान गर्न सकिदैन । खासगरी पर्यटनका भौतिक पूर्वाधारलाई पुनर्जीवन दिन सकिने भएपनि पर्यटकीय सम्पदा, सभ्यता र संस्कारलाई पहिलेकै अवस्थामा ल्याउन सकिदैन् । प्राकृतिक प्रकोपबाट त्रसित भएर फर्केका पर्यटकलाई सुरक्षित महसुस गराएर पुन भ्रमणको लागि ल्याउन पनि निकै कठिन हुन्छ । नेपालको पर्यटनको मुख्य आधार प्रकृति हो र यहि प्रकृति खलबलिँदा पर्यटन क्षेत्र थिलोथिलो हुने गरेको छ । विकास निर्माणका कार्यहरू गर्दा पर्यटकीय क्षेत्र नखलबलिने गरि बनाउने, पर्यटन पूर्वाधारहरू बनाउँदा विपद जोखिमको सम्भावना अध्ययन गरेर मात्र बनाउने, विपद जोखिम न्यूनीकरणको काम गर्ने, विपदको अवस्थामा पर्यटकको सुरक्षा, उद्दारमा प्राथमिकता दिने जस्ता कामहरू गर्न सकेमा पर्यटन क्षेत्रमा प्राकृतिक प्रकोपको क्षति कम गर्न र पर्यटकलाई सुरक्षित महसुस गराउन सकिन्छ । पर्यटन व्यवसायी र पर्यटक त्रसित हुने अवस्था रहँदासम्म नेपालको पर्यटन क्षेत्रले गति लिन सक्नेछैन् ।