© २०२३
सुनवल, ०३ कार्तिक ।
‘सरकारी लगानी बालुवामा पानी’ को उदाहरण पश्चिम नवलपरासीको बर्दघाटमा निर्माण हुँदै गरेको रिफ्रेस सेन्टर बनेको छ । सरकारी निकायको उदासिनता र लापरवाहीले रिफ्रेस सेन्टरको निर्माणमा यो अवस्था आएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाटमा लुम्बिनी प्रदेश सरकारले निर्माण सुरु गरेको स्मार्ट रिफ्रेस सेन्टर अलपत्र अवस्थामा छ ।
यात्रु र सवारी चालकलाई आधुनिक सुबिधा सहितको विश्रामस्थलको रूपमा विकास गर्न निर्माण सुरु भएको रिफ्रेस सेन्टरको निर्माण पुरा नहुँदै भत्किन थालेको छ । बर्दघाट वडा नम्बर ४ स्थित पारिजात सामुदायिक वन क्षेत्रमा निर्माण सुरु भएको रिफ्रेस सेन्टरको दुई वटा भवन बनेपनि बाँकी काम अगाडि बढ्न सकेको छैन ।
खोला किनार भएको र सडकको सतह भन्दा केही तल निर्माण भएकाले बाँकी काम गर्न समस्या भएको शहरी विकास तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेशका प्रवक्ता गुणनिधि पोखरेलले बताए । बजेट अभावका कारण पहिलो चरणमा मुख्य भवन निर्माण गरिएको र बाँकी काम दोस्रो चरणमा यसै वर्ष सुरु गर्ने तयारी भईरहेको उनले जानकारी दिए । समयमै काम नहँुदा भवन घाँस र झारपातले घेरिएर खण्डहर बन्दै गएको सेन्टरले प्रदेश सरकारालाई नै गिज्जाईरहेको छ । स्थानीय तह संग समन्वय गरी रिफ्रेस सेन्टर संञ्चालन गर्न कार्यविधि निर्माण भईसकेकाले दोस्रो चरणको बाँकि काम सकेर स्थानीय पालिकालाई सेन्टर सञ्चालनको जिम्मा दिईने मन्त्रालयले जनाएको छ ।
२०७७ सालमा शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले रिफ्रेस सेन्टरको अवधारणा ल्याएपनि त्यसपछि क्रमश बजेट कटौती हुँदै जादा काम अलपत्र बनेको छ । बनेका भवन पनि जिर्ण बन्दा समेत प्रदेश सरकार यस प्रति गम्भिर देखिएको छैन् । भवन जिर्ण बन्दै गएको विषयमा ज्ञिजासा राख्दा मन्त्रालयका प्रवक्ता पोखरेलले यस विषयमा आफूलाई जानकारी नभएको भन्दै सम्बन्धित जिल्लामै रहेको कार्यालय संग थप बुझ्ने प्रतिक्रिया दिए । बर्दघाटमा बन्दै गरेको रिफ्रेस सेन्टरको भवनको साईडबाट खोला बग्ने गरेको छ भने नारायणगढ बुटवल सडक विस्तारको क्रममा सडकको उचाई समेत थप बढेकाले सेन्टर, सडकको सतह भन्दा तल परेको छ । जसका कारण सवारी साधन जान आउन र पानी निकासको समेत समस्या हुने देखिएको छ ।
निर्माणकै चरणमा रहँदा गत वर्ष गुणस्तरहीन सामग्री प्रयोग गरेर काम भईरहेको गुनासो आएपछि बर्दघाट नगरपालिकाले निर्माणमा समेत रोक लगाएको थियो । तर रोकिएको काम हाल सम्म पुरा भएको छैन् । भवन बाहेक रिफ्रेस सन्टेरलाई आवश्यक, शौचालय, बाउन्ड्रि वाल, ईलेक्ट्रिक चार्जिङ्ग स्टेशन, पार्किड्ड लगायतको काम सबै बाँकी छ । सेन्टर सञ्चालनको विषयमा प्रदेश सरकार संग छलफल भएको बताउँदै बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले प्रदेश मार्फत दोस्रो चरणको काम सम्पन्न भए पालिकाले जिम्मेवारी लिन तयार रहेको बताए । राज्यले लगानी गरेको स्थान अहिले खण्डहर बन्दै गएकाले समयमै काम सम्पन्न गरे स्थानीय तह मार्फत बाँकी लगानी गरेर संञ्चालन गर्न तयार रहेको उनको भनाइ छ । ‘हामीले पनि रिफ्रेस सेन्टर संञ्चालन छिटो गर्नुपर्र्यो भनिरहेका छौ तर बाँकी काम सुरु नै भएको छैन्, अहिल्यै स्थानीय तहले जिम्मा लिने कुरा भएन्,’ नगर प्रमुख श्रेष्ठले भने । प्रदेशले बनाएको कार्यविधि उपयुक्त रहेको भएपनि पहिले निर्माणको काम सक्नुपर्नेमा उनले जोड दिए ।
२०७७ सालमा तिन करोड १८ लाखमा निर्माण सम्झौता भएको उक्त भवनको निर्माण कार्य लगभग सकिएपनि डिपिआर अनुसार अन्य निर्माणको काम भने सबै बाँकी छ । प्रदेश सरकारले बर्दघाट सहित रूपन्देहिको सैनामैना, कपिलवस्तुको चन्द्रौटा, दाङको लमही र बर्दियामा रिफ्रेस सेन्टर निर्माणको अवधारणा ल्याएको थियो । जसमध्ये कुनैको पनि काम पुरा भएको छैन ।