© २०२३
बुटवल, ०२ कार्तिक ।
अर्घाखाँची जिल्लाका विभिन्न देवी भगवती, कोटमा सुरुवात भएको विजया दशमीको अवसरमा प्रदर्शन हुँदै आएको सरायँ नाच पछिल्लो समयमा तराईंका जिल्लाहरूमा पनि प्रदर्शन गर्न थालिएको छ । रूपन्दहेहीको पहाडी बाहुल्यता भएका स्थानीयहरू बुटवलको देविनगर, बेलबासको जीतगढी, नयाँगाउँ क्षेत्रमा सराय नाँच प्रदर्शन गरिएको छ । यस्तै कपिलवस्तु जिल्लाका विभिन्न स्थान, दाङ जिल्लामा पनि यसको प्रदर्शन गरिएको हो ।
विजया देशमीको दिनदेखि पूर्णीमा सम्म प्रत्येक दिन छुट्टाछुट्टै देवी भगवती मन्दिरमा सरायँ नाच प्रदर्शन गरिँदै आइएको हुन्छ । अर्घखाँचीबाट सुरुवात भएको यो नाँच प्रदर्शन गुल्मी, पाल्पा, प्यूठान लगायतका जिल्लाहरूमा पनि मौलिकताका साथ प्रदर्शन गरिँदै आएको हो । तरबारसहित लडाइँको अभिनयबाट सुरु भई भट्याउँदै सरायँ नाचिने गरिन्छ । कोटघर, दुर्गा र देवीका शक्तिपीठमा हतियार जुधाएर सराय नाच्दै, जमरा र फूलपाती खोला एवं पोखरीमा बगाउँदै दसैंलाई बिदाइ गर्ने गरिन्छ । पहाडको सांस्कृतिक नाच पछिल्लो समय भने यो फैलिँदै तराईका केही स्थानमा पनि बिस्तार भएको छ ।
अर्घाखाँचीको अर्घा भगवती मन्दिरबाट सुरु भएको सरायँ नाच अन्य गाउँ हुँदै पाल्पा, गुल्मी, प्यूठानसम्म पुगेको थियो । पछिल्लो समय पहाडबाट तराईमा बसाइँ सरेकाहरूले त्यहीँ नै कोट, दुर्गा र देवीका मन्दिर स्थापना गरी सरायँ नाच निकाल्ने गरेका छन । पहाडका चार रूपन्देही, कपिलवस्तु, दाङ र नवलपरासी जिल्लामा दसैंको दिन देखि पूर्णिमासम्म नै शक्तिपीठका मन्दिरमा खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियार जुधाएर नचाउँदै युद्धको झल्को दिने गरी सरायँ नाच्ने गरिन्छ ।
अहिले आठ जिल्लाका धेरै शक्तिपीठका मन्दिरमा सरायँ नाच नाचिने गरेको छ । पहाड र तराईमा बालबालिका, युवादेखि पाका उमेरसम्मका पुरुष र महिला सराय नाच्न रुचाउछन् । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजय उत्सवस्वरूप हर्षबढाइँ गर्दै कोट र मन्दिरमा हतियार प्रदर्शन गर्दै सरायँ नाच्न थालिएको जनविश्वास रहेको छ ।
मन्दिरमा विधिपूर्वक पूजा गरेपछि मन्दिरबाट हतियार, आलम, बाजा निकालेर रमाउँदै यो नाच देखाउन थालिन्छ । सरायँ नाचको सुरुवात अर्घाखाँचीको अर्घा दरबारको भगवती मन्दिरबाट भएको मानिन्छ । बिस्तारै गुल्मी, प्यूठान, पाल्पामा कोटहरूमा दसैंदेखि कोजाग्रत पूर्णिमासम्म यो नाच चलिरहन्छ । भगवती मन्दिरमा विधिपूर्वक राखिएको जमरा पूर्णिमाको दिन सरायँ नाचेर विधिपूर्वक सेलाइने गरेको पुजारी धर्मराज पोखरेलले बताए ।
अर्घाखाँचीको अर्घा दरबारमा सबैभन्दा ठूलो सरायँ जात्रा मनाइएको छ । मध्यकालमा वर्तमान अर्घाखाँची जिल्लाको तत्कालीन अर्घा राज्यमा राजा जिल्ला राईले युद्धमा आफूले अर्घा राज्य जितेको उपलक्ष्यमा विजयको उत्सवको स्वरूप विजया दशमीको कोजाग्रत पूर्णिमाको दिनमा सरायँ नाच नचाएर दही, केरा र बक्सिस बाँड्न थालेको कथन छ ।