© २०२३
तत्काल आउँदै गरेको हामी नेपालीहरूको महान् चाड दशैँ र तिहारको मुखमा ठूलो प्राकृतिक प्रकोप भएको छ । अधिकांश नेपालीहरूले आफ्ना पितृहरूलाई कुनै न कुनै रूपमा सम्झना गर्ने समय सोह्र श्राद्धका बीचमा भएको यस प्राकृतिक विनासबाट हामी नेपालीहरू अत्यन्त स्तब्ध भएका छौँ । विशेषतः नेपालको मध्य भाग बागमती प्रदेशमा भएको यस प्राकृतिक प्रकोपको दुर्घटनाबाट धेरै नेपालीहरूले ठूलो धनजन गुमाउनु परेको छ । दैवको लेखन भनौँ कि हाम्रो हेलचेक्राइँ भनौँ बुटवलबाट काठमाडौँका लागि गइरहेको हायस पहिरोमा पर्दा दुईवटा परिवारका तीन–तीनजना सदस्यहरूले यस संसारबाटै विदालिनु परेको छ । ती अबोध बाबु जसले यो संसारमा आएर बल्लमात्र आमाको पुकार गर्दै थिए, उनले पनि राम्रोसँग आफ्नी आमालाई समेत चिन्न नपाउँदै आमासँगै पृथ्वी आमामा मिल्नु परेको छ । त्यस्तै ती बाबु जो जीवनभर कमाईका लागि भारतमा बसे अब नफर्कने गरी नेपाल फर्किएर मातृभूमिको सेवा गर्ने उद्देश्य थियो उनको पनि त्यो उद्देश्य पूरा नै हुन पाएन । त्यस्तै अझ अर्को भावविह्वल क्षण, जसलाई सुन्दा नै पनि शरीर काँप्दछ, त्यस किसिमको अर्को विभत्स घटना सुन्नुपरेको छ । वंगलादेशमा हुन लागेको कुनै कार्यक्रमका भाग लिनका लागि गएका जुम्ल्याहा दाजुबहिनी पनि आफ्नी प्राणप्यारी आमा सहित पहिरोबाट बग्नुपरेको छ । कसैले चार घण्टासम्म जीवनको पुकारा गर्दा समेत गुहार नपाएर नदीसँगै बग्नुपरेको छ ।
अब त वर्षात्को समय गइहाल्यो । त्यसैले त्यति ठूलो पानी पर्दैन । परे पनि ठूला ठूला बाढी पहिरा त पक्कै पर्दैनन् भन्ने सबैलाई लागिरहेको थियो । त्यसैले पनि एक–दुई दिन अगाडिदेखि आइरहेको पानीको पनि पर्वाह नगरी सबैजना आफ्ना गन्तव्यतिर लागिरहेका थिए । आर्थिक मन्दीका कारणले चल्न नसकेका आफ्ना व्यवसायहरू दसैँ तिहारको मौकामा त केही राम्रो होलान् भन्ने आसयमा धेरैको गन्तव्य काठमाडौँतिर गएर सामान ल्याउनका लागि पनि थियो । आर्थिक मन्दीकै कारणले गर्दा त्यति चल्न नसकेका यातायातका साधनपनि दसैँ तिहारका अघि पछि चलाउन पाए केही कमाई त गर्न सकिन्थ्यो कि भन्ने भाव साहु र चालक समेतलाई थियो । त्यसैले पनि मुसलधारे पानीको पनि प्रवाह नगरी सबैले आ–आफ्ना गन्तव्य रोजेका थिए ।
वर्षाका समयमा ठूलै प्रकोप मच्चिएको मुग्लिङ्ग र नारायणगढको बीचको स्थान कटियो भने त चाँडै नै स्वस्थानमा पुगिएला भन्ने भाव यात्रुहरूका मनमा थियो । त्यसपछि त्रिशुली नदीको किनारै किनारै गल्छि पुगिसकेपछि त झन् यात्रुहरूको मनमा अब त काठमाडौँ आइपुगिहालिन्छ भन्ने नै थियो । त्यसमापनि अझ नौविसे कटिसकेपछि त सबै आ–आफ्ना गन्तव्य स्थानमा पुगिहालिन्छ भनेर आफन्तहरूलाई फोन लगाउँदै थिए । चालकहरू पनि अहिलेसम्म कुनै ठूलो प्राकृतिक घटना नभएको स्थानमा त्यस किसिमको लेदो आउला र यसरी सबै बगिएला कि भन्ने कुनै पनि किसिमले शङ्कामा थिएनन् । तर, के गर्ने नपत्याउने खोलाले बगाउँछ भने झैँ भयो । मुग्लिङ्ग र नारायणगढ बीचको सडकमा भएको विभत्स दुर्घटनाबाट हामीले सिक्न सकेनौँ । रातीको समय जसरी पनि घातक हुँदो रहेछ भन्ने कुरालाई विर्सियौँ ।
प्राकृतिक घटना त घटिरहन्छन् । यी घटना प्रकृतिले जानेर बुझेर गरिदिने पनि होइनन् । हाम्रा धर्मशास्त्रमा– धर्मो रक्षति रक्षितः भनेको छ । अर्थात् जसले धर्मको रक्षा गर्दछ त्यसलाई धर्मले पनि रक्षागर्दछ । कति वैज्ञानिक र व्यावहारिक कुरो छ । त्यस्तै प्रकृतिको नियममा पनि यही कुरा लागू हुन्छ । प्रकृतिलाई जसले रक्षा गर्दछ उसलाई प्रकृतिले पनि रक्षा गर्दछिन् । अधिकांश प्राकृतिक घटना हाम्रा कारणले भएका छन् । हाम्रा चेतनाले काम नगर्दा घटेका छन् । शहरीकरणका नाममा नदी–नालाहरूका प्राकृतिक बाटाहरू हामीले ओगटेका छौँ । ती प्रकृतिका बाटाहरू मिच्दा प्रकृतिले पनि बेला–बेलामा आफ्नो विशाल रूप लिएर हामीलाई शिक्षा दिने गर्दछिन् । २०७२ सालको भूकम्पपछि पनि केही वर्ष अगाडि सिन्धुपाल्चोकमा भएको नदीजन्य घटनाका माध्यमले प्रकृतिले हामीलाई सबक सिकाएरै गएकी थिइन् । तर, त्यो वैराग्य हामीहरूको मनमा धेरै समय रहन सकेन । खोला–नालाका नजिकबाट हामी टाढा जान सकेनौँ । त्यसैले पुनः काभ्रे जिल्लामा रोशीखोलाका कारणले धेरै जनधनको नास हुन पुगेको छ । काठमाडौँको त झन् कुरै गर्न परेन । धेरै पटक नदी नालाहरूले हामीलाई खबरदारी गरिरहेका छन् । केही वर्ष अगाडि बल्खु खोलाले हामीलाई सचेत गरायो । फेरि हामी जस्ताको तस्तै भयौँ । त्यसको केही समय पछाडि विष्णुमती र बाग्मतीले त्यस्तै खबरदारी गराए । त्यो नदीको भविष्यवाणी पनि सुनेको नसुन्यै गर्यौँ । अहिले पुनः तिनै नदीनालाका साथमा हनुमन्ते खोलाले पनि खबरदारीको भाषा बोलिसकेको छ । तर हामीले यसलाई प िनविर्सने छौँ । अनि कुनै न कुनै दिन फेरी हाम्रा नदीनालाले हामीले पनि यी सबै कुरा थाहा नपाउने गरी हामीलाई पनि लैजाने छिन् । त्यसपछि के हुनेछ त्यो प्रकृतिलाई मात्र थाहा हुनेछ ।
हामीले धर्म धर्म भन्ने गरेका छौँ । यो धर्म भन्ने चिज हामीमा मात्र नभएर यी प्रकृतिमा पनि हुने रहेछ । यिनले पनि आफ्नो धर्म अनुसार काम गर्ने रहिछन् । आफूलाई कसैले विघ्न बाधा उत्पन्न गर्यो भने आफ्नै धर्म अनुसार ठिक गर्ने रहिछन् । यी नदी नालाहरूको धर्म सफा भएर हामीहरूको जीवन चलाइदिनु हो । अर्थात् परोपकारायवहन्तिनद्यः । यिनमा हामीले ढल–नल बगायौँ भने यिनलाई पनि जरो आउने रहेछ । यिनको आकारलाई घटाइदिन थाल्यौ भने यिनलाई पनि क्रोध आउने रहेछ । यी पहाडहरूमा पनि चेतना हुने रहेछ । त्यसैले यिनलाई अनावश्यक दुःख दिँदा यिनीहरूले पनि आफ्नो स्वरूपलाई विकलाङ्ग बनाउने रहेछन् । आखिर हामीले बुझ्नुपर्ने भनेको के भने जुनपनि काम प्रकृतिको नियम अनुसार गर्न सक्यौँ भने अनिमात्र हाम्रो जीवन सहजरूपले चल्न सक्दो रहेछ । ईश्वर खोज्न बाहिर जानुपर्ने रहेनछ । प्रकृति नै ईश्वर रहेछ । अवचेतन जस्तो देखिने प्रकृतिलाई हामीले रिस उठायौँ भने कुनै न कुनै दिन हामीले सजाय भोग्नैपर्ने रहेछ । त्यसैले आफ्ना नजिक हुँदै गरेका विकास हाम्रालागि कतै विनासको रूप लिएर त आउने हैनन् ? यस कुरालाई विचार गर्दै विकासको गति चलाउन सक्यौँ भने प्रकृति माताले पनि हामीलाई बचाएर राख्नेछिन् । जय प्रकृति ।