© २०२३
पाल्पामा राज्य गरेका सेनबंशीय राजाहरूले आफ्नो राज्य सञ्चालनका क्रममा राज्यलाई निकै सवल र समृद्ध बनाएको देखिन्छ । पाल्पाको रिब्दिकोट राजधानी बनाएका सेन राजाहरू नेपाल एकिकरणका दौरानसम्म छिमेकी मुलुक भारतमा शासन गरिरहेका अंग्रेजहरूको नजरमा समेत परेका थिए । राज्य सञ्चालनमा थिति र सवलताको मापनमा अग्रेजहरू मोहित भएका थिए । प्रकृति, वन जंगल र तिव्वतसंग व्यापारकालागि सहज व्यापारिक नाका पनि भएको कारण पाल्पा उनीहरूको नजरमा परेको थियो । शक्तिशाली पाल्पा राज्यमा आफ्नो कब्जा हुन सके त्यस माथिका साना राज्यहरू सहजै आफ्नो मातहत ल्याउन सक्ने अनुमान उनीहरूको थियो । पाल्पा राज्य जव नेपाल एकीकरणको प्रकृयामा प्रवेश ग¥यो, त्यसपछिका नेपाली शासकहरूले पाल्पाको महत्व विशेष रहेको बुझाईवाटै पाल्पालाइ नै मुख्य केन्द्र वनाई थप सुरक्षा नीति अवलम्वन गरेको देखिन्छ । राज्यका लागि आवश्यक आर्थिक व्यवस्थापन र यस क्षेत्रको महत्वलाई बुझेर आफ्नो भरपर्दा र बहुआयामिक छवि बनाएका विश्वासिला पात्रहरूलाई पाल्पा पठाएको देखिन्छ । उनीहरूवाट यो क्षेत्रको सवलतासंगै अग्रेजहरूको नजरलाई गहिरो अध्ययन सहितको रणनीति बनाएको पाइन्छ । यसैको परिणाम स्वरूप दुईपटकको अग्रेज आक्रमणलाई निस्तेज बनाउन सफल भएको मात्र होइन अग्रेजहरूलाई सम्झौता गर्न बाध्य पनि गरायो । जसलाई नेपालको इतिहासमा सुगौली सन्धिको नामले परिचित पनि छ ।
त्यसै समयदेखि पाल्पा क्षेत्र इतिहास, संस्कृति र प्रकृतिले भरिपूर्ण सोही अनुरूपका सम्पदायुक्त अवसर प्राप्त क्षेत्रको रूपमा रहेको छ । कतिपय सम्पदाहरू सांस्कृतिक विरासत समेत बनेको पाइन्छ । यस्ता विरासत भएका केही सम्पदाहरू पछिल्लो समयमा प्रशासनिक विभाजनवाट रूपन्देहीको बुटवल उपमनपाको वार्ड नं १ (बटौली) क्षेत्रमा रहन पुगेका छन् । यस लेखमा बुटवलले प्राप्त गरेका त्यस्ता सम्पदा र इतिहास, संस्कृति र प्रकृतिका अनुपम सम्पदा र बुटवलले प्राप्त गरेका उपहार स्वरूपका सम्पत्तिहरूको व्यवस्थापनवाट समृद्धि र उन्नती ल्याउन सक्ने सम्भावनाका सन्दर्भका जिज्ञासा र सुझाव सहितको टिप्पणी गर्ने प्रयत्न गरिएको छ । गत महिना स्थानीय समाजसेवी निरोज मास्केले वडा अध्यक्ष र नगरपालिकाका प्रमुखलाई बटौलीका सामयिक समस्या र आगामी कदमकालागि नपाको ध्यानाकर्षण गराउदै तत्काल गर्नैपर्ने र नीतिगत व्यवस्था सहितको कदम चाल्न माग गर्दै बुझाएको पत्रलाई उद्धृत गर्दै विषय उठान गर्ने जमर्को गरिएको छ ।
सम्पदाहरू सार्वजनिक सम्पती हुन् । स्थानीय सरकारले यस्ता सम्पदा वा सम्पत्तिहरूको माध्यमवाटै आफ्नो पहिचान बनाउन सक्छन् । बटौली बजार र यस सेरोफेरोको क्षेत्र बहुमूल्य सम्पति रहेको क्षेत्र हो । बुउमनपा १ बुटवलका (बटौली) वासिन्दाहरू यसवाट गौरवान्वित हुनुपर्छ । बुटवल उपमहानगरपालिका क्षेत्र भित्र रहेका अन्य विभिन्न क्षेत्र भन्दा भिन्न र गरिमामय वजन बोकेको यो एक आकर्षक र अत्यन्त गहकिला सम्पदा रहेको विशेषतायुक्त क्षेत्र पनि हो बटौली । बटौली क्षेत्रका जितगढी किल्ला, इतिहास र संस्कृति वोकेको मननारायण मन्दिर र निमचोक, गणेश मन्दिर, फूलवारी क्षेत्र र सेन वंशीय दरवारको भग्नावशेष एवं नुवाकोट जस्ता विश्व सम्पदा सूचिमा सूचिकृत हुनसक्ने सम्पदाहरू र यी सम्पदाको सांस्कृतिक मूल्य सहितको इतिहास गौरव गरिने पक्षहरू हुन् । नेपाल भारत र तिव्वतवीचको नेपालका पुराना गनिने व्यापारिक नाकाहरू मध्यको एक तर रणनीतिक महत्व वोकेको बजारको रूपमा यसलाई लिइन्छ । यो क्षेत्र मुक्तिनाथ क्षेत्र पुग्ने र विश्वको एकमात्र शालिग्राम प्राप्त हुने नदी कालिगण्डकी समेत नजिकै रहेको क्षेत्रपनि हो ।
भारतमा सयौं वर्ष राज गरेको इष्टइन्डिया कम्पनीले आफ्नो भौगोलिक र व्यापारिक साम्राज्य विस्तारकालागि चालेका कदममध्ये सवैभन्दा बढी चासो दिएर पटकपटक पहल गरेको तर हार खाएर नेपालसंग सम्झौता गर्न वाध्य बनाएको क्षेत्र पनि यही बटौली हो । बटौली क्षेत्र नेपाली सेनाका पाल्पा तैनाथवाला तत्कालिन कमाण्डर उजिर सिंहको बहादुरी, चातुर्यता र रणकौशल प्रदर्शन गरेको गाथा संगसंगै राज्य जोगाउन जनतापनि युद्धमा सहभागी भै इतिहासको एउटा सवल र सक्षम भूमिका निर्वाह गरेको बुटवल र यहाँका वासिन्दाहरूको क्षेत्र पनि यही हो । नेपाल र इष्टइण्डिया कम्पनी वीच भएको सुगौली सन्धिका क्रममा अंग्रेजहरूको आफ्नो रणनीति असफल वनाउन महत्वपूर्ण भूमिका र योगदान गरेका (मननारायण मन्दिरका संस्थापक मनराज (मणिराज) फौजदारलाइ सुपुर्दगी गर्न नेपालसंग माग राखेको) व्यक्तित्वले बचाएको क्षेत्र पनि हो यो भन्न सकिन्छ । यद्यपी यस भूमिकाका वारेमा गहिरो अध्ययन गर्न आवश्यक छ । राष्ट्र, राष्ट्रियता र स्वाधिनताका लागि उदाहरणीय, अनि इतिहास, संस्कृति सम्वद्ध सम्पदा मात्र होइन हरित या पर्यापर्यटन, संस्कृति, पर्यटन सम्पदा, पर्यटन जस्ता सम्भावना बोकेको क्षेत्र पनि हो । बटौली बजारमा रहेका दुईसय वर्ष पुराना घरहरूले आफैमा सम्पदाको संख्या र मूल्य बढाइरहेको छ तर अहिले यो क्षेत्र उपेक्षित बनेको आभाष पनि हरकेको मनमा उव्जिएको देखिन्छ ।
नगरप्रमुख समक्ष पेश गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिका मुख्य समस्या तर तत्काल समाधान गर्न सकिने पक्षहरूका वारेमा पनि केही विवेचना गरौं । ध्यानाकर्षण पत्रमा भनिएको छ– इतिहास संस्कृति र प्रकृतिको अनुपम उपहार प्राप्त गरेको बटौली क्षेत्रलाई बुउमनपाद्वारा विशेष सांस्कृतिक क्षेत्र घोषणा गर्नुपर्ने र गुरुयोजना निर्माण गर्नुपर्ने महत्वपूर्ण विषय उठान गरिएको छ, जुन अहिलेको आवश्यकता हो । फूलवारी स्थित सेनबंशीय दरवार (भग्नावशेष) को सुरक्षामा विशेष ध्यान दिन पुरातत्व विभागलाई कृयाशील बनाउने र सोही भग्नावशेष दरवारको सेरोफेरोमा सोही दरवारको पूर्णरूप सहितको नयाँ दरबार निर्माण गरी नयाँ पुस्ताका लागि सेनकालीन दरवारको स्वरूप अवलोकन गर्ने अवसर प्रदान गर्नुपर्ने विषय निकै सान्दर्भिक देखिन्छ । पाल्पाली सेनबंशीय राजाहरूको राजधानी भएपनि पाल्पामा अहिले कहीँकतै दरवारको भग्नावशेष समेत देख्न पाइदैन । शक्तिशाली राज्य र राजधानीको कुनै पहिचान देख्न नपाइने अवस्थालाई फूलवारी क्षेत्रको यो गृष्मकालीन दरबारको भग्नावशेष अत्यन्तै महत्व राख्ने सम्पदा पनि हो । यहाँको जितगढी किल्ला र मननारायण मन्दिर एवं फुलवारीको सम्वन्ध अत्यन्त प्रगाढ र महत्वपूर्ण रहेकोले यो सम्वन्धलाई मजवुत वनाउन पहल गर्ने कार्यक्रम र योजना आवश्यक देखिन्छ ।
झण्डै सवा दुईसय वर्ष पुरानो मननारायण मन्दिरको महत्व र गरिमा अनि आस्थाको थप विस्तार गर्न मननारायण रथ यात्रालाई विस्तार गरी बुटवल बजारदेखि मणिग्रामसम्म पु¥याउने व्यवस्था मिलाउनुका साथै मन्दिर परिसर नजिकवाट बग्ने तिनाउ नदी (तिलोत्तमा नदी) किनारमा आरतीे प्रारम्भ गर्ने व्यवस्था गर्ने हो भने यसवाट बटौली बजारमा चहलपहल बढ्नुका साथै आर्थिक गतिविधि चलायमान हुने देखिन्छ । यसको व्यवस्थापनका लागि मन्दिरकै नाममा विभिन्न स्थानमा रहेका गुठी जग्गाको आम्दानीबाटै गर्न सकिन्छ । यस कार्यमा वडा र नपाको चासो बढउनु पर्ने देखिन्छ । निमचोक तत्कालीन व्यापार व्यवसायको प्रमुख थलो रहेको देखिन्छ । बुटवल वजारको विकास हुनु अगावै यही बटौली बजारले नै व्यापारमा ठूलो योगदान गरेको थियो । यो बजार र यहाँवाट व्यापार बढाउने कार्यमा र निमचोक निर्माणमा मनराज फौजदार (मणिराज) को योगदान रहेको देखिन्छ । तर, यसको तथ्य स्पष्ट पार्नका लागि हालसम्म कुनै अध्ययन गरेको पाइदैन तर अव यसको आवश्यकता देखिन्छ ।
मनिराज फौजदार भिमसेन थापाले सेनाका लागि रसदपानी व्यवस्थाका लागि पठाएको हो वा अमरसिंह थापाले आफूसंगै काठमाण्डौंवाट लिएर आएको हो भन्ने वारे फरकफरक भनाईहरू पाइन्छ । तर, उनी बटौलीमा रहँदा बटौली बजारको रक्षाका साथै जितगढी युद्धमा गरेको योगदानको स्मरण गर्दै ऐतिहासिक संग्रहयुक्त पुस्तक प्रकाशन र निमचोकमा उहाँको अर्धकदको शालिक स्थापनामा पहल गर्नुपर्ने पक्ष पनि सान्दर्भिक देखिन्छ । किनकी व्यापार गर्नेहरू पनि राष्ट्रकालागि योगदान गर्न सक्छन भन्ने गतिलो उदारण बन्न सक्छ । यसवाट नीजि क्षेत्रको मनोवल उचो बनाउन भूमिका खेल्नेछ । बटौली बजारमा रहेका झण्डै ५ दर्जन घरहरू सम्पदायुक्त घरहरू छन् । यी घरहरूकै कारण बटौली वजार हेरिटेज सिटीको रूपमा विकास हुन सक्ने आधारहरू हुन । बुटवल उपमहानगरपालिकाले तत्काल भवन निर्माण कार्यविधि बनाई लागू गर्ने तत्परता देखाउने हो भने बटौली बजार विशेष संरक्षित सांस्कृतिक र ऐतिहासिक क्षेत्र बन्नेछ । यसवाट पर्यटन क्षेत्रमा ठूलो फड्को मार्नेछ । नपाको आम्दानीमा बृद्धि हुनेछ । यसर्थ नगरपालिकाले यो क्षेत्रको विशेषता वेग्लै भएको (जंगलको नजिक, फूलवारीको नजिक, जितगढीको नजिक, नदी किनारको नजिक र धार्मिक आस्थाको पुरानो मननारायण मन्दिर, गणेश मन्दिर तथा अन्य धार्मिक स्थलहरू भएको) पहिचान गरी महत्वका साथ विशेष कदम चाल्न आवश्यक देखिन्छ । बुटवल उपमहानगरपालिकाले चालू आवका लागि पर्यटन विकास र प्रवद्र्धन नीति समेत सफल बनाउनका लागि बटौली क्षेत्रले नै प्रमुख भूमिका निर्वाह गर्न सक्छ । यसर्थ यस्ता रचनात्मक सुझावहरू समयमै ग्रहण गरी कदम चाल्नु उचित हुनेछ ।
(लेखकःपाल्पा सरोकार समाजका अध्यक्ष हुन ।)