© २०२३
जन्म र मृत्यु दुवै कसैको वसमा हुँदैन तर कर्म भने हाम्रो अधिनमा हुन्छ । संसारमा थोरै मानिसहरू हुन्छन् जो कर्मप्रति सजग हुन्छन् र जीवनलाई कर्ममै अर्पण गर्दछन् । मोज¬मस्ती, खानपान, धनदौलत, पद, पैसाजस्ता कुराहरूको पछि लाग्नेहरूले कर्मशील जीवन विताउन सक्दैनन् र जीवनको अन्तिम क्षणमा पछुतो बाहेक केही पनि रहँदैन । तर, कतिपय यस्ता पनि व्¬यक्तिहरू हुन्छन्, जसले थोरै बाँचे पनि थुप्रै महान कर्महरू सम्पन्न गर्न भ्याउँछन् । उनैको नाम यो जगत्ले सम्झने हो । यस्तै स्वनाम धन्य व्यक्ति हुन् मोतीराम भट्ट, जसले माध्यमिक कालीन नेपाली साहित्यको सारथीको रूपमा योगदान गरे । उनलाई माध्यमिक कालीन नेपाली साहित्यका नायक पनि भन्न मिल्छ । युवावस्थामै नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएका भट्टको निधन ३० वर्षकै कलिलो उमेरमा भएको थियो । यसैकारण उनलाई नेपाली समाजले सदैव युवा कविको रूपमा चिन्छ ।
मोतीराम भट्टको जन्म वि.सं. १९२३ भाद्र २५ गते कुशेऔंसीका दिन काठमाडौंको भोसीको टोलमा भएको थियो । उनका पिताको नाम दयाराम भट्ट र माताको नाम रिपुमर्दिनीदेवी भट्ट हो । उनको वंशज भने कुमाउगढबाट बसाइँ सरेर आएको मानिन्छ । मोतीरामले पाँच वर्षको उमेरमा अक्षरारम्भ गरेका थिए भने उनी ६ वर्षको उमेरमा काशी पुगी फारसी स्कुलमा फारसी र उर्दू पढ्न थाले । त्यहाँ उनको भेट भारतीय साहित्यकार भारतेन्दु हरिशचन्द्रसँग भयो । भनिन्छ मानिसलाई जस्तो सङ्गत ग¥यो, उस्तै बनाउँछ । भारतेन्दु हरिशचन्द्रको प्रभावले मोतीरामले, साहित्यका धेरै विधाहरूसँग परिचित हुने मौका पाए ।
मोतीराम भट्ट काशीमा रहँदा विस्तारै संस्कृत र अङ्ग्रेजी दुवै भाषामा दक्षता हाँसिल गरे । त्यपछि वि.सं. १९३७ सालमा आमा र बहिनीसहित नेपाल फर्किए । १५ वर्षको उमेरमा विवाह वन्धनमा बाँधिएका भट्टले त्यसपछि भने नेपालमै बसेर संस्कृत र अंङ्ग्रेजी पढ्न थाले । उनले आइ. ए. सम्मको अध्ययन गरेका थिए ।
प्राथमिक कालको नेपाली साहित्य भक्ति धारमा सीमित थियो । मोतिरामको आगमनपछि भने यसले श्रृङ्गारिक धार समात्यो । यसैबाट नेपाली साहित्यमा माध्यमिक कालको सुरुवात भयो । उनी शृङ्गार धारका प्रवर्तकमात्र होइनन्, अपितु प्रवर्धक पनि बने । त्यसैले नेपाली साहित्यको माध्यमिक काललाई मोतीयुग पनि भन्ने प्रचलन छ । बनारसमै बस्दा नै गजल गाउन तथा प्रसिद्ध सितारवादक पन्नालालबाट सीतार बजाउन सिकेका मोतीराम भट्टले उर्दू तथा हिन्दी साहित्यमा लोकप्रिय रहेको काव्य विधा गजललाई नेपाली साहित्यमा भित्र्याउने काम गरे । त्यसैले उनलाई नेपाली गजलका पिता पनि भन्ने गरिन्छ । उनका श्रृङ्गारिक धारका गजलहरू कालजयी छन् । हेरौँ एक नमूना,
यी सानै उमेरदेखि मन् हर्न लागे ।
यिनै सुन्दरीले जुलुम् गर्न लागे ।।
कहाँसम्मको आँट लौ हेर तिनको
रिसाएर आँखा पनि तर्न लागे ।
मोतीरामले काठमाडौँमा नरदेव पाण्डे, लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, भोजराज पाण्डे आदि रहेको मण्डली बनाएर नेपाली भाषामा कविता लेख्ने र वाचन गर्ने अभ्यास गराउन थाले । नेपाली साहित्यमा समस्यापूर्ति कविता परम्पराको सुरुवात पनि उनैले नै गरेका हुन् ।
आज नेपाली साहित्यमा भानुभक्तलाई हामी आदिकवि भनेर चिन्ने गर्दछौँ । यदि मोतीराम भट्टले भानुभक्तका सिर्जनाहरूको खोजी नगरेको भए, सायद भानुभक्तलाई नेपाली भाषीहरूले चिन्न धेरै समय लाग्दथ्यो । एकपटक बिहेमा जन्ती जाँदा जुवारी खेल्ने क्रममा भानुभक्तले लेखेका रामायणका श्लोकहरू मोतीरामका कानमा परे । ती श्लोकहरू उनलाई औधी मन प¥यो । ती श्लोक भानुभक्तले रचना गरेका हुन् भन्ने थाहा पाएपछि मोतीरामलाई भानुभक्तबारे जिज्ञासा बढ्यो । यसै क्रममा उनले भानुभक्तको बालकाण्ड फेला पारे र यसलाई छपाइदिए पनि । यसपछि नेपालीहरूको घरघरमा भानुभक्तद्वारा लिखित रामायण पुग्यो । नेपाली लोक लयमा रचिएको रामायणले नेपाली भाषा साहित्यलाई निकै माथि उठाउन मद्दत ग¥यो । घरघरमा रामायाण पाठ गर्ने प्रचलन बढेर गयो । यसबाट भाषिक रूपमा नेपालीहरूलाई एकीकरण गर्ने काम भयो । भानुभक्तका भक्तमाला, रामगीता प्रश्नोत्तरीजस्ता काव्यलाई सम्पादन गर्ने काम पनि मोतिरामले नै गरेका हुन् । मोतीराम भट्टले नै वि.सं. १९४८ मा सबभन्दा पहिले भानुभक्तलाई आदिकवि भनेर सम्बोधन गरेका हुन् ।
मोतीरामले नेपाली पत्रकारिताको सुरुवात गर्नुका साथै नेपालमै पहिलो पुस्तक पसल र पहिलो पुस्तकालय पनि खोलेका हुन् । नेपाली भाषाको पहिलो पत्रिका ‘गोरखा भारत जीवन’ प्रकाशनका साथै सम्पादन गर्ने कार्य मोतीरामबाटै भएको हो । उनले नरदेव पाण्डेका दाजु कृष्णदेव पाण्डेसँग मिलेर १९४५ मा ठहिटीमा मोती–कृष्ण कम्पनी नामको पुस्तक दुकान खोले । त्यस बेलासम्ममा नेपालमा पुस्तक पसलसमेत थिएनन् । त्यसपछि मात्रै नेपालमा पुस्तकको खुबै किनबेच हुन थाल्यो । वि.सं.१९५० पाशुपत छापाखाना खोलेर नेपाली प्रेस जगतको इतिहासको नयाँ ढोका उघार्ने काम पनि मोतिराम भट्टले नै गरेका हुन् ।
मोतिराम भट्टमा बहुआयामिक व्यक्तित्व थियो । केही साहित्यकार नेपाली साहित्यजगत्मा पहिलो जीवनी लेखक मोतीरामलाई नै मान्छन् । राजामहाराजा तथा अन्य व्यक्तिहरूको बारेमा जीवनी लेखिए पनि साहित्यकारको जीवनी लेखन कार्यको थालनी भएको थिएन । वि.सं.१९४४ (कतैकतै १९४८ भेटिएको) मोतीराम भट्टले भानुभक्त आचार्यबारे ‘कवि भानुभक्तको जीवन चरित्र’ भन्ने कृति लेखेर साहित्यिक व्यक्तित्वको जीवनी लेख्ने कामलाई अगाडि बढाए । यसै कृतिबाट उनले साहित्यिक समालोचनाको विधालाई पनि अगाडि बढाउने काम गरे ।
मोतीराम भट्टको लेखनी साँघुरो घेरामा सीमित थिएन । उनले साहित्यका अनेकौँ विधामा कलम चलाएका थिए । मोतिरामले नाटक लेख्ने र निर्देशन गर्ने काम पनि गर्दथे । त्यसैले मोतिराम नाटककार तथा निर्देशक पनि थिए । भट्ट आफैले शकुन्तला, प्रिदर्शिका र पद्मावली जस्ता नाटकहरू लेखेका छन् । मोतीराम भट्ट नेपाली साहित्यका अन्वेषकसमेत हुन् । भानुभक्तको कृतिको खोजी गर्ने, पाण्डुलिपि छपाउने, कार्यबाट पनि उनी नेपाली साहित्यका कुशल अन्वेषक थिए भन्ने पुष्टि हुन्छ ।
मोतीराम भट्टको साहित्यमा सक्रिय समय केवल १५ वर्षमा रहे पनि यस अवधिमा दर्जनौँ कृतिहरू लेखे सम्पादन गरे । ती मध्ये मुख्य कृतिहरू मनोद्वेग प्रवाह (१९४२), प्रह्लाद भक्ति कथा (१९४३), शकुन्तला (१९४४) उषाचरित्र । १९४४), पिकदूत (१९४४) प्रियदर्शिका (१९४९) भानुभक्तको जीवन चरित्र (१९४८) आदि हुन् । उनका यी कृतिहरूमा नरनारीको सुन्दरता, मायाप्रीति, भेटघाट तथा विछोडजस्ता भावहरू पाइन्छ भने केन्द्रीय प्रवृत्तिमा भने श्रृङ्गारिकता पाइन्छ । नेपाली साहित्यमा पहिलो श्रृङगारिक कवि, प्रथम नेपाली गजलकार, प्रथम पत्रकार, प्रथम जीवनी लेखक, नाटककार, समालोचकका रूपमा मोतीराम परिचित छन् ।
मोतीराम भट्ट वि.सं. १९५२ मा पुनः कलकत्ता गएका बेला त्यही विरामी भई थला परे । विरामी भएकै कारण उनी अशक्त शरीर लिएर काठमाडौँ फर्कनुप¥यो । उनलाई विषमज्वरोले समात्यो जसले गर्दा सात महिनासम्म ओछ्यानमा थला पर्नुप¥यो । एकतीस वर्षको उमेरमा प्रवेष गरेकै दिन १९५३ सालमा कुशे औँशीकै दिन उनको देहावसान भयो ।
लगनशील एवम् अथक स्वभावले गर्दा मोतीराम भट्टले छोटो जीवनमै चीरकालीन इतिहाँस लेख्न सफल बने । साहित्य सृजनाका दृष्टिले मात्र नभई सामाजिक कार्यमा पनि उनको सक्रियता उस्तै बाक्लो रह्यो । उनले पढ्दै, पुस्तक लेख्दै, सम्पादन गर्दै, पत्रिका चलाउँदै, पुस्तकालय खोल्दै, छापाखानाको स्थापना गर्दै युवाकाल बिताएको पाइन्छ । मोतीरामले आफूले मात्रै लेखेनन्, अरूलाई पनि लेख्न प्रोत्साहित गरे । भानुभक्तका कृतिहरूको अनुसन्धान गरी खोजेर छपाउने काम गरे । पुस्तकालय र पुस्तक पसल खोलेर पठन संस्कृतिको विकास गरे । साहित्यकारहरूलाई प्रोत्साहन, सम्मान र खोज अनुसन्धान गरी चिनाउने काम पनि गरे । अहिलेको युगमा साहित्यकारहरूका वीच तानातान र गुटवन्दी भइरहेको सन्दर्भमा मोतीरामको जीवनीबाट गतिलो पाठ सिक्न सकिन्छ । समग्र नेपाली साहित्यको उत्थानलाई केन्द्रमा राखी काम गर्नुपर्ने कुराको प्रेरणा लिन सकिन्छ । १५९ औँ मोती जयन्तीको अवसरमा उनीबाट कर्मशील बन्दै गुणस्तरीय जीवन ज्यून सबैमा उत्प्रेरणा मिलोस् । शुभकामना ।