© २०२३
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो । यो रोग बिश्वका धेरै देशमा प्रकोपको रूपमा देखापरेको छ । डेंगु ज्वरो एक प्रकारको एडिस एजिप्टाई/एलबोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाईबाट मात्रै सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टेलाई टाईगर मसक्युटो पनि भनिन्छ । यो रोग जुनसुकै उमेर समूहका ब्यक्तिहरूलाई पनि लाग्न सक्दछ । डेंगु भाईरस चार प्रजातिका भाईरस DEN-1, DEN-2, DEN-3, DEN-4 गरी चार प्रजातिका डेंगु भाईरसबाट लाग्दछ । एकपटक एउटा प्रकारको डेंगु लागीसकेपछि जीवनभर त्यस्तै प्रकारको डेंगु रोग लाग्दैन तर अन्य प्रकारको डेंगु रोग लाग्न सक्दछ । दोस्रोपटक लाग्ने डेंगु रोग पहिलेको तुलनामा बढी खतरानाक हुन्छ । यो लामखुट्टेले सामान्यतया जमेको सफा पानीमा अण्डा पार्ने गर्दछ । एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुन्छ । एउटा लामखुट्टेले आफ्नो जीवनभर करिव ५०० देखि १००० वटा सम्म अण्डा पार्ने गर्दछ । संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् । यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्दछ । यो लामखुट्टेले सामान्यतया उज्यालोमा टोक्ने गर्दछ । डेंगु एउटा मानिसबाट अर्कोमा सोझै सर्दैन । हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ । र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त ब्यक्ति रोगबाट संक्रमित हुन्छ । पोथी जातको लामखुट्टेलाई फुल पार्नकाृ लागि प्रचुर मात्रामा प्रोटीनको आवश्यकता पर्ने भएकाले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ । भाले जातको लामखुट्टेले बोट बिरुवाको रस चुसेर आफ्नो जीवनयापन गर्दछ ।
लक्षण तथा चिन्हहरूः
-संक्रमणकाल ३ देखि १० दिन ।
-उच्च ज्वरो आउनु १०२ देखि १०३ फरेनहाईट ।
-टाउको दुख्ने पेटदुख्ने ।
-वाकवाकी लाग्ने ।
-आँखाको गेडी दुख्ने ।
-सम्पूर्ण शरीर वा जोर्नी दुख्ने ।
-रातो रातो बिमिराहरू देखापर्ने ।
सामान्यतयाः ज्वरो आएको ३ देखि ५ दिनपछि समयमै उपचार व्यवस्थापन गर्न सकिएमा मृत्युदरलाई २ प्रतिशतभन्दा कममा झार्न सकिन्छ । खास रोग नभएका तथा सामान्य भन्दा सामान्य विरामी २० देखि ५० प्रतिशत हुन्छन । जसले चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यबोझ बढाएको छ । डेंगुको विश्वब्यापी अवस्था भन्नुपर्दा विगत केही दशकदेखि विश्वभरी नै डेंगु रोगको संक्रमण अत्याधिक रूपमा बढ्दै गईरहेको छ । वितेको ५० बर्षमा यो रोगको संक्रमण ३० गुणाले बढेको पाईएको छ । स्तनधारी जीवहुदै मानिसमा सरेको अनुमान गरिएको डेंगुको उत्पत्ती झण्डै ५०० देखि १००० बर्ष पहिले भएको अनुमान गरिएको छ । नेपालमा पहिलोपटक सन् २००४ मा पहिलो बिरामी बिदेशी भेटिएको र सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लाहरूमा डेंगुका बिरामी भेटिएको थियो ।
सन् २०१० मा चितवन लगायत रूपन्देही, नवलपरासी आदी जिल्लाहरूमा महामारीको रूपमा फैलिएको थियो । देशभरीमा ९१७ केशहरू देखिएको थियो । सन् २०१६ मा चितवन, झापा र रूपन्देही जिल्लामा महामारीको रूपमा फैलिएको र देशभरमा १५२७ केशहरू देखिएको हो । सन् २०१७ मा चितवन, झापा र रूपन्देही जिल्लामा महामारीको रूपमा फैलिएको र देशभरमा २१११ केशहरू देखिएको । सन् २०१८ मा कास्की, रूपन्देही र चितवन जिल्लामा महामारीको रूपमा फैलिएको र देशभरीमा जम्मा ८११ केशहरू देखिएको ।
सन् २०१९ मा सुनसरी मोरङ्ग झापा, चितवन, कास्की र मकवानपुर जिल्लाहरूमा महामारीको रूपमा फैलिएको हो । सुनसरीमामात्र ३२६६ बिरामी पाईएका थिए । सन् २०१९ देखि हालसम्म ७३११ डेंगुका विरामी भेटिएको बिभिन्न स्रोतबाट थाहा भएको छ भने हाल २०२४ को जनवरीदेखि हालसम्म देशका ७३ जिल्लामा दुई हजार ३६५ जनामा डेंगु पोजेटिभ देखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो रोग बिभिन्न उष्ण प्रदेशीय तथा उपउष्ण प्रदेशीय भागहरूमा तिब्र गतिमा फैलिएको पाइन्छ ।
रोकथामका उपायहरूः पानी जम्न सक्ने भाँडाहरू जस्तैः गमला, फूलदानी, खाली बट्टा, अलकत्र वा मट्टितेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदीमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ । पानीका ट्याङ्कीमा लामखुट्टे प्रबेश गर्न नदिने गरी ढाकेर राख्नुपर्दछ । कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हाली दिने साथै जम्मा भएको पानी सफा गर्ने । घर वरपरका पानी जम्ने खाल्डाहरू पुरिदिने । घरका नजिकका पानी बग्ने नालीहरूमा बेलाबेलामा मट्टितेल छर्कने गर्नुपर्दछ । बस्तीको वरीपरीका झाडीहरू सफा गर्ने । एडिस एजिप्टाई जातको लामखुट्टेले दिँउसो टोक्ने हुँदा दिउँसो बाहिर हिँड्दा पूरा शरीर पूरा छोप्ने गरी कपडाहरू प्रयोग गर्ने । बच्चाहरूलाई बाहिर निस्कदा लामखुट्टे प्रतिरोधात्मक मलमहरू शरीरमा लगाई हिँडाउने । फूलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुईपटक फेर्नुपर्दछ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । सुत्दा दिँउसो होस या राती झुलको प्रयोग अनिवार्य रूपमा गर्नुपर्दछ । लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नस्ट गर्नका लागि “खोज तथा नस्ट गर” अभियान कार्यक्रम निरन्तर गर्नुपर्दछ ।