© २०२३
रोल्पा, ०९ भदौ ।
रोल्पा नगरपालिका–१० का टिकाराम वली विगत १५ वर्ष यता वैदेशिक रोजगारीमा छन् । उनी अहिले साउदी अरबको एक कम्पनीमा काम गर्छन् । उनी मात्र हैन, उनको परिवारका अन्य तीन भाई पनि वैदेशिक रोजगारीमा छन् । माहिलो भाई वीरबहादुर वली र कान्छो भाई सुभान वली पनि साउदी अरबमै रहँदा माहिलो भाई भने वैदेशिक रोजगारीकै क्रममा साउदी रहेको बेला बिरामी परे । किड्नीमा समस्या देखिएपछि स्वेदश फर्किएका उनी अहिले घरमै आराम गरिरहेका छन् ।
टिकाराम ११ वर्षको छँदा वुवा सेते वलीलाई ४ कार्तिक २०५७ मा प्रहरीले हत्या ग¥यो । माओवादीको पूर्णकालिन कार्यकर्ता सेते वली घरमै आएको वेला प्रहरीले छोपेर गोली हानि हत्या गरेको थियो । वुवाको हत्या हुँदा टिकाराम ११ वर्ष, वीरबहादुर ८ वर्ष, दुर्गा ५ वर्ष, सुभाव ३ वर्ष र बहिनी गोमा वली गर्भमा थिईन् । गोमाले अहिले स्नातक तह अध्ययन गरिरहेकी छिन् ।
बुवाको हत्यापछि बाजे बज्यैको सहारामा बाँचेका उनीहरू सानैदेखि माओवादी समर्थक बने । सशस्त्र युद्ध अवधिभर उनीहरूले माओवादीलाई सहयोग गरिरहे । सानैमा अभिभावक गुमाएका उनीहरूलाई पार्टी नै सबथोक थियो । टिकाराम भन्छन्–‘शान्ति प्रक्रियामा आएपछि माओवादीले आफन्तलाई चेप्न थाल्यो । युद्धमा सबथोक गुमाएकाहरू पार्टीबाट वहिष्कृत हुँदै गए, अवसरवादी र नवप्रवेशीहरूको पार्टीमा हालिमुहाली चल्न थाल्यो । द्वन्द्व पीडितहरू किनारामा पर्दै गए, साँझ के खाउँ, बिहान के खाउँको अवस्थामा पुगेपछि देश बदल्न हिँडेकाहरू बाटो बदल्न विवस भए । धेरैको गन्तव्य वन्यो वैदेशिक रोजगारी ।’
टिकाराम रोजगारीका लागि खाडी जान बाध्य भए । गाउँकै साहुसँग मासिक ३ प्रतिशत व्याज दिने गरि १ लाख २३ हजार ऋण लिए । घरको आर्थिक अवस्थाका कारण भाईहरूले पनि विद्यालय जान सक्ने अवस्था नभएपछि क्रमशः विदेशिदै गए । गाउँकै साहुँसँग ऋण लिएर उनीहरू सवै चार भाई विदेशिएका थिए ।
राज्य सत्तामा आमूल परिवर्तनको नारा दिएर १ फागुन २०५२ बाट सुरु भएको माओवादी सशस्त्र द्धन्दमा रोल्पा द्वन्द्वको केन्द्र थियो । दशक लामो द्धन्दमा रोल्पामा ९४६ जनाको मृत्यु भयो । ३३ जना अझै वेपत्ता छन् । रोल्पामा मात्रै विशिष्ट श्रेणी र प्रथम श्रेणीका क्रमशः ७७ जना र ५९५ जना अन्य घाइते गरि जिल्लामा कुल ६७२ जना घाइते छन् । द्वन्द्वका क्रममा २०१ जना अपहरणमा परेका थिए । द्वन्द्वमा श्रीमान् गुमाई एकल भएका ३२३ र हालसम्म श्रीमान् वेपत्ता भई एकल जीवन विताईरहेका ७ गरि ३३० जना एकल महिलाहरू छन् । द्वन्द्वमा राज्य पक्षवाट ७६२ जना, विद्रोही पक्षवाट १६५ जना, दोहोरो भिडन्तमा ८ जना र पक्ष नखुलेका ११ जना गरि ९४६ जनाले ज्यान गुमाएका थिए । सो अवधिमा राज्य पक्षवाट ६ जना र विद्रोही पक्षवाट २७ जना गरी जम्मा ३३ जना अझै पनि वेपत्ताको सूचीमा छन ।
शान्ति प्रक्रियापछि नेकपा माओवादी पटक पटक सत्तामा गयो । २०६३ यताका १७ वर्षमा झण्डै १५ वर्ष सरकारमा रहेको नेकपा माओवादीले ३ पटक सरकारको नेतृत्व समेत ग¥यो । यस अवधिमा रोल्पाका नन्दवहादुर पुन २ अवधि उपराष्ट्रपति भए । ओनसरी घर्तीमगर र कृष्णवहादुर महरा सभामुख भए । लुम्विनी प्रदेश सरकारमा रोल्पाका कुलप्रसाद केसी र जोखवहादुर महरा पालैपालो मुख्यमन्त्री भए । वर्षमान पुनले २ पटक र कृष्णवहादुर महराले १ पटक अर्थमन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालय सम्हाले । संविधान जारी भएपश्चात भएका २ वटा स्थानीय तह निर्वाचनमा रोल्पाका १० मध्ये ७ स्थानीय तह जितेको नेकपा माओवादी केन्द्रले वलियो उपस्थितिसहित स्थानीय सरकार संचालन ग¥यो । २०७९ सालमा सम्पन्न दोश्रो स्थानीय तह निर्वाचनमा समेत उसले ७ वटा स्थानीय तहमा निर्वाचित भएर सरकार संचालन गरिहेको छ ।
शान्ति प्रक्रियापछि नेकपा माओवादीले ठूलो अवसर लिएपनि माओवादीलाई साथ र सहयोग गर्ने सशस्त्र युद्धका घाईते अपांग, मृतकका परिवारलाई भने त्यो सरकार कागलाई वेलपाक्यो हर्ष न विस्मात हुन पुग्यो । सशस्त्र युद्धका घाईते अपांग तथा मृतकका परिवारहरूका लागी माओवादी नेतृत्वको तीनै तहका सरकारले कुनै पनि प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा उनीहरू खाडीमा रगत पसिना वगाउन वाध्य हुन पुगेका छन् । अमेरिकी सामाज्यवाद विरोधी स्कूलिङले दिक्षित तिनै कार्यकर्ता अवैध वाटो हुदै अमेरिका जाने क्रम समेत वढ्दै जान थालेको छ । रोल्पाका वस्ती तथा घरहरू विस्तारै रित्तिदै जान थालेका छन् ।
सात हजार १ सय ३३ घरधुरी रहेको रोल्पा नगरपालिकाबाट मात्रै २ हजार ८ सय ८१ घरधुरीका तीन हजार १ सय ६४ युवा वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा रहेका नगरवासीको यो संख्या पालिकाको कुल घरधुरी संख्याको ४० प्रतिशत हो । उनीहरूमध्ये करिव ७० प्रतिशतको गन्तव्य मलेसिया र खाडी मुलुक हुने गरेको छ जसमा करिव ६ प्रतिशत महिला छन् ।
जिल्ला प्रशासन कार्यालय रोल्पाको अभिलेख अनुसार आर्थिक वर्ष २०७९/०८० मा रोल्पावाट ५ हजार ९५९ पुरुष र १ हजार ५१२ गरि कुल ७ हजार ४७१ युवाले राहादानी लिए । अघिल्लो वर्ष पुरुष ४ हजार ४२६ र महिला १ हजार २२७ गरि कुल ५ हजार ६५३ युवायुवतीले रोल्पा छोडे । यो संख्या राहादानी लिनेहरूको मात्रै हो । कतै अभिलेखिकरण नभएपनि रोल्पावाट ठूलो संख्याका युवायुवती रोजगारीका लागी भारत जाने गर्दछन् । त्यतिमात्र हैन रोजगारीको कुनै विकल्प नभएपछि काठमाण्डौका ईटा भट्टा मात्र हैन, अन्य शहरहरूमा समेत काम गर्ने रोल्पाली युवायुवतीको संख्या निकै ठूलो रहेको वताईन्छ ।
रोल्पाका पालिकाहरूले सशस्त्र द्धन्द वा शहीदको फुर्को झुण्याएर हरेक वर्ष विनियोजन गर्ने वजेट निकै नगण्य हुने गरेको छ । चालु आर्थिक वर्षका लागि जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले द्धन्द पीडित, विपन्न, एकल महिलाहरूका लागी वाख्रापालन प्रवद्र्धन कार्यक्रम शीर्षकमा २ लाख, विपन्न, एकल र द्वन्द्व पीडित सुनौला हजार दिनका आमाका लागी कुखुरा सहयोगमा ३ लाख विनियोजन गरेको छ । यसैगरि शहीद स्मृती भ्यूटावरका लागी १० लाख, शहीद स्मृती कपका लागी १२ लाख, शहीद, अपांग, घाइते र द्धन्द पीडितहरूको स्वास्थ्य विमाका लागी १५ लाख विनियोजन गरेका छन् ।
नगरपालिकाले विनियोजन गरेको वजेटमध्ये घाईते, अपांग र मृतकका आफन्त प्रत्यक्ष लाभान्वित हुने वजेट निकै कम हुने गरेको वताईन्छ । ‘द्धन्द पिडितहरूले प्रत्यक्ष फाईदा पाउने कार्यक्रमभन्दा पनि स्मृतीकरणका लागी विनियोजित वजेट धेरै हुँदा त्यसको फाईदा प्रत्यक्ष रूपमा घाईते अपांग र मृतकका परिवारले पाउदैनन्’, रोल्पा नगरपालिका २ की द्धन्द पिडित मिना विकले भनिन्, ‘विनियोजन गरेको वजेटमा पनि विभेद हुन्छ, पार्टी, जाति र क्षेत्र हेरेर व्यवहार हुन्छ । द्वन्द्वमा व्रिद्रोही पक्षवाट श्रीमान गुमाएकी विककाअनुसार द्वन्द्व पिडितहरूका लागि मुखवुजो लगाउन ल्याएका साना तिना कार्यक्रम पनि नेताका आफन्त र आसेपासेले दोहो¥याई तेहे¥याइ पाउँछन् । द्वन्द्व पीडितको नाममा आफ्ना समर्थक र कार्यकर्तालाई मात्र अवसर दिने काम भएको द्वन्द्व पीडित श्रीकुमारी घर्तीमगरले बताइन् । ‘जुन पार्टीले जितेको छ, त्यही पार्टीका कार्यकर्ताले मात्रै द्धन्द पीडितको नाममा सेवा सुविधा पाएका छन् । सवै द्वन्द्व पीडितले आवश्यकताका आधारमा अवसर पाउने वातावरण वनाउनुपर्छ’, घर्तीमगरले भनिन्, ‘बलात्कार तथा यौन हिंसा पीडितहरूलाई सरकारले नै सौतेनी व्यवहार गरेको छ । उनीहरूलाई समाजले हेर्ने दृष्टिकोण समेत राम्रो वन्न सकेको छैन ।’
द्वन्द्व पीडितलाई विभेद गर्ने कुनै पनि तहका सरकारलाई छुट नभएको सुनछहरी गाउँपालिका अध्यक्ष धनवहादुर पुनको भनाई छ । आफु पालिकामा निर्वाचित भएर आएपछि सवै द्धन्द पीडितलाई समान व्यवहार गरेको अध्यक्ष पुनको भनाई छ । गाउँपालिका अध्यक्ष पुनका अनुसार सुनछहरी गाउँपालिकाले अघिल्लो वर्ष १९९ घर परिवारको स्वास्थ्य विमाका लागी करिव ७ लाख खर्च गरेको थियो । यस वर्ष स्वास्थ्य विमालाई निरन्तरता दिनुका साथै द्वन्द्व पीडितहरूको साझा चौतारी निर्माण गरी उनीहरूकै अगुवाईमा सीपमुलक तालिम संचालन गर्ने योजना बनाएको छ । जसका लागि पालिकाले दश लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । पालिकामा रहेका एम्वुलेन्समा द्धन्द पीडितहरूका लागि पचास प्रतिशत छुट छ । चालु आर्थिक वर्ष स्मृतीकरणका लागी वजुधुरीमा शहीद गणतन्त्र पार्क वनाउने गरी संघीय सरकारवाट ४५ लाख रूपैयाँ वजेट विनियोजन गरेको छ । जिल्लाका अधिकांश पालिकाहरूले द्धन्दमा पिडितहरूको स्वास्थ्य विमा गराउन वजेट विनियोजन गर्ने गरेपनि लक्षित वर्ग भने यस कार्यक्रमप्रति खासै आकर्षित भएको पाईदैन । सुनछहरी गाउँपालिको अघिल्लो वर्ष सवै शहीद परिवारका सदस्यलाई स्वास्थ्य विमा गराएको भएपनि पछिल्लो वर्ष भने निकै थोरैले मात्रै स्वास्थ्य विमा गरेका थिए । सुनछहरी गाउँपालिका अध्यक्ष पुनका अनुसार स्वास्थ्य विमाप्रति लक्षित समुदायको आकर्षण देखिदैन ।
रोल्पाका स्थानीय तहहरूमा नेकपा माओवादी केन्द्रको वलियो उपस्थिति रहेपनि उनीहरूले सशस्त्र युद्धका घाइते, अपांग तथा मृतकका परिवारलाई लक्षित कार्यक्रम, रोजगारी तथा सीप विकासका प्रभावकारी कार्यक्रम संचालन गर्न सकेका छैनन् । सरकारको यस्तै निरिहताले रोल्पाली युवायुवतीहरू असुरक्षित रूपमा वैदेशिक रोजगारीमा जानुका साथै अवैधानिक बाटोवाट अमेरिका जाने क्रम समेत वढ्दै गईरहेको छ । स्थानीय सरकारहरूले प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा र भएका सानातिना कार्यक्रममा पनि आफ्नालाई मात्रै अवसर दिदा आफुहरू वैदेशिक रोजगारीमा जानुको विकल्प नभएको रोल्पा नगरपालिका १० का टिकाराम वलीले साउदीबाट सुनाए ।