© २०२३
बुटवल, ०८ भदौ ।
तीजको खाजा मिठो पोलेको तामाले,
नरोउ भान्जी लिन आउँछु भन्थे मामाले …
घुम्दै फिर्दै आयो बरै तीजको लहर
म चेली नि आकी छु है दुःख बाँड्नलाई…
यस्तै भावका शब्दले भरिएका गीतका भाकाबाट शुरु हुन्थ्यो विगतमा तीज । अहिले यस्ता गीत ओझेलिएका छन् । रूपन्देहीको सैनामैना नगरपालिका–९ की सिता चापागाई भन्छिन्–‘ असारको धान रोपाइँ सकिएपछि साउन १ गतेको साउने सक्रान्तिबाट नै तीज शुरु हुन्थ्यो । हामीहरू साँझमा जम्मा भएर एकछिन गाउँमा रमाईलो गर्ने चलन थियो । कहिले कस्को घरमा त कहिले कस्को घरमा । मादल बजाउने दुःख र पीरले भरिएका भाका गाउँदै । लाग्दथ्यो कहिलेकाहीँ त हामीले घर भित्र श्रीमानको अन्यायलाई यस्तै भाकामा लय हालेर गाउँदा कति पटक रोएका पनि छौ । तीज भन्ने बित्तिकै माईतमा गएर घरका पिरमर्कालाई गीतबाट गाउँदा बाबाआमा भावुक भएर छोरीलाई दुःख रहेछ भन्ने महसुस हुन्थ्यो । त्यस्तो जमाना थियो ।’ आज कहाँ पाउनु त्यस्ता भाकाहरू हराए सबैले जान्दैनन र सुन्न पनि खोज्दैनन उनी भन्छिन् ।
पाल्पाको रिब्दिकोटकी लक्ष्मीकुमारी थापाले विगतमा तीजमा गाईने गीतहरू त अहिले सुन्न नपाईने बताईन । उनले पहिले पहिले दुःख साट्ने माध्यम थियो तीज हामीले हाम्रा समस्या दुःख र सुखलाई पनि गीतमा मिसाएर गाउने चलन थियो । त्यसबेला हाम्रा माईतीले छोरीको घर कस्तो छ दुःख सुख घरका आफन्त कस्ता छन् भन्ने कुरा पनि तीजमा हामीले गाउने गीतबाट थाहा पाउँथे । हामीले माइत जान पनि वर्ष दिन सम्म कुर्नुपर्ने त्यसमाथि पनि लिन नआउँदा सम्म जान नपाउने चलन थियो । एक वर्षभरी मनमा रहेका धेरै कुराहरू गीत बनाएर गाउने प्रचलनले गर्दा पनि तीजको महत्व बेग्लै थियो । अहिले त तीजको नाम मात्र छ न कतै तीजका भाका छन् न कतै तीजको रौनक छ । टिभीमा हेर्ने तीजका भाका परिवारसँगै बसेर हेर्न पनि लाज लाग्ने छन् ।
लोक तथा दोहरी गायिका कल्पना कुसुमले पछिल्लो समयमा दुईअर्थि शब्द जुन हाम्रा समाजले सजिलै पचाउँदैन । त्यस्ता गीतको आफू विरोधी भएको बताईन । उनले समाज र सस्कारलाई कलाकारले पनि बचाउनु पर्छ पैसा र भ्यूजको लोभमा कलाकारलाई लगाएर तीजका तीज बनाउनु लोक संगित र संस्कृति प्रतिको नै अपमान हो । कहिँकतै दुईवटा अर्थ लाग्ने शब्द भएपनि भिडियो सुन्दर बनाउन सकिन्छ । यहाँ त बिशेष गरी महिला कलाकारलाई धेरै अंग देखाउने प्रचलनले गीतको मर्मलाई नै मारेको देखिन थालेको छ यो लोकसंगितका लागि राम्रो संकेत होईन ।
तीजकै गीतहरू गाएर चर्चा बटुलेकी गायिका शिलु भट्टराइले परिवारसँगै बसेर हेर्न सक्ने खालका गीतहरू सृजना हुनुपर्ने बताउँछिन् । केही समय अनुसार परिर्वतन भए पनि तीजको मर्म उस्तै हुने भएकाले केहि भोगाई मात्र फरक हुने उनी बताउँछिन् । तीज भनेको मौलिक पर्व भएकाले शब्द सृजना देखि लिएर भिडियो बनाउँदासम्म कस्तो बन्छ भन्ने हुन्छ । विवादित गीतले केही पैसा कमाए पनि दिर्घकालिन हुँदैन यो विषयमा सबै कलाकर्मीले बुझ्न जरुरी हुन्छ ।
अग्रज पत्रकार दुर्गा पौड्याल भन्छिन्–‘तीजको नाममा छाडा गीतहरूको हालीमुहाली हुन थाल्यो यस्ले हाम्रो पर्व माथि नै प्रश्न उठ्न थाल्यो एक प्रकारको रत्यौली जस्ता गीतहरू मात्रै सुनिन थाले केहि समय देखि । यस्ता गीतहरूलाई निरुत्साहित गर्नु पर्छ ।’ उनी भन्छिन्–‘तीजका गीतलाई तीज जस्तै हुन दिनु पर्छ कतिपय गीतहरूलाई सेन्सर गर्नुपर्ने अवस्था छ । अहिलेका केही गीतहरू परिवरसँगै बसेर हेर्न सुन्न सकिने छैन । केही समय यस्तै गीतहरूले ठाउँ पाउँदै गए भने भोलिका पुस्ताले साँच्चै तीजका मौलिक भाकाका विषयमा नै अनविज्ञ बन्ने दिन आउन सक्छ । त्यसैले बेलैमा यस्ता गीतमा सेन्सर जरुरी छ ।’
पैसा कमाउनुलाई पहिलो प्राथमिकतामा राख्दा गीतहरूमा छाडापन देखिएको छ । महिलाका शरिरलाई देखाएर युटुबमा धेरै भ्यूज बटुल्ने उद्देश्यले मात्रै तीजका गीतहरू देखिनु दुःखद हो ।
महिला अधिकारकर्मी सावित्रा घिमिरेले विगतमा मौलिकतासँगै चेतनाका गीतहरू गाएका थिए । देशका नदी नाला बेचिएका सिमा च्यापिएका कुरालाई गीत मार्फत चेतना दिने गरेका थिए तर अहिले गीत कुरा गरि साध्ये छैन । महिलाले गरेका राम्रा कामलाई खै गीत बनाएको खै गीत मार्फत उर्जा थपेको । पछिल्लो समयमा धेरै महिलाहरू उदाहरणका पात्र छन् उनीलाई उत्प्रेरित गर्नुपर्ने गीतहरू आउन पर्छ सर्जकले त्यस्ता शब्द कोर्नु आवश्यक छ अनि गायिक गायिकाको प्राथमिकतामा त्यस्ता गीत गर्नुपर्छ अनि बल्ल समयको मागसँगै परम्परालाई जोगाउदै तीजका भाकाहरूले क्रान्ती गर्न सक्छन् । उनी भन्छिन् पहिले पहिले ठुला ठुला यथार्थ घटनाहरू गीत बन्दथिए आजभोली कसरी पैसा आउछ भन्ने छ यसले पनि परिर्वतनका गीतलाई रोकेको जस्तो लाग्छ ।
केहि समय अघि चर्चित गायिका शन्तिश्री परियारले गाएको बिस्तारले पोल्यो,पछि त उमरै गईहाल्छ वैशमा यत्तिको भइहाल्छ यो गीतलाई तीजको गीत भनेर प्रचार भईरहको छ । शब्द यस्ता छन् यसको भिडियोमा एउटी महिला कलाकारको नृत्य सबै परिवारमा बसेर हेर्न नसकिने छ । यो गीत सार्वजनिक भएको केही समयमा नै गायिकाले माफी समेत मागेकी छन् । शब्द सिर्जना गर्ने गाउने देखि अभिनय गर्ने सम्मले ख्याल गर्न सके केहि मात्रमा मौलिकता जोगाउन सकिन्छ । बिस्ताराले पोल्यो, पोई छैन जोई छैन लगायतका गीतहरूले कसरी संस्कृतिको जर्गेना गर्लान भन्ने प्रश्न उब्जाएको छ । विगतका कति गीतहरू अहिले पनि राम्रो मान्निछन् त्यहाँ कुनै महिलाको अर्धनगरूप छैन तर पनि समाज परिर्वतनको भाव छ त्यसलाई सबैले सधै मन पराएका हुन्छन् । हिजो विद्रोह गर्न नसक्ने हाम्रा हजुर आमाहरूले गीत मार्फत गरेको विहो्रह यस्तो समाजले पचाउन नसक्ने थिएन । त्यसरी मानिदै आएको तीज पर्वको भाकामा अहिलेको छाडापन संस्कार सस्कृतिलाई नै हराउन खोज्दै छ । यो बारेमा छलफल बहस गरेर तीज धाकामा मौलिकतालाई जोगाउन सबै जुट्नु पर्छ ।