© २०२३
बौद्ध ध्यान विधिका सम्बन्धमा गौतमबुद्धको बाल्यकालीन घटनापनि सँगै आउने गर्दछ । एकपटक कपिलवस्तुमा रोपाईं पर्वका लागि राजा सुद्धोदनसहित सबैजना रोपाईं गर्दै थिए । बालक सिद्धार्थलाई जमुनाको रूखमुनि सुताइएको थियो । उनको छेउँछाउँ कोही थिएन । उनी एक्कासी बिउँझिए । वरिपरि कसैलाई नदेखेपछि चुप लागेर बसे । त्यसैक्रममा उनलाई आफ्नो श्वासप्रश्वासप्रति कौतुहलता जाग्छ र त्यसैमा केन्द्रित हुन्छन् । श्वासप्रश्वासमा केन्द्रित हुँदाहुँदै उनी ध्यानको एउटा तहमा पुग्छन् । बौद्ध साहित्यमा त्यसलाई ‘प्रथम ध्यानलाभ’ भनिएको छ । पछि बुद्धत्वलाभका लागि ६ वर्षसम्म दुश्करचर्या साधना गर्दा पनि उपलब्धि नभइरहेको अवस्थामा गौतमबुद्धलाई बाल्यकालमा श्वासप्रश्वासमा केन्द्रित हुँदा भएको लाभको सम्झना हुन्छ । विचार र प्रतिक्रियाहीन रहेर स्वास आए-गएको हेर्नुलाई बौद्ध ध्यान विधिमा ‘आनापान सती’ भनिन्छ । यही विधिको प्रयोग गर्दै उनले विपश्यना ध्यानको विकास गरे र यसै मार्फत् बुद्धत्व प्राप्तिसम्म पुगे ।
गौतमबुद्धले तपस्याबाट नभई विशिष्ट ध्यान विधिबाट बुद्धत्व लाभ गरेका थिए । परापूर्वकालमा ऋषिमुनिहरूले आफैंलाई दुःख दिएर, देहलाई कठोर रूपमा तपाएर तपस्या गर्ने गरेको मानिन्छ । बुद्धले त्यस्तो परम्परागत मान्यता छाडेर विचार र क्रियाबाट मुक्त भई चित्तको विचार गर्ने एकाग्रताको ध्यान विधि अपनाए । फलस्वरूप ३५ वर्षको उमेरमा वैशाख पूर्णिमाको रात बुद्धत्व प्राप्त गरे । त्यसपछि बुद्धले ध्यान साधनामा जोड दिए अनुसार विपस्यना ध्यानको प्रादुर्भाव भयो, जसलाई बौद्धहरूले आजसम्म साधना गर्दै आएका छन् ।
बौद्ध धर्मका सबै सम्प्रदायमा विपश्यनाकै अभ्यास हुन्छ । पछिल्लोसमय हरेक देश, परिवेशमा विपश्यनाले लोकप्रियता पाउँदै गएको छ । त्यसैले मानव जगतमा आध्यत्मिक, दार्शनिक, सांस्कृतिक, वैज्ञानिक, सचेत ज्ञानको प्रवाहका लागि विपश्यनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ । ‘वि’ को अर्थ विशेषरूपमा वा बहु आयामिक रूपमा भन्ने हुन्छ । ‘पश्यना’ को अर्थ निर्विकल्परूपमा पज्ञाले हेर्नु÷देख्नु हो । जुन जस्तो हो, त्यसलाई ठीक त्यस्तो नै देख्नु–सम्झनु–बुझ्नु विपश्यना हो । विपश्यनाका मुख्य चार चरणहरू हुन्छन्, कायानुपश्चना, वेदनानुपश्चना, चित्तानुपश्चना र धर्मानुपश्चना । आफ्नो शरीरलाई ध्यानपूर्वक हेर्नु कायानुपश्चना हो । यस अन्तर्गत ६ वटा अभ्यासहरू रहेका छन् । सुख–दुःख जस्ता वेदनाका कुराहरूमा सजगता अपनाउनुलाई वेदनानुपश्चना भनिन्छ । अर्थात् वेदनाको उदय र व्ययलाई यथाभूत रूपमा जान्नु वेदनानुपश्चना हो । चित्तमा उत्पन्न हुने राग–विराग, संक्षिप्त–विक्षिप्त, एकाग्रता–विश्रृङ्खला आदिलाई तटस्थ भई निरीक्षण गर्नु चित्तानुपश्चना हो । त्यसैगरी धर्मलाई बुझ्नु, चार आर्यसत्य आदिको निरीक्षण गर्नु धर्मानुपश्चना हो । बुद्धको मुख्य शिक्षा अनित्य, दुःख र अनात्मको बोध गर्नु हो । यसबारे जानकारी लिएर लाभ हुँदैन, प्रत्यक्ष अनुभूति नै गर्नुपर्छ । यही अनुभूति गर्ने अभ्यास नै विपश्यना हो ।
ध्यानमा नित्यताको भाव भएमा त्यो विपश्यना हुन सक्दैन । विपश्यनाको उद्देश्य नै अनित्यको बोध गर्नु हो । कतिपय ध्यानमा आत्मालाई परमात्मासँग मिलान गर्नु प्रमुख उद्देश्य मानिन्छ । कहिँकहिँ ध्यान गर्दा देवी देउताको आकृतिलाई आलम्बन लिने चलन पनि छ, जुन बौद्ध ध्यानभन्दा निकै फरक हो । अहिलेको समयमा विभिन्न व्यक्ति, समूह एवम् संस्थाले विपश्यना ध्यानलाई तोडमडोर गरेर विभिन्न नाममा ध्यान सिविर सञ्चालन गरेको देखिन्छ । यहाँसम्मकी भौतिक कुराहरूको भोग र अनुभवलाई समेत ध्यानसँग जोडिएको पाइन्छ । अनित्य दर्शनलाई आत्मसात गरेको बौद्ध शिक्षा अन्तर्गतको विपश्यना यस्ता ध्यानभन्दा नितान्त फरक छ । धेरै ध्यान परम्पराहरूमा समाधी (ध्यानको गहिरो अवस्था) प्राप्त गर्नु मुख्य लक्ष्य हो । विपश्यना ध्यानमा समाधि महत्वपूर्ण छ तर यो मात्र मुख्य लक्ष्य होइन । विपश्यनाको मुख्य लक्ष्य शील र समाधिमार्फत् प्रज्ञा लाभ हो । विपश्यना ध्यानमा मुख्य उद्देश्य अन्तिम मुक्ति प्राप्त गर्नु हो । राजकुमार सिद्धार्थका रूपमा बुद्धको जन्म कपिलवस्तुमा भएको थियो । वाल्यकालमै ध्यानमा बसेका सिद्धार्थले विपश्यनाको पहिलो अध्यायको प्रतुतिति जमुनाको रुखमुनि दिएको पाइन्छ । ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्तीको मौलिक ध्यान साधना विपश्यना हो । अतः नेपालमा सिद्धार्थका रूपमा बुद्धले पहिले नै ध्यानको प्रारम्भ गरेको देखिन्छ । खासगरी विपश्यना ध्यानलाई सत्यनारायण गोयन्का (एसएन गोयन्का) ले पुनः अभ्यासमा ल्याएपछि नेपालमा पनि यसको पुर्नजागरण भएको देखिन्छ । अहिले विभिन्न स्थानमा छोटो लामो अवधिको विपश्यना शिविरको अध्यास गरिएको पाइन्छ । नेपालमा सन् १९८४ देखि नेपाल विपश्यना केन्द्र स्थापना भई यो साधना अभ्यास हुँदै आएको छ । नेपालमा हाल दर्जनभन्दा बढी विपश्यना केन्द्रहरू छन् । हाल महाशी सयादो र आचार्य सत्य नारायण गोयन्काको गरी दुई परम्पराहरू प्रचलित छन् । यी दुवै परम्परा अन्तर्गत्का विपश्यना ध्यान केन्द्रहरू विश्वभरी फैलिएका छन् । नेपालमा लुम्बिनी, कठमाडौं, किर्तिपुर, इटहरी, चितवन, पोखरा, बीरगञ्ज, सुर्खेत लगायतका स्थानमा केन्द्रहरू सञ्चालित छन् । नेपाल धर्म निरपेक्ष मुलुक भए पनि यहाँका ९१.१९ प्रतिशत जनता हिन्दू छन् भने ८.२१ प्रतिशत बौद्ध धर्मावलम्बीहरू छन् । विपश्यना ध्यान केन्द्रहरूमा बौद्धमात्र होइन हिन्दूहरू पनि लागि आउने गर्दछन् । त्यतिमात्र होइन अन्य धर्मावलम्बीहरू एवम् देशी विदेशीहरूसमेत ध्यानकेन्द्र धाउने गर्दछन् । विपश्यना ध्यान अभ्यासले नेपालको सामाजिक, आध्यात्मिक एवम् धार्मिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।
विपश्यना ध्यानमा सहभागी हुन चाहनेले शिविरमा बस्नुपर्छ । शिविरमा भाग लिन चाहनेले ध्यान केन्द्रभित्र पञ्चशील वा अष्टशील वा दशशीलमा रहनुपर्दछ । पञ्चशीलअन्तर्गत हिंसा नगर्नु, चोरी नगर्नु, परस्त्री गमन नगर्नु, झूटो नबोल्र्नु र नशालु पदार्थ सेवन नगर्नु हो । त्यसैगरी अष्टशील भन्नाले पञ्चशीलका अतिरिक्त दिउँसो १२ बजेपछि भोजन नगर्नु, शृंगार र मनोरञ्जन नगर्नु तथा उच्च आरामदायी आसन प्रयोग नगर्नु हो । यस प्रकार मानिसले शीलको पालना गर्दै जाँदा उनीहरूमा नैतिकताको विकास भएको पाइन्छ । विपश्यना एक यस्तो उपाय हो जसले अपराधी, चोर, फटाहालाई पनि समाजको असल सदस्य बन्न उत्प्रेरित गर्दछ । सन् १९७५ मा गोयन्काले भारतको राजस्थान स्थित सेन्ट्रल जेलमा कैदीबन्दीहरूमाझ पहिलो विपश्यना शिविर चलाएका थिए । त्यसपछि इजरायल, मंगोलिया, न्युजिल्यान्ड, थाइल्यान्ड, लगायतका विभिन्न मुलुकका कारागारमा विपश्यना साधना सञ्चालन हुँदै आएको पाइन्छ । नेपालमा पनि नख्खु कारागारमा वि.सं. २०५२ सालमा दुईटा शिविर सञ्चालन भइएका थिए । पछिल्ला दिनहरूमा नेपालका विभिन्न कारागारहरूमा बन्दीहरूका लागि विपश्यना ध्यान शिविर सञ्चालन गरिँदै आइएको छ । यसबाट कैदीहरूमा आध्यात्मिक भावको विकास भएको र उनीहरूमा सकारात्मक सोच्च प्रवाह भएको तथ्य समेत बाहिर आएको पाइन्छ । यसले गर्दा नेपालमा असल समाज निर्माणका निम्ति पनि विपश्यनाले भूमिका खेलेको पाइन्छ । हरेक जातजाति, धर्म सम्प्रदाय आदिका मानिसहरू विपश्यना अध्यासमा सहभागी हुनसक्ने भएकाले यसबाट उनीहरूमा आध्यात्मिक भावको विकास हुन जान्छ । साथै आपसमा एकताको भावना जागृत हुन्छ । सबै मानिस एकै ठाउँमा भेला भएर अभ्यास गर्दा चित्तमा सिर्जित उस्तै विचारले उनीहरूलाई एक आपसमा नजिक ल्याउने काम गर्दछ । विपश्यना राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना हो । यसको अभ्यासबाट मनलाई वास्तविक शान्ति प्राप्त हुन जान्छ । यही कारणले गर्दा अधिकांश मानिसहरू विपश्यना ध्यान केन्द्रहरूमा ध्यान गर्न आउने गरेको पाइन्छ ।
विपश्यनाले शान्ति र सामञ्जस्यता अनुभव गर्नसक्ने योग्यता प्रदान गर्छ । खासमा अनित्य, अनात्मा र दुःखलाई बुझ्नु नै निर्वाणको तह हो, जुन विपश्यना ध्यानबाट अनुभव गर्न मार्ग प्रसस्त हुन्छ । विपश्यना ध्यान शिविरहरूमा आउँदा मानिसहरूमा आध्यात्मिकताको भाव सिर्जना भएको पाइन्छ । सिद्धार्थ गौतमको जन्म नेपालकै लुम्बिनीमा भएको सन्दर्भमा विपश्यनाकै कारण बुद्धप्रतिको गौरवमात्र होइन, पछिल्लो समय बौद्ध धर्मप्रतिको जागरुकता पनि विकास हुँदै गएको छ । चिन्ता र दुव्र्यसनका कतिपय मानसिक रोगीलाई विपश्यनाको मार्फत् निको पार्न सकिने देखिएकाले विपश्यना ध्यान चिकित्सा क्षेत्रमा पनि वैज्ञानिक तवरले नै उपयोगी ठहरिँदै गएको छ । कुनै पनि कुरालाई राम्रो–नराम्रो छुट्याउने सम्वेदना हामीमा सधैँ सक्रिय हुन्छ । ध्यानको अभ्यासले हामीलाई वस्तुप्रति आग्रही होइन, निष्पक्ष हुन सिकाउँछ । ध्यानले मानिसमा वदलाको भावना हटाउँछ र क्रोध कम गर्दछ । जसले गर्दा परिवार, समाज र देशमा द्वन्द्व न्यूनिकरण गर्न सहयोग गर्दछ । यसले चित्तलाई निर्मल बनाउनुका साथै यसको निरन्तर अभ्यासले मानिसलाई विकारमुक्त बनाउँछ । विपश्यना ध्यानले मानिसलाई कर्मकाण्डभन्दा पनि वास्तविकताको नजिक बनाउँछ । विपश्यना आत्म–निरीक्षण द्वारा गरिने आत्मशुद्धिको साधना हो । यस विधिमा आफ्नै शरीर र चित्तधारामा पल–पल भइरहने परिवर्तनहरूलाई तटस्थभावबाट निरीक्षण गरी वास्तविक एवम् यथार्थ स्वभावको बोध गर्न प्रयत्न गरिन्छ । निर्वाणलाभ गर्नु यसको परम उद्देश्य हो । साधकले परम निर्वाण नै प्राप्त नभएतापनि प्राप्त ज्ञानको स्तर अनुसारको सुख, शान्ति र प्रितिको अनुभव गर्दछ । तर यहाँ स्मरण गर्नुपर्ने कुरा के हो भने दैनिक जीवनको भागदौड र सांसारिक ताछाडमछाड छाडेर केही दिन शिविरमा रहँदा पाइने राहतलाई नै ध्यानको उपलब्धि मान्नु भ्रम हो । थोरै आनन्दमै मग्न हुँदा यसले तृष्णा बढाइदिन्छ । जबकि बुद्धको शिक्षाले तृष्णा क्षयमा जोड दिन्छ । त्यसैले विपश्यनामार्फत् तृष्णाको क्षय हुनसक्यो भने मात्र त्यसलाई उपलब्धी मान्न सकिन्छ ।