© २०२३
नवलपरासी, ०२ भाद्र ।
रामग्राम–१८ स्थित बुद्धको मावली रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) क्षेत्रलाई खुल्ला संग्रालयको रूपमा कसरी ब्यवस्थित गर्नेबारे सरोकारवालाले चासो बढाएका छन् ।
रामग्राम नगरपालिकाका पूर्व इन्जिनियर सहितको टोली राजधानी क्षेत्रमा पुगेर राजधानीमा आउने पर्यटकलाई राजधानी क्षेत्रको इतिहास, सुचना र हालसम्म फेला परेका बस्तुलाई कसरी देखाउन बुझाउन सक्ने ? अवस्थाबारे छलफल गरेका हुन् ।
पुरातत्व क्षेत्रका जानकार र उत्खनन् काल देखि नै सो क्षेत्रमा काम गर्दै आएका स्थानीय नारद यादव, नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार, अधिकारकर्मी बिजय जैसवाल सहितको टोली इन्जिनियर गुप्तासँगै पुगेर स्थानीयसँग छलफल गरेका थिए । हालसम्म उत्खननको क्रममा फेला परेका इनार, मडवेल, पर्खाल लगायतको स्थलको खुल्ला गरि देखिने खालको वातावरण बनाउन आवश्यक छ, पूर्व इन्जिनियर गुप्ताले भने,यसका लागि पुरातत्व विदहरूको सहकार्यमा ती स्थानमा अस्थायी सेडहरू निर्माण गर्न सक्ने, सुचना बोर्ड राखिदिने र वरिपरिबाट तारबारले घेरिदिँदा पनि पर्यटकलाई त्यसले सूचना प्रदान गर्ने र विश्वसनियता देखाउने छ । यसका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्छ, उनले भने, प्राविधिक रूपमा हुने सबै सहयोग गर्न तयार छु ।
बर्षेनी उत्खनन गर्ने र पुर्ने अवस्थाले राजधानी क्षेत्रमा के भेटियो,के देखियो, पर्यटकलाई देखाउन अन्यौलता रहेको हुँदा त्यसलाई खुल्ला गर्नु पर्ने पुरातत्वका जानकार यादवको भनाई थियो । यता नागरिक समाजका अध्यक्ष सिँह सैथवारले खुल्ला संग्रालय बनाउनका लागि यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य साँसद धु्रव बहादुर प्रधानसँग राखिएको बताउदै त्यसका लागि कार्यक्रम परिसकेको समेत साँसदले जानकारी गरेको बताएका थिए । के कति बजेट लाग्नेबारे किताबमा उल्लेख नभए पनि आवश्यकता अनुसार बजेट उपलब्ध गराउने गरि उल्लेख भएको उनको भनाई थियो । अधिकारकर्मी जैसवालले भने कोलिय गणराज्यको राजधानी प्रचार मात्रै गरेर पुग्दैन, त्यसको आधार र पुरातात्विक बस्तुहरू हेर्न र देख्ने अवस्थाको सृजना गर्नुपर्छ । यसका लागि सरोकारवाला सबै मिलेर अगाडी बढनु पर्ने उनले आवश्यकता औंल्याएका थिए ।
इसा पुर्व ७ सय बर्ष प्राचिनता बोकेको कोलिय राजाको राजधानीलाई पुर्नत्थान गरि कोलिय सभ्यता र संस्कृतिको समेत पुर्नरउत्थान आवश्यक रहेको छ । यसका लागि सरकारी संरचना र गैरसरकारी संघसस्थाको क्रियाशिलता, स्थानीयबासीको सहभागिता हुन आवश्यक छ । पुरातत्व विभागले तिन बर्षसम्म उत्खनन, चार बर्षसम्म निरन्तर भुभौतिक सर्वेक्षण गरि प्राचिन कोलिय गणराज्यको राजधानी चक्रिय स्वरूपमा रहेको देखिन आएको जानकारी गराएका थिए । उत्खननका क्रममा प्राचिन पोष्टहो, खैरो भाडो (ग्रेवर), एनबिपि, विभिन्न प्रकारका भाडाकुडा,बुद्धमुर्ति, धातुहरू जस्ता बस्तुहरू फेला परेको यो स्थान हो ।
तत्कालिन बनारसका राजा रामलाई कुष्टरोग लागेको थियो । राजबैद्यको परामर्शमा उनी यो कोलवृक्ष भएको जंगल क्षेत्रमा कुष्टरोग उपचारका लागि आएका थिए । कोलवृक्षको पातको मलम बनाई घाँउमा लगाउने र पातको सेवनले उनको कुष्टरोग निको भएको थियो । तत्पश्चात उनी बनारस फर्केनन । यसै कोलवृक्ष क्षेत्रमा आफ्नो गाँउ (ग्राम) बसालेका थिए । जुन गाँउको नाम नै रामग्राम भनिएको थियो । कोलवृक्षले पुर्नजिवन पाएका राजारामले गणराज्यको नाम नै कोलिय गणराज्य राखेका थिए । कोलिय गणराज्यको राजधानी रामग्राम, कोलनगर, देवदह, ब्याग्रपुर, ब्याग्रपथ, बघौरतप्पा लगायतका नाम विभिन्न कालखण्ड चिन्ने गरिएको इतिहास छ । ३६ सय बर्गमिटरमा यो राजधानी क्षेत्र फैलिएको पुरतत्वविदहरूको अनुमान छ । यस गणराज्यको सिमा उत्तरमा चुरे पहाड, पुर्वमा अनोमा (हालको गण्डकी) नदी, पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर (निगम) हरू रहेको थियो । त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरूमा उल्लेखित छ ।
त्यसैगरी रोहिणी नदी पश्चिममा रहेको शाक्यहरूको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरू विच विवाहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।
महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक सातामै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए । अहिले पुरातत्वले खोज गर्दा बुद्धकाल भन्दा तिन सय बर्ष पुराना पुरातात्विक बस्तु फेला परेको र चिनियायात्री फाईयान र ह्वेगँसाँगको यात्रा वृतान्तको आधारले पनि यो राजधानी भएको प्रमाणित भई सकेको छ, प्रदेश साँसद जैसवालले भने, तर यो यतिको महत्वपुर्ण धार्मिक, पुरातात्विक, ऐतिहासिक, अध्यात्मिक क्षेत्र अहिले ओझेलमा छ ।