© २०२३
गुल्मी, १७ साउन ।
गुल्मीको पनाहा खोलामा पक्की पुल निर्माण भएपछि त्यस क्षेत्रका नागरिकहरूलाई ठूलो राहत मिलेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ४ र इस्मा गाउँपालिका २ को संगम स्थान पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएपछि त्यहाँका मानिसहरूलाई दुइ पालिकाबीच आवतजावत गर्न निकै सहज बनेको छ ।
पनाहा खोला वारपार गर्नका लागि पक्की पुल नहुँदा त्यस क्षेत्रका मानिसहरू वर्षौदेखि खोला तरेर जोखिम पूर्ण यात्रा गर्न विवश थिए । पुल निर्माण भएपछि उक्त जोखिम टरेको छ । सडक डिभिजन कार्यालय पाल्पाको रु. ५ करोड ६ लाख लागतमा उक्त पुल निर्माण सम्पन्न गरिएको हो । ३५ मिटर लम्वाई र ११ मिटर चौडाई रहेको रहेको पुलको महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिले निर्माणको जिम्मा लिएको थियो ।
पुल निर्माण सम्पन्न भएपनि निर्माण व्यवसायीले भने ५३ लाख रूपैंया आफुले भुक्तानी पाउन बाँकी रहेको बताएका छन । सडक डिभिजन कार्यालय पाल्पामा पुलको रकम नआएपछि बिल बनेर पनि कार्यालयले भुक्तानी दिन नसकेको निर्माण व्यावसायी एवं श्रेष्ठ कन्सट्रक्सनका सञ्चालक हरिकुमार श्रेष्ठले बताए ।
रेसुङ्गादेखि इस्माको पालुखा र धुर्कोटको जैसीथोकसम्म आवतजावत गर्नका लागि पुलले दुरी घटाएको छ । पक्की पुल नहुँदा बर्षादको समयमा मानिसहरूलाई सहजै रूपमा आधा घण्टामा पुगिने ठाउँमा डेढ घण्टाकोे यात्रा गर्नु पर्ने बाध्यता रहेको स्थानीय टंकप्रसाद श्रेष्ठले बताए । “अहिले पुल निर्माण भएपछि सबैलाई निकै सजिलो बनाएको छ, खोला तर्दा बगाउलाकी भन्ने डर पनि भएन,” उनले भने ।
पक्की पुल निर्माण भएसँगै मानिसहरूलाई मात्र हैन सवारी साधनहरूबाट वारीपारी सामानहरू ढुवानी गर्न पनि सहज बनेको छ । खोलामा सवारी साधन तार्दा पहिले जोखिम मोल्नु पर्ने र कतिपय अबस्थामा सवारी साधननै बगाईदिने गरेको स्थानीयहरू बताउँछन । तर अहिले पुल बनेपछि जोखिम टरेसँगै त्यस क्षेत्रका स्थानीयहरूमा पनि खुसि थपिएको छ । निर्माण शुरु भएको चार वर्षपछि पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको हो । थपिएको म्याद भित्रै पुल निर्माणको काम सम्पन्न गरिएको छ ।