© २०२३
बुटवल, ९ असार । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ देउरालीका गणेश प्रसाद पोखरेलको कृषि मोह सानै उमेरदेखि थियो । विद्यालय तहको अध्ययन गर्दै गर्दा उनले गाउँमा कृषिमा लागेका थिए । बुबाआमा सँगै कृषि कर्म गर्दै आएका उनले बोट बिरुवा, पशुपंक्षी सँग आत्मीय सम्बन्ध नै थियो । उनले कक्षा १० सम्म अध्ययन गर्दै घरको करेसबारी, बारीमा आकासेपानी संकलन गरेर पनि कृषि कर्म गर्दै आएका थिए । गाउँमा उनले तरकारी खेती सँगै पशुपान, फलफूल खेतीमा समेत जोडीएका थिए ।
वि.सं. २०७३ सालमा उनले पाल्पामा नै कृषि फार्म स्थापना समेत गरे । जहाँ केही गाईपालन गर्दै तरकारी खेतीलाई समेत व्यवसायिक रूपमा अगाडि बढाएका थिए । गाउँमा गाईको दूध उपभोक्ताको रोजाईमा कमै मात्रामा पर्ने गरेको कारण उनले केही भैंसी समेत पालेका थिए । स्थानीयहरूले गाउँमा गाई पालेर के आम्दानी होला र खै ? भन्दै पटक–पटक गिज्जाउन समेत थाले ।
गाउँको पाखोबारीमा एक किलोमिटर भन्दा टाढा बाट पानी बोकेर लगेर कृषि कर्म गर्दै आएका उनलाई गाउँमा बँदेल, बाँदर, निलगाई, दुम्सी जस्ता जंगली जनावरले सताउन थाले, लगाएको तरकारी नष्ट गर्ने, बालीनाली समेत नोक्सान गरिदिन थालेको कारण उनलाई आशय पीडा समेत भयो ।
यसरी पटक–पटक जंगल जनावरबाट बाली नाली नष्ट भएपछि उनले त्यहाँबाट बसाइँ नै सरेर भएपनि कृषि तथा पशुपालन गर्ने योजना बनाए । र उनी वि.सं. २०७९ सालमा रूपन्देही झरे । रूपन्देहीमा उनले जग्गा खोजे, भनेजस्तो जग्गा पाउन सकेनन्, जग्गा खोज्दै गर्दा बजारको पहुँचदेखि नजिकै उनले एक विघाजग्गा फेला पारे । बुटवलकै व्यवसायीको जग्गा तिलोत्तमा नगरपालिका वडा नम्बर १० बेवरीमा फेला पारे । उक्त जग्गा उनले बार्षिक ७५ हजार तिर्ने गरी भाडामा लिए र सुरु भयो पोखरेल पशुपालन फार्म ।
वि.सं. २०७९ सालमा ७ वटा गाईबाट सुरुवात भएको उनको फार्ममा अहिले गाई मात्रै २४ वटा भन्दा बढि छन् । कतिपय ब्याउने छन्, भने कतिपयले अहिले दूध दिईरहेका छन् । दुई जना मात्रै श्रीमान श्रीमती मिलेर सुरुवात भएको उनको फार्ममा अन्य कामदार कोई छैनन । श्रीमती विष्णु पोखरेल र श्रीमान् गणेश पोखरेलको लोभलाग्दो पशु पालन फार्म देखेर अन्य स्थानीयहरूले समेत गाई पालनलाई निरन्तरता दिएका छन् ।
एसएलसी सम्मको अध्ययन पुरा गरेका पोखरेल दम्पत्तीको लोभलाग्दो पशुपालन फार्म अन्यको लागि समेत उदाहरणीय बन्दै गएको छ ।
कृषि तथा पशुलनमा हुँदैन, सकिदैन भन्ने नकारात्मक सोँच उनमा कहिल्यै आएन, भैसी पालन भन्दा पनि उनले गाईलाई जोड दिँदै गाई बाट नै सफल कृषकको रूपमा पहिचान बनाएका छन् । अघिल्लो बर्ष उनी तिलोत्तमा नगरपालिका उत्कृष्ठ १० किसान उद्यमीको रूपमा सम्मान समेत भएका थिए ।
१ विघा जग्गा भाडामा लिएका उनले दुई कठ्ठा भन्दा बढि क्षेत्रमा संरचना बनाएका छन् । अन्य करिव डेढ विघा जग्गामा घाँस खेती गरेका छन् । उनको फार्ममा ९० प्रतिशत भन्दा बढि हरियो घाँसमा आधारित छ । घाँसमा आधारित पशुपालन भएको कारण उनले दानाको प्रयोग कम गर्दा उत्पादन लागत समेत कम छ भने आम्दानी बढि गर्दै आएका हुन । उनी भन्छन्–‘बिहान देखि साँझ सम्म हामी यहि पशुकै सेवामा हुन्छौ, यसलै हाम्लाई खान लाउन दिएको छ ।’
अहिले दैनिक १ सय ७० लिटर दुध उनको फार्मबाट विक्रि हुँदै आएको छ । मासिक करिब ४ लाख रूपैयाँ कोकारोबार गर्ने पोखरेल दम्पत्तीले २ लाख रूपैयाँ नाफा मात्रै गर्दै आएका छन् । यसरी आएको पैसाबाट उनीहरूले भलवारी क्षेत्रमा १ कठ्ठा जग्गा समेत जोडेका छन् ।
उनको फार्ममा उत्पादन भएको दुध लिनको लागि बुटवलका व्यवसायीहरू फार्म सम्म गाडी लिएर जान्छन् । विहान एक पट र साँझ एक पट उनको फार्मममा व्यवसायी जान्छन् र दुध लिएर आउँछन् । दुधको भुक्तानी समेत उनले १५/१५ दिनमा पाउँदै आएका छन् ।
कृषि पेशाबाट पूर्णरूपमा सन्तुष्ट रहेका उनलाई भर्खरै एसइई दिएर बसेका छोराले समेत सघाउँदै आएका छन् । गाई दुहुने, संकलन गर्ने, लेखापाढीको काममा समेत छोरा सहयोगी बनेको बुवा खुसी छन् । व्यवस्थापन संकायमा स्नाकोत्तर गरेर फार्म म्यानेजमेन्ट बन्ने लक्ष्य उनको छोराको रहेको छ ।
मिहिनेती किसानको रूपमा पहिचान बनाएका पोखरेल दम्पत्तीको मिहिने हेर्नको लागि पाल्पा, गुल्मी लगायतका स्थानबाट किसानहरू समेत आउने गरेका छन् । स्थानीय तिलोत्तमा नरपालिका बाट उनलेकेही प्राविधिक सहयोग समेत पाएका छन् । केही समय पहिला नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजन ले उनको फार्म निर्माण, गाई खरिदको लागि अनुदान समेत दिएका गियो । ७ लाख ५० हजार उनले अनुदान पाएका थिए । १५ लाख को अनुदानको लागि कार्यक्रम पेश गरेकामा उनले ५० प्रतिशत अनुदान पाएका हुन । अन्य ३० प्रतिशत आफ्नै र २९ प्रतिशत बैंक तथा वित्तीय संस्थाका लोन रहेको थियो । त्यो लोन उनले केही बर्ष पहिला नै तिरेर सकेका छन् ।
पशुपालनबाट पूर्णरूपमा सन्तुष्टरहेका उनले अन्य किसानहरूलाई समेत निरन्तर मिहिने गरेर सफल हुनेबताउँछन् ।
४२ बर्षका पाखरेल पाल्पामा कृषि फार्म चलाउँदा चलाउँदै विदेशमा रोजगारीका लागि गएका थिए । उनले ३ बर्टा सेक्युरेटी ईन्चार्जको रूपमा युएई गएपनि त्यहाँबाट फर्कीएर गाउँमा मिल समेत चलाएका थिए । सबै अनुभवबाट सिकेर अहिले पशुपालनबाट मनग्य आम्दानी भएको कारण उनी पूर्णरूपमा खुसी पनि छन् ।
९ लाख लगातमा ७ वटा गाई पालन गरेर सुरुवात गरेका उनको फार्ममा अहिले ३५ लाख भन्दा बढि लगानी भएको छ । उनले फार्मलाई विस्तार भन्दा पनि घाँस खेतीको लागि खेत पाएमा अझै विस्तार गर्ने योजना बनाएका छन् । घाँसमा आधारित खेती गर्दा दाना कम लाग्ने भएको कारण उत्पादन लागत कम हुने गरेको उनको भनाई रहेको छ । दानाको सट्टा घाँस खुवाउँदा आम्दानी राम्रो भएको उनको भनाई रहेको हो । यदि उत्पादन लागत काम गरी बढि नाफा कमाउनको लागि घाँसमा आधारित पशुपालन गर्नुपर्ने किसान पोखरेलको भनाईरहेको छ । जसको लागि अझै १ विघा जती जग्गा उनले घाँस खेतीको लागि खोज्दै छन् ।