© २०२३
कपिलवस्तु, ६ असार । कपिलवस्तु जिल्लाका तिन वटा सामुदायिक वन क्षेत्रमा खोल्सा खोल्सी व्यवस्थापनमा नमुना अभ्यास अगाडी बढाइएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडको खुत्खुते सामुदायिक वन क्षेत्रको कोईली खोला, कोईलीचौर सामुदायिक वन क्षेत्र र ऋङ्गीघाट सामुदायिक वनले सो अभ्यास अगाडि बढाउँदै आएका हुन् ।
खोल्सा खोल्सीको व्यवस्थापनको क्षेत्राधिकार वन मातहतमा परेसँगै डिभिजन वन कार्यालय कपिलवस्तुको सहयोगमा खुत्खुते सामुदायिक वन उपभोक्ता समुहले तिन बर्ष यता कोईली खोलाको खोल्सा खोल्सी व्यवस्थापन गर्दै आएको छ । खोला व्यवस्थापनका क्रममा खोलामा थिग्रीएका ठूला ढुङ्गालाई खोलाको किनारमा थुपारेर नदी कटान रोक्ने र बिचको गेग्रान निकाल्ने गरिएको छ । निकालिएको नदीजन्य सामग्रीको घाटगद्दी पश्चात नापजाँच पुरा गरेर बिक्री बितरण गरिँदै आएको छ ।
यसरी खोला खोल्सा व्यवस्थापनका क्रममा पहिलो बर्ष ३ लाख क्यु फुट, दोस्रो बर्ष १ लाख ८५ हजार क्यु फुट र यस बर्ष ३ लाख क्यु फुट ढुङ्गागिट्टी निकालिएको हो । सो व्यवस्थापनको कारण खोलाको बिचमा पुरिएको भाग खुला भई खोलाले बाढीका बेला आफ्नो धार परिर्वतन गर्न नपाउने अवस्था सिर्जना भएको छ । जसका कारण खोलाको बहाव गाउँ तिर पस्ने जोखिम घटेको छ । बिगतमा खोलाको बीच भागमा ढुङ्गा गिट्टी (गेग्रान) थिग्रीदा बर्षातका बेला पानीको सतह खोला माथी आएर गाउँमा पस्ने जोखिम बढि हुने गरेको भलवाडका स्थानीय पोम प्रसाद अर्यालले बताए ।
खोलाको बहाव खोलाको किनार तर्फ मोडिई किनारामा कटान बढ्दा भर्लाबास, भर्तापुर, पडरिया, बक्सिसपुर र चौवामा कटान र बाढी पस्ने गरेको उनले अनुभव सुनाए । पछिल्लो समय खोलाको ठूला ढुङ्गालाई किनारका दुवै साईडमा थुपार्दा र ग्रेग्रान निकाल्दा कटान र खोलाको बहाव परिर्वतनको समस्या समाधान हुन पुगेको उनले बताए । पहिले खोलाको किनारमा गेबिन जालीले कटान रोक्ने प्रयास गरिँदै आएको भए पनि बिचमा गेग्रान थिग्रिदा खोलाको भेल गाउँतिर फर्किने गरेको अवस्था रहेको खुत्खुते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भिम बहादुर पुनले बताए । खोलाको बहाव परिर्वतन हुँदा भर्लाबास गाउँको पश्चिम तर्फ कटानको समस्या बढ्दै गएकोमा अब सो समस्या टरेको उनले अनुभव सुनाए ।
खोल्सा खोल्सी व्यवस्थापनले खोलालाई सुरक्षित बनाउनुका साथै नदीजन्य पदार्थको सहज आपूर्तिलाई सुनिश्चित गरेको छ । जसका कारण स्थानिय रोजगारीको अवसर समेत सिर्जना भएको स्थानीय बताउँछन । खोलामा रहेका ठूला ढुङ्गा दुवै किनारामा लगाउँदा खोलाको किनार सुरक्षित हुनुका साथै बिचको पुरीएको भाग समेत सफाई गर्न सहयोग पुगेको छ । खोेल्सा खोल्सी व्यवस्थापनका लागी सो खोलामा डिभिजन वन कार्यालय कपिलवस्तुले पहिलो र दोस्रो बर्ष २५/२५ लाख र यस बर्ष ५० लाख रूपैया सामुदायिक वनलाई सहयोग गरेको थियो । सो लगानीले गरिएको खोला व्यवस्थापनको कार्यले लागतको दुई गुणा बढि मुल्यको नदीजन्य पदार्थ संकलन हुनुका साथै खोलाको व्यवस्थापन समेत भएको छ । खोला व्यवस्थापनबाट भएको आम्दानीको १० प्रतिशत व्यवस्थापनमा खटिएको सामुदायिक वनले पाउने व्यवस्था छ ।
बाँकी ९० प्रतिशतलाई १ सय प्रतिशत गणना गरि सोको ७५ प्रतिशत प्रदेश सरकारले र २५ प्रतिशत राजश्व संम्बन्धित स्थानीय तहले पाउने व्यवस्था छ । खोल्सा खोल्सी व्यवस्थापन अन्तर्गत कोईली खोलामा गरिएको खोला व्यवस्थापनको कार्यले चुरे र गाउँबस्तीको संरक्षणमा भुमिका खेलेको डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले जानकारी दिए । यो मोडलमा काम गर्दा बर्षातको बेला बाढी गाउँमा पस्न नपाउने, खोला आफ्नै लयमा बग्ने र स्थानीय रोजगारी तथा आयआर्जनमा बृद्धि हुने सुवेदीको भनाई छ । लुम्बिनी प्रदेशमै वनको क्षेत्राधिकार भित्र पर्ने खोल्साखोल्सी व्यवस्थापनको कार्य कपिलवस्तु र रूपन्देही जिल्लामा भएको लुम्बिनी प्रदेश वन निर्देशनालयका उपसचिव यज्ञमुर्ति खनालले जानकारी दिए । कपिलवस्तुका तीन वटा सामुदायिक वनसहित रूपन्देहीको देवदहमा बुद्ध सामुदायिक वनले खोला व्यवस्थापनको अभ्यास गरेको उनले बताए ।
कपिलवस्तुको कोईलीचौर सामुदायिक वन उपभोक्ता समूहले यस बर्ष शुरु गरेको खोल्सा खोल्सी व्यवस्थापनको सोही मोडल अनुसार ३ लाख ५० हजार क्यु फिट नदीजन्य पदार्थ संकलन गरि घाटगद्दी गरी सकेको छ । त्यसै गरि ऋङ्गीघाट सामुदायिक वन उपभोक्ता समुहले पछिल्लो दुई बर्ष यता भालु खोलाको दुवै किनारमा ढुङ्गा थुपारेर बिचको भाग सफा बनाई बर्षातको पानी नआउँदासम्म गाडी गुडाएर गस्ती गर्न मिल्ने गरि खोला व्यवस्थापन गरेको छ ।