© २०२३
चन्द्रौटा (कपिलवस्तु), ४ जेठ । ‘२०७२ सालमा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएको थिएँ । त्यहाँ म्याक्सेस सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दथेँ । काम गर्ने क्रममा ५ तला माथि छतबाट अचानक दुर्घटनामा परे । देब्रे खुट्टा भाँचिएको थियो । मलेसियामै करिब तीन महिना आरामपछि २०७९ सालको फागुनमा स्वदेश फर्किएँ’ कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर–५, देविपुर घर भएका ३१ बर्षीय लिल बहादुर वि.क.ले भने ।
उनको दिनचर्या राम्रै चल्दै थियो । एकदिन उनीमाथि अचानक बज्रपात आइलाग्यो । उनीसँगै घर परिवारले सजाएको सपना अधुरो हुनुपर्ने बाध्यता भयो । वि.क. पाँचौं तलमाथि काम गर्दैगर्दा छतबाट खस्छन् । त्यसपछि उनको अस्पतालको बसाइँ कष्टकरसँगै आम्दानीको पाटो पनि बन्द भयो । करिब २ लाख औषधि उपचार खर्चमा ३३ दिन लिलबहादुर अस्पताल बसेको दिन सम्झिँदै हेरचाह गर्ने समेत मानिस नभएपछि कम्पनीले २०७९ सालमा घर फर्किएको उनी बताउँछन् ।
आफू अपांगता भएपछि कसको मन नर्मला र ? मन मारेर बसेका उनी घर नजिकै रहेको जंगल घुम्न पुगे । रुखमा लागेका मौरी देख्छन् । विकको मन मौरी माथि मोह बस्छ । धोद्रो रुखको दुई वटा मुरामा घरमा लग्ने प्रयास गरे । त्यो देखेपछि अब त केहि गर्न सक्छु कि भन्ने उनको मनमा आशा पलायो । यतिबेला विक व्यवसायिक रूपमा मौरी पालन गरेर मनग्ये आम्दानी नभएपनि घर खर्च चलाउँदै आएका छन् । घरमा रहेका काठ फर्निचरमा चिराएर एक हजार रूपैयाँको लगानीमा मौरीपालन उनले सुरु गरे । आफैले बनाएको २ वटा काठको मुंग्रे घारबाट सुरुवात गरेको उनी अहिले केहि मुंग्रे घार र केही फर्निचर घार गरी २३ वटा घारमा मौरी पाल्दै आएको उनले बताए ।
सेरेना जातको मौरी पालेको बताउँदै स्थानीय सरकार लगायत सम्बन्धित निकायले आफूले राम्रो गर्ने प्रयास गरेपनि सहयोग नगरेको उनले गुनासो गरे । यदि सहयोग गरे केही स्थानीय युवाहरूलाई रोजगारी दिने सोंच बनाएको विकले जिकिर गरे । मौरीपालन गर्दै आएका लिलबहादुरले मौरीपालन व्यवसाय रोजेपनि भएको आम्दानीले बालबच्चा पालन र घर खर्च चलाउन हाल हम्मे हम्मे परेको छ । उनको खुट्टाको राम्रो उपचार गराउन सके सपांग सरह हुने विकले दावी गरेका छन् । आर्थिक रूपमा सहयोग नगरेपनि मौरी पालनमा विकले सहयोगको अपेक्षा समेत गरेका छन् । उनी अपांगता भएपनि स्थानीय स्रोतसाधनको प्रयोग गरी असल मौरी पालक बन्ने उनको लक्ष्य छ ।
केही गर्न सकिन्न भन्नेहरूका लागि अपांगता रहेका लिल बहादुर सपांगहरूको लागि समेत उदाहरण बनेका छन् । मौरीपालन गरेका वि.क.ले १५ महिनामा करिब ५० किलो बढी मह उत्पादन गरेको उनी बताउँछन् । उत्पादित मह स्थानीय बजारमै सहजै बिक्री हुने भएकाले बजार खोजी गर्दै हिँड्नु नपरेको बताए । ‘महमा थप गुणस्तर दिन खोजेको छु’, उनले भने, ‘महमा कुनै किसिमको मिसावट नहुँदा सहजै घरबाट मह बिक्री हुने गरेको छ ।’ महको माग अत्यधिक भएपनि माग अनुसार मह पु¥याउन नसकिएको लिलबहादुरको भनाइ छ । विगतको तुलनामा मौरीपालनको फरक तरिका सिकेपछि उत्पादन बढ्दै गएको उनले सुनाए । मौरीले मह सङ्कलन गर्न सहज बनाउन चिउरी, फलफूल लगायतका बोटबिरुवा खेर गएको जग्गामा रोपेर प्रयोगमा ल्याउने उनको योजना छ ।