© २०२३
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्त्री जातिका पशुचौपाया ओसारपसारमा रोक लगाएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै स्त्री जातिका पशु चौपायाहरु बिक्री वितरण तथा ओसारपसार नगर्न र नगराउन अनुरोध गरेको हो ।
गाउँपालिकाले कृषि, पशुपालन तथा दूग्ध उत्पादनलाई व्यावसायिक बनाउने गरी कार्यक्रम चलाइरहेको तर, स्त्री प्रजातिका पशुचौपाया अन्यत्र निकासी भइरहेको जनगुनासो आएकोले अवैधानिक ओसारपसारलाइ रोक्नलागिएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री जानकारी दिनु भयो । व्यावसायिक पालनका लागि व्यक्ति अथवा आधिकारीक दर्ता फर्मलाई बिक्रीवितरण तथा ओसारपसारमा कुनै रोक तोक नहुने र अवैधानिक रुपमा ओसारपसार गरि मासु प्रयोजनका लागि निकासी गर्ने तथा बिक्री गने जोकोहीलाई पनि कार्वाही गरिने उहाको जिकीर थियो ।
पछिल्लो समयमा पालिका क्षेत्र भित्रबाट विभिन्न कृषकहरुद्वारा पालिएका पशुचौपायाहरु मध्ये स्त्री जातिका पशु चौपाया (विशेष गरी भैंसी र बाख्री) हरुको अवैध रुपमा ओसार भइरहेको र मासुजन्य कार्यका लागि यातायातका विभिन्न साधनहरुबाट समेत अन्यत्र निकासी भरहेको भन्ने सूचनामाका आधारमा यसको नियन्त्रण र नियमनका लागि पालिकाको अर्को व्यवस्था लागु नहुन्जेल यस किसिमका पशु चौपायाहरु विक्री वितरण तथा ओसारपसार नगर्नु नगराउनुहुन अनुरोध गरेको छ ।’
गाउँपालिकाभित्रै पनि पशुचौपाया बिक्रिवितरण गर्नुपरेमा अनुमति लिन र नलिएमा कारबाही गरिनेसमेत पालिकाले चेतावनी दिएको छ ।
‘पालिकाभित्र यस किसिमका कार्यहरु गर्नु परेमा भैसी तथा बाख्री (स्त्री)जातका चौपायाहरु विक्रि वितरण गर्नुपर्ने भएमा वा पालिकाबाट अन्यत्र लैजानुपर्ने भएमा खरिदकर्ता र विकेता विचको चौपाया पाल्ने प्रयोजनका लागि खरिद विकि भएको व्यहोरा खुल्ने कागजात पेश गरी गर्न लैजान सक्ने चन्द्रकोट गाउँपालिकाका सुचना अधिकारी सिवप्रसाद ज्ञवालीले जानकारी दिनु भयो ।