© २०२३
काठमाण्डौ, ७ चैत । युवालाई नेतृत्वमा लैजानुपर्ने माग विश्वभर नै उठिरहेको बेला अमेरिकाको राष्ट्रपति बन्ने दौडमा भने युवालाई पछि पार्दै दुई बुढ्यौली नेताहरु मैदानमा उत्रिएका छन । मानविय विकास र आर्थिक विकासको हिसाबले अगाडी अमेरिका जस्तो देशमा समेत राजनीतिक दलले बुढ्यौली नेतालाई पत्याएको छ । सन १९४२ को नोभेम्बर २० मा जन्मिएका वर्तमान राष्ट्रपति बाइडेन जीवनका ८० वसन्त पार गरिसकेका छन । अर्का उम्मेदबार १९४६ जुन १४ मा जन्मिएका ट्रम्प बाइडेनभन्दा चार वर्ष कान्छा छन । ८१ वर्षमा टेकेका बाइडेनले बुढ्यौली उमेरका कारण आगामी राष्ट्रपतीय कार्यकालको जिम्मेवारी बहन गर्न सक्नेमा कतिपयले प्रश्न उठाइरहेका छन । तर डेमोक्रेटिक दलले भने उनैलाई पत्याएको छ । ट्रम्प आफ्नो प्रतिस्पर्धी निश्चित हुनु भने उनका लागि केही सहज भएको छ । २०१६ मा ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ को नाराले चुनावी सफलता हात पारेका थिए । यसपटक भने उनले ‘मेक अमेरिका ग्रेट एन्ड ग्लोरियस अगेन’ को नारा अघि सारेका छन । कडा आप्रवासन नीतिको मूल मुद्दा त छँदै छ । ट्रम्पले मतदातासामु ‘सीमा बन्द’ गर्नेदेखि ‘कीर्तिमानी संख्यामा’ अवैध आप्रवासीलाई देशनिकाला गर्ने आश्वासन बाँड्दै आएका छन । अपराध घटाउने, घरेलु ऊर्जा उत्पादन बढाउने, विदेशी आयातमा थप शुल्क लगाउने, युक्रेन युद्ध अन्त्य गर्ने र विश्व मामिलामा ‘अमेरिका पहिले’ नीति उनले अघि सारेका छन ।
उता बाइडेन भने अमेरिकी अर्थतन्त्रमा देखिएका सकारात्मक प्रवृत्तिहरूको बखान गर्न व्यस्त छन । महिलाहरूको गर्भपतन अधिकार संकुचित पार्ने तथा सामाजिक कार्यक्रमहरू कटौती गर्ने प्रयासका विषयमा उनले निकै चासो देखाएका छन् । त्यसका साथै, ट्रम्प विजयी भएको खण्डमा ‘देश पछाडि फर्कने’ बाइडेनको दाबी छ । ‘हामीले एउटा गम्भीर वास्तविकताको सामना गर्दैछौं,’ उम्मेदवार बन्न आवश्यक पार्टी प्रतिनिधिहरूको गत साता समर्थन जुटाएपछि बाइडेनले भनेका थिए, ‘अमेरिकामा स्वतन्त्रता र लोकतन्त्र गृहयुद्धयताकै जोखिममा छ ।
दुवै नेताले आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुन आ–आफ्ना दलका तर्फबाट आवश्यक पर्ने प्रतिनिधिहरूको समर्थन जुटाइसकेका छन । विभिन्न राज्यमा भएको प्राइमरीमा ट्रम्पले १२ सय ७३ प्रतिनिधिको समर्थन जुटाइसकेका छन । रिपब्लिकन पार्टीबाट राष्ट्रपति उम्मेदवार बन्न कम्तीमा १२ सय १५ जना पार्टी प्रतिनिधिको समर्थन आवश्यक पर्छ । त्यस्तै, डेमोक्रेटिक दलबाट उम्मेदवार बन्न १९ सय ६८ पार्टी प्रतिनिधिको समर्थन जुटाउन आवश्यक हुनेमा २१ सय ७ प्रतिनिधि बाइडेनको पक्षमा उभिइसकेका छन ।
दुवै नेताले उम्मेदवार बन्ने दौडमा पार्टीभित्रबाट भने खासै कडा चुनौती सामना गर्नुपरेन । अघिल्लो राष्ट्रपतीय चुनावमा विजयी बाइडेन अर्को कार्यकालका लागि प्रतिस्पर्धामा नउत्रिने कतिपयको आकलन थियो । ट्रम्पले पनि रिपब्लिकन दलमा ‘कमब्याक’ गर्न सक्ने निकै झिनो आशा देखिएको थियो । तर चुनावी मिति नजिकिँदै गर्दा ट्रम्प पार्टीभित्र निकै हाबी भए र आफूलाई विकल्पविहीन उम्मेदवारका रूपमा उभ्याउन सफल भए ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ । २०२० को चुनावमा बाइडेन ३०६ इलेक्टोरल मतसहित राष्ट्रपतिमा निर्वाचित भएका थिए । ट्रम्पको पक्षमा २ सय ३२ मत परेको थियो । डेमोक्रेटिक दल विजयी भएको मेइन र रिपब्लिकन दलले जितेको नेब्रास्काबाट एक/एक इलेक्टोरल मत विपक्षी उम्मेदवारलाई गएको थियो । अमेरिकी राज्य क्यालिफोर्नियामा सबैभन्दा बढी ५४ र अलास्का, डेलावयर, मोन्टाना, नर्थ डकोटा, साउथ डकोटा, भर्मन्ट, बायोमिङ र डिस्ट्रिक्ट अफ कोलम्बियामा सबैभन्दा कम ३/३ डेलिगेट्स निर्वाचित हुन्छन् । २०२४ का लागि भने केही राज्यमा एकदेखि दुई इलेक्टोरल मत हेरफेर भएको छ ।
डेमोक्रेटिक दलको वर्चस्व रहेका राज्यलाई ‘ब्लु स्टेट्स’ का रूपमा चिनिन्छ । यो समूहमा क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावयर, हवाई, इलिनोइस, मेइन, मेरिल्यान्ड, मासाचुसेट्स, न्यु हेम्सायर, न्यु जर्सी, न्यु मेक्सिको, न्युयोर्क, ओरेगन, रोड आइल्यान्ड, भर्मन्ट, भर्जिनिया, वासिङ्टन र डिस्ट्रिक्ट अफ कोलम्बिया छन । त्यस्तै, मत परिणाम रिपब्लिकनको पक्षमा आउने ‘रेड स्टेट्स’ मा अलबामा, अलास्का, अर्कान्सस, इडाहो, इन्डियाना, आयोवा, कान्सस, केन्टुकी, लुजियाना, मिसिसिपी, मिजोरी, मोन्टाना, नेब्रास्का, नर्थ डाकोटा, साउथ डाकोटा, ओक्लोहामा, साउथ क्यारोलाइना, टेनसी, युटा, वेस्ट भर्जिनिया र वायोमिङ छन ।
त्यसैगरी, एरिजोना, फ्लोरिडा, जर्जिया, मिसिगन, मिनिसोटा, नेभादा, नर्थ क्यारोलाइना, ओहायो, पेन्सिलभेनिया र विस्कन्सिन ‘स्वीङ स्टेट’ हुन । यी राज्यको नतिजाले नै समग्र राष्ट्रपतीय चुनावको मत परिणाम प्रभावित हुने निश्चित छ ।
(एजेन्सीको सहयोगमा)