© २०२३
लमही, ११ फागुन । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका रेशम बहादुर शाही र दयाराम थापाले पञ्चैबाजा संग्रहालयको कार्यालयमा पुगेका बिद्यार्थीहरूलाई राष्ट्रिय लोकबाजाहरूबारे बिस्तृत जानकारी गराउँदै थिए । नौमति बाजा र पञ्चैबाजा अन्तर्गत पर्ने बाजाहरूका बारेमा प्रत्यक्ष बजाएर तथा देखाएर ब्रिफिङ गर्दै गर्दा बिद्यार्थीहरू अनुशासित र मर्यादित ढंगले मन्त्रमुग्ध भएर सुनिरहेका थिए ।
बुद्धज्योती उच्च माबिको कक्षा १० मा अध्ययनरत गढवा–६ हासिपुरका करिना जिएमले बुधवार पञ्चैबाजा तथा राष्ट्रिय लोकबाजा बारे संग्रहालयमै पुगेर पढ्न पाउँदा आफूलाई धेरैजानकारी भएको बताए । पञ्चैबाजा बजाएको त सुनेको थिए, निकै राम्रो लाग्थ्यो । प्रत्यक्ष बाजाका प्रकारहरू र अलग–अलग स्वरहरूका बारेमा पढ्न पाउँदा धेरै जानकार हुने अवसर मिल्यो उनले भने । नेपाली राष्ट्रिय लोकबाजा र पञ्चैबाजाका बारेमा संग्रहालयमा पढ्न गएका सोही बिद्यालयको कक्षा १० मा अध्ययनरत बिद्यार्थी सुदन खत्री पनि पञ्चैबाजाको सुर–ताल र लयमा नाचेरै रमाए । राष्ट्रिय लोकबाजाका बारेमा प्रत्यक्ष देखेर र बजाएरै जान्न पाउँदा प्रत्यक्ष ज्ञान पाएको उनले बताए ।
सधैजसो कापी किताब बोकेर विद्यालयमा पढ्न जाने सो विद्यालयका ७२ जना बिद्यार्थीहरू लोकबाजा पढ्न गढवा स्थित पञ्चैबाजा संग्रहालयमा पुग्दा खुसीले प्रफूल्ति थिए । पञ्चैबाजाको सुर, ताल र लयलाई प्रत्यक्ष नियाल्न पाउँदा उनीहरूले बाजाका बारेमा धेरै ज्ञान भएको बताए । गढवा गाउँपालिकाले यसबर्ष देखि लागु गरेको स्थानीय पाठ्यक्रममा राष्ट्रिय लोकबाजाको च्याप्टर राखेर पठन–पाठन गराउन थालेपछि गढवाका सबैजसो बिद्यालयका बिद्यार्थीहरूमा चाँसो बढेको छ भने बिद्यालयहरूलाई पनि प्रयोगात्मक अभ्यास र सिकाई हुने थलो बनेको छ ।
पञ्चैबाजा र नौमतिबाजाका बारेमा विद्यार्थीहरूलाई प्रत्यक्ष सिकाई उपलब्धिका लागि संग्रहालयमा लगिएको बिद्यालयका शिक्षक गोबिन्द पन्थीले बताए । बिद्यालयमा किताबको कोर्ष पढाएर मात्र बिद्यार्थीहरूलाई पुग्दैन त्यसैले फिल्डमै लगेर स्थलगत अध्ययन अध्यापनका लागि संग्रहालयमा पुगाएको उनले बताए ।
गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र आधिकारीक रूपमा बैधानिकता प्राप्त गरि संचालनमा आएको संस्था हो । यसले समाजमा हुने गरेका जातिय बिभेदको अन्त्य गर्ने, पञ्चैबाजा तथा नौमति बाजाको संरक्षण संबर्धन गर्ने, सामाजिक क्षेत्रमा हातेमालो गर्ने र स्थानीयलाई रोजगार प्रबर्धन गर्ने तथा निकट भविश्यमा बहुसांस्कृति लोकबाजा संग्रहालय स्थापना गर्ने लक्ष्य लिएको संस्थाका कोषाध्यक्ष रेशम बहादुर शाहीले बताए । सुरुवातमा गढवा गाउँपालिकाको मुख्यमन्त्री रोजगार कार्यक्रमबाट प्रेरीत भई बाजा बजाउने तालिम सिक्न थालेको र पछिल्लो चरणमा घरेलु तथा साना उद्योग कार्यालयको बजेटबाट थप तालिम र प्रबिधि प्राप्त भएपछि हाल नेपालका बिभिन्न जिल्लाहरूमा बाजा बजाउने स्वरोजगार तर्फ संस्थामा आबद्ध २८ जना कलाकारहरू तयार गरिसकेको अध्यक्ष दयाराम थापाले बताए ।