© २०२३
बुटवल, १२ माघ । रूपन्देहीको सैनामैनाको उचडिहवामा रहेको सैनामैना थारु होमस्टे चर्चामा छैन । तर पातलो रूपमा त्यहाँ पुग्ने पाहुनाहरू मिठो स्वाद र फरक अनुभव लिएर फर्किन्छन् । सरौली चोकभन्दा अगाडि मुख्य हाईवे देखि ५ सय मिटर उत्तरमा रहेको उचडिहवामा ७१ घरधुरी थारु समुदाय बसोबास गर्छन । उनीहरूलाई होमस्टे संचालन तालिम दिएर २०७३ सालमा स्थानीय सरकारको सहयोगमा होमस्टे निर्माण शुरु भयो ।
२०७८ सालमा तयारी पुरा गरि २–२ लाख रूपैयाँ नगरपालिकाबाट सहयोगमा ४ जना क्षमताका ५ वटामा एटेज बाथरुम सहितको पूर्वाधार निर्माण भए । तामझाम सहित औपचारिक रूपमा सुभारम्भ भयो । शुरुवातमा राम्रो भयो । होमस्टे संचालनका लागि ब्यवस्थापन गर्ने गरि अगुवा खुशीराम चौधरी अध्यक्ष बने । जसको सचिव सुर्जमान थारु छन । थारु संस्कार, संस्कृतिलाई जर्गेना गर्दै पिछडिएको थारु महिलाहरूलाई आर्थिक आयआर्जनमा जोड्ने लक्ष्यसहित शुरु गरिएको २ वर्ष जति राम्रै चल्यो । होमस्टे प्रचारप्रसार कम हुँदा निरन्तरता दिन कठिनाई भएको छ । अहिले १५ वटा घरहरूमा होमस्टे संचालनमा छन ।
संस्थाका सचिव ५९ वर्षिय सुर्जमान थारु समाजसेवीका रूपमा होमस्टे जगाउन लागेका छन । ‘हाम्रो पाहुनालाई सेवा दिनु नै धर्म हो ।’—उनले भने । एकातिर हाम्रो संस्कृति जोखिने र अर्कोतर्फ आम्दानीको पाटोका रूपमा विकास हुने भएकाले पनि यसमा आकर्षित भएको उनी बताउँछन । पुस्तौली मिल संचालन गर्दै आएका उनी घरभित्र रहेका थारु समुदायका महिलाहरूलाई होमस्टे संचालनबाट आर्थिक रूपमा सबल बनाउने गरि सहयोग मिलेको बताउँछन । ‘बुहारीहरू यसमा सघाउँछन र उनीहरू नै हरहिसाब गर्छन,’— उनले भने ।
करीब ७ कठ्ठा क्षेत्रफलमा सभाहल निर्माण भएको छ । देविको थान (दिवहार) निर्माण भएको छ । जहाँ थारु संस्कृति प्रदर्शन गरिन्छ । मादल, ढोल लगायत बाजा समेत शुरु भएको छ । झुमरा, लाठी नाच, थारुभाषाका गितमा मनोरन्जन दिईन्छ । नया पिढिका युवाहरूलाई संस्कृति सिकाउन मद्दत मिलेको उनि बताउँछन । तराईको आदीबासी थारु समुदायको थारु सम्वत २६४७ गत आईतबार राती १२ बजेपछि शुरु भएको छ । थारु समुदायहरू सम्वतलाई विविध सास्कृतिक, मनोरन्जनात्मक कार्यक्रम गरि सप्ताहब्यापी रूपमा मनाएका छन । आईतबार रूपन्देहीका आधा दर्जन युवाहरू तिनै थारु समुदायको संस्कृतिलाई बुझन र रमाउने अवसर खोजी गर्दा उचडिहवा पुगे । पर्यटन क्षेत्रमा केही गरौ भन्ने हुटहुटी बोकेका युवाहरू आईतबार उचडिहवामा रहेको सैनामैना थारु होमस्टेमा मिठो आतिथ्यताले लोभ्यायो ।
(पाहुनान्के स्वागत बा) लेखिएको आफनै भाषाको स्वागत बोर्डमात्र होईन उत्तिकै मिठा खान्की भएको ब्यवसायी निशान कार्की बताउँछन । ‘साँच्चै नै थारु संस्कृतिलाई नजिकबाट चियाउने अवसर मिल्यो ।’—उनले भने । यो संस्कृतिलाई अब पर्यटनसंग जोडेर आर्थिक सबलीकरण गर्ने गरि अघि बढ्न जरुरी रहेको उनले बताए ।
पर्यटन क्षेत्रमा नै लागेका युवा उद्यमी सन्तोष केसी बुटवल सेरोफेरोमा निक्कै उत्कृष्ट संस्कृति भेटिएको बताउछन । नया पुस्तालाई सिकाएर यसको ब्यवस्थापनमा ध्यान दिन सके आन्तरिकमात्र नभई बाह्य पर्यटक समेत भित्राएर आर्थिक रूपमा सबल हुन सकिने उनको दाबी छ । रूपन्देहीको होटलहरू यहाको संस्कृतिलाई उजगार गर्दै प्याकेज योजनाका कार्यक्रम ल्याउनुपर्ने उनको तर्क छ ।
सालको काठको दार, माटो र खपटाबाट बनाईएको थारु भान्सामा ४२ वर्षिय पवित्रा थारु मिठा परिकार पकाउछिन । उनलाई परिवार सदस्यहरूले साथ दिन्छन । सबै मिलेर पाहुनालाई मीठो परिकार खुवाउछन । आफनो संस्कृतिका ढिकरी, माछा, पतुसनी (कर्कलाको पकौडा), चेची, घोघिका परिकार पकाएर दाउरा चुलोमा पकाईएको स्वादिष्ट खाना उनले पस्किन । थारु संस्कृतिका मिठा परिकार मानव स्वस्थ्यका लागि समेत उत्तिकै उत्कृष्ट मानिन्छ ।