© २०२३
बुटवल, २३ कात्तिक ।
विद्यालयमा शिक्षक–शिक्षिकाबाट ‘भेदभाव र नेपोटिज्म’ महसुस गर्दै रुपन्देहीको एक बोर्डिङ स्कूलका विद्यार्थीले आत्महत्याको बाटो रोजेका छन् । जिल्लाको सियारी गाउंपालिका वडा नं. ४, शिवपुरको संस्कार इङ्लिस बोर्डिंग स्कुलमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय विश्वास यादवले परीक्षामा चिट चोरेको विषयलाई ‘स्कूलभरि हल्ला’ गरिएपछि बेइज्जत भएको महसुस गरी घरकै कोठामा झुण्डिएर आत्महत्याको बाटो रोजेका हुन् ।
शुद्धोधन गाउँपालिका, वडा नं. ७, खुनगाउँका विश्वास स्कूल क्याप्टेन र रेडक्रस सोसाइटीको अध्यक्ष थिए । उनका बुबा सुवास यादवका अनुसार पढाईमा मध्यम उनी अतिरिक्त क्रियाकलापमा भने राम्रो थिए ।
गत असोज २८ गते स्कुलमा दोस्रो त्रैमासिक परीक्षा अन्तर्गत विज्ञान विषयको परीक्षामा विश्वासले खल्तीबाट चिट झिकेपछि कक्षा शिक्षकले चिट र उत्तर पुस्तिका खोसेका थिए । विश्वासले माफी माग्दै अब चिट नचोर्ने भन्दै उत्तर पुस्तिका फिर्ता मागेका तर शिक्षकले नदिएका र तल्लो कक्षाका शिक्षिकाले अन्य कक्षाकोठाहरुमा गएर‘ ल तिमीहरुको क्याप्टेन चिट ल्याएको थियो’ भन्दै प्रचार गरेको घटनाले छोराले ग्लानी महसुस गरी आत्महत्याको बाटो रोजेको बुबा सुवासले बताए ।
सुवासका अनुसार परीक्षा सकिएपछि केही शिक्षकहरु भेला भई गाली गरेपछि विश्वास रुंदै स्कुल गेट बाहिर निस्केका र अरु साथीलाई आफ्नो साइकल ल्याइदिन भनेर घर गएका थिए ।
घर पुगे लगत्तै विश्वासले आमासंग ‘आज गिल्टी महसुस गर्दैछु, चिट लगेको थिएं सरले समात्नु भयो, सबैतिर हल्ला भयो र मेरो ठुलो बेइज्जत भयो’ भन्ने गुनासो गरेका र आमाले केही हुंँदैन अब यस्तो नगर्ने भनेर सम्झाएकी थिइन् ।
‘१५ वर्ष पूरा भएको खुशियालीमा जन्मोत्सव मनाउने तयारी गर्न छोरालाई बोलाउँंदा नबोलेपछि ढोका फोरेर कोठामा जांदा त झुण्डिएको अवस्थामा देख्यौं, अस्पताल पु¥याउंदा डाक्टरले मृत घोषणा गरे’–सुवासले भने । सुवासले कोठामा भित्रबाट चुक्कुल लगाएर झुण्डिएका थिए ।
स्कूलमा आफ्नो चिट फेला परेको र हल्ला भएको विषयले बेइज्जत भएको ठानेका विश्वासले लेखेको दुई पेज लामो सुसाइड नोटमा ‘मेरो विद्यालयमा भेदभाव छ, नेपोटिज्म छ, म र मेरो अन्य साथीहरुले धेरैपटक यो विभेद भोगेका छौं’ लेखेका छन् । सुसाइड नोटमा विश्वासले सर र मेडमहरुले आफूमाथि जे गर्नु भयो त्यो कुरा अरु कोही विद्यार्थी साथीहरुले भोग्न नपरोस भनी कामना गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही मुद्दा शाखाका अनुसार विश्वासको पोष्टमार्टम रिपोर्ट अनुसार झुण्डिएर मृत्यु भएको देखिएको छ । हालसम्म घटनाको बारेमा कतैबाट कुनै उजुरी नआएको प्रहरीले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल लोकराज बस्यालले विश्वासले चिट निकालेपछि शिक्षकले खोसेको स्वीकार गर्दै परीक्षाको मर्यादा कायम राख्नु शिक्षकको दायित्व नै हुने बताए । चिट खोस्ने वाहेक शिक्षक र शिक्षिकाले विश्वासको बेइज्जत हुने र स्कूलभरि चिट चोरेको प्रचार नगरेको उनले दावी गरे ।
मृतकका परिवारका सदस्यले भनेजस्तो आफूहरु मृत्यु भएपछि घर र दाह संस्कारमा नगएको भन्ने सत्य नभएको प्रिन्सिपल बस्यालले बताए ।
विश्वासकी बहिनी पनि आफ्नै स्कूलमा ७ कक्षामा पढ्ने र कक्षा प्रथम हुने, अन्य नजिकका आफन्तका छोरा छोरी पनि सबै ट्यालेन्ट तर विश्वास पढाईमा मध्यम भएकाले उनमा लघुताभास भएको तर स्कुलका शिक्षक शिक्षिकाको भेदभाव र नातावाद (नेपोटिज्म) नगरेको बस्यालको दावी छ । ‘उहांहरु पीडामा भएकाले उहाहरुले सामाजिक सञ्जालमा लेखेका स्टाटसमा हामीले टिप्पणी नगरेको हो, यसको मलब विद्यालयले गल्ती गरेको छ भन्ने होइन’–बस्यालले भने–‘हामीले केही आशंका र प्रश्नहरु छन् भने बसेर संवाद गरेर समाधान खोजौं भनेका छौं, अहिले चाडपर्व र विद्यालय बन्द भएकाले उहांहरुले विद्यालयले वास्ता गरेन भन्ने फिल गर्नुभएको हुनसक्छ ।’
युएनडीपीमा टिम लिडरको जागिरे मृतक विश्वासका बुबा सुवासले विद्यालयमा बालबालिकाको मनोविज्ञानलाई नबुझी अदृश्य ढंगले मधेशी र पहाडी समुदायका विद्यार्थीबीच केही शिक्षक शिक्षिकाबाट भेदभाव र पक्षपातपूर्ण व्यवहार भएको स्वयं विद्यार्थीहरुले नै यो घटनापछि आएर आफूलाई भनेको बताए । उनले विद्यालयले आफ्नो कमजोरी स्वीकार गरी आइन्दा यस्तो व्यवहार नदोहो¥याउने र विश्वासले नाम लिएका ४÷५ जना शिक्षक र शिक्षिकालाई निश्कासन गर्नुपर्ने आफूहरुको माग रहेको अन्यथा कानूनी प्रकृयामा जाने बताए । यद्यपि सुवासले पनि परिवारका अन्य सदस्य र आफन्तहरु पढाईमा ट्यालेन्ट र आफू मात्र अलि कमजोर भएको तथ्यले विश्वासमा कतै न कतै लघुताभाष भएको स्वीकार गरे ।
छोराले आत्महत्या गरेपछि बाबु सुवासले लेखेको फेसबुक स्टाटस
मेरो छोरा विश्वास संसार छोडेर गयो अब फर्केर आउने छैन तर संसार छोडन बाध्य बनाउने अवस्थाको सिर्जना गर्ने कार्य स्कुलबाट भएको छ ।हामि हाम्रा बालबालिकाहरुलाई उच्चा प्राथमिकताका साथ घरमा बालमैत्री वातारणमा पालनपोषण गर्दै आएका छौं । विश्वासको पढाई, व्यवहारिक ज्ञान. नेतृत्व क्षमता हाम्रो लागि अति खुसिको विषय थियो र मैले मेरो छोरालाई आफ्ना विभिन्न परियोजना विभिन्न कार्यक्रममा लैजाने, सिक्ने अवसर प्रदान गर्दै यो अवस्थामा आइपुगेको थियो, धेरैले मेरो छोराको विचार, नेतृत्व र व्यवहारलाई प्रशंसा गर्दथे ।तर स्कुलको कमि कमजोरीले मेरो प्राण प्यारो छोरा गुमाएको छु, आखिर यो अवस्था कहिलेसम्म ?
– पहिलो कुरा मेरो छोराले चिट्ठा लग्यो समाते, उत्तरपुस्तिका खोसे तर कक्षा–कक्षामा किन प्रचार–प्रसार गरे? के नियतले उलाई यसरि गरे? किन उसको भावनासँग खेले?
– ३÷४ जना शिक्षकले फेरी छुट्टै बोलाई गालि गरे किन? सम्झाउनु पर्थ्यो, किन त्यसो गरेनन?
– यो सबै गरेपछि कम्तिमा विश्वासलाई परामर्श गरेर पठाउन पर्थ्यो, किन गरेनन ?
– यो विषय अभिभावकलाई जानकारी गर्ने दायित्व स्कुलको हो कि होइन? किन जानकारी गरेनन ?
– सुसाइट नोटमा उल्लेख भएका केहि शिक्षकहरु (पुरुष र महिला) उक्त घटना पछी संचालन भएको परिक्षाको दिन स्कुल आएनन, भागेका छन् भनि विद्यार्थीहरुबाट जानकारी प्राप्त भएको छ, किन त्यसो ?
– दाहसंस्कार गर्न जाँदा मलामी पनि कोहि शिक्षक आएनन, जबकि प्राय सबै शिक्षक छिमेकि गाउँ कै छन् िकिन यसो ?
– दाहसंस्कार गरेको २१ दिन बितिसक्दा स्कुलबाट कोहि शिक्षक आएनन, यसो किन?
– यस्तो ठुलो घटना घट्यो, स्कुलको जिम्मेवारी के, केहि पनि होइन?
यसरी मसंग हजारौ प्रश्नहरु छन्, उक्त घटनाको दिन हजारौं मानिस आक्रोशित भई स्कुल जलाउने, तोडफोड गर्ने भन्दै गर्दा, त्यो पिडामा पनि हामी संग्यमता अपनाई सबैलाई अनुरोध गरिम कि त्यसको उपाय त्यो होइन, मेरो छोरा फर्केर आउदैन तर हो एउटा कुरा कि न्याय हुनु पर्छ, स्कुलले गरेको गल्ति महसुस गर्नु पर्छ, अब आउने दिनमा यस्तो घटना नहुन दिन यो विद्यालयलाई कानूनी र सामाजीक रुपमा सचेत गराउनु पर्छ ।
हाम्रै गाउँघरका हजारौ बालबालिका त्यहाँ अध्ययन गर्दैछन्, यस्तो घटना पछी नहोला भन्न सकिदैन भनि अहिले समाजले प्रश्न गर्दैछ र प्रतिक्रियाको तयार गर्दैछ, तसर्थ बालबालिकाको मनोविज्ञानलाई नबुझ्दा, स्कुलले आफ्नो मनमानी गर्दा त्यसको पिडा हाम्रा बालबालिका र अभिभावकले कहिलेसम्म भोग्नु पर्ने हो ?