© २०२३
बुटवल, १५ कार्तिक । सत्यवती गाउँपालिकाले सत्यवती पर्यटकिय स्थानलाई परिचित बनाउने अभियान शुरु गरेको छ । गाउँपालिकामा रहेका पर्यटकिय स्थलहरूको भौतिक विकास गरेर गाउँपालिका भित्र धेरै पर्यटक भित्राउने लक्ष्य गाउँपालिकाको छ । नेपाल सरकारले घोषणा गरेको एक सय पर्यटकिय स्थान मध्ये सत्यवती पर्यटकीय स्थल पनि एक रहेको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले बताए । उनले गाउँपालिका भित्र थुप्रै पर्यटकिय स्थल भएपनि प्रचार प्रसारको कमीले पर्यटक आउन नसकेको बताए । त्यसका लागि अब बजेट नै छुट्याएर गाउँपालिकाले काम शुरु गरेको अध्यक्ष पाण्डेको भनाइ छ ।
सत्यवती गाउँपालिकाको वडा नं. ३ ठुलोलुम्पेकमा रहेको सत्यवती पर्यटकिय स्थानलाई रमणिय बनाउन गाउँपालिका र युएनडिपीको सहकार्यमा ४२ लाख रुपियाँ बजेट छुट्याएर पदमार्ग, विश्राम स्थल, फोटो सेसन स्थल, डस्बिन लगायतका भौतिक पूर्वाधारको काम भइरहेको छ । पर्यटकिय स्थलको २५ सय मिटरमा रहेको बुढी सत्यवती २२ सय मिटरमा रहेको कान्छी सत्यवती विकासका काम भइरहेको छ । यी सत्यवती मन्दिरमा आफ्नो चाहना अनुसारको वर मागेर पाईन्छ भन्ने जन विश्वास रहेको छ । प्रत्येक वर्ष कार्तिक पूर्णिमामा यहाँ आएर १०औं हजार भक्तजनले आफ्नो इच्छा ब्यक्त गर्ने र पुरा भएको बताउँदै आएका छन् ।
अध्यक्ष पाण्डेका अनुसार सत्यवती बज्यैका नौ बहिनी मध्ये जेठी कान्छी सतयवती गाउँपालिकामा रहेको भन्ने जन विश्वास रहेको बताए । उनले सत्यवती बज्यैले कानले नसुन्ने भएकाले यहाँ आउने भक्तजनले चिच्चाएर बर माग्ने गरेको परम्परा रहेको बताए । यहाँ आउने भक्तजनले छोराछोरी, पढाई, जागिर लगायत आफनो जीवन सुखी हुन चाहिने चिजलाई माग्ने र पुग्ने गरेको विश्वास रहेको बताए । पाण्डेले यहाँ रहेका सत्यवती मन्दिर र त्यहाँ सम्म पुग्ने बाटो भौतिक संरचना निर्माण गर्न गाउँपालिकाले १ करोड ६० लाख रुपियाँ विनियोजन गरेर काम गरिरहेको बताए । उनले गाउँपालिकामा रहेको थाप्ले डाँडोलाई पनि पर्यटकिय क्षेत्र भएको बताए । यहाँ आउने पर्यटकले विभिन्न प्रकारका जडिबुटि, घोरल, मृग बाघ, चितुवा लगायतका जंगली जनावर समेत देख्न सक्छन् । २६ सय ९० मिटर उचाईमा रहेको थाप्ले डाँडाबाट माछापुच्छे, धौलागिरी हिमाल समेत देख्न सकिन्छ । हिजोआज यहाँ स्थानीय पर्यटक मात्र नभएर बाह्य र विदेशी पर्यटक समेत रमाउन आउने गरेको अध्यक्ष पाण्डेयले बताए ।
यहाँ गाउँपालिकाले गत वर्षबाट चिया खेती शुरु गरेको छ । कति पर्यटक चिया बगानमा रमाउन आउँछन् । यहाँ आउने पर्यटकहरूले होमस्टेमा बास बस्ने र रमाउने वातावरण रहेको छ यहाँ २८ घर होमस्टे रहेका छन् । यो संख्या कम भएको भन्दै गाउँपालिका र युएनडिपीले होमस्टेलाई अझै राम्रो बनाउन तालिमको आयोजना गरेको र त्यसका लागि ३ लाख ५० हजार रुपियाँ बजेट छुट्याएको गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी दिए ।
गुल्मीको सत्यवती गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक महत्व बोकेको गाउँपालिका हो । साविकका गाउँ विकास समितिहरू ठूलो लुम्पेक, अस्लेवा, लिम्घा, हसरा, जोहाङ्ग, जुनिया र भार्सेको संयोजनबाट बनेको छ ।
यस गाउँपालिकामा ८ वटा वडा कार्यालयहरू रहेका छन् । ११५.९२ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या २३ हजार ८ सय ७ छ भने केन्द्र जोहाङ्ग खैरेनीमा रहेको छ । यो गाउँपालिका गुल्मी जिल्लाको सवैभन्दा ठूलो र बढी जनसख्या भएको गाउँपालिका हो ।