© २०२३
बुटवल, ३१ साउन ।
रुपन्देहीको बेलहिया नाका मानव तस्करीको ट्रान्जिट पोईन्ट बनिरहेको छ । खुल्ला सिमानासँगै जोडिएको भुगोल मानव बेचबिखन ओसार पसार गर्ने मुख्यद्वार जस्तै बनेको छ । यहाँबाट वर्सेनि हजारौं नेपाली युवायुवती तथा बालबालिकाको उद्दार गरिन्छ । तर पछिल्लो समय युवा पुस्ताहरुमा बढ्दो बेरोजगारी र महत्वाकांक्षीसँगै सामाजिक सञ्जालको दुरुपयोग मुख्य समस्या देखिन्छन् । सँगै ‘पढेलेखेका शिक्षित युवा तथा युवती पनि रोजगारीको प्रलोभनमा जोखिममा परेको पाइएको छ ।
रुपन्देही जिल्लामा दर्जनौ खुल्ला सिमा रहेका क्षेत्र भएकाले मानव बेचबिखन गर्ने गिरोहको चलखेल र प्रभाव बढिरहने अभियन्ताहरु बताउँछन् । यस जिल्लामा भारतसँगको ठूलो व्यापारिक नाका पनि रहेकाले यी नाकाहरुको प्रयोग गरी महिला तथा बालबालिकालाई भारत लगायत विभिन्न खाडी मुलुकमा देह व्यापार लागु औषध तथा अन्य प्रयोजनका लागि बेचबिखन गर्न लैजाने गरेको पाईन्छ । सामाजिक सञ्जालमा भएको चिनजान र नेटवर्किङ व्यवसायका नाममा महिला तथा बालिकाहरु बेचिने क्रम बढ्दो छ । मुख्यगरी गरिबी, महत्वाकांक्षी, खुला सिमाना र सामाजिक सञ्जालको गलत प्रयोगले बेचबिखनमा पर्ने गरेको पाइएको छ । रोजगारी लगाइदिने, प्रेम गरी बिहे गर्ने जस्ता प्रलोभन देखाएर बेचबिखन गर्ने गरेको पनि देखिएको छ ।
मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्थाहरुको तथ्यांक हेर्दा मानव बेचबिखनका घटनाहरुको ग्राफ बढ्दै गएको देखिन्छ । केआइएन नेपाल रुपन्देही शाखाको आर्थिक वर्ष २०७९÷८० को तथ्यांकअनुसार १६३ जनालाई सिमाबाट उद्दार गरेको छ भने १० हजार ४ सय जनालाई सचेतना तथा परामर्श दिएको छ । खोजतलास र उजुरी संख्या ४४, भेटिएको संख्या ४, पुनर्मिलन १२९ र उद्दार पश्चात तालिम दिएको ३६ र २ वटा दर्ता नभएको भारतबाट उद्दार गरी ल्याइएको २ जना रहेको छ । उक्त संस्थाले शनिवार नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतका विभिन्न स्थानहरूबाट उद्दार गरेको छ । ४ जना बालक र ३ जना बालिकालाई शनिवार सुनौली नाका हुँदै स्वदेश फिर्ता ल्याइएको छ ।
विगत ६ वर्षदेखि मानव बेचबिखन विरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इण्डियाले नेपाली दुतावास दिल्ली, नेपाल प्रहरी, महिला बालबालिका मन्त्रालय लगायतको सहयोगमा उक्त बालबालिकालाई नेपाल ल्याईएको हो । दार्चुलाको १५ वर्षीया, पाल्पा र पर्साका १६ वर्षीया बालिका र रौतहटका १३ वर्षीय दुई बालक, महोत्तरी र अर्घाखाँचीका १६ वर्षीय बालकको उद्दार गरिएको हो । ती बालबालिकाहरुलाई विभिन्न बहाना तथा प्रलोभनमा भारत पुर्याइएको थियो । बालबालिकाको उद्दार र स्वदेश फिर्तीमा प्रत्यक्ष संलग्न संस्था केआइएनका निर्देशक नविन जोशीका अनुसार ती बालबालिका मध्ये ३ जना बालकको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मिना पौडेल र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको रोहवरमा पारिवारिक पुनर्मिलन गराइएको छ । एकजना बालकलाई बालबालिका खोजतलास केन्द्रमा राखिएको छ भने तीन बालिकालाई रुपन्देहीको शुभ अवसर ग्रामको आवास गृहमा राखिएको छ । बालबालिकाहरु भरतसम्म के कसरी पुगे भन्नेबारे थप अनुसन्धान प्रक्रियाका लागि बालिकालाई आवास गृहमा राखिएको हो ।
उद्दार गरिएका मध्ये दार्चुलाकी बालिका घरबाट भागेर हिँडेको र दिल्लीको मेट्रो स्टेशनमा फेला पारिएको थियो भने पाल्पाकी बालिकालाई लागुऔषध प्रयोगकर्ताले सिमानाकामा भएको चेकजाँचमा बुहारी भनेर झुक्याएर भारत पुर्याएका थिए । ती बालिकालाई रेलवे स्टेशनबाट उद्दार गरिएको हो । पर्साकी बालिकालाई दिल्लीमा खोजतलास गर्ने क्रममा खाली कोठामा बन्धक बनाएर राखिएको अवस्थामा फेला पारिएको थियो । चारै जना बालकलाई दिल्लीबाट उद्दार गरिएको केआइएनले निर्देशक जोशीले जानकारी दिए ।
उनले भने, “प्रहरी तथा दुतावासले केआइएन इण्डियालाई केश फरवार्ड गर्छन् । त्यही आधारमा काम गर्छौ”, निर्देशक जोशीले भने, “भेटिने भन्दा नभेटिने बालबालिकाको संख्या धेरै छ ।” सन् २०१८ देखि अहिलेसम्म केआइएनले ५ सय बढी महिला तथा बालबालिका उद्दार गरेको उनले बताए । “भारत धेरै जनसंख्या भएको देश हो । यहाँ ल्याइएकाहरु कुन क्षेत्रमा छन् भनेर लोकेशन पत्ता लगाउन निकै समस्या हुन्छ । फिल्डमा नदेखिने तरिकाले हाम्रो टिम परिचालन गरेर भारतीय प्रहरीको सहयोगमा उद्दारको काम गर्छौ”, उनले भने ।
त्यस्तै शान्ति पुनस्र्थापना गृह बेलहिया रुपन्देहीले २०७९÷८० मा विभिन्न प्रलोभनमा परेर घर परिवारको स्वीकृति बिना नेपालबाट भारततर्फ जाँदै गरेका २२ वटा जिल्लाका ७० जना नेपाली किशोरी तथा युवतीलाई भारत जाने क्रममा रुपन्देहीबाट उद्दार गरेको हो । ती मध्ये सवैभन्दा धेरै उद्दार गरिएकामा रुपन्देहीका १५, रोल्पाका ६, गुल्मी ६, नवलपरासी ४, प्युठानका ४, पाल्पाका ३ जना छन् । मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कार्यरत संस्था शान्ति पुनस्र्थापना गृह बेलहिया रुपन्देहीले गरेको अध्ययनमा बेचबिखनको जोखिममा परेकामध्ये अधिकांशलाई सोधपुछ गर्दा सामाजिक सञ्जालको प्रयोगबाट आफू दलालको प्रलोभनमा परेको बताएका छन् । संस्थाका जिल्ला संयोजक निशा पन्थीले उद्दार गरिएका तथा आवश्यक सूचना तथा परामर्श दिइएका २ हजार ७२ जनामा अध्ययन गर्दा १८ देखि २५ वर्ष उमेर समूह बेचबिखनको बढी जोखिममा पर्ने गरेको बताइन् ।
त्यस्तै माईती नेपाल रुपन्देही शाखाको अनुसार अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा दुई सय ८५ जनाको सीमा क्षेत्रबाट र सात जनाको भारतबाट उद्दार गरिएको थियो । पछिल्लो आठ वर्षको अवधिमा माइती नेपालले १ हजार आठ सय ७१ जनालाई नेपाल–भारतको सीमा क्षेत्रबाट उद्दार गरेको छ । यो अवधिमा बेचबिखनमा परेका एक सय ३० जनालाई भारतीय प्रहरीको सहयोगमा भारतका विभिन्न स्थानबाट उद्दार गरी पारिवारिक पुनर्मिलन गराइएको थियो भने २०७९÷८० मा सीमा क्षेत्रबाट एक सय २८ जनाको उद्दार गरेको छ । भारतका विभिन्न स्थानबाट २ जनालाई उद्दार गरी नेपाल ल्याइएको छ । मानव बेचबिखनमा संलग्न १ जनालाई मुद्दा चलाइएको छ । यो अवधिमा सिमा क्षेत्रमा करिव ९ हजार जनालाई सिमा निगरानी मार्फत सचेतना तथा परामर्श दिइएको छ भने ८ जनालाई कानुनी सहायता दिईएको माइती नेपालका संयोजक माया क्षेत्रीले बताईन् ।
पछिल्ला वर्षमा मानव बेचविखनको अवस्था बढ्दै गएको देखिए पनि कानूनी कारबाहीको स्थिति भने कमजोर छ । पछिल्लो छ वर्षमा मानव बेचविखन सम्बन्धमा १८ मुद्दा मात्रै दर्ता भएका छन् । पीडित वा प्रभावितले उजुरी नदिदा पनि मुद्दा दर्ता हुन नसकेको बताउँछिन संयोजक क्षेत्री ।
त्यस्तै जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार पाँच बर्षमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी मुद्दा दर्ता फछ्र्यौट र बाँकीको तथ्यांक हेर्दा २०७५÷७६ मा १७ दर्ता १५ फछ्र्यौट र २ बाँकी २०७६÷७७ मा ७ दर्ता ७ फछ्र्यौट २०७७÷७८ मा २ दर्ता २ फछ्र्यौट २०७८÷७९ मा ५ दर्ता ५ फछ्र्यौट र २०७९÷८० मा ७ दर्ता ६ फछ्र्यौट र बाँकी १ रहेका छन् । यही तथ्यांकअनुसार पनि मानव बेचबिखन तथा ओसार पसारको ग्राफ मानव बेचबिखनमा काम गर्ने संस्थाको तथ्याङ्कमा जति बढेको छ त्यही अनुपात अनुसार मुद्दा दर्ता नभएको देखिन्छ ।
राजनीतिक प्रभाव र संरक्षणले मानव बेचबिखनमा बढावा
पीडित र समाजिक अभियन्ताहरु भन्छन्, “राजनीतिक दवाव सृजना हुन्छ, पीडितलाई पैसाको प्रलोभन देखाईन्छ, यसकारण जति कडा सजायको व्यवस्था गरे पनि न्यायको प्रक्रिया झन्झटिलो र राजनीतिक पहुँचको कारण पिडक उम्किन्छ र अधिकांश पीडित अदालतको ढोकासम्म पुग्न चाहँदैनन् र आपसमै कुरा मिलाएर घटना सामसुम पार्ने गरेका छन् । मानव बेचबिखन रोकथाम प्रभावकारी नहुनुमा पीडक राजनीतिको प्रभावमा र संरक्षणमा रहनु पनि एउटा महत्वपूर्ण कारण हो । ‘पक्राउ परेका दलाल कुनै न कुनै राजनीतिक पार्टीको नजिक हुनुले कारवाही प्रक्रिया शुरु हुनासाथ दबाब, पीडितलाई मिलापत्र गर्न धम्की दिने, परिवारका सदस्यलाई तर्साउने, आर्थिक प्रलोभन दिने गरेकाले नै मानव बेचबिखन चुनौती बनेको अभियन्ताहरु बताउँछन् । नेपालभित्रै हुने मानव बेचबिखन नीतिगत र नियामक निकायको दृष्टिमा पर्न कमजोर हुँदा हजारौं महिला तथा बालबालिका नेपालभित्रै भइरहेको मानव बेचबिखनको शिकार भइरहेका छन् । यो धन्दाका हाँगाहरु डान्सबार, दोहोरी, डिस्कोसम्म फैलिएका छन् ।
अधिवक्ता हेमा न्यौपानेका अनुसार मानव बेचबिखनलाई निषेध गर्नका लागि नेपालको संविधानको धारा २९ को शोषणविरुद्धको हकअन्तर्गत (३) मा कसैलाई पनि बेचबिखन गर्न, दास वा बँधुवा बनाउन पाइने छैन भन्ने उल्लेख गरिएको छ भने धारा ३८ को महिलाको हक र धारा ३९ को बालबालिकाको हकको व्यवस्थाबाट पनि मानवबेचबिखन तथा ओसारपसारको कार्यलाई निषेध गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ तथा नियमावली, २०६५ नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसारको नियन्त्रणका लागि तजुमा गरी लागु गरिएको ‘जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३’ खारेज गरी ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ र सोको ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५’ कार्यान्वयनमा रहेको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसँग सम्बन्ध राख्ने झण्डै एक दर्जन ऐन तथा नियमावली छन् । मानव बेचबिखन तथा ओसारपसारको क्षेत्र व्यापक हुँदै आइरहेको छ । श्रम शोषण, यौन शोषण, गैरकानुनी अङ्ग प्रत्यारोपण, दासता, मानव तस्करीजस्ता सबै विषय मानव बेचबिखनको परिभाषाअन्तर्गत पर्न आउँछन् । कानुन भने विषयअनुसार भिन्नभिन्न रहेका हुन्छन् । फरक कानुन फरक निकायबाट कार्यान्वयन हुँदा मानव बेचबिखनका कतिपय दलाल अभियुक्तले सजिलै उन्मुक्ति पाउने गरेका छन् ।
मानव बेचबिखन नियन्त्रण कार्यलाई प्रभावकारी बनाइ यसका अभियुक्तलाई कानुनको दायरामा ल्याउन स्वदेश वा विदेशमा हुने सबैले श्रम शोषण, यौन शोषण, गैरकानुनी अङ्ग प्रत्यारोपण तथा दासताजस्ता मानव बेचबिखन एवं मानव तस्करीसम्बन्धी कानुन तथा निकायबीच समन्वय गर्न आवश्यक रहेको अधिवक्ता न्यौपाने बताउँछिन् ।