© २०२३
नवलपरासी,२७ साउन । पश्चिम नवलपरासी अहिले ठूला उद्योगको हब बन्दै गएको भएपनि उद्योगमा रोजगारी हुने संख्या खुल्न सकेको छैन । उद्योग खुल्ने देखिएपनि कामदारको लगत विवरण सरोकारवाला निकायले नलिँदा रोजगारीको अवस्था खुल्न नसकेको हो ।
बाहिरबाट आउने जोसुकैले जिल्लाभरि त्यसमा पनि रामग्राम नगरपालिका क्षेत्रमा उद्योगको धूवाँ फाल्ने चिम्नीले नै उद्योगको अवस्था प्रदर्शित गर्छ, तर रोजगारीको विवरण पाउन मुस्किल रहेको नागरिक समाजका पूर्व अध्यक्ष समेत रहेका स्थानीय सम्भु उपाध्यायले बताए । उद्योग खुल्नु राम्रो हो, उनले भने, तर स्थानीयबासीले कतिको रोजगारी पाए, सरकारले कतिको राजश्व उठायो, समाजले के कतिको सामाजिक उत्तरदायित्व (उद्योगको सिएसआर) मार्फत कतिको योगदान पायो, यसको विवरण भेटाउनै मुस्किल छ ।
‘उद्योगको संख्या थपिँदैमा स्थानीयले रोजगारी पाउछन्, भन्ने लाग्दैन्,’ उनले भने, –‘किनकी उद्योगमा स्थानीयलाई रोजगारी दिँदै गइयो भने नेपालको श्रम ऐन अनुसारको ज्याला मजदुरी बाहेक थप बिमा, दुर्घटना बीमा, सञ्चयकोष, राहत कोष, बोनस लगायतका रकमको पनि भार उद्योगले उठाउनु पर्छ । जबकी उद्योगहरू त्यसबाट भाग्न चाहन्छन् । त्यही भएर पनि कुनै पनि उद्योग भित्रको रोजगारी विवरण, उत्पादन विवरण पारदर्शि हँुदैन ।
उद्योग ब्यवसायीहरूकै संस्था उद्योग बाणिज्य संघमा विगत बर्षमा उद्योगलाई चाहिने जनशक्ति आपूर्तिका लागि तालिम केन्द्र समेत खोलियो, रोजगार विवरण थापा पाउनका लागि रोजगारी सूचना सबै खोलियो, तर अहिले संघभित्र नत तालिम केन्द्र चलेको छ, नत रोजगारी सूचना केन्द्र नै चलेको छ । नवलपरासीमा उद्योगको रोजाइँ यहाँका जनतालाई रोजगारी र किसानको उत्पादन कच्चा पदार्थ खरिद गरिदिनेमा आधारित छैन । नवलपरासीमा उद्योग खुल्ने कारण बन्दै छ, नियमित पावर (विद्युत आपूर्ति) को सम्भावना । नवलपरासीमा अहिले चार प्रकारको पावर छिट्टै जोडिने विद्युत प्राधिकरणले जनाएको छ ।
भारतबाट आउने रामनगर विद्युत प्रशारणलाईन, कालिगण्डकी जलविद्युत, बुटवलको पश्चिमी क्षेत्रको राष्ट्रिय प्रशारण ग्रिड र चाँडै नै चितवनको नारायणघाटसम्म आईपुगेको पूर्वी क्षेत्रको राष्ट्रिय प्रशारण ग्रिड यी चारै प्रकारको विद्युतको हब पनि बन्दै गरेको कुरा पहुँचवाला उद्योगी ब्यापारीहरूले थाहा पाइसकेका कारण उनीहरूले नवलपरासीमा उद्योग खोल्ने इच्छा देखाउन थालेका हुन् ।
पूर्वी नवलपरासीमा उद्योगको अड्डा बनाइरहेका बिनोद चौधरी अहिले पश्चिमी नवलपरासीमा उद्योग मात्रै नभई राजनीतिक शक्ति सहित उदय भएका छन् । केराको चिप्स बनाउने उद्योग खोल्ने र सयौंलाई रोजगारी दिइने र केरा किसानको केरा खरिद गरि दिइने उनको चुनावी नारा पनि थियो । जनता समक्ष गरिएको बाचा अनुसार जनताले उनलाई राजनीतिक शक्तिका लागि मतदान र जग्गा समेत उद्योगका लागि उपलब्ध गराएका छन् । तर उनले गरेको बचनवद्धताको पर्खाइमा उनका क्षेत्रका जनता पर्खाइमा छन् ।
जिल्लाभित्र बजाज, होण्डा मोटरको पनि एसेम्बलिड्ड गर्ने उद्योग लागिसकेका छन् । आधा दर्जन छडको उद्योग, सिमेन्ट उद्योग, पेप्सी, भोड्का मदिरा, वियर, चाउ चाउ, प्लाष्टिकजन्य उद्योग र खाद्यान अन्तर्गत पनि राईसमिल, तेल प्रसोधन लगायत ४ दर्जन ठूला उद्योग जिल्लाभित्र स्थापना भइसकेका छन् । केही उद्योग सञ्चालनमा छन्, भने केही निर्माणाधिन पनि छन् । तर यतिको उद्योग खुल्दा पनि रोजगारी प्रवद्र्धनका लागि आवश्यक जनशक्ति कहाँबाट आपूर्ति गर्नेबारे जिल्लास्थित सरकारी निकाय र स्वयं उद्योग बाणिज्य संघसँग पनि छैन् । अधिकांस उद्योगमा भारत विहारका कामदार काम गर्ने गरेका छन् । केही दक्ष जनशक्ति पनि भारतबाटै आयात गरिँदै छ । तर स्थानीयलाई नै दक्ष बनाउने र उद्योगमा स्थापित गराउने कार्य सरकारी स्तरबाट पनि भइरहेको छैन ।
रामग्राम नगरपालिका भित्र के कति उद्योग खुलेका छन्, त्यसको यथार्थ लगत विवरण नभएको नगरपालिकाले जनाएको छ । ती उद्योगहरूमा के कति रोजगार र कामदार छन ? त्यसको विवरण माग गरिएको छ, तर उद्योगहरूले ती विवरण दिइ रहेका छैनन । उद्योगहरूले नगरपालिकालाई अटेरी गरिरहेको नगरपालिकाका उद्योग शाखा प्रमुख रामलाल भुसालले बताए । नगरपालिकाले उद्योग भित्रको रोजगारी र बस्तु स्थितबारे फर्म तयार गरि पठाएका छा तर ती फर्म भरेर अहिलेसम्म पठाएका छैनन । ठूला उद्योगपतिहरूले माथिबाटै पहुँच पुर्याएर आएका कारण नगरपालिकाका तल्ला तहका कर्मचारीलाई टेर्ने कुरै भएन् । उद्योगको प्रदूषण र मजदुर माथि हुने ज्यादतीबारे स्थानीयबासी र उद्योग ब्यवस्थापन बीच द्वन्द्व सृजना भए पछि मात्र उद्योगका प्रतिनिधि नगरपालिका र स्थानीय प्रशासन गुहार्छन् । त्यही मौका छोपेर स्थानीय प्रशासनले आफ्नो लाभको सुत्र जोड्छ नगरपालिकाका पदाधिकारी र अधिकारी उद्योगसँग सम्बन्ध बनाउन पाउने अवस्था छ ।
उद्योगको उत्पादन विवरण र रोजगारीको अवस्था तथा आवश्यक जनशक्ति बारे बुझ्न उद्योगी ब्यवसायीको समस्याबारे अहिले सर्वेक्षण गर्ने कार्य भई रहेको उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले बताए । ओम राईसमिलका सञ्चालक समेत रहेका अग्रहरी हालै संघको नेतृत्व सम्हालनेको हँुदा बिस्तृत जानकारी अझै संघसँग नभएको स्वीकार गर्दै उनले छिट्टै उद्योगको जिल्ला स्तरीय प्रोफाईल बनाउने योजना समेत रहेको बताए । जिल्ला भित्र स्थानीय तहसँग समन्वय गरि उद्योग, ब्यवसायको अवस्था चित्रण हुने गरि पाश्र्वचित्र तयार गरिन्छ, उनले भने, तत्कालै अहिले समस्या संकलन गर्नका लागि सर्वेक्षण गराउँदै आएका छौं ।
उद्योगहरू नवलपरासीमा भए पनि अधिकाँश ठूला उद्योगको केन्द्रिय कार्यालय राजधानी काठमाडौ हुने गरेको छ,सहायक स्तरको कर्मचारी उद्योगमा बस्ने गर्दा कुनै प्रकारको सूचना लिन जानेहरूलाई उनीहरूले सो सुचना दिनका लागि आफूहरूसँग अधिकार नभएको बताउदै फर्काउने गर्छन् । उद्योग खुल्यो तर रोजगारी नखुल्नुमा प्राविधि,मेसिनरी पनि भएको हाटबाजर जिल्ला समन्वय समितिका अध्यक्ष राधेश्याम अग्रहरीले बताए । ठूलो उद्योगले स साना घरेलु उद्योग विस्थापन मात्रै गराएन्, उनले भने,उद्योगमा रोजगारी भन्दा मेसिनरी धेरै प्रयोग हुने हुदा भएको बेरोजगारी पनि समाप्त भयो । विगतका उद्यम गर्ने, हाटबजारमा आफ्नो कला कौशल र उत्पादन बेच्ने परम्पराले समाजमा समाजबादको अनुभुति गराउथ्यो, तर अहिले ठूला उद्योगले निजी पुजिँपतिलाई नै बढावा दियो,समाजमा समाजवाद पनि हराउँदै गएको छ ।
देशका युवाहरूको श्रम सरकारले विदेश पुजिँपतिको हाथमा बिक्री गर्न सम्झौता गरि बेच्ने र स्वदेशमा पुजिँपतिहरूको हाथमा राष्ट्रिय पुजिँ सुम्पिदै पुजिँपतिको गुलाम बन्ने प्रवृति हामी भएको उनको भनाई थियो । नेपाल राष्ट्र बैंकको पैसा होस वा नागरिकको निक्षेप होस निजी बैंक मार्फत तिनै उद्योगपतिलाई ऋण प्रवाह हुन्छ, विपन्न किसान ब्यपारीलाई त्यस्ता ऋण पाउने अवस्था नै हुदैन् । स्थानिय स्तरमा किसार र साना ब्यवसायीले ऋण नपाए पछि बैदेशिक रोजगारीमै आफ्नो श्रम बेच्न जानु पर्ने बाध्यता रहेको उनले सुनाए ।