© २०२३
बुटवल, २० साउन । हिन्दुहरूको आस्थाको केन्द्र तथा पूर्वीय ज्ञानको केन्द्र बनारसको झिलिमिलीमा हुर्किएकी अनि भारतकै प्रसिद्ध विश्वविद्यालय मध्येको एक वनारस हिन्दु विश्वविद्यालयमा आईए अध्ययन गरेपछि आफन्त भेट्न नेपाल आएकी १९ वर्षे युवतीलाई नेपालमा शिक्षक बनेर ४ दशक बिताइएला र नेपालमै बसिएला भन्ने कल्पनासम्म थिएन । पुर्खाको माटो टेक्न र आफन्त भेट्न आएकी ती गोपी खत्री ६ दशकदेखि गोपी दिदी बनेर समुदायको मनमा बसिरहेकी छन् ।
१९ वर्षको उमेरमा नेपाल आएको केही समयपछि नै एकजना आफन्तको सल्लाहमा खत्रीले २०१३ सालमा बुटवल माविमा पढाउन शुरु गरेकी थिइन् । स्नातक तहको परीक्षा दिनको लागि २०१५ सालमा उनी वनारस गएपछि बुटवल माविमा फर्किनन् । २०१६ सालमा मणिग्राम ४ नम्बर मामाघरमा पुगेको बेलामा राममणि आदिले मणिग्राममा शुरु गरेको शान्ति स्कूलमा पढाउनको लागि मणि परिवारले आग्रह गरेकोले उनले प्रधानाध्यापकको भूमिकामा पढाउन थालिन् । राममणिको घर नजिक रहेको फुसको छाना भएको कटेरोमा विद्यालय संचालन गरिएको थियो । अनि मणिकै घर नजिक खत्रीलाई बस्ने व्यवस्था मिलाइएको थियो ।
बनारसको सुविधामा हुर्किएकी खत्रीलाई घना जंगल फाँडेर भर्खर बसालिएको वस्ती मणिग्राममा विद्यालय संचालन गर्नु निकै चुनौतिपूर्ण कार्य थियो । ‘बाटोघाटो, बिजुली, पानी र बजारको अभाव, भर्खरै बस्न शुरु गरेका बस्ती भएको मणिग्राम त्यो बेलामा निकै दुर्गम थियो । समाजमा पढ्नुपर्छ भन्ने भावना कम भएको अवस्थामा विद्यार्थी खोज्न र नियमित कक्षा संचालन गर्न निकै कठिन थियो । तर पनि स्थानीय समाजसेवीहरूको सहयोग अनि बुटवल माविमा अध्यापन गर्दाको अनुभवले गर्दा विद्यालयलाई अघि बढाउन सकियो’ खत्री स्मरण गर्छिन् ।
केटीहरूलाई पढाउने चलन नभएको अवस्थामा आफू विद्यालयको शिक्षिका र प्रधानाध्यापक भएपछि समुदायमा केटीले पनि पढेर केही गर्न सक्छन भन्ने धारणाको विकास भएकोले २०२० सम्म आइपुग्दा शान्ति स्कूलमा छात्राहरूको संख्या छात्रको हाराहारीमा पुगेको उनी बताउँछिन् । प्रधानाध्यापक भएपनि सबैले माया गरेर खत्रीलाई गोपी दिदी भन्ने गर्दथे । यसैको सिको गर्दै मणिग्राम क्षेत्रका सबै सामुदायिक विद्यालयका शिक्षिकाहरूलाई विद्यार्थीहरूले दिदी भनेर सम्बोधन गर्ने चलन शुरु भएको थियो । ‘म हजुरबादेखि नातीसम्मका मान्छेकी दिदी थिएँ’ गोपी दिदीले हाँस्दै सुनाउँछिन् ।
भाषासेवी राममणि आदिले विद्यालय स्थापना गरिदिएर जग्गा समेत दान दिएपनि विद्यालयलाई दीगो बनाउनु गोपी खत्रीको मुख्य जिम्मेवारी थियो । खत्रीकै पालामा शान्ति स्कूलले २०२३ सालमा माध्यमिक तहको स्वीकृति पायो र २०२४ सालमा पहिलो पटक शान्ति स्कूलका विद्यार्थीहरू एसएलसी परीक्षामा सहभागी हुने अवसर पाए । आफूले नेतृत्व लिएको शान्ति स्कुल शान्ति माध्यमिक विद्यालय बनेपछि खत्रीले केही समय बि.एड. अध्ययनको लागि विश्राम लिएकी थिइन् । बि. एड. अध्ययन गरेर फर्केपछि २०३१ सालमा पुनः शान्ति नमूना माध्यमिक विद्यालयमा पढाउन आएपछि उनले अनवरत रूपमा २०५४ सम्म पढाएर शिक्षणबाट अवकास लिएकी थिइन् ।
‘अहिले शान्ति नमुना मावि नेपालकै उत्कृष्ट विद्यालय मध्येमा पर्दछ, यसको जग तयार गर्ने काम गोपी दिदीले गर्नुभएको हो । उहाँ कुशल हेडमास्टर र शिक्षक, अविभावक तथा विद्यार्थीकी प्रिय दिदि हुनुहुन्थ्यो । उहाँले आफ्नो निजि जीवनलाई विद्यालयको लागि समर्पित गर्नुभयो,’ गोपी दिदीका विद्यार्थी रहेका शान्ति नमूना माविका प्रधानाध्यापक कुलप्रसाद लामिछाने भन्छन् ।
लामिछानेको जस्तै धारणा छ तिलोत्तमा –८ निवासी बामपन्थी विश्लेषक तथा लेखक देवेन्द्र घिमिरेको । करिब ४ वर्ष गोपी दिदीका विद्यार्थी रहेका घिमिरेले रूपन्देहीको मध्य भागमा शिक्षाको पहुँच बढाउँन निकै मेहनत गरेको र विद्यालय छोडेर अन्यत्र पुगेका विद्यार्थीहरूलाई निरन्तर समाजसेवामा लाग्न प्रेरणा दिइरहने गरेको स्मरण गर्छन । १९ वर्षको उमेरमा शिक्षक बनेकी गोपी दिदीले व्यक्तिगत गृहस्थ जीवनमा भने प्रवेश गरिनन् । ’बिहे किन नगरेको ?’ भन्ने प्रश्न खत्रीलाई सबैले सोध्छन् । खत्रीले सबैलाई हासेर जवाफ दिन्छिन– ’ लेखान्त त्यस्तै भएर होला ।’
सानैमा बाबु गुमाएकी खत्रीले किशोरावस्थादेखी नै परिवारको जिम्मेवारी बहन गर्नु प¥यो । बिरामी आमाको स्याहार, बहिनीको रेखदेख र बहिनीको गृहस्थी बसाउने चक्करमा आफ्नो बिहे र घरजमको वास्ता नै नभएको खत्री बताउछिन । आमाको मृत्यु र बहिनीको बिवाहपछि गोपी दिदी बहिनीसँग बस्न थालेकी थिइन् । संगै बसेर बहिनीका छोरीहरूलाई हुर्काईन् । २०७७ सालमा बहिनीको निधन भैसकेको छ र सबै छोरीहरूको विहे भएर आफ्नो संसारमा रमाएका छन् । गोपी दिदीले बिरामी ज्वाईको रेखदेख गरेर बसेकी छन् । आँखामा जलबिन्दु भएर ४ पटक अपरेशन गरेको बाहेक अरू कुनै स्वास्थ्य समस्या उनमा छैन । ८६ वर्षको उमेरमा पनि घरधन्दा र दैनिकी आफैले गरिरहेकी छन् ।
बिहान उठेर पुजापाठ गर्नु, घरधन्दा गर्नु अनि खाना खाएपछि केहीबेर करेसाबारीमा काम गर्नु गोपिदिदिको दैनिकी हो । फुर्सदको समयमा उनि मोबाइलमा सामाजिक संजालमा समेत जोडिन्छिन् । फेसबुकमा जोडिएकाहरू मध्ये अधिकांश मानिसहरू कुनै समयका गोपी दिदीका विद्यार्थीहरू नै छन् । सामाजिक संजालबाट आफ्ना विद्यार्थीहरूको प्रगति हेर्छिन, उनीहरूलाई सल्लाह सुझाव दिन्छिन् । पुराना विद्यार्थीहरूले सामाजिक संजालबाटै दिदीसंग भालकुसारी गर्छन र कहिलेकाही परिवार नै लिएर भेट्न आउँछन । “मैले निस्वार्थ रूपमा शिक्षण गरें, शायद यहि कारण ६५ वर्ष पहिले पढाएका विद्यार्थी र उनका सन्तान पनि खोज्दै आउछन । शायद मैले कमाएको सबैभन्दा ठुलो सम्पत्ति यहि हुनुपर्छ“ गोपी दिदि भावुक हुँदै भन्छिन् ।
गोपिदिदीले उठाएको शान्ति स्कूलले अहिले शान्ति नमूना माविको रूपमा देशमा विशिष्ट स्थान बनाएको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यालयले उनलाई निमन्त्रणा गर्छ । त्यसैले वर्षमा एकपटक उनी शान्ति स्कूलमा पुग्छिन् । पुराना विद्यार्थीहरू तथा उनका सन्तानहरू ‘गोपी दिदि’ भन्दै झुम्मिन आउछन् । मणिग्राम छेउछाउका आफ्ना पुराना विद्यार्थी र अभिभावकहरूको परिवारमा मर्दापर्दा गोपिदिदी हिडेर पुग्छिन । दुई वर्ष पढाएको बुटवल माविमा गोपी दिदि नपुगेको धेरै भयो । आफुले देखेको तथा शिक्षण गरेको नेपालको पहिलो विद्यालय भएकोले बुटवल माविको माया लाग्ने भएपनि लामो समय भएकोले स्कूलमा विताएका दिनहरू र विद्यार्थीहरू सम्झनाबाट हराएको उनी बताउछिन ।
लामो समय शिक्षणमा बिताएकोले अहिलेपनि गोपिदिदी शैक्षिक मुद्दाहरूलाई राम्रोसंग नियालिरहेकी हुन्छिन् । अहिले शिक्षा क्षेत्रमा देखिएका बेथितिले उनलाई निकै पिरोल्छ । उनलाई भेट्न पुग्ने सबैलाई उनले भन्छिन “शिक्षामा सुविधा बढेपनि संस्कार, सदाचार र मेहनत गर्ने बानी बढ्न सकेन । शिक्षकहरू पार्टीका झोले भएकोले विद्यालयहरू असल नागरिक बनाउने ठाउँ भन्दापनि जागिर खाने र राजनीति गर्ने ठाउँ भए ।”