© २०२३
भैरहवा, १६ साउन । रूपन्देही जिल्लामा मानवबेचबिखनको जोखिममा पर्नेहरूको उद्वारका क्रममा बढी जोखिम उमेर समूह १८ देखि २५ वर्ष सङ्ख्या एक अध्ययनले देखाएको छ । रूपन्देही जिल्लाबाट दक्षिणमा भारतको खुल्ला सीमा भएका कारण र भैरहवा, बुटवलमा धेरै रोजगारी र जनसङ्ख्याका आधारमा समेत मानवबेचखिनको जोखिममा धेरै पर्ने बिभिन्न संघ संस्थाहरू बताउँछन् ।
शान्ति पुनस्र्थापना गृहले २०७९ साल फागुन देखि २०८० असार मसान्तसम्म जिल्लाभरीबाट गरेको उद्धार तथा बिभिन्न तथ्याङ्कमा रूपन्देही जिल्लाबाट १८ वर्ष देखि २५ वर्ष उमेर समूहका बढी जोखीममा पर्नेहरूको सङ्ख्या धेरै रहेको पाइएको छ । १० वर्ष मुनिका १९ जनालाई परामर्श गरिएकोमा जोखिममा परेको पाइएन भने, ११ देखि १५ वर्ष उमेर समुह मध्ये २ सय ७ जनामा परामर्श गरिएकोमा मानवबेचखिन जोखीममा ११ जना रहेको र उनीहरूलाई उद्धार गरिएको शान्ति पुनस्र्थापना गृह रूपन्देही जिल्ला कार्यक्रम संयोजक निशा पन्थीले बताइन् ।
त्यसैगरि १८ देखि २५ वर्ष उमेर समुहका १२ सय ४० जनामा परामर्श गरिएकोमा जम्मा ३२ जनालाई उद्वार गरिएको जसमा २८ जनालाई प्रहरीको रोहबरमा जिम्मा लगाइएको र ४ जनालाई अभिभावकलाई जिम्मा लगाइएको पन्थीले जानकारी दिइन् ।
२६ वर्ष देखि ३० वर्ष उमेरका २ सय ४४ जनासंग परामर्श गरिएकोमा ५ जना उद्वार गरिएको ४ जनालाई प्रहरीको रोहबरमा जिम्मा लगाइएको १ जनालाई अभिभावकलाई जिम्मा लगाइएको छ । ३० वर्ष देखी माथि उमेर समूहमा १ सय ३८ जना परामर्श गरिएकोमा १० जनालाई उद्वार गरिएको मध्ये, ८ जनालाई प्रहरीको रोहबरमा जिम्मा लगाइएको २ जनालाई अभिभावकसंग जिम्मा लगाइएको पुनस्र्थापना गृहको रिर्पोटमा उल्लेख गरिएको छ । रूपन्देही जिल्लाबाट जम्मा २ हजार ७२ जनासंग परामर्श गरिएकोमा ७० जनाको उद्धार गरिएको, ८ जनालाई अभिभावकलाई जिम्मा लगाइएको, ६२ जना प्रहरीको रोहबरमा जिम्मा लगाइएको, २ जनालाई मुद्दा दर्ता गरिएको, २ जनालाई पुनस्र्थापनाका लागि पठाइएको, २ जना भारत वा अन्य देशबाट उद्धार गरि ल्याइएको जसमध्ये ५ सय ७९ जना विवाहित रहेको, १४ सय ९३ जना अविवाहित रहेको, १ सय ६० जनाको बुबा नभएको, ६१ ज्नाको आमा नभएको ५७ जनाको आमा बुबा नभएको पाइएको शान्ति पुनस्र्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमीराज भट्टराईले जानकारी दिए ।
आर्थिक वर्ष ०७९।८० मा जम्मा ७० जनाको उद्धार गरिएको छ । जसमा सबैभन्दा बढी उद्वार भएका उमेर समुहहरू १८ वर्षदेखि २५ वर्ष रहेको र सबै भन्दा बढी मानव बेचबिखनको जोखिमका पर्ने उमेर समुहरू समेत १८ देखि २५ वर्ष रहेको भट्टराई बताउँछन् । २ वटा मानव बेचखिन तथा ओसारपसार १ जना र जबरजीती करणीको मुद्दा १ जना गरी २ जना बिरुद्ध मुद्दा दर्ता भएको शान्ति पुनस्र्थापना गृहका क्षेत्रिय कार्यक्रम संयोजक निर्मल सुवेदीले बताए ।
शान्ति पुनस्र्थापना गृहले सीमा निगरानीमा नेपाल भारतको सीमा क्षेत्रमा आफ्नो सुचना तथा परामर्श केन्द्र स्थापना गरी नेपालबाट भारत वा भारतभई अन्य तेस्रो मुलुक तर्फ जाने महिला तथा बालबालिकाहरूलाई मानवबेचबिखन तथा ओसार पसार बिरुद्ध बिभिन्न परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । जसमा जोखिममा परेकालाई अभिभावकको जिम्मा लगाउने, बालबालिका तथा युवतीलाई परिवारसंग पुनर्मिलन गराउने, पिडितहरूलाई गृहको केन्द्रीय कार्यालयमा सिपमुलक तालिमका लागि पठाउने र रोजगारीको अवसर सिर्जना गर्ने जस्ता कार्यहरू गर्दै आइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरिक्षक(एसपी) भरतबहादुर विकले १८ देखी २५ वर्ष उमेरका भनेको बढी साथीभाईको लहलहैमा लाग्ने, पढाई ब्रेकअप भयो भने नयाँ रोजगार खोज्ने, विशेषतः अलिकति पारिवारिक बिखण्डन आर्थिक अवस्था अलिकति कमजोर भएका, बाबु आमाको गाइड नभएका परिवार, यो उमेरका मानिसहरू चाँडो कमाउने उद्धेश्यका कारण बढी बेचबिखनको जोखिममा हुने बताउँछन् ।
परिवारीक समस्या, गाइडेड नभएर पढाई बिचमै छाडेका मानिसहरू रोजगारको र पैसा कमाउने लहलहैमा बिश्वांसमा उनिहरू परेको देखिन्छ प्रमुख प्रहरी उपरिक्षक विक भन्छन्, पैसाको विश्वाँस राम्रो काम पाइन्छ, रोजगार दिन्छु, मार्केटिङ ब्यवसाय लाखौँ कमाउने ब्यवसाय हो भनेको देखिन्छ त्यो गरेपछि उनिहरू भ्रममा पर्छन् । एनलाइसिस पावर त्यति बढेको हुँदैन नदेखिएपछि बढी बेचबिखनमा परेको देखिन्छ ।