© २०२३
बुटवल, ३१ असार । जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्षमा ७२ दशमलव ३९ प्रतिशत कार्यप्रगति हासिल गरेको छ । कार्यालयले चालुतर्फ ९४ दशमलव ४८ प्रतिशत र पुंजीगततर्फ ७१ दशमलव २८ प्रतिशत बजेट खर्च भएको जनाएको छ ।
आर्थिक बर्ष ०७९/८० मा रूपन्देहीमा जलउत्पन्न प्रकोप नियन्त्रण र सिंचाई क्षेत्रको बिकासका योजना संचालनका लागि कुल बिनियोजित बजेट २५ करोड ६८ लाख ४१ हजारमध्ये १८ करोड ५९ लाख ५१ हजार रूपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख बिष्णु प्रसाद पौडेलका अनुसार चालु आवमा जिल्लाभर कुल ७४ वटा योजनाका लागि नेपाल सरकारको सशर्त अनुदानतर्फ ९ करोड ४० लाख र समानिकरण अनुदान तर्फ १५ करोड ४४ लाख बजेट बिनियोजित गरिएको थियो ।
आर्थिक बर्ष ०७९/८० मा सम्पन्न योजनाहरूको बिवरणसहित बार्षिक प्रगती प्रतिबेदन सार्वजनिक गर्दै कार्यालय प्रमुख पौडेलले बिभिन्न समस्या र चुनौतीहरूको सामना गर्दै सन्तोषजनक प्रगती हासिल भएको बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईले कृषि र सिंचाईं समस्याहरूको समाधानका लागि स्थानिय तह, प्रदेश सरकार र संघिय सरकारसँग समन्वय र सहकार्य गरेर ठोस योजना तर्जुमा गर्नुपर्नेमा जोडदिएका छन् । सैनामैना नगरपालीका प्रमुख फणिन्द्र शर्माले स्थानिय तहको माग अनुसार आवश्यक अध्ययन गरेर मात्र योजना तर्जुमा गर्न आग्रह गरेका छन् ।
बिगतमा नेपालकै नमुना सिंचाईंका रूपमा परिचित १६/३६ सिंचाईं प्रणालीका उपाध्यक्ष धु्रव धितालले सिंचाई र कृषिको बिकासका लागि स्थानिय जनताको माग र आवश्यक्ताका आधारमा कार्यक्रम बनाउनु पर्ने बताए । सियारी गाउपालीका उपाध्यक्ष तारा चौधरीले योजनाहरू जुन उत्साहका साथ शुरु हुन्छन तर समयमा सम्पन्न हुन नसकि जनतामा निराशा छाउने प्रबृतिको अन्त्य हुनुपर्ने धारणा ब्यक्त गरेकी छन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालीकाका प्रबक्ता शिव राना, देवदह नगरपालीकाका प्रमुख ध्रुव खरेल, कन्चन गाउ पालिकाका अध्यक्ष नवराज ढकाल, तिलोत्तमा नगरपालीकाका वडाध्यक्षहरू, लगाएतले बाढी, पहिरो नदि कटानलगाएत प्रकृतिजन्य बिपदबाट बर्षेनी धनजनको क्षति हुने गरेको चर्चा गर्दै नदि नियन्त्रण, पहिरो नियन्त्रण र भुक्षयबाट कृषिक्षेत्रमा हुने बिनास रोक्न दिर्घकालिन योजना बनाउन आवश्यक रहेको बताएका थिए ।