© २०२३
बिहान साँझ हाम्रो घरमा बा हजुरबाले गुनगुनाउने कि भजन हुन्थे कि श्लोकहरू । श्लोकहरू कि नेपाली भाषाका हुन्थे कि संस्कृतका हुन्थे । नेपाली भाषाका श्लोकहरूमा भानुभक्त (आचार्य) का रामायणका, सुब्बा होमनाथ केदारनाथ (खतिवडा) को महाभारतको पाण्डव गुप्तबास जानु अगाडिको भगवतीको स्तुती, स्वर्गद्वारीका महाप्रभु (नारायण खत्री) को वर्णस्तुती (यसलाई ककस्तुती पनि भनिन्थ्यो), शिखरनाथ सुवेदीको शिखरनाथ भाष्यको स्वप्नाध्यायका केही श्लोक, पहिला किताबमा छापिएका केही फुटकर कविता, श्रुति परम्पराबाट सर्दै आएका केही सबाइहरू पनि पर्थे । अधिकांश नेपाली भाषाका श्लोकहरू भानुभक्तकै हुने गर्दा रहेछन् भन्ने कुरा त पछि मात्रै थाहा भयो ।
रामायण पुस्तकका प्रत्येक पानामा ‘असली आठ काण्ड रामायण’ र ‘भानुभक्तको रामायण’ लेखिएको देखिए तापनि ती मसिना अक्षरको वास्ता गरिएन । पछि कक्षा चारमा पढ्दा ‘हाम्रो नेपाली राष्ट्रभाषा साहित्य’ पुस्तकमा एउटा भानुभक्त शीर्षकको कविता थियो । त्यसका रचयिता को थिए सो भने हेक्का रहन सकेन । कविता यस्तो थियो ।
भानुभक्त कविका कवितामा । छैन के सब कुरा यिनमा छन् ।
युक्त छन् सरल भाव र भाषा । धर्म कर्म पनि छन् अति खासा ।
ज्ञान बुद्धि उपदेशहरू छन् । शक्ति भक्ति अरू छन् बढता झन् ।
छन्द छन् हृदय माफिक राम्रा । धन्य धर्म कवि औसर हाम्रा ।
भानुभक्त कविका कविता ली । गाऊ नित्य कविका कविता ती ।
ज्ञानले हृदयले मन लाऊ । ठाउँ ठाउँ डुल खूब फिँजाऊ ।
गाऊ लौ घरघरै सब जाऊ । गाउँमा अनि सुनाऊ सिकाऊ ।
यो कविता पढाउँदा भानुभक्तका रामायण बाहेक अन्य कविताका पनि कुरा आए । घाँसी, भक्तमाला, बधुशिक्षासम्बन्धी कुरा आए पनि हाम्रा लागि रामायण नै सहज प्राप्य उदाहरण हुन सक्थ्यो । जब कक्षामा रामायणका कुरा आए अनि मात्र भानुभक्तको रामायणको खास अर्थ खुल्यो ।
जम्मा एकहजार तीनसय उन्नाइस श्लोकको सो रामायण सय सबासय श्लोक त बुबा हजुरबुबाले कण्ठस्थै भन्नुहुदो रहेछ ।
बालकाण्डमा– एक् दिन् नारद……..६ श्लोक । राम् हुन् परात्मा…….१ श्लोक । हे राजन् दशरथ्जीका…….७ श्लोक ।
अयोध्याकाण्डमा– ताहाँ सीता राम्का…..साढे बीस श्लोक ।
अरण्यकाण्डमा– अत्रिका आश्रमैमा ……१ श्लोक ।
किष्किन्धाकाण्डमा– जस्सै मुक्त भई ……१श्लोक । बाली सुग्रिब दुई ….साढे तीस श्लोक ।
सुन्दरकाण्डमा– तर्छु क्षार समुद्र…..१५ श्लोक । एक् दिन् हे हनुमान्….ढाई श्लोक । यो ईन्द्रजित् गई ….७ श्लोक ।
युद्धकाण्डमा– लङ्कापुरी सकल खाक्….२श्लोक । राम् नारायण हुन्… साढेतीन श्लोक । बाँध्या सेतु छपन्न….१ श्लोक ।
उत्तरकाण्डमा– नारायण् हुनुहुन्छ विष्णु…..८ श्लोक ।
यी भनिनेमध्ये ‘सीता स्वयम्वर’ शीर्षकमा हे राजन्….., ‘पादुका दान’ शीर्षकमा ताहाँ सीता राम्का….., ‘रावणलाई हनुमान्को अर्ती’ शीर्षकमा यो ईन्द्रजित् गई…. कविता आफूले कक्षामा पढ्ने पाठ्यपुस्तकमा त्यति ठूलो ग्रन्थबाट झिकिएको पाउँदा निकै खुशी लाग्थ्यो । र अचम्म पनि लाग्थ्यो शीर्षक जुराएको देख्दा ।
भानुभक्तका अन्य फुटकर कविता घाँसी, कान्तिपुरी नगरी पनि कक्षागत पाठ्यपुस्तकमा पढ्ने अवसर मिलेको थियो । भानुसम्बन्धी थप जानकारी लिन भैरब अर्यालको जय भुँडी र दश औतार पुस्तकले पनि सहयोग गरेका थिए । पछि अहिलेसम्मका प्राप्त फुटकर कविता र छोरालाई राम्ररी पढाउनू भनी श्रीमतीलाई लेखेको चिठी हेर्न पाउँदा भानुको व्यक्तित्वको मोटामोटी आँकलन गर्न सकिने स्थिति देखिन आएको छ ।
चिठी यस्तो छ ।
उप्रान्त पढ्दैनस् भन्या सुन्दछु । मेरा कण्ढा परि जति उम्लन्छस् म यहाँबाट क्या गरुँ । म ताहाँ आया पछि तैँले नपढ्याको ठह¥याञा भन्या बाबै तेरा ज्यानको आशा नराखी लात मान्र्याछु । कि तैँले मर्नु पर्ला कि मरी सुख पाउन्याछस् कि पढी सुख पाउन्याछस् । कि तैँले मर्नू कि पढ्नू । तेरी आमाले पनि यो चिठी हेरी साँझ बिहान तँलाई लात मारी घोक्न लगाओस् ।
भानुभक्तले आफ्नो चिनारी हजुरबुबामार्फत् दिन रुचाएका छन् । हजुरबुबाको शास्त्र ज्ञानप्रतिको मोह उनमा उच्च रहेको देखिन्छ । उनले आफ्नै हैसियतले चिनारी दिँदा भने गाउँघरको कुटोकोदालो गर्ने सामान्य कृषकको रूपमा दिन खोजेको देखिन्छ । जागिर् छैन धनी म छैन घरको केवल् कुदालो खनी । खान्थ्याँ….।
आफ्नो परम्परागत संस्कारप्रतिको प्रतिबद्धतामा भानुभक्तको लगाव निकै उच्च देखिन्छ । आठ वर्षको उमेरमा छोराको व्रतबन्ध गर्नु सर्वाेत्तम हुन्छ भन्ने कुरालाई आफू जेल परेको बखत तत्कालीन शासकलाई बडो मार्मिक बिन्तिपत्र यसरी लेख्छन् ।
चालीस् वर्ष भयाँ म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको ।
आयो काल् व्रतबन्धको गरुँ कसो बेला त हो हर्षको ।
क्यारुँ नाथ म ता पर्या फजितिमा एक्लो ञाहाँ छु फगत् ।
कुन् पाठ्ले व्रतबन्ध पार् गरुँ भनी देख्छु अँध्यारो जगत् ।
गायत्री दिनु बाबुको छ अधिकार् दीक्षा दिनु माईको ।
बालक्ले पनि वेद् पढिकन सुसार् गर्नु गुरु गाईको ।……..
यहाँ भानुभक्तले कर्तव्यको ठाउँमा अधिकार शब्दको प्रयोग गरेका छन् र उनी विषम परिस्थितिमा पनि कर्तव्यच्यूत नहुनको लागि सक्दो प्रयासरत देखिन्छन् ।
भानु भाषिक आदर्शमा पनि निकै परिपक्क र प्रतिबद्ध देखिन्छन् । आफूले कुनै फरक आदर्श (नेपाली भाषामा साहित्य रचना) स्थापित गर्न लाग्दा अन्य आदर्शलाई(संस्कृत भाषाका मूल्य मान्यता) लत्याएर आफ्नो आदर्श उच्च हुन्छ भन्ने सोच सबैजसो मान्छेमा पाइने स्वभाव हुन् । तर भानु यस सम्बन्धमा अटल न्यायिक व्यक्तित्वको रूपमा देखा पर्छन् । उनले तत्कालीन पण्डितहरूले निम्न कोटीको ग्राम्य भाषा नेपालीमा कविता कोर्छ भनी हेप्ने समयमा नेपाली भाषामा निर्धक्कसंग कविता लेखे । संस्कृत भाषाको मूल्य मान्यतामा आँच आउने कुरामा उत्तिकै सजग र सचेत रहे । त्यसबेला उनले संस्कृत भाषाको मूल्य मान्यता डग्मगाउनु हुन्न भन्ने सन्दर्भमा जति बोल्थे नेपाली भाषामा लेखेर देखाऊ भनी लेखकलाई दह्रो चुनौती पनि दिन्थे । कुनै एक पण्डितले संस्कृतको नियम मिचेर किन खर् प्रत्याहार पछि विसर्गको लोप ग¥यौ भन्ने पत्रको जबाफमा मैले गरेको छैन बरु तिमीले नै गर्यो भनेर यसरी लाजमर्नु पारिदिएका थिए ।
खर् अक्षर् पर भै विसर्ग तिमीले क्याले गर्यौ लोप् भनी ।
कस्ता पण्डित ह्वौ भनेर तिमीले लेखी पठायौ पनि ।
खर् अक्षर् पर भै विसर्ग तिमीले पो लोप् गर्यौ देखियो ।
यस्तै काम् गरी हिड्दछौ र तब पो उल्लू भनी लेखियो ।
न संस्कृतमा शुद्ध न नेपालीमा शुद्ध गरी छ्यासमिसे लेख्ने लेखकप्रति पनि भानुभक्त निर्मम तरिकाले खनिएको देखिन्छ । यसले पनि भाषिक मर्यादाप्रतिकोे चिन्तनलाई स्पष्ट पारेको छ । त्यस्ता छ्यासमिसे लेखकलाई भानुले यसरी दोहोलो काढ्छन् ।
भाषा श्लोक् भनु ता अवश्य अरू ता बुझ्दैन कोई पनि ।
संस्कृत् हुन् भनु ता यी शास्त्रीहरू ता धेर् छन् अशुद्धा भनी,
भन्छन् आज ठिमाहाका गणितमा तिम्रा शिलोक् यी गया ।
भाषा श्लोक बनाई राख तिमी नाक्, बुद्धि र बर्कत् भया ।
आफू नेपाली र संस्कृत भाषाको राम्रो ज्ञाता भैकन पनि दुवैमा उनले तेसरको मूल्याङ्कनलाई अगि सारेर भनाइलाई प्रामाणिक बनाएका छन् । नेपाली भनौं भने सो भाषाकाले(अरू) बुझ्दैनन्, संस्कृत भनौं भने संस्कृतमा स्नातक(शास्त्री)हरूले अशुद्ध छन् भन्छन् भनेर आफू शोधकर्ताको भूमिकामा रहेका देखिन्छन् । उनले इज्यत(नाक), बुद्धि, क्षमता(बर्कत) छ भने नेपालीमा लेख भनी ठिमाहा लेखकलाई उपदेश गरेका छन् ।
विभिन्न उजुरी फिरादपत्र पनि श्लोकबद्ध गरी पेश गर्ने भानुभक्तले धेरै ठाउँमा सोझासोझ लेखे पनि गिरिधारी भाटको सन्दर्भमा भने आफ्नो कुरालाई आफै काट्ने गरी कुतर्क गरेका छन् ।
बीस् साल्सम्म त ज्यानत्यान यहीँ बाँद् लाग्यो र खेत् रोपियो ।
यो साल् बाँद् पनि खोलिएछ जलले ढुङ्गा सबै छोपियो ।………..
लुच्चा हुन् यस भाटका सब कुरा आफै कुला मुनिकै ।
खेतैलाई त टापु भन्दछ भन्या यस् भाटको क्या सही ।
खोलो खोलियो, रोलियो वा गहिरियो भने कि त कुलाको बाँद माथितिर सार्नुपर्छ कि त त्यस ठाउँमा ठूलो रह पर्ने गरी पानी थुनेरमात्र कुलामा पानी चढ्छ कि त कुलालाई नै गहिरो पारेर कुलामा पानी चढ्छ । यहाँ बाँद सारेको भन्ने कुरा पनि देखिन्न, ठूलो रह पर्ने गरी पानी थुन्न नसकिएको कुरा स्वयम् भानुभक्तले नै भनेका छन् । अब अन्तिम विकल्प कुलोलाई गहिरो पार्ने मात्रै बाँकी रहेको छ । यही विकल्प प्रयोग गर्दा गिरिधारी भाटको खेत अर्गले भएको छ अर्थात् टापु भएको छ । कुला मुनिको खेतमा सरल हिसाबले कुलाको पानी लाग्छ तर यस्ता केही अपवाद हुन्छन् जुन गिरिधारी भाटलाई परेको छ ।
भानुभक्तले गाउँघरमा हुने विभिन्न क्रियाकलापमा रुचिका साथ भाग लिन्थे भन्ने प्रमाण जूवा खेलाइबाट अनुमान गर्न सकिन्छ । जूवामा पनि तास, पासा, कौडा सबै खेल्दा रहेछन् भन्ने देखिन्छ । दिनभरिमा साठी हारेँ भन्ने कुराले साँच्चै डरलाग्दा जूवाडे भएको छनक समेत दिन्छ । यहाँ जति सरलरूपमा ‘साठी हा¥याँ’ भनिएको छ त्यो भनाइ त्यति सहज नहुनु पर्ने हो । त्यस बेलाको साठी रूपैयाँले त सानोतिनो निर्बाहको घरबारी जोर्ने थैलो पो हो त । उनको अभिव्यक्ति यस्तो छ ।
तान्यो एग्घारबाटै पनि उडी बहुतै चक्कीले दिग् गरायो ।
एक्छिन् पासा विचार्या उही पनि गई झन् आउन्या आस् हरायो ।
छक्का लिम् पर्छ चौका यही रित हुन गो चक्की, पासा, छरुवा ।
खेल्दामा साठी हा¥याँ दिन पनि सकियो आज भैयो हरूवा ।
घरायसी औषधी निर्माणका श्लोक, नीति अर्तिका श्लोक, सूत्रात्मक ज्ञान श्लोक, कुट रचनासम्बन्धी श्लोक रचना गर्ने भानुभक्तले धेरै विषयमा आफ्नो रुची रहेको कुरा स्पष्ट पारेका छन् ।
धर्म, कर्म र भाग्यमा बढी लगाव भएको त्यस बेलाको समाजमा पण्डितले ज्योतिष विद्या पनि जानेको छ भने मात्र त्यस्ता पण्डितलाई पूर्ण पण्डित मान्ने चलन थियो । कामचलाउ ज्योतिष विद्या भानुभक्तले पनि सिकेको कुराको सङ्केत उनले आफ्नो जन्म कुण्डली श्लोकमा प्रस्तुत गरेर दिएका छन् ।
ति शालीवाहन्का समय षडत्रिंशत् भइकन ।
अनि आषाढ मास्को दिन पनि उनन्तीस् गइकन ।
घडी एक्तीस्माहाँ विघटी पनि बत्तीस् परिकन ।
नवांशक् कण्ठीरव् धनुष परि जो बेस लगन ।
मिथुन्मा सूर्यै छन् गुरु निलय मीन्का विधु पनि ।
महीसुत्, बुध्, राहु शशि सदनका ई तीन पनि ।
गुरु भाग्यस्थान्का रविभवनमा गैकन बस्या ।
भृगुजी ता आफ्नै सदन वृषमा गैकन पस्या ।
मकर्मा सौरी छन् ध्वजसहितका स्वग्ग्रिहि यहाँ ।
बतायाका क्रम्ले ग्रहहरू बस्या कुण्डली महाँ ।
सो अनुसार उनको जन्म नक्षत्रको नाम भानुभक्त भएको देखिदैन । उनको जन्म नक्षत्रको नाम भानुभक्त नै भएको भए जन्म कुण्डलीमा चन्द्रमा धनु राशीमा हुनुपथ्र्यो । तर उनका अनुसार चन्द्रमा मीन राशीमा छन् । त्यसैले उनको नाम दि, दु, थ, झ, ञ, दे, दो, च, चि मध्येका अक्षरबाट रहनु पर्ने देखिन्छ । त्यसमा पनि शिघ्रबोधी ज्योतिषी( शिघ्रबोध नामको फलित ज्योतिषसम्बन्धी छोटो टिपटापे जानकारीमूलक किताब पढेर ज्योतिषी हुँ भन्ने) बनेर त्रिभागी ग्रहादि भोग्यकाल अनुसार ग्रहाचार अनुमान गर्दा भानुभक्तको मृत्यु मङ्गल महादशाको भोग्यकालको अवसरमा हुनुपर्छ भन्नुपर्छ । यसो हुनको लागि उनको जन्म कालको महादशा शनिबाट सुरु हुनुपर्छ । यदि यसो हो भने उनको जन्म नक्षत्र उत्तरभाद्र हुनु पर्ने देखिन्छ । यसो हो भने उनको नाम दु, थ, झ, ञ यी चार अक्षर मध्ये कुनै एक अक्षरबाट सुरु हुनुपर्छ ।
त्यसो त उनी रेवती नक्षत्रमा जन्मेको भए पनि जन्मकालको महादशा बुध र योगिनी दशा पिङ्गला हुन आउँछन् । यसो हुँदा उनको मृत्यु राहु र उल्काको भोग्यकालमा हुने देखिन्छ । राहु मृत्युस्थानमा निचो मङ्गलका साथमा हुनुले मारकेसको योग देखाउँछ ।
भानुभक्तको न्वारनको नाम अर्थात् जन्म नक्षत्रको नाम बारे शोधखोज गर्ने क्रममा भक्ति नमुना उच्च माध्यमिक विद्यालय भोटे ओडार लमजुङका प्राचार्य उत्तरकुमार श्रेष्ठसंग सम्पर्क राख्दा प्रसङ्गबश कक्षा नौका एक जना विद्यार्थीले आफ्ना काहिँला काकाको हवाला दिँदै देवीप्रसाद आचार्य हो भनेको कुरा बताउनु भयो । यदि यसो हो भने माथि भने झैं उनको जन्म रेवती नक्षत्रको पहिलो पाउमा जन्मेको देखिन आयो । यसो हँुदा ४४ वर्ष ८ महिनोखि ५६ वर्ष ८ महिना सम्म राहुको भोग्यकाल रहन्छ र ५० वर्षदेखि ५६ वर्षसम्म उल्काको भोग्यकाल रहन्छ । ५४ वर्षको उमेरमा देह विसर्जन गरेका भानुभक्तले मृत्युस्थानमा बसेको राहु र उल्काको भोग्य कालमा मारकेस प्रमाणित हुन आउँछ ।
उनकै भनाइ अनुसार मङ्गल अष्टमस्थान अर्थात् मृत्युस्थानमा निचो स्थितिमा रहेको छ । मङ्गलसंग बुध र राहु पनि छन् । जन्मकाल शनि महादशा र मङ्गला योगिनी दशाबाट जीवन यात्रा सुरु गरेका भानुले १२वर्ष आठ महिनासम्म शनि, २४ वर्षसम्म बुध, २८ वर्ष ८ महिनासम्म केतु, ४२ वर्षसम्म शुक्र, ४६ वर्षसम्म सूर्य, ५२ वर्ष ८ महिनासम्म चन्द्रमा र ५७ वर्ष ४ महिनासम्म मङ्गलको भोग्यकाल रहने हुन्छ । त्यसैगरी योगिनी दशामा १वर्षसम्म मङ्गला, ३वर्षसम्म पिङ्गला, ६ वर्षसम्म धान्या, १० वर्षसम्म भ्रामरी, १५ वर्षसम्म भद्रिका, २१ वर्षसम्म उल्का, २८ वर्षसम्म सिद्धा, ३६ वर्षसम्म सङ्कटा, ३७ वर्षसम्म मङ्गला, ३९ वर्षसम्म पिङ्गला, ४२ वर्षसम्म धान्या, ४६ वर्षसम्म भ्रामरी, ५१ वर्षसम्म भद्रिका र ५७ वर्षसम्म उल्काको भोग्यकाल रहेको देखिन्छ । ५४ वर्षको उमेरमा मृत्यु वरण गरेका भानुको त्यस बखत मङ्गल र उल्काको भोग्यकाल रहेको देखिन्छ ।
धनु लग्नमा जन्मेको भनिएको र साढे एकतीस घडी दिन जाँदा भन्नुले उनको जन्म समय घाम अस्ताउने बेलाको वरिपरि हुनुपर्छ । गर्भ समयअनुसार गर्भे चिना लेख्ने चलन भए पनि मृत्यु काललाई आधार बनाई पछि चिना लेख्ने कुरा भने अझै कसैले गर्यो गरेन कुन्नी !
भानुभक्तले दिएको ग्रह कुण्डली अनुसार हेर्दा भाग्यस्थान मूलत्रिकोणमा मित्रको घरमा बसेका बृहस्पतिले पहिलो लग्नस्थान अर्थात् तनस्थान पूर्णरूपले देख्नु नै भानु प्राज्ञिकरूपले ओजिलो देखिने अवसर आउनु हो । यो कुरा पनि बृहस्पतिको भोग्यकाल उनको जीवनकालमा बेहोर्ने अवसर मिलेन र पनि अरूद्वारा प्रकाशित हुनुपर्ने अवस्था आयो । जसको भूमिका निर्वाह मोतीराम भट्टले गरे । तनस्थानको यो परिवेशले भानुलाई सद्बुद्धियुक्त, आत्मबलले परिपूर्ण रहने देखाउँछ । तनस्थान र विद्या तथा सन्तानस्थानमा बृहस्पतिले पूर्ण दृष्टिले देख्नुले विद्या र सन्तानका बारेमा उनलाई चिन्तित रहनु पर्ने स्थिति देखिदैन ।
दोस्रो अर्थात् धनस्थानमा स्वगृही शनिले आफ्नै शुद्ध पुरुषार्थद्वारा प्रशस्त धन आर्जन गर्ने देखाए पनि साथमा केतु भएकोले धन सहयोगको आशा राख्ने आफन्त भने सधै असन्तोष रहने र मीठो सम्बन्ध नरहने देखाउँछ ।
तेस्रो अर्थात् सहजस्थान बृहस्पतिले पूर्ण दृष्टिले देख्नाले भाइबन्धुको प्यारो हुने देखाउँछ ।
चौथो मातृ तथा सुहृद स्थानमा बृहस्पतिका घरमा बसेका चन्द्रमाले आफू र आफ्ना बाआमालाई निकै आनन्द दिलाउने हुन्छ भनिन्छ ।
पाँचौँ विद्यास्थानमा गुरुले पूर्ण दृष्टिले देख्नु, स्वगृही शनिले तीन पाउले देख्नुलाई बौद्धिक सबलताको निकै राम्रो योग भन्नुपर्छ तर एक पाउले निचो मङ्गलले देख्न पुगेकोले राम्रो कुरामा पनि हृदय विदारक आलोचना सहन गर्न, सुन्न पर्ने अवस्था भने रहिरहने देखाउँछ ।
छैठौँ शत्रुस्थानको स्वगृही शुक्रले शत्रुहीन व्यक्तिकोरूपमा चिनाउन खोज्छ भने केही आन्तरिक रोगले सताइरहने कुरा पनि यसैका कारणले हुने गर्छ भन्नुपर्छ ।
सातौँ जायास्थानमा सूर्य हुनु र बृहस्पतिको एक पाउ दृष्टि पर्नाले श्रीमती सुशील तर अलि कडा मिजासकी भन्नुपर्छ ।
आठौँ मृत्युस्थान भानुको सबैभन्दा जोखिम बनेर रह्यो र जीवनभरिका जोखिम छिद्रहरूको केन्द्र यही नै भैरह्यो । यदि यहाँ अनुमान गरेको ग्रह चक्र ठीक हो भने प्रमाणित पनि भयो । साथमा रहेका राहु र बुधले मङ्गलको क्रुरतालाई मलिन गर्न सकेनन् बरु सहयोग नै गरे ।
नवौँ धर्म तथा नैतिक स्थानमा सूर्यका घरमा बृहस्पति बसेर लग्नस्थान, सहजस्थान, विद्या तथा सन्तानस्थानलाई पूर्ण दृष्टिले देखेकोले आत्मबल, पुरुषार्थ, विद्या, सन्तान सुख र आकर्षक व्यक्तित्वका धनी भनेर भन्नुपर्छ । आफूले आँटेको काम दृढ निश्चयकासाथ पूरा गर्ने आँट भएको व्यक्तित्व निर्माणमा बृहस्पतिको सहयोग देखिन्छ ।कोही कसैले उग्र विरोध गरे पनि अन्त्यमा कच्चिएर, खुम्चिएर, दोब्रिएर, निहुरिएर भानुकै गोरेटोमा आउने अवस्था ल्याउने हैसियत गुरु बृहस्पतिले राखेका छन् ।
दशमस्थान कर्मस्थान तथा पितृस्थान पनि हो । मातृस्थानको चन्द्रमाले पूर्ण दृष्टिले यस ठाउँलाई देख्नुले बाआमाको माया लामो समयसम्म मिल्छ भनिन्छ । तर यो कुरा भने भानुमा लागू भएको देखिएन । बरु बाबुको कामका कारण जेलनेल खानुपर्ने परिस्थिति आइपर्यो । शुद्ध नियत र पराक्रमले दुनियाँलाई आकर्षित गर्ने क्षमता भनी यस ग्रहस्थितिले बताउँछ ।
एघारौं अथवा आयस्थानमा मङ्गल हुनुलाई राम्रो मानिन्छ । मङ्गलको पूर्ण दृष्टि पनि सो ठाउँमा मङ्गल भए सरह नै हो । यो योग भानुको ग्रह चक्रमा परेको छ । तर मङ्गल निच हैसियतमा रहेकोले रोजगार तथा कारोवारमा सधै अपयश, झगडा, झन्झट मात्रै हात लाग्ने अवस्था हुन जान्छ । बृहस्पतिको एक पाउको दृष्टि लेपले केही दोष निवारणको स्थिति देखिन्छ ।
बाह्रौं अथवा व्ययेश मङ्गलले आफ्नो ठाउँ दुई पाउले देखेको छ । यसले ज्यादै खर्चालु र अपयश हुने ठाउँमा खर्च हुने भन्ने बताउँछ । जूवा, जाँड, वेश्या, झगडा जस्ता काममा खर्च हुने देखाउँछ । खेल्दामा साठी हा¥याँ दिन पनि बितिगो आज भैयो हरूवा शायद यही ग्रह दशाको नियति होला !
भाग्यमाभन्दा कर्ममा विश्वास राख भन्ने आजको जमानामा स्वर्गीय आदि कविको भाग्यफल उल्लेख गर्नुको के तुक हुन्छ र भन्ने जान्दाजान्दै पनि कविजीसंगको सामिप्यता बढाउने उद्देश्यले मात्रै यिनी थनथन गरिएको हो । वास्तवमा यो आलेख भानुभक्तको भजन हो । भजनमा भजिने व्यक्तिलाई असाद्धै श्रद्धाको भाषा पनि बोलिन्छ कतै कटु आलोचना पनि गरिन्छ तर नित्य निरन्तर भजिरहिन्छ, भजिरहिन्छ । श्रीकृष्णलाई चोर, काना, लपस्तरा भनेर पनि भजन हुन्छ , मनका मालिक, आत्माका स्वामी भनेर पनि भजनै हुन्छ । आलोचना त्यसैले गर्न सक्छ जसले उसलाई अन्तरकुन्तरसम्म पसेर चिनेको छ । यो पनि त्यही प्रयाश मात्रै हो । अरू केही होइन । आगामी पुस्ताले पनि भानुलाई यसरी नै सप्रेम पछ्याइरहोस् भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु ।
भानुले १९२५ साल आश्विन शुक्ल पञ्चमीका दिन मस्र्याङ्दीको किनारामा देह विसर्जन गरेका थिए । आदरणीय आदिकवि भानुभक्त आचार्यलाई हार्दिक श्रद्धाञ्जली !