© २०२३
बुटवलको ब्लड बैंकमा दैनिक ९० युनिट भन्दा बढी माग रहेको छ । बिरामीका आफन्तहरु डोनर खोज्दै भौतारिरहेका भेटिन्छन । ब्लड बैंकमा हुने नियमित रक्तदानलाई दैनिक तीन सिफटसम्म चलाउनका लागि ब्यवस्थापन गर्नुपर्ने परिस्थिती आइपरेको छ ।
बुटवल, १० असार । ब्लड बैक बुटवल शाखामा रगतको अभाव देखिएको छ । मौसममा परिवर्तन आएसंगै बिरामीहरुको चाप बढ्दा रगतको अभाव सृजना भएको हो । ‘ओ’ रक्त समुह बाहेकका सबै रगत अभाव छ । रगतको अभावलाई रोक्न यहाका विभिन्न संघसंस्थाहरुले रक्तदान कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितिले बुटवलमा ३ दिनदेखि आकस्मिक रक्तदान कार्यक्रम गरिरहेको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको समितिका उपाध्यक्ष लेखनाथ भण्डारीले बताउँछन् । रगतको माग धेरै तर दाता कम हुदा रगत अभाव अवस्था आएको उनले बताए । रगत अभावलाई रोक्न आफुहरुले थप सक्रियता बढाउनुपरेको संयोजक प्रेम सुनारले बताए । ‘फोन गरेरै रक्तदाताहरुलाई बोलाएर रगतको सहज उपलब्धता हुने वातावरण गराएका छौ ।’—उनले भने ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय महासचिव कृष्ण चौहान क्षेत्री रगत ब्यवस्थापन गर्दैमा रातको १२ बज्ने गरेको बताउँछन । ब्लड डोनरको तथ्याक संकलन गर्ने, सामाजिक संजालबाट समुहहरु बनाउने र उनिहरुलाई सुचनाहरु दिने जस्ता कामहरु गरेर भए पनि रगतको ब्यवस्थापन गर्दै आएको उनले दाबी गरे । ‘ब्लड बैकले गर्नुपर्ने काम हामीले गरेका छौ ।’—उनले भने । शुक्रबार ‘एबी’ पोजिटिभ रगत आवश्यक रहेको एक सुत्केरीलाई डोनर खोजेर ३ पोका रगतको ब्यवस्थापन गरेको बताए । ‘सुत्केरीको हेमोग्लोबिन ३ पोइन्ट मात्र रहेछ ।’— उनले भने । आमालाई उपचार गराउन अस्पतालमा रहेका उनि आफै रगत ब्यवस्थापनमा लागे । रगतको अभावलाई रोक्न दीर्घकालिन योजना ल्याउनुपर्ने उनको सुझाव छ ।
बिरामीको माग अनुसार ब्लड झिक्न मिल्ने विश्वमा नयाँ प्रविधिहरु भित्रिएपनि नोपलमा यसलाई ल्याउन नसकिएको उनले बताए । ब्लड बैकमा दैनिक ३ सिफटमा रक्तदान हुने गरि पहल थाल्न सके धेरै राम्रो हुने उनी बताउछन । बढीभन्दा बढी युवा रक्तदाताहरुलाई रक्तदानमा प्रोत्साहन गर्दै कार्यक्रमहरु चलाउनुपर्ने उनले बताए । बुटवलमा धेरै अस्पतालमा मृगौलाको बिरामीहरुलाई रगत आवश्यक हुने हुदा पनि यसको चाप ब्लड बैकमा परेको उनले बताए । ‘डायलोसिस गर्ने बिरामीहरुको धेरै चाप छ ।’—उनले भने । पछिल्लोसमय मौसमको कारण पनि बिरामी बढ्दा रगतको माग बढेको हुनसक्ने उनको तर्कछ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्र बुटवलकी सदस्यसचिव राधा शर्माले ब्लड बैकमा ‘ओ’ समुहबाहेक अन्य सबै रगतको अभाव रहेको बताईन । ‘जाडो स्टकले ‘ओ’ ग्रुप धानेको छ ।’—उनले भनिन । दैनिक ९० युनिट बढी रगत खपत हुने बुटवलमा शाखामा बिरामीका आफन्तको भिड लाग्ने गरेको छ । ब्लड क्यान्सर, सुत्केरी, मृगौला खराब भएर डायलोसिस गर्ने बिरामी लगायतमा बढी रगतको खपत हुने गरेको छ । रगतको ब्यवस्थापनमा सबै सरोकारवाला निकाय एकिकृत योजना र अभियानलाई लैजानुपर्ने देखिन्छ ।