© २०२३
गुल्मी, ५ असार
गुल्मीका कफी किसानहरुले पछिल्लो समयमा तुसारो र सेतो गँवारोका कारण कफीका बोटहरु जोगाउन समस्या परेको गुनासो गरेका छन । उनीहरुले आफुले लगाएका पन्ध्र हजारदेखि बीस हजार कफीका बोटहरु मध्य मुस्किलले ६ देखि सात हजार बोट मात्र बाँच्न सफल बनेको बताए । कृषि ज्ञानकेन्द्र गुल्मीले कफी खेतीमा कसरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्लाका व्यवसायीक कफी किसानहरुसँगको अन्र्तक्रियामा अधिकांस किसानहरुले कफीवाट आफुहरुले सोंचे जस्तो प्रतिफल पाउन नसकेको गुनासो गरेका छन् ।
राज्यले कफीका बिरुवामा अनुदान उपलब्ध गराएर मात्र कफीको उत्पादन र उत्पादकत्व बढाउन नसकिने निस्कर्ष निकालेका छन । उनीहरुले राज्यले कफी बिरुवामा अनुदान दिनु भन्दा बरु एक हजारदेखि पन्ध्र सय कफी लगाउने किसानलाई मासिक रुपमा एक जना ज्यामी बराबरको ज्याला दिनुपर्ने माग गरेका छन् ।
कफी फल्ने समयमा लाग्ने सेतो गँवारो, तुसारो र छहारी समस्या जस्ता कारण बगैंचामा कफीका बोटहरु मर्दै गएको रुरुक्षेत्र गाउँपालिका १ भड्कुवाकी कफी कृषक मना भट्टराईले बताईन । भट्टराईजस्तै लामो समयदेखि व्यवसायीक रुपमा कफी खेती गर्दै आईरहेका अधिकांस कफी कृषकहरुले संघ, प्रदेश र स्थानीय तहले कफीमा दिने अनुदान नीतिले किसानहरु बिस्थापित हुने अबस्था आएको बताए ।
उनीहरुले अनुदान प्रणाली परिवर्तन गरि कफी लगाएको आधारमा हेरेर किसानलाई अनुदान उपलब्ध गराउने नीति ल्याउन सरोकारवाला निकायसँग आग्रह गरेका छन । यो नीति बनाउन सकेमात्र कफीमा आकर्षण बढ्ने उनिहरुको तर्क छ ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले पनि कफी कृषकहरुले राखेका समस्या जायज रहेको भन्दै कफीमा दिने अनुदानको नीतिलाई परिवर्तन गरि कसरी व्यवसायीक रुपमा थप आकर्षण गर्न सकिन्छ भन्ने विषयमा सबैले सोच्नु पर्ने बेला आएको बताए ।
उनले जिल्लामा कफीको बजारीकरणका लागि समस्या नरहेको भन्दै कफीको उत्पादन र प्रबिधि विस्तारको लागि आगामि दिनमा कार्यालयले किसानहरुको समस्या र गुनासाहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सम्बन्धित निकायसँग पनि छलफल गरिने बताएका छन ।
कफी उत्पतिको जननी जिल्ला गुल्मीमा अहिले २ सय ४१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिदैं आएको छ । जिल्लामा यस वर्ष ३० मेट्रीक टन कफी उत्पादन भएकोमा ८ टन मेट्रिक टन ग्रिनबिन मात्र तेश्रो मुलुकमा निर्यात भएको बताईएको छ । जिल्लामा १८ सय पाँच जना कृषकहरु कफी खेतीमा आवद्ध छन ।
पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना अन्र्तगत कफी सुपर जोन, सरकारी कार्यालय आँपचौर कफी विकास केन्द्र, अर्को कार्यालय कफी अनुषन्धान केन्द्र, स्थानीय पालिकाको कृषि शाखा पनि कफि विकासको लागि भन्दै योजना बनाउदै आएका छन् । तर यी कार्यालयबाट किसानले ठोस लाभ प्राप्न गर्न नसकेको बताउँदै आएका छन् ।
कफी खेतीको क्षेत्रमा काम गर्ने भनिएका सरकारी कार्यालय नै जिल्लामा ५ वटा रहेका छन् । तर ती कार्यालयहरुले हाल सम्म पनि किसाको सामस्या समाधाननगरेको गुनासो छ । जिल्लामा यति धेरै कफीको क्षेत्रमा काम गर्ने एक दर्जन भन्दा बढी संघ संस्था भएपनि कफी किसानहरुलाई भने सेतो गँवारो र तुसारो समस्या भने सधै उस्तै छ ।