Butwal Today

कला, संस्कृतिको महत्व बुझाउन युवा पुस्ता लाग्नुपर्छ–मन्त्री शर्मा

१ असार २०८०, शुक्रबार
अ+
अ-

दाङ, १ असार ।

संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशको कला, संस्कृतिको महत्व बुझाउन र नेपाली चलचित्र क्षेत्रबारे बालबालिकालाई सचेतना प्रदान गर्नु अहिलेको आवश्यकता भएको बताएकी छन् ।

दाङको घोराहीस्थित बहुउद्देश्यीय सभागृहमा चलचित्र विकास बोर्डले आयोजना गरेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव २०८० को शुक्रबार उदघाटन गर्दै शर्माले नेपालको कला, संस्कृति, परम्परा, रीतिरिवाज, सभ्यता चिनाउन नेपाली चलचित्र क्षेत्रलाई सूचना प्रविधिको प्रयोगबाट सही रुपमा बुझाउन चलचित्र विकास बोर्डले थालेको यो प्रयास निकै सराहनीय रहेको बताइन् ।

पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकतामा प्रहार भईरहेकाले प्रकारको कार्यक्रमले देश चिनाउन, नेपाली समाज बुझाउन भूमिका खेल्ने उनले अपेक्षा गरिन् । ‘देशमा रहेका विविध कला संस्कृतिको महत्व उजागर गर्न र आफ्नोपनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चलचित्रले भूमिका खेल्छ’ उनले भनिन्, ‘चलचित्र केवल मनोरन्जन मात्र होईन । यसले समाज, राष्ट्र चिनाउन, कला संस्कृति चिनाउन भूमिका खेल्छ । जुन कुरालाई बालबालिकाहरुमा बुझाउन देशभर यस प्रकारका कार्यक्रम हुनुपर्छ ।’

पश्चिमा संस्कृतिले बालबालिका, युवाहरुमा पकड जमाउँदै लगेको बेलामा आफ्नो धरातल चिनाउन बाल चलचित्र महोत्सव कोशेढुंगा बन्ने उनको विश्वास छ । ‘चलचित्र विकास बोर्डले पहिलो पटक गरेको कार्यक्रमले बालबालिकालाई चलचित्रको अर्थ बुझाउन, यसका आयाम बारे बोध गराउन र नेपालको कला संस्कृति उजागर गरेर सभ्य समाज निर्माणमा लाग्न युवा, तथा किशोरकिशोरीहरुमा देशको पहिचान के भन्ने कुरा सिकाउने अपेक्षा छ’ उनले भनिन्, ‘हाम्रो कला संस्कृति के हो ? हाम्रो सभ्यता के हो ? यसका बारेमा सबैलाई बोध गराउन चलचित्र विकास बोर्डले थालेको अभियानले सरकारको सहयोगी भूमिका खेल्नेछ ।’

नेपाल कला संस्कृतिको धनी देश भएकाले यहाँको कला संस्कृति अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुपर्ने बताइन् । ‘चलचित्र आम मानिसको रोजाईको क्षेत्र बन्ने गरेको छ । चलचित्रले दर्शकलाई मात्र मनोञ्जन दिंदैन, यसको आयाम धेरै छ । यति मात्रै होईन यस क्षेत्रमा लागेर व्यक्तित्व निर्माण गर्न चाहनेहरुका लागि पनि चलचित्र महत्वपूर्ण क्षेत्र हो नै यसले प्रवाह गर्ने ज्ञान, सूचना र चेतनाले अझ लाभ दिने गर्छ” उनले भनिन्, ‘चलचित्र क्षेत्रबाटै कैयौं कलाकारहरुले आफ्नो पहिचान बनाउँदै आएका छन् । यसमा भविष्य देखाउन उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई चलचित्र क्षेत्रमा आकर्षित गर्न यो महोत्सवबाट टेवा पुग्ने अपेक्षा छ ।’

यो नेपालमा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव भए पनि अन्तर्राष्ट्रियस्तरमा नियमितरुपमा यस्ता महोत्सवहरु हुने गरेको हुँदा नेपालबाट बालबालिकाले बनाएका वा उनीहरुका बारेमा बनेका बालचलचित्र अन्तर्राष्ट्रिय महोत्सवमा पुर्याउने गरी अब तयारी थाल्न चलचित्र विकास बोर्डलाई सुझाव दिइन् ।

उदघाटन समारोहमा स्थानीय कला संस्कृति झल्किने झाँकीसहित सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । सो अवसरमा, स्थानीय कला संस्कृतिसहितको लोक बाजा, नृत्य प्रस्तुत गरिएको थियो भने कलाकारहरु चेतन सापकोटा, सत्यकला राई, अनुभव रेग्मीलगायतले प्रस्तुति राखेका थिए ।

असार ३ गतेसम्म चल्ने महोत्सवमा बालबालिका तथा किशोरकिशोरीहरुलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने बारेमा जानकारी प्रदान गरिने चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बताए ।

यसैगरी, नायक भुवन केसीले ‘बालबालिकासँग भुवन केसी कार्यक्रम मार्फत आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तक्र्रिया गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?