© २०२३
काठमाडौं, २९ बैशाख ।
प्रत्येक व्यक्तिका लागि घर सुरक्षित मानिन्छ । अझै एक महिलाको लागि त सबैभन्दा नजिकको सम्बन्ध श्रीमान र परिवारका सदस्य नै हुन्छन् । तर, बिडम्बना एक तथ्याकंले महिला सबैभन्दा असुरक्षित आफ्नै घरमा हुने देखाएको छ । महिलाहरु आफ्नै श्रीमान र घरपरिवारका सदस्यबाट सबैभन्दा धेरै जोखिममा रहेको पनि पुष्टि गरेको छ ।
ओरेक नेपालले गत चैत महिनामा भएका १ सय ७४ वटा लैंगिक हिंसाका घटनाको अभिलेखिकरण गरेको छ । जसमा ५७ प्रतिशत अर्थात ९९ जना महिला तथा बालबालिकामा सबैभन्दा धेरै घरेलु हिंसा भएको तथ्याङ्कले देखाएको छ । सबैभन्दा धेरै ८२ वटा (४९ प्रतिशत) हिंसाका घटना श्रीमानबाट भएको छ । भने २५ वटा (१५ प्रतिशत) हिंसाको घटना परिवारका सदस्यबाट भएको छ । यो तथ्याङ्कबाट महिलाहरु घर परिवार जहाँ महिलाले धेरै सुरक्षा पाउनु पर्ने हो, त्यस ठाउँमा नै बढी असुरक्षित भएको देखिएको छ ।
घटना बिश्लेषण गर्दा २५ वटा (१४ प्रतिशत) महिला तथा बालबालिका बलात्कार जस्तो जघन्य अपराधको शिकार भएका छन् । त्यस्तै ४ वटा (२ प्रतिशत) सामूहिक बलात्कार, ३ वटा (२ प्रतिशत) बलात्कारको प्रयास, ५ वटा (३ प्रतिशत) वैवाहिक बलात्कार, ४ वटा (२ प्रतिशत) यौन दुव्र्यवहारका घटना भएका छन् । त्यसैगरी १८ वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, १ वटा हत्या (१ प्रतिशत), १ वटा हत्याको प्रयास (१ प्रतिशत) का घटना संकलन भएका छन् । ४ वटा (२ प्रतिशत) आत्महत्या र २ वटा (१ प्रतिशत) आत्महत्या प्रयासको घटना तथ्याँक संकलन भएको छ ।
महिलाहरुको लागि सुरक्षित स्थान छैन जहाँ हिंसा खेप्न नपरोस् । जहाँ घरपरिवारका सदस्य, आफ्नो श्रीमान्, आफन्त र आफु बस्ने समाजबाट हुने हिंसाले महिलाहरु जहाँ छन् त्यहीँ नै असुरक्षित छन् भन्ने कुराको पुष्टी गर्दछ । महिलाहरु महिला भएकै कारणले विभिन्न हिंसा खेप्न बाध्य भएका छन् । घटनालाई हेर्दा सबैभन्दा धेरै २६ देखि ३५ बर्ष उमेर समूहका युवा महिलाहरु हिंसामा परेका छन् । यो उमेर समूहका सबैभन्दा धेरै ६६ जना (३१ प्रतिशत) युवा महिला हिंसामा परेका छन् । त्यसैगरी ४९ जना (२८ प्रतिशत) १८ देखि २५ वर्ष उमेर समूहका महिलाहरु हिंसामा रहेको पाइएको छ । त्यस्तै २६ जना (१५ प्रतिशत) १८ बर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, २४ जना (१४ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समूहका महिलाहरु, त्यस्तै ८ जना (५ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समूहका महिलाहरु रहेका छन् भने ५ जना (३ प्रतिशत) ५६ वर्ष भन्दा माथि उमेर समूहका महिलाहरु हिंसामा परेका छन् ।
१० वटा (६ प्रतिशत) छिमेकीबाट भएको छ । त्यस्तै ५ वटा (३ प्रतिशत) हिंसा प्रेमिबाट, १५ वटा (९ प्रतिशत) हिंसाको घटना अपरिचित व्यक्तिबाट, ६ वटा (३ प्रतिशत) हिंसा साथिबाट, ११ वटा (७ प्रतिशत) हिंसा समुदाय सदस्यबाट, र २—२ वटा (१, १ प्रतिशत) हिंसा अविवाहित तर सँगै बसेका व्यक्ति र सेवा प्रदायकबाट, १ वटा (१ प्रतिशत) हिसां शिक्षक बाट भएको पाईएको छ ।
ओरेक नेपालका कार्यकारी निर्देशक लभराज न्यौपाने घरेलु हिंसा तथा महिलामाथि हुने सबै खाले हिंसा अन्त्यका लागि व्यक्तिगत सोँच र व्यवहारमा परिवर्तन गर्नुपर्ने बताउँछन् । महिलामाथि हुने ंिहसा अन्त्यका लागि स्थानीय तहदेखि नै हरेक घर सुरक्षित बनाउने अभियान सञ्चालन गर्नुपर्ने उनको तर्क छ । “मानव अधिकारको सम्मान गर्न दिगो, विकास र समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सकार पार्न महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्नु अत्यन्त आवश्यक छ”–उनले भने ।
घरेलु हिंसाविरुद्ध अहिले घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ कार्यान्वयनमा छ । विशेष गरी घरभित्र र पारिवारिक सम्बन्धमा भएका हिंसाविरुद्ध प्रत्यक्ष आकर्षित हुने गरी बनाइएको यो ऐन लागू भएको १४ वर्ष नाघिसक्यो ।
ऐनको परिभाषा अनुसार, घरेलु सम्बन्ध भन्नाले ‘वंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य, आश्रित वा कामदारका रूपमा एकै परिवारमा बसेका व्यक्तिहरूबीच भएको सम्बन्ध हो । सो सम्बन्धले सँगै बसेका जोडी वा अंश लिई वा नलिई भिन्न बसेका पति वा पत्नीको सम्बन्ध समेतलाई जनाउँछ । यस्तै, घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना हो ।’
ऐनको परिभाषामा पर्ने श्रीमान् लगायत घरपरिवारका सदस्यहरूबाट विभिन्न बहानामा कुटिने, डामिनेदेखि मारिने र बाध्य भएर आत्महत्या गरेका घटनामा कुनै कमी आउन सकेको छैन । यस प्रकारका मुद्दा हेर्ने र पीडितका पक्षमा काम गर्नेहरू यो ऐन संशोधन गर्नुपर्ने बताउँछन् ।
हाल यस ऐन अनुसार, घरेलु हिंसाको पीडकलाई अधिकतम रू.२५ हजार जरिवाना र ६ महिनासम्म जेल सजाय वा दुवै हुने व्यवस्था छ । सोही घटना दोहो¥याए पटकैपिच्छे दोब्बर सजाय हुने व्यवस्था छ । तर, एक त अदालतमा मुद्दा नै एकदमै थोरै पुग्ने र पुगे पनि अदालतले माथिल्लो हदको सजाय नै नतोक्ने अधिकारकर्मीहरू बताउँछन् ।