© २०२३
भैरहवा, २६ फागुन ।
सीमा क्षेत्रबाट हुने मानव बेचबिखन रोक्नका लागि सबैको सहकार्य आवश्यक हुने सरोकारवालाले जोड दिएका छन् ।
मानव बेचबिखन रोकथाम सम्बन्धी क्षमता अभिवृद्धिका प्रशिक्षक नानीमाया थापाले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ दफा ४(१) मा कुनैपनि उद्देश्यले मानव बेच्ने वा किन्ने, बेश्यावृत्तिमा लगाउने, बेश्यागमन गर्ने, कानुन बमोजिम बाहेक अंग झिक्ने लाई मानव बेचबिखन तथा ओसार पसार भनिने बताइन ।
शुभ अवसर ग्राम नेपालको आयोजनामा ३ दिन सम्म भएको सेवा प्रदायक निकायहरुलाई मानव बेचबिखन रोकथाम सम्बन्धी क्षमता अभिवृद्धि तालिम कार्यक्रममा जनचेतना, शिक्षा तथा थप जागरुक बनाइएको परियोजना संयोजक सत्यनारायण यादवले बताए ।
बरिष्ठ अधिवक्ता शिव प्रसाद गौंडेलले नेपालको संविधानको बारेमा जानकारी गराउंदै मानव बेचबिखनका ब्यावहारिक समस्याहरु जानकारी गराएका थिए । महाराजगन्ज जिल्लाका जिल्ला बाल संरक्षण अधिकारी जक्कि अहमदले भारतमा रहेका कानुनहरुको बारेमा जानकारी दिंदै कसरी उद्धार हुन्छ भन्ने घटना सुनाएका थिए ।
गुड सेफर्ड ईन्टरनेशनल फाउन्डेशन नेपालका राष्ट्रिय प्रतिनिधि तस्किला निकोलशले सवै स्थानीय सरकार तथा अन्य सेवा प्रदायकबीच सहकार्य गरेर काम गरेमा मानव बेचबिखन जस्तो आपराधिक गतिविधिलाई कम गर्न सकिने बताइन । स्थानीय सरकारले नीति निर्माण गरेर कसरी मानव बेचबिखन रोकथाम गर्नका लागि काम गर्न सकिन्छ भनेर स्थानीय सरकारले श्रोत नक्सांकन पनि गरेको शुभ अवसर ग्राम नेपालका सामाजिक परिचालन अधिकृत विकास देवकोटाले जानकारी दिए ।