© २०२३
बुटवल, ८ पुस ।
फलफूल र तरकारीमा बढ्दो र अनियन्त्रित किटनाशक विषादी प्रयोगले नेपाली उपभोक्ताको थाली नै जोखिममा परेको सरोकारवालाले चेतावनी दिएका छन् । नियामक निकाय कमजोर हुँदा विषादीको मनपरी प्रयोग बढ्दै गएको र यसको प्रत्यक्ष असर मानव स्वास्थ्य, वातावरण तथा कृषि प्रणालीमै देखिन थालेको उनीहरूको निष्कर्ष छ ।
रुपन्देही उद्योग संघद्वारा आयोजित १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजित कार्यशाला गोष्ठीमा विज्ञहरूले विषादी प्रयोगले तत्काल उत्पादन बढे पनि दीर्घकालमा यसले गम्भीर रोग, वातावरणीय असन्तुलन र किसानलाई रसायनमै निर्भर बनाउने खतरनाक चक्र सिर्जना गरिरहेको बताएका छन् ।
कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूमा किसानले पर्याप्त जानकारीको अभावमा किटनाशकलाई औषधि ठानी प्रयोग गर्दा क्यान्सर, स्नायु रोग, हर्मोन असन्तुलन र बालबालिकाको विकासमा समेत असर पर्ने तथ्यहरू सार्वजनिक गरिएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षक अधिकृत मनोज पोखरेलले निरन्तर एउटै विषादी प्रयोग गर्दा कीरामा प्रतिरोध क्षमता विकास हुने र त्यसले अझै कडा र महँगा रसायन प्रयोग गर्न बाध्य बनाउने बताए ।
‘माटोमा रहेका लाभदायी सुक्ष्म जीव नष्ट हुँदा माटोको उर्वराशक्ति घट्छ र बालीको प्राकृतिक प्रतिरोध क्षमता कमजोर बन्छ । फलस्वरूप किसान रसायनको चक्रमा झन् बढी निर्भर हुन पुग्छन्’–पोखरेलले भने ।
कृषि निर्देशनालयका बाली संरक्षक अधिकृत मिलन गैरेका अनुसार किटनाशकको असर किसान, मजदुर र उपभोक्ता सबैमा समान रूपमा पर्ने जोखिमपूर्ण अवस्था छ । “खानामा रहेको अवशेषले मौन तर गहिरो क्षति पु-याउँछ, जुन तुरुन्तै देखिँदैन तर दीर्घकालीन रूपमा घातक हुन्छ,” उनले भने ।
अनुसन्धानकर्ता शारदा पाण्डेले वातावरणीय असर झनै चिन्ताजनक रहेको उल्लेख गर्दै किटनाशकले मौरी, चरा, माछालगायत उपयोगी जीव नष्ट गर्दा जैविक सन्तुलन बिग्रिँदै गएको बताइन् । यसले परागण प्रक्रिया प्रभावित भई कृषि उत्पादनमै दीर्घकालीन नकारात्मक असर पर्ने उनको भनाइ छ ।
राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवाका वरिष्ठ अधिकृत खेमराज पन्तले किटनाशक पूर्ण रूपमा बन्द गर्नुभन्दा पनि एकीकृत कीट व्यवस्थापन, जैविक विषादी, सही मात्रा र सही समयको प्रयोग अपरिहार्य भएको बताए । “कृषि उत्पादन, मानव स्वास्थ्य र वातावरणबीच सन्तुलन कायम नगरेसम्म विषादीको लाभ अस्थायी मात्रै हुन्छ,” उनले स्पष्ट पारे ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष तेजकुमार पाठकले उपभोक्ता सचेत नहुँदासम्म समस्या झनै बढ्ने भन्दै नियामक निकायलाई नियमित अनुगमन र कडाइ गर्न आग्रह गरे । कृषि शिक्षक तथा विद्यार्थीहरूले खाद्यान्न पसलमै विषादी बिक्री हुने अवस्थाप्रति आपत्ति जनाउँदै जैविक विषादी सहज र सुलभ बनाउने सरकारी नीति आवश्यक रहेको धारणा राखे ।
यसैबीच, ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नारासहित सञ्चालन भइरहेको प्रदर्शनीमा कृषि, पर्यटन र प्रविधिलाई प्राथमिकता दिइएको छ । ३९ जिल्लाको सहभागिता रहेको प्रदर्शनीमा करिब ८ लाख दर्शक भित्र्याउने र ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको संघले जनाएको छ ।
कृषि उपज, महिला उद्यमशीलता र स्वदेशी उत्पादन प्रवर्द्धनलाई जोड दिएको यस प्रदर्शनीभित्र आयोजित गोष्ठीले “उत्पादन बढाउने नाममा उपभोक्ताको स्वास्थ्य जोखिममा पार्न मिल्दैन” भन्ने सन्देश स्पष्ट रूपमा अघि सारेको सहभागीहरूको भनाइ छ ।